हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

पागल

उत्तम पुरुष , (हाल योकोहामा, जापान)

लघु कथा:

लक्ष्मीले लक्ष्मी पूजा दिन लक्ष्मीको पूजा गर्न लक्ष्मी हैन तीन खर्पन काउली लिएर आयो।

श्रीमतीले गौमाता पूजा गर्दै  सोधिन्-" न भत्तेर न श्राद्धे, किन यतिका काउली ल्याउनु भएको?"

उसले हाँस्दै भन्यो-"गाईलाई पूजा गर्न।तिमी अबिर अक्षताले पूजा गर्छेउ, म मीठोमीठो खानेकुरा खुवाएर पूजा गर्छु।"

उनीले ठुस्किदै भनिन्-"भुँईमा न भाँडा, सुँगुरलाई टाँडा भन्या यहि हो।"

उसले प्रष्ट्याउँदै भन्यो-"यही त फरक छ मनदेवी तिमी र ममा।"

श्रीमतीको भक्तिमार्ग चेपमा परेको उ मान्छेलाई भगवान र सेवालाई धर्म मान्थ्यो। उसले बि. ए., बि. एल., उतीर्ण गरी अंग्रेजी साहित्यमा एम. ए. अध्ययन गरेपछि ट्युशन पढाउने र प्राध्यापन पेशा अंगाल्यो।

एकदिन धरहरा अगाडी एक पैसा पाउने आशामा बसेको भिखारीलाई उसले एक सय रुपैयाँ दियो। भिखारी खुशीले झण्डै-झण्डै बेहोस भएको थियो। भिखारीको त्यो खुशीले उसलाई आनन्दित तुल्यायो। त्यतिमात्र होइन जाडोले कठ्याँग्रिएको एउटा व्यक्तिलाई आफूले लगाएको कोट नै फुकालेर दियो।

बिना कोट कवि गोष्ठीमा पुगेको उ चियापानबाट बन्चित भयो। पछि उसले फेरी कोट लगाएर गयो। किस्तीमा चिया राखेर उक्त युवक फेरी आयो। उसले किस्तीबाट एक गिलास चिया झिक्यो र कोटको गोजीमा खन्याउँदै भन्यो-"यो चिया मेरा लागि होइन, कोटको लागी हो, कोटैले पिउँछ।"

चिया ल्याउनेले भन्यो-"कविता पनि पागल, कवि पनि पागल।"

उसले बिदेशीसँग भन्दै थियो-"पागल त सबै पागल हुन्। कविहरु काम लाग्ने पागल अरु बेकम्मा पागल।"

त्यहीबेला अर्को एउटा कवि आएर भन्यो-"फेरी भेट्नको लागि हामी छुट्टिउँ होला। अँ साँच्चै, म नेपाल आमासँग पनि छुट्टीदैछु। आउँदा के ल्याईदिउँ मित्रलाई?"

उसले चुरोटको धुवाँ उडाउँदै भन्यो-"मेरो प्यारो यहि ल्याईदेउ।"

एकदमै चाँडो लेख्न सक्ने प्रतिभा थियो उसमा। एउटै कवितालाई नौ वटा भाषामा प्रस्तुत गर्यो उसले। उसले लेखेर फालेका कविताहरु अरुले आफ्ना नाममा छाप्दा समेत केहि नभन्ने उ मुना मदन बाहेक मेरा अरु कृतिहरु जलाई दिए पनि हुन्छ भन्ने गर्थ्यो।

समयले उसलाई मन्त्री समेत बनायो। फलस्वरूप उसले सम्पतिको नाउँमा एउटा दराज किन्यो।

मन्त्री हुँदा पनि ठाँडो दराज किन्ने?

अहिलेका सिंह जस्ता देखिने ब्वाँसाहरुका नजरमा उ पागल साबित भयो।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |