हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भूगोलभरि छरिएको मेरो देश

कपिल सिटौला, (मेरिल्याण्ड)


आकारमा सानो छ

तर भूगोलभरि छरिएको छ

हो! आँखाको नानी पनि त सानो छ

तर सँसार देख्छ।

 

सँसार नाप्ने खुट्टाहरु

सँसार थाम्ने हातहरु

सँसार उचाल्ने कांधहरु

सँसार लिपपोत गर्ने हत्केलाहरू

चौबिसै घण्टा चलायमान छन्

अहोरात्र खटिएका छन्

सूर्य कहिल्यै अस्ताउंदैनन् मेरा देशमा

अठारौं शताब्दिको ब्रिटिस साम्राज्य झैं भएको छ मेरो देश

 

जहाँ गए पनि जहाँ पुगे पनि

आँखा भरि नेपाल छ

मुटु भरि नेपालै गुटुमुटु छ

नशानशामा मेची र काली बगिरहेछन्

फोक्सा भरि शिवपुरिको हावा बगिरहेछ

 

सागरमुनि हिमाल हाँसिरहेछ

सहारा मरुभुमीमा डाँफे नाचिरहेछन्

मेरिल्याण्डको मेरै घरको फूलबारीमा

फुलिरहेछन् सुनाखरि र लालुपाते

सयपत्री, मखमली र लालीगुराँस

 

लाखेनाच, द्यौडानाच, झाँगर अनि धाननाच

त्यस्तै रोदिघरको रन्कोमा मारुनीको फन्को

सँगिनीको स्वरमा हजुरआमाको झल्को

म्याक्डोनालको बर्गर भन्दा गुन्द्रुक ढिंडै मिठो

 

मेरो भेषमा मेरो देश छ

मेरो भाषामा मेरो देश छ

मेरो संस्कृतिमा मेरो देश छ

मेरो इमान्दारितामा मेरो देश छ

 

म जहाँ छु त्यहाँ मेरो देश छ

म जहाँ पुग्छु त्यहिँ मेरो देश पुग्छ

आज मेरो देश भूगोलभरि अटाइ नअटाइ भएको छ

सानो भएपनि बिशाल भएको छ

भूगोलभरि छरिएकोछ मेरो देश।।


०१।११।२०१३

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |