स्वदेशको सम्झना
मोहन तिमिल्सिना, (काठमाण्डौं)
छ फुली फूल समस्त मग्मग
विचरा बचरा चराचर
जति सम्झौं उति शान्त त्यो घर ।१।
न त सद्म कुनै छ खल्बल
न छ फुट्ने जुटने परस्पर
छ अनन्त स्वभाव भावको
रस मानौं नव स्वाद-स्वादको ।२।
नब जून छरिन्छ रातमा
रविको रूप छ त्यो प्रभातमा
छहरा पहरा र भीरको
छ कथा त्यो कति शान्त धीरको ।३।
छ गुराँस पहाड खोंचमा
फल फल्ने लटरम्म बोटमा
भमरा अनि माहुरीहरू
रस भर्छन् नि वसन्तका तरु ।४।
छ वयस्क प्रफुल्ल गोठमा
युवती छन् रसपूर्ण ओठमा
छ कटाक्ष दुरुस्त शावक
मधुमाधुर्य समान भावक ।५।
छ असार किसान शानको
छ त रोप्ने जति खेत धानको
अव ती सब भैसके कथा
म त भोग्दै छु विदेशको ब्यथा ।६।
पिङ छैन दशैंतिहारमा
न छ टीका सव ती निधारमा
सपना विपना र मानमा
नव निर्माण स्वदेश कामना ।७।