हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रेमको हत्या

सिमु श्रेष्ठ, (काठमाण्डौ)


तिम्रो इमेल इनबक्समा
मेरो नयाँ कविता सेन्ड गरिसकेपछि
पछिल्लो भेटमा मैले सोधेकी थिएँ –
कस्तो लाग्यो मेरो नयाँ कविता ?
जवाफ थियो तिम्रो –
त्यस्तो अस्पष्ट कविता हाम्रो पत्रिकाले छाप्दैन ।

कयौ पटक मैलेपनि
तिम्रो कविताको पुर्नलेखन गरेकी हुँ ।
मेरो इमेल इनबक्समा अझपनि,
अप्रकाशित तिम्रा कविताहरु
अप्रकाशित तिम्रा दुःखहरु
आफ्ना भनाउँदाहरुले धोका दिएपछि
खोपिएका संवेदनाका अक्षरहरु
पुरानो कपडा जस्तो
सम्झनाका लागि थन्किएर रहेका छन् ।

हामीले,
कयौ पटक आँसु साटेका छौ
सयौ पटक मैले तिमीलाई सम्झाएको छु

तिमीले मलाई बखत बखतमा सम्हालेका पनि हौ ।

यात्रा जब सफलताको शिखर चढ्छ
ग्राफ जब नेप्सेको माथिल्लो अंकमा पुग्छ
प्रेम
शायद ओरालो लाग्छ ।
अस्पष्ट पनि लाग्छ ।
हृदयको झंकार
प्रशंसकहरुको भिडमा
डाई हार्ट फ्यानको सम्बोधनसँग
हस्ताक्षर बनेर
किताबको अघिल्लो पातामा रहन्छ ।

सम्बन्धपनि
पुरानो फेशनजस्तो
आउटडेटेड हुँदो हो ।
नयाँ स्वाद, नयाँ रंग , नयाँ सम्बन्ध
तिमीलाई जस्तै मलाईपनि चाह हुन्छ
तर
जिवन मेरोलागि
अक्षरहरुको ज्यामितिय हिसाबले जस्तो नबढि
कोठेपद जस्तो
तालमेल मिलाउँदा मिलाउँदा
नजानेको शव्दमा गएर अडकन्छ । 

तिमी
सफलताको यात्राबाट फर्कि आउञ्जेलसम्म
फेरि,
मेरो एउटा नयाँ कविता
तिम्रो इमेल इनबक्समा पर्खिबस्नेछ ।

तिमीले नछापेपनि
हाम्रो प्रेमको कविता
संवरण नगरेपनि प्रेम
कुनै दिन
अक्षरहरुको लस्कर जस्तै लाग्ने
हत्या गरेको त्यहि मेरो प्रेमको कविता
तिमीले मलाई भने जस्तै,
तिम्रो आत्मकथामा
अक्षरहरु मात्र बनेर
एउटा लामो अध्याय छापिनेछ ।


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |