आमा
रमेश खकुरेल, (काठमाण्डौं)
भएँ सत्तरीको अझैसम्म काहीं
कुनै दु:ख वाधा परेमा मलाई
बढी वेदनाले जहां पर्छ धामा
अनायास नै भन्छु ऐया नि आमा ।
थिएँ एक टुक्रो म तिम्रै झरेको
थिएँ किन्तु तिम्रो म आत्मै बनेको
पिलाई ममा वक्ष पीयूष धारा
बनेकी थियौ एक मेरो सहारा ।
मलाई दुखे आँसु तिम्रो बहन्थ्यो
म हाँसे तिमी चित्त खोलेर हाँस्थ्यौ
गराएर ताते मलाई हिँडायौ
बसी भोकभोकै मलाई खुवायौ ।
मठूलो र जान्ने धनी होस् भनेर
ग-यौ प्रार्थना नित्य माला जपेर
दियौ स्नेह केही नराखेर आशा
भन्यौ होस् म तोला बनेँ किन्तु मासा ।
नजान्दा महत्ता अवज्ञा गरेथेँ
तिमी मात्र सामान्य झैँ सम्झिएथेँ
गुम्यौ आज के हौ तिमी थाह हुन्छ
तिमी सम्झँदा चित्त कल्पेर रुन्छ ।
तिमी आज छैनौ म खोजेर हिँड्छु
दिदीमा र बैनीहरूमा म भेट्छु
कतै नाक आँखा कतै केश देख्छु
म तिम्रो यही रूपमा ढोग गर्छु ।