हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अन्तिम पत्र

बिनोद खड्का, (दोहा, कतार)


जीन्दगी एउटा खेल हो भन्थे । खेलमा त आज एउटाले जीत्छ भोलि अर्कैले । तर मेरो जीवनमा यसो भएन । खेलको नियम सरासर तोडियो । म जितेँ भन्ठान्थेँ तर मैले सधै हारेँ । किन मैले हारेँ म आफैलाई थाहा छैन । कोही कोही भन्छन जीन्दगीका कुनै क्षणहरुलाई एउटा नमीठो सपनाका रुपमा पनि भुल्न सकिन्छ । तर त्यो पनि मेरा लागी सम्भव भएन । धेरै बर्षपछि मैले उसका बारेमा कसैसंग सोध्ने मौका पाएँ । तर रघुले मेरो मुखमा हेरिरह्यो । उ निकै भावुक बन्यो । उसका गहहरु भरिएर आए । मैले केही बुझे वा केही पनि बुझिन मलाई नै थाहा भएन । उ बोल्न सकिरहेको थिएन । रघु उसको मिल्ने साथी थियो ।

 

बिहानीको कलेज थियो । जाडोको समय । चिसोले ठिराएर हात काँपिरहेका हुन्थे । किताब किन्ने चलन त्यति थिएन । लाईब्रेरीको किताब र कक्षामा बनाएका नोटका भरमा पढाई सक्नु पथ्र्यो अनि परीक्षा पनि उत्तिर्ण गर्नु पथ्र्यो । नोट नबनाई सुखै थिएन । सेक्सन छुटृै भएपनि यो बिषयको लागीमात्र कलेजको अन्तिम बर्षका अन्तिम महिनाहरुमा उ हाम्रो कक्षामा आउन थालेको थियो । उसको नियमित कक्षाको समय नमिलेका कारणले हाम्रो कक्षामा आउनु परेको थियो भन्ने सुनेकी थिएँ । उ कक्षामा म जस्तै नियमित विद्यार्थी थियो । कक्षा छुटाउने साथीहरु उसकै नोट माग्थे किनकि कक्षामा सबैभन्दा राम्रो अक्षर उसकै थियो । उ लजालु थियो । त्यसैले राम्रो थियो क्यारे । त्यसो त उ राम्रो पनि थियो । उसले केटीहरुको अनुहारमा हेरेर कुरा गर्नु भनेको बिल्कुलै असम्भब थियो । उसको त्यही स्वभावको फाईदा उठाएर म उसलाई पटक पटक हेर्थे, चोरी चोरी हेर्थेँ । उसलाई म कक्षा कोठामा हेर्थे । उ चौरमा अरु साथीहरुसंग हिडिरहेको बेलामा म कक्षा कोठाको झ्यालबाट वा त्यहाँबाट देखिएन भने बाहिर बरण्डामा निक्लेर पनि हेर्थे । जति हेरे पनि धित मर्दैनथ्यो । उसलाई वरिपरी देख्दा मलाई आनन्दानुभूति हुन्थ्यो । मलाई उ असाध्यै मन पथ्र्यो । एकान्तमा भएका बेलामा म उसको र मेरो बिहेको कुरा कल्पन्थेँ अनि आफै भित्रभित्रै गदगद हुन्थेँ ।

 

म उसलाई मन पराउँछु भन्ने कुरा मेरा आफ्नै टोलका हर समय मसंगै हिड्ने भएर साथीहरु भएर पनि मुना र कलालाई कहिल्यै थाहा भएन । उनीहरु दुबैको ब्वाईफ्रेण्ड थिए । मेरो थिएन । उनीहरु अलि नक्कल पार्थे । फेसन गर्थे । केटाहरु उनीहरु प्रति ज्यादा आकर्षित हुन्थे । तर मलाई अरु केटाहरुले आफुलाई नहेरेकोमा पश्चाताप थिएन बरु खुसी थिएँ । मलाई लाग्थ्यो म उसकै लागी हुँ र उ मेरै लागी मात्र हो । उसको लजालुपनले म कहिल्यैकाही मनमनै हाँस्थे र खुसी हुन्थेँ । मैले मन पराएको मान्छेले अरु केटीहरुको मुख नहेर्नु भनेको मेरो लागी अहोभाग्य ठान्थेँ । मैले कैयौ पटक कक्षा कोठामा उसलाई हेरि बसेर कल्पनाका सागरमा तैरिरहेको हिजो जस्तो लाग्छ । उ उनीको टोपीलाई निधारमाथि पारेर लगाउँथ्यो र बिहानी नछिप्पेसम्म खोल्दैनथ्यो । बिहान कक्षामा प्रवेश गर्दा उसका निधार माथिको टोपीले नछोपेको कपालको भागमा सेता शीत कक्षा भित्रको बत्तिको उज्यालोले मोती झै टल्केको देखिन्थयो र बिस्तारै हराउँथ्यो । मलाई लागथ्यो कि उ मेरा लागी स्वर्गदेखि पठाईएको राजकुमार हो । म कल्पन्थँे कि कक्षा सकिएपछि उ म संगसंगै हिँडोस अनि मीठा कुराहरु गरोस् । मेरा सुन्दरताको बयान गरोस । मलाई मेरा घरसम्म पुर्याईदिएर फर्कोस । म उसलाई परपरसम्म हेरिरहुँ र उसले पनि पर पुगेर फर्केर मलाई हेरोस अनि एउटा मीठो मुस्कान दिएर बिदा मागोस । तर त्यस्तो दिन कहिले आएन ।

 

एक पटक उ तीन चार दिनसम्म कलेज आएन । मलाई खुसी लाग्यो । मलाई यस अर्थमा खुसी लाग्यो कि अब मैले उसलाई नोट दिनेछु र यही बहानामा दुई चार कुरा गर्नेछु । उ कलेज आयो । म, कला र मुना कक्षामा पहिले नै पुगिसकेका थियौँ । उ चौथो विद्यार्थी थियो कक्षामा । कक्षा बाहिर खुलेर उज्यालो भैसकेको थिएन । कक्षाभित्र बिजुली बत्ति बलिरहेको थियो । उ थकित देखिन्थ्यो । झोलालाई शरिरबाट छुटृाएर बेन्चको छेउमा राख्यो । अनि एक तमासले अगाडीको कालो बोर्डतिर हेरिरह्यो । कक्षा शुरु भयो । सरको प्रश्नको जवाफमा थकित पाराले सन्चो नभएर कलेज नआएको बतायो । उसलाई अझै पनि सन्चो भैसकेको थिएन भन्ने मैले बुझेको थिएँ । मेरा आँखाहरुबाट कतिखेर आँशुहरु बर्सिएछन थाहा नै भएन । यो कक्षा सकिने बित्तिकै हामी सबै अनिबार्य बिषय पढ्न अर्को कक्षामा जानु पथ्र्यो । मैले आशा गरेँ कि उ बाहिर निक्लने अन्तिम बिद्यार्थी बनोस र मैले केही कुरा गर्ने मौका पाउँ । नभन्दै उ अन्तिममा गाहे गरेर उठ्यो । मैले कला र मुनाले थाहा नपाउने गरेर उनीहरुलाई छलेर केही गर्दै गरेको बहानामा पछाडी बसेँ । जसै उ मेरो टेबुलको अगाडी आयो मैले उसंग केही बोल्न चाहेको संकेत दिए । उ मेरो अगाडी मेरो मुख नै नहेरी उभियो । मैले नोट कापी उसको हातमा थमाईदिए । उसले कापी समात्यो । म थर्रर काँपे । के भन्न खोजे थाहै भएन । मैले केही पनि बोल्न सकिन । मेरा ओठहरु अकस्मात काँपे । त्यतिखेर सम्ममा उ कक्षाकोठाबाट बाहिर निस्किसकेको थियो । यस्ता संयोगहरु धेरै भए पनि मैले कहिल्ये पनि उसंग आवाज साट्न सकिन ।  एक बिहान मैले उसलाई एकान्त पारेर भेट्ने र केही बोल्ने योजना बनाएँ । बिहानको नौ बज्यो । कलेजबाट उ साढे नौ बजेतिर निक्लन्छ भन्ने मलाई थाहा थियो । कक्षा नौ बजे नै सकिएपछि उ लाईब्रेरीमा गएर पढ्न थाल्थ्यो या त्यतै अलमलिन्थ्यो या त क्यान्टिनतिर चिया पिउँदै गथ्र्यो । मैले कला र मुनालाई लाईब्रेरीमा लगेर अलमलाएँ । अनि टवाईलेट जाने बहानामा एक्लै निक्लिएर सिधै कलेजको मूख्य ढोका अगाडीको सूचना पाटीमा केही हेरे झै गरेर उसको प्रतिक्षामा उभिई रहेँ । उ यतैबाट बाहिरिन्छ र त्यही मौकामा भेटौँला भन्ने लागेको थियो । केही क्षणमा नै उ कलेजको पछाडी भागको पर्खाल नजिक देखियो । अनि पर्खालको भत्किएको भागलाई नाघेर त्यतैबाट बाहिरियो । यो क्रम धेरै पटक चल्यो । उ यताउता हेर्दे नहेरी कलेजबाट बाहिरिन्थ्यो । म पनि साथीहरुको अगाडी उसंग बोल्ने हिम्मत नै गर्न सक्दिनथे । एक रात जब मलाई धेरै बेरसम्म उसका यादहरुले पछ्याई रहयो र म निदाउन नै सकिन तब मैले उसलाई एउटा चिटृी लेख्ने निधो गरेँ । केही हरफ लेख्दै च्यात्दै गर्दा गर्दै कागजका थुप्रै पानाहरु सकिए तर मैले के लेख्ने भनेर निचोड नै निकाल्न सकिनँ । अन्तिममा मैले लेखे अन्यथा नसोचे मलाई एउटा मान्छे असाध्यै मन पर्छ। कागजलाई पटृाएर एउटा खाममा हालेँ र खामलाई झोलामा हालेँ । लेख्न त लेखेँ अब दिने पो कसरी । मैले जानी जानी एकदिन त्यो कक्षा छोडेँ । भोलिपल्ट बिहान कक्षामा उ छिर्ने बित्तिकै मैले उसको मुखमा हेरेर लज्जाउँदै आफ्नै अनुहारभरी मलिन मुस्कान छरँे । उसले सदा झै लज्जालु हाँसो सटृामा दियो । कक्षा सकेर बाहिर निक्लदा उसले उसको कापी मेरो अगाडी राखिदियो । मैले हतपत्त उसको कापी आफ्नो झोलाभित्र घुसारेँ । भोलिपल्ट त्यो सानो पत्रलाई त्यसै कापीभित्र हालिदिएर मैले कापी फिर्ता गरेँ । त्यसको अर्को दिन म आफै लाजले पानी भैरहेको थिए । मलाई उसको अनुहारतिर हेर्ने साहस थिएन । तर मलाई यस्तो लाग्यो कि उसले ती शब्दहरु उसकै लागी लेखेको भनेर कसरी बुझ्न सकोस । त्यसपछि पनि मेरा थुप्रै रातहरु अनेकौ कल्पनाहरुका साथ अनिंदो नै बित्यो । पछिल्ला दिनहरुमा पनि उसका व्यवहारहरुमा खासै परिवर्तनहरु नआएपछि मलाई चिसो पस्यो । मेरो पत्रले काम नगरेको र पत्रमा खुलाएर कुराहरु नलेखेकोमा मैले आफैलाई धिक्कारँे । दिनहरु यसैगरी चल्दै गए । उसका उपस्थितीहरु नै मेरा खुसीका लागी काफी हुन्थे । उसका लजालुपन र सरल स्वभाव मेरा लागी अझै प्रिय हुँदै गए । कहिलेकाही उसले मेरो पत्रको जवाफ नलेखेकोमा दुख लाग्थ्यो । तर पनि मैले मन बुझाएको थिएँ ।

 

कलेज फेरियो । पढाई चल्दै गयो । समयको अन्तरालसंगै बिहे भयो अर्कै केटासंग । लोग्ने भन्नु पर्यो । अष्ट्र्लियाको पि आर पनि मिल्यो । आमा पनि भएँ ।  जीवन शैलीहरुमा पनि काफी परिवर्तनहरु आए । तर उसप्रतिका मेरा भावनाहरु हरेक समय जस्ताको त्यस्तै नै रह्यो । जबजब म मेरो त्यो पत्र सम्झन्थँे तबतब मलाई उसले जबाफ नफर्काएकामा पीडा हुन्थ्यो । तर पनि उसका अबोध अनुहारहरु सम्झनामा झल्किरहन्थ्यो । किन किन मलाई उसप्रति माया जागेर आउँथ्यो । मैले उसलाई कहिल्यै घृणा गरिन । मैले माया गरिरहेँ।

 

झण्डै २० बर्षपछि नेपाल फर्किएको थिएँ । मलाई उसलाई भेट्न असाध्यै मन लागिरहेको थियो । उसको घर कहाँ थियो त्यो पनि मलाई थाहा थिएन । रघुले पनि मलाई बिर्सिसकेको रहेछ । सबै कुराहरु ब्युँताएपछि उसले मलाई राम्रोसंग चिनेको थियो । रघु भन्दै गयो । उसले तिमीलाई माया गथ्र्यो । तिमीले उसलाई मन पराउँथ्यौ भन्ने उसलाई थाहा थियो । उसले पनि तिमीलाई मन पराउँथ्यो । जानी जानीकन नै तिम्रो पत्रको जवाफ नदिएको थियो उसले । तिमी हरेक दिन कलेजबाट फर्कँदा पुलिस क्लबको कुनामा बसेर तिमीलाई धेरै परपर सम्म हेरिरहन्थ्यो । उ चाहन्थ्यो कि तिमी तिम्रो पत्रको जवाफ नदिएकोमा, तिमीलाई मतलब नगरेकोमा, तिमीसंग नबोलेकोमा उसलाई घृणा गरिदेउ । तर तिमीले कहिल्यै त्यसो गरिनौ । त्यो उसका लागी अरु पीडादायी भएको थियो । उ तिम्रै खुसीका लागी मात्र कलेज आउँथ्यो । उसका परिवारले उसका खुसीकालागी उसलाई कलेज जान दिन्थे । नत्र भने उसका लागी जीवन शून्य बराबर भैसकेको थियो । अन्तत ब्लड क्यान्सरसंग उसको लडाईमा उसले जीत हात पार्न सकेन र लडाई लामो समयसम्म पनि रहेन । उ भन्थ्यो तिम्रा साथ कलेजमा बिताएका दिनहरु उसका लागी जीवनका सबैभन्दा महत्वपूर्ण र रमाईला दिनहरु थिए । सायद कलेज सकिएपछि उ धेरै दिन यो संसारमा रहेन ।

 

यस्तो सुन्दा मेरा आँखाहरुमा बादल छाएजस्तो भएको थियो । मलाई म लुटिएको महशुस भएको थियो । वास्तवमा नै जीन्दगीमा म पहिलो पटक लुटिएकीे थिएँ, नराम्रोसंग लुटिएकी थिएँ । मसंग सबै कुराहरु भएर पनि म नांगो भएकी थिएँ । आजसम्म पनि मलाई मेरो पहिलो पत्र जो अन्तिम पत्र नै भएको थियो, त्यसका हरफहरु अझै पनि जस्ताको त्यस्तै सम्झनामा आउने गर्छ । उसको लजालु र मायालु अनुहार अझै पनि जस्ताको त्यस्तै छाउने गर्छ । मैलै गएका दूई दशकका हरेक दिनहरु उसका यादमा नै बिताएँ र वर्तमानको हरेक एकान्तपनमा पनि उ सधै मेरै वरिपरी भैरहेको महशुस हुन्छ । एक अर्कालाई मन पराएर पनि खुलेर बोल्न नसक्ने दिनका ती प्रेम प्रसंगहरु सम्झँदा आज पनि म आफ्नै लाजले आफै खुम्चिने गर्छु ।

 

२० जुलाई २००९,

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |