हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

टिका

दीपक जडित , (हवाई, अमेरिका)

आमाबाको हातको टिका, आशिष थाप्न घर जान नसकेपनि हामी जोइपोइले नेपालमा टिकाको साइत पर्ने बेला पारेर टिका लगायौं । परदेशमा दशैं भन्नु यत्ति नै थियो । बाँकि वरिपरीका नेपालीहरु भेला भएर रमाइलो गर्ने एकसाँझको दशैं पार्टी अस्ति आइतबारकै दिन सकिइसकेको थियो ।

 

जानेसम्मको सीप लगाएर सकेसम्म मीठो पार्दै पकाईतुल्याई गरेको परिकार खानेबेलामा कम्प्युटरमा स्काइपको घण्टी बज्यो । गएर हेरें घरबाट सानोभाइले भिडियो कल गरेको रहेछ । कल एसेप्ट गर्ने बित्तिकै निधारभरी टिका र कानमा जमराको लुर्को सिउरेको सानोभाइको हँसिलो चेहरा हाजिर भयो ।

 

'ए! कान्छा, टिका लाइसक्यौ?' सोधें ।

 

'अँ! भर्खरै ला'को । बाआमाले तपैहरुलाई आशिर्वाद दिने रे । कम्प्युटरमा बोला भन्नुभो अनि खोलेको ।' उसले बतायो ।

 

'ए! हो? खै त आमाबा?' त्यति सुन्दै मलाई आशिर्वाद प्राप्त भैसकेझै भयो । आमाबा खै भनेर सोध्न नभ्याउँदै सानोभाइले कम्प्युटर अर्कोतिर घुमायो सायद । क्यामेरा अलि हल्लिएपछि बुढ्यौलीले चाउरी बढ्दै गएको आमाको रातो अक्षताले भरिएको निधार झुल्कियो । पछिल्तिरबाट बाको अझै धेरै चाउरीले खप्लक्क परेको अनुहार पनि देखियो । बाले टिका लगाउनुभएको थिएन । स-आदर आमाबालाई प्रणाम भनिसकेपछि म सोध्दैथिएँ, 'खै त बाले टिका लाउनुभ'को?'

 

आमाले मलाई उछिन्नुभयो, 'ए! तिमेरले पनि टिका लायौ?'

 

'अँ लायौं त ।' जवाफ दिएँ मैले । यताबाट हामीपनि दुबैजना क्यामेरामा दशैं अनुहार देखाउँदै थियौं ।

 

'तैंले कस्को हातको लाइस् नि?' बाले सोध्नुभयो ।

 

'मैले बुहारीको हातको । बुहारीले मेरो हातको ।' बालाई बताएँ ।

 

'हा! हा! हा! के भन्छ भन्छ यो पनि ।' आधाउधी फुक्लेका दाँत देखिने गरेर बा हाँस्नुभयो ।

 

'अनि बाले खै त टिका लाउनुभ'को?' अघिनै बाको खाली निधार देखेर कस्तो कस्तो लाग्दैथियो, सोधें मैले ।

 

'म त अब पितृ भैगएँ नि ठुले!, को छ र मलाई टिका लाइदिने?' बाले आफु वयोवृद्ध भएर टिका थाप्ने मान्यजन नहुनुको पीडा बोल्नुभयो । हुनपनि बा भन्दा माथिका परिवारमा कोहि थिएनन् ।

 

'आमाको हातको लाउनुस् न । तपाईं भन्दा ठुलाबडा नभए पनि तपाईँ बराबरीकि आमा हुनुहुन्छ त ।' बालाई सुझाव दिएँ मैले ।

 

'के भन्छ भन्छ यो पनि ।' बाले अघिझैं कुरा दोहोर्याउनुभयो तर हाँस्नुभएन । बरु यसपल्ट वहाँको अनुहार जिल्ल परेझैं देखियो ।

 

'उमेरको हिसाब छोडेर नाता र घरमा तपाईंहरुको स्थानको हिसाबले हेर्नुहोस् त; आमा र तपाईं बराबर हो कि होइन? आमालाई तपाईंले दशैंको टिका लगाईदिन हुँदा आमाले पनि तपाईंलाई लगाईदिन भैहाल्छ नि ।' मैले थप सम्झाएँ बालाई ।

 

यसपल्ट आमाको अनुहार जिल्लिएझैं देखिन्थ्यो क्यामेरामा । बाले कुरा बुझ्नुभएछ । भन्नुभो, 'कुरा त ठीक गर्यो ठुलेले । जा ए ठुलेकि आमा टिकाको थाल ले'रा'र मलाई पनि लाइदे टिका । यो दशैंमा मैले मात्रै किन निधार खाली राख्नु?'

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |