हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

नयाँ सडकको गुहू

दीपक जडित, (हवाई, अमेरिका)


'
नयाँ सडकको गुहू?'

 

'छि! कति घिनलाग्दो शिर्षक राख्न सकेको होला?' तपाईंले यस्तो सोच्नुभयो भने मैले शिर्षकले नै तपाईंको ध्यान आकृष्ट गर्न सकेछु । म खुशी भएँ । मान्नेछु मेरो निवन्धको शिर्षक सफल भयो ।

 

'निबन्ध.....??'

 

हो निबन्ध तर मैले गफ निबन्ध भनेको छु । यसकारण कि शिर्षक निबन्धको प्रसंगमा मात्र आउन सक्छ । यसलाई मेरो तरिका मानेर पढ्न चाहनुहुन्छ भने कुरा यसरी अघि बढ्छ -

 

'अब त म नेपाली नै रहिंन अरे!'

 

यदाकदा मित्रगणहरु यसो भने जस्तो गर्छन् र यसै भन्छन् मलाई । अन्तरंगी भाउमा बोल्छन्, 'के छ हौ अम्रिकानेको खबर?' धेरैजसो त म यसै पचाईदिन्छु यस्ता कुरा । तर कैलेकाहिँ भित्रसम्म लाग्छ आफुलाई र भन्छु, 'तिमीसँगै जसो जन्मेर, तिमीसँगै हुर्केर जीवनका बीस पच्चीस वसन्त तिमीसंगै हाँसेर खेलेर बिताको मान्छे हुँ म पनि । ऐले चार छ वर्षमै म कसरी अम्रिकाने भै जाउँला?'

 

उहि नियम लागू हुन्छ साथीभाइहरुमा पनि । धेरैजसो यसै पन्छाइदिन्छन् यस्ता कुरा । तर कैलेकाहिँ जीद अघि बढाउँछन् । भन्छन्, 'गोजीमा अम्रिकाको पासपोर्ट बोकेर भन्लाउ भन्नलाई यो मन त मेरो नेपाली हो; तर कानुनी हिसाबले हौ त तिमी अम्रिकाने नै ।'

 

भयो तब? जाबो म के थिएँ र के भएँ भन्ने कुरामै कानुनी खाता पल्टिन्छ भने मसंग चुप रहनुको विकल्प हुँदैन । अथवा मैले स्विकार गर्नुपर्छ कि म नेपाली थिएँ । हिँजो । र आज रहिंन । अमेरिकी भएँ । कुरा जे सुकै होस् । वादविवाद जसरी सुकै गरियोस् । अन्तत: सत्यलाई स्विकार्नै पर्छ । मेरो निमित्त म नेपाली नरहनुको पक्ष पनि यहि आधारमा स्विकार्य छ मलाई ।

 

आफ्नै राजीले म अमेरिकाको नागरिक बनें । यसको न उत्पात खुशी छ म मा । न घोर दुख नै छ । कानुनत अमेरिकाको नागरिक बन्दा म हीमटाकुराहरुको संगतमा हीममय अलास्कामा थिएँ । सम्झन्थें म मेरै नेपालको उत्तरी खण्डमा छु । लाग्थ्यो वरिपरी देखिएका समस्त हिमालहरु मेरै नेपालका हुन । कुनै कन्चनजँघा, कुनै मनासलु, कुनै माचापुच्छ्रे त कुनै अन्नपूर्णा । तर प्रत्यक्ष आँखाले नदेखेको भएपनि सगरमाथाले भने कसो कसो विशेष स्थान बनाएको रहेछ मेरो ह्रदयमा । अलास्काका कुनैपनि हिमाल मलाई कहिल्यै पनि सगरमाथा जस्तो लागेन । उत्तर अमेरिका कन्टिनेण्टकै सबैभन्दा अग्लो हिमाल म्याकिन्लेको काखमा पुग्दापनि मलाई सगरमाथा विशेष छ र विशेष उचाईमा छ भन्ने गर्वपूर्ण भावना रहिरह्यो । कहाँ अठ्ठाइस हजार उनन्तीस फीटको सगरमाथा कहाँ बीसहजार तीनसय बीस फीटको म्याकिन्ले । तुलना हुनै सक्दैन । गरिटोपल्यो भने पनि यौटा लाठे नेपालीले भोकाएको बेला खान पस्किएको घुमाउने रास भातको अगाडि ट्यास्स म्याकडोनाल्डको यौटा ह्याम बर्गर राखेजस्तो । निर्वाचनको चुनावी मतकै हिसाबले हेर्यो भने पनि क्या सानदार विजय भयो भन्न सकिने ।

 

यो भुरेटाकुरे हिमालहरुसँग सगरमाथाको तुलना गर्नु मलाई सँधै आफ्नो कद घटाउनु जत्तिकै लाग्छ ।

 

जतिसुकै सामान्य मानिएका भएपनि हर घटनाहरुले जीवनमा केहि न केहि सानो ठुलो फरक पारेकै हुन्छन् । म स्वेच्छाले अमेरिकाको नागरिक भएपछि म मा पनि केहि भिन्नता आयो । खास गरेर लेखनमा । मेरा पुस्तक प्रकाशित छैनन् । म कुनै मुलधारको पत्रपत्रिकामा नियमित लेख्दिंन अथवा मलाई तपाईं, जो यो पढिरहनुभएको छ, कुनै लेखक नै ठान्नुहुन्न भने मैले लेखनमा फरक परेको कुरा गर्दा तपाईंले मभित्रको मपाईंत्व देख्नसक्नुहोला । तर त्यसैकारणले म आफुलाई लेख्न मनलागेको कुरा नलेखि बस्ने कुरा पनि आउँदैन । जे जति लेख्छु र जहाँ लेखनकार्यले सहभागी छु त्याहाँ मलाई फरक परेको छ । र मलाई फरक परेको कुरा मैले नगरेर कस्ले गर्ला?

 

उसो त समय अझै उस्तै छ तर यसरी भनौं एक समय थियो जब म उमेश श्रेष्ठले चलाउनुहुने नेपाली भाषाको पहिलो ब्लग माइ संसारमा टिप्पणी लेखक, कथा, कविता लेखक ईत्यादि भएर खुब सहभागी हुन्थें । अचेल छोडिसकें त्यता लेख्न तर माइसंसारको अझै खुब माया लाग्छ । अझै पनि नियमित पढ्ने गर्छु । देशको राजनैतिक घटनाक्रम अनुशारका पोष्टहरुमा गरिने गरमा गरम वहशमा भाग लिँदा त्यतिखेर म राष्ट्रियताको पक्षमा खुब कुर्लेर बोल्थें । बिदेशमा बसेर त्यतिमात्र गर्न पाउँदा पनि राष्ट्र प्रेम छातिभित्र जिउँदो जाग्दो छ भन्ने महसुस हुन्थ्यो । फुटकर रचनाहरुमा पनि म देश लेख्न खुब लालायित हुन्थें तर जब अमेरिकाको नागरिकमा रुपान्तरण भएँ, आफैंलाई अब राष्ट्रियताको सवालमा ठुल्ठुला गफ गर्नबाट आफुले वञ्चित गराईसकें भन्ने लाग्न थाल्यो । क्रमश म राष्ट्रियताका सवालमा ठुला गफ लेख्न छाडें । आफ्नै नैतिकताले एकातिर तघारो हालेको महसुस हुन्थ्यो भने अर्कोतिर साथीभाइहरुले समय समयमा 'तँ त अब अम्रिकाने भै सकिस' भनेर नेपाल राष्ट्र प्रतिको मेरो प्रेममा धावा बोलेको महसुस हुन्थ्यो । माइसंसारमा गोलेदाइ भएर लेख्थें म । देश लेख्न छोड्नु र गोलेदाइ मबाट हराउनुको पीडा अझै महसुस हुन्छ मलाई । तर अचेल कसैले विदेशी भैसकेको आरोप लगाईहाले भनेपनि होइन म नेपाली नै हुँ भनेर ओठेतुरी गर्न रुचाउँदिंन ।

 

नागरिकता जहाँको लिएपनि र बसोबास जहाँ गरेपनि म यो जुनीभरी नेपाली भएर नै बाँच्छु भन्ने म भित्रको विश्वास कसैले सडकमा अनधिकृत रुपमा गाडेको खम्बा होइन जस्लाई जो कोहिले आएर उखेलेर फ्याँक्न सकोस् । धेरैसँग त मलाई अझै पनि मतलब लाग्दैन कि नेपाल(देश) प्रेमको सवालमा उनिहरु भन्दा आफुलाई फित्तलो पाउँ तर केहि पक्का देश प्रेमीहरुको अभिव्यक्ति पढ्दा/सुन्दा भने आफु पग्लिएर पानी बनेर सुलुलुलु बग्दैछु कि जस्तो लाग्छ ।

 

आजको विश्वमा एक देशको नागरिक कुनै अर्को देशमा बसाइँ सरेर जानु सामान्य कुरा हो । यसलाई आमरुपमा लिएर हेर्छु म र सम्झन्छु यो सारा पृथ्वी एउटै घर न हो । यो पृथ्वीको माटो पनि उहि हो चाहे त्यो नेपालको होस् या अमेरिकाको । पृथ्वीका समस्त मानवजातीहरु पनि उस्तै हुन् । उस्तै उस्तै मानवीय प्रकृति र उस्तै उस्तै मानवीय संवेदना बोकेका । तव म नेपालकै नागरिक रहिरहनु र अमेरिकाको नागरिक बन्नुले के फरक पर्छ?

 

योगदानको कुरा गर्ने हो भने म यतिबेला नेपालमै हुन्थें भने पनि देशलाई त खै आफ्नै परिवारलाई समेत आवश्यक योगदान दिन असमर्थ हुन्थें कि? के जान्ने म देशलाई योगदान दिने नाममा कुनै वादको पछि लागेर विद्यालय, विश्वविद्यालयहरुमा आगो झोसीरहेको हुन्थें कि? सडकमा टायर जलाएर वातावरण प्रदुषित गराइरहेको हुन्थें कि अथवा बन्द हड्तालको नाममा आफ्नैहरुलाई सास्ती दिइरहेको हुन्थें कि? अथवा वादको नाममा बन्दुक बोकेर आफ्नैहरुको जीवन हरिरहेको हुन्थें कि? देशलाई केहि योगदान दिने अठोट छ भने म अमेरिकाको नागरिक हुँदैमा या कोहि अर्को अर्कै मुलुकमा बसोबास गर्दैमा पाईंदैन भन्ने पनि त छैन ।

 

देशप्रेमको कुरा गर्ने हो भने देशप्रेम पनि त देशको माटो टेक्दैमा मात्र हुने होइन । देश प्रतिको प्रेम त म भित्र अझै पनि त्यत्ति नै छ जत्ति म नेपालमै हुँदा थियो । कदाचित् त्यो बरु बढेर गएको छ । तब देशप्रेम सारा विश्वमा छरिएर रहेका नेपालीहरुमा छैन जत्तिकै, हुँदै हुँदैन जत्तिकै कसैले किन ठान्नुपर्यो या म स्वयँले पनि ।

 

हो तर राष्ट्रियताको कुरा आउँदा म चुपचाप हुन्छु । तर्क गर्ने हो भने केहि कुरा झिक्न सक्छु तर नैतिकता र ईमान छोडेको हुन्न देश छोड्ने मान्छेले । त्यसैले म चुप हुन्छु । त्यसैले म घोसेमुण्टो लगाउँछु । अब भन्नुहोला घोसेमुण्टो लाएर पनि म यो सब कुरा किन उठाइरहेछु? किनभने घोसेमुण्टो लगाउनु भनेको मैले बाँकिको सम्मान गर्नु हो तर मैले घोसेमुण्टो लगाएको दाउ पारेर घिच्रो समाउने र अझै तल भुईंमै दबाउनेहरु पनि देखिन्छन् भने मैले बोल्नै पर्छ । त्यसैले बोलेको हुँ भन्दा अहिलेलाई पनि फरक नपर्ला ।

 

म राष्ट्रप्रेमी तँ राष्ट्रघाती वा म देशको माया गर्ने अनि तँ चैं देश छोडेर हिंड्ने भन्ने त अहिले सबभन्दा चल्तिको चलन नै भएको छ । मानिलिउँ यो खेल पो हो । यो खेल समयले पनि देखाईरहेछ आँखा अगाडि । म बबुरो सारा पृथ्वीलाई यौटै घर हो भनेर मनलाई सान्तवना दिन्छु यता । उता म हुर्के बढेको गाउँ, घर, खोला, खोल्सा, फाँट, मैदान, पहाड, पर्वत, जंगल, नदि, तरेली, सडक, कूलो, पँधेरो सबै सबै विभाजित हुन खोजिरहेछ । यहि समय भनिरहेछ कि अब सबै सबै एकै हुनै सक्दैन; सबका सबबाट भए नभएको पृथकता उधिनेर अलग अलग पहिचान दिनैपर्छ ।

 

त्यसो त सबै सबै एकै हो भन्ने जसरी एउटा विचार हो सबका सब पृथक छन् भन्ने पनि त्यसैगरी एउटा विचार नै हो । विचारहरु सँधै हतियार सरह हुन्छन् । हतियारको प्रयोग सही र गलत दुबै कामको लागी हुनसक्ने उत्तिकै सम्भावना भएजस्तै विचारहरु पनि सही र गलत दुबै ढंगबाट परिचालित हुन सक्छन् । म अझ बढि यसकारणले डराउँछु कि सबै सबै एकै हो भन्ने विचार गलत ढंगबाट प्रयोगमा ल्याईएर जसरी तमाम मान्छेहरु डम्म कुहिरोमा ढाकिएझैं झलमल्ल उज्यालोबाट समेत वञ्चित गराईए । त्यसैगरी सबका सब पृथक छन् भन्ने विचार पनि गलत ढंगबाट परिचालित गराईएर उज्यालो खोज्नेहरु समेत ज्वालामुखिमा परेर भस्मीभूत हुने त होइनन्? यो डरको पारो ममा त्यसदिन देखि झन् चढ्यो जुनदिन आफ्नै एक अनलाइन साथीसँग कम्प्युटरको अनलाइन वहसमा मैले अमेरिकाको नागरिकता लिनुको कुरा उठेर क्षेत्र, धर्म र जातिय विवाद बढ्दै गयो र विवादमा मैले वारुदी गन्ध महसुस गरें । विचारसँग वारुद कति भयानक हुन्छ त्यो त यहाँ कसैले कसैलाई परि लाइरहनु आवश्यक छैन । दशकौं भोगेर त्यो ज्ञान प्राप्त नहुने को होला?

 

केहि वर्ष अघि, अमेरिकाको नागरिक भैसकेपछि म घर जाँदैथिएँ । आफु विदेशी नागरिक भैसकें भन्ने भित्री नमिठोका साथ घर गएको त्यो पहिलो बाजी थियो । यहाँनेर मलाई अम्रिकाने भन्ने मित्रहरुको हिसाबले अथवा आफ्नै अन्तर आत्माको एककुनाबाट निस्कने म विदेशी नागरिकता लिएको मान्छे भन्ने हिसाबले हेर्ने हो भने मैले म केहि वर्ष अगाडि नेपाल घुम्न जाँदैथिएँ भन्नुपर्ने हुन्छ । तर माफ गर्नुहोला म घर नै जाँदैथिएँ ।

 

आफुलाई जतिसुकै नेपाली हुँ भने पनि कानुनत मैले विमानस्थलमा अध्यागमन भएर कति अवधी नेपाल(आफ्नो घर)मा वस्न चाहन्छु सोहि अनुशार सशुल्क अनुमति लिनुपर्ने अर्थात् आफ्नै घर जानलाई भिजा लिनुपर्ने हुन्थ्यो । काईदा बमोजिम म विभिन्न देशका नागरिकहरुसँगै अध्यागमनको लाममा उभिएँ । यो मैले आफैंले बनाएको परिस्थिती हुनाले भित्री नमिठोलाई पहिल्यै कुनबेल पिइसकेको थिएँ । र अध्यागमनका कर्मचारीहरुले विदेशी नागरिकहरुसँग गर्ने व्यावहार वार्ता हेर्दै ताजुप भैरहेथें । मैले त्याँहा लाममा रहुन्जेल कुनै पनि कर्मचारीले विदेशी नागरिकलाई 'तपाईंको यात्रा कस्तो रह्यो?', 'आउनुहोस् तपाईंलाई नेपालमा स्वागत छ ।' अथवा 'तपाईंको नेपाल यात्रा सुखद रहोस् ।' भनेको सुनिंन । बरु उनिहरु त विदेशी नागरिकहरुसँग बोल्नै नपरे हुन्थ्यो भनेझैं सकेसम्म विना सम्बाद काम गर्दैथिए । वातावरण आगन्तुक पर्यटकहरुको लामतर्फ सन्नाटा जस्तो तर अध्यागमनका कर्मचारीहरुतर्फ अरिँगाल, बारुलोको गोलो जस्तो झिँ झिँ जस्तो थियो । अर्थात कर्मचारीहरु धेरैजसो आफ्नै तालका गफमा मस्तराम थिए । बेलाबेला भोटेकुकुरको भुकाई जस्तो खोकी र हल थर्काउने हाच्छिउँले कर्मचारीहरु कर्ममा दत्तचित्त छन् है भन्ने प्रमाण दिएझैं लाग्थ्यो ।

 

मेरो ठीक अघिल्तिर मंगोलियन अनुहारका दम्पति थिए । तिनीहरु आफ्नो पालोमा सम्मुख आइपुग्दा अध्यागमनका कर्मचारीले सामान्य हाइसम्म नभनि हात बढाए । जस्तो कि उनले केहि भन्नै, बोल्नै पर्दैन हात बढाउनुको आशय उनिहरुले नबोली बुझिहाल्छन् । नभन्दै ती दम्पतिले पनि आफ्नो हातमै रहेको पासपोर्ट कर्मचारीको हातमा थमाए । जस्तो कि उनिहरुलाई पहिल्यै देखि थाहा छ यहाँ हाइ हेल्लो केहि चल्दैन वा चल्ने भएपनि चलाउनु आवश्यक छैन । कर्मचारीले ति दम्पतिको पासपोर्ट हेरें र उदेक लाग्दो गरी उच्व स्वरमा 'कोरिया?' भने । उनिहरुको पासपोर्टमा कोरिया लेखेकै होला । त्यो देखेर ती कर्मचारीले जानेका भए भएकै थियो । हाइसम्म भन्न नसक्नेले त्यस्तरी उदेकै मानेर चिच्याउँदै 'कोरिया?' भन्नै पर्थ्यो र? पछिल्तिर म कुरिकुरि भएँ । उनले कोरिया यस्तरी भने कि मानौं संसारमा कोरिया भन्ने देशनै छैन । ति दम्पति हुँदै नभएको देशबाट आएका हुन् । अथवा मानौं कि ति कर्मचारीका छिमेकी साईंलाको छोरो कोरिया नै गएको छ र ति दम्पतिले सायद उसलाई चिन्दा हुन् । 'कोरिया?' भनिसके पश्चात ति कोरियन दम्पतिको निमित्त गर्नुपर्ने अध्यागमनको प्रक्रियागत काम गरुञ्जेल ति कर्मचारी कोरियन दम्पतिसँग एकैशब्द केहि बोलेनन् बरु आफ्नो सहकर्मीहरुसँग नेपालीमा अरु अरु कुरा गर्दै हाँस्दैथिए । के सोचे होलान् ति कोरियन दम्पतिले? त्यो सब नियालीरहेका लामका अन्य विदेशी पाहुनाहरुले? संसारको एक सुन्दर देश भनेर नेपाल घुम्न आउने विदेशी पर्यटकहरुले आधिकारिक रुपमा नेपाल भूमी टेकेर सर्वप्रथम आत्मियता, शिष्टता र स्वागतको निमित्त मुहारमा मुस्कान समेत नभएका अध्यागमनका कर्मचारीहरुसँग भेटेपछि कस्तो धारणा बोकेर नेपाल दर्शन गर्दाहुन्?

 

मेरो पालो आयो । म सम्मुख गएँ र नमस्ते भन्दै पासपोर्ट दिएँ । उनले लामो तानेर नमस्कार भन्दै हातले मेरो पासपोर्ट समाते तर आँखा मेरो अनुहारमा आश्चर्य मान्दै टाँसिरहे केहिबेर । मानौं मेरो अनुहारमा नाक ठीक जगामा छैन । या मानौं म नेपाली जस्तै देखिन्न तर नमस्ते भनिरहेछु अथवा मानौं कि मैले नेपाली अनुहार लिएर अमेरिकाको पासपोर्ट देखाउनु घोर आश्चर्यकै बात हो । केहिबेर नै लगाएर आँखाले मेरो स्क्यान गरिसके पश्चात उनले पुलुक्क मेरो पासपोर्ट हेरे र पल्टाउँदै नपल्टाई फेरि मैतिर हेरेर भने, 'डीभी?'

 

उनको 'डीभी?' भनाई दुरुस्तै उस्तै थियो जस्तो म भन्दा अघिका दम्पतिलाई भनिएको 'कोरिया?' थियो ।

 

'हो त । तर मान्छे हेरेर थाहा पाउनु भयो कि पासपोर्ट हेरेर?' मैले प्रतिप्रश्न पनि गरें ।

 

'होइन यसै, अनि कति भयो उता बस्नुभएको?' उनले कुरा अन्तै पुर्याए । म कहाँ बस्छु? के गर्छु? कति कमाउँछु? ईत्यादि निधीखोजी तर्फ लागे उनि । उनको जवाफ पनि दिँदैथिएँ म तर सोच्दै पनि थिएँ 'डीभी?' भनेर उनले मलाई एक्कासी भन्नु र त्यसो भनिरहँदा उनको अनुहारमा आश्चर्यको भावरेखा देखिनु के थियो? डीभी परेर अमेरिका पुग्नेहरु प्रति 'जावो'को संज्ञा या 'अहो! भाग्यमानी रहेछ यो त डीभी परेर अमेरिका पुग्ने' भन्ने भाव?

 

जेसुकै भएपनि दुबै कुराहरु अस्वस्थ्य थिए उनको मुहारमा । न डीभीमा अमेरिका जाने भाग्यमानी कहलिन योग्य हुन्छन् न त जावो नै भनिरहनु पर्ने हुन्छन् । उनि लगातार प्रश्नहरुको वर्षा गरिरहेथे मलाई । भर्खरै सम्म उनले अरुसँग नबोलेको देख्दा उनि बोल्नै चाँहदैनन् रहेछन् भन्ने लाग्दैथियो मलाई । तर कहाँ उनि त कुनै चेकपोष्टमा सुरक्षा जाँचकीले यात्रीको झोला भत्यालभुतुल पारेर खोतलेझैं मलाई खोतली रहेका पो थिए । उनमा पनि सहज घेरा खोज्ने अन्तर्राष्ट्रिय रोग रहेछ । यसलाई अँग्रेजीमा कम्फर्ट जोन खोज्ने भन्छन् । सामान्य परिवेशमा सामान्यतया यो रोग सबैमा हुनु स्वभाविक हो तर उनि त अध्यागमनका कर्मचारी । दैनिक विभिन्न देशबाट नेपाल दर्शनका निमित्त आउने पाहुनाहरुसँग साक्षातकार हुनुपर्ने मान्छे । उनले कसरी आफ्नै खाले भाषा, आफ्नै खाले संस्कृति, संस्कार भएका मान्छेहरुसँग मात्र घुल्न मिल्न चाहने यस्तो सहज घेरा खोज्ने रोग पाल्न सकेका आफुमा? यो सहज घेरा खोज्ने रोग फेरि कति डरलाग्दो हुन्छ भने यसले आफ्नै खाले भाषा, आफ्नै खाले संस्कृति, संस्कार भएकाहरु माझबाट पनि आफ्नै खाले स्वभाव र आफ्नै खाले औकात भएकाहरु खोज्न थाल्दछ । कतिपय अवस्थामा त यसले मान्छेलाई नितान्त एक्लो समेत बनाईदिन्छ ।

 

प्रक्रिया सिध्याएर म उनको सामुबाट बाटो लागें तर उनको सोधाई र अनुहारको कलाकारीपूर्ण भावभंगीमा निक्कै दिनसम्म मेरो आँखामा छाईरह्यो ।

 

प्रिय पाठक, म अनुभूत गर्न सक्दिंन तपाईं पाठकको मनस्थिती यतिबेला । मात्र अनुमान गर्न सक्छु तर अनुमान सँधै अनुमान मात्र हुन्छ । मेरो गफ निवन्धले दिग्दार हुनुभएको भए समय वर्वादीको लागी क्षमा माग्नैपर्छ मैले । होइन, अझै अगाडि के छ हेरौं भन्ने विचारमा हुनुहुन्छ भने अर्को यौटा घटना छ प्रमुख । प्रमुख यसकारण कि यो गफ निबन्धको शिर्षक यहि घटनाबाट प्रभावित भएर तयार भएको हो ।

 

एकदिन म मेरो मेरो सानैदेखिको परम मित्रसँग काठ्माण्डौमा थिएँ । त्यो मित्र मेरो एक यस्तो मित्र हो जस्ले म अमेरिकाको नागरिक भएपछि घोर आश्चर्य मानेर भनेको थियो, 'यो मेरो कल्पना भन्दा परको कुरा भयो । नो कमेण्ट ।' तर समयक्रममा उसँग कुराहुँदा हरेक पल्ट 'के छ अम्रिकाने?' भन्नेमा त्यहि साथी अगाडी आउन थाल्यो । उसको गुनासो आत्मियताको सीमाभित्रै हुन्थ्यो तर गुनासो त गुनासो नै हो । फेरि पनि म यसलाई स्वभाविक रुपमा लिन बाध्य नै छु तर पनि उल्लेख यसर्थले गरिरहेको छु कि मेरो अमेरिका बसाईको सुरु सुरुमा उसँग अन्तरंग कुरा गर्दा म स्वभावत भन्ने गर्थें, 'दुख गर्न यहाँ आउनु लेखेको रहेछ आइयो । यो दुख गोडा दशेक वर्षसम्म गरेर नेपाल नै फर्किन्छु म त ।'

 

त्यसबेला उ सम्झाउँथ्यो मलाई, 'मान्छेहरुले अमेरिकामा जह्रो गाड्न हत्ते हालेको देखेको छु मैले । तँ चैं किन नचाहिँदो कुरा गर्छस्? उतैको नागरिकता लिने र सबै परिवारलाई पनि उतै लगेर आनन्दले बस्ने नि? जे भनेपनि यहाँ भन्दा त त्याहाँ आनन्द नै हुँदो हो?' समय बित्दै जाँदा म बुझ्दै गएँ परदेशमा भासिएपछि यौटा जुनीलाई फुत्किन हम्मे पर्ने कस्तो दलदलले भरिएको भासहरु हुँदा रहेछन् ! अझ सानो तथा मझौला आर्थिक हैसियत भएकाहरु अर्थ ढुवानी गर्नकै खातिर जिन्दगी नामको ट्रक भएर यो अमेरिकामा पँप पँप हर्न बजाउन थालेपछि त ट्राफिक लाईटमा एकाध सेकेण्ड बाहेक अन्यत्र पार्क गरेर विसाउनै कहाँ पाईने रहेछ र? आँखिर ठोकिँदै, चेप्टिँदै म क्रमश औकातमा आउँदैथिएँ र अन्तत: ठेगान लागें यतै । जब ठेगान लागें तब उहि साथीको मुखबाट व्यङ्ग्य फुट्न थाल्यो, जस्तो कि मैले उसैको सल्लाह मान्दा अब अपराध भयो ।

 

एकसाँझ - हामी काठ्माण्डौमै अस्थाइ रुपमा रहँदै आउनुभएका आफन्तलाई भेट्न गयौं । साथी र म दुबैले चिनेजानेको आफन्त कहाँ पुग्दा थाहा पायौं आफन्त दाइ क्यान्सर जस्तो असाध्य रोगबाट पीडित हुनुहुँदोरहेछ । वहाँलाई हिँडडुल गर्न पनि कसैको सहारा चाहिने अवस्था देखेर हामीले वैसाखी टेकेर भएपनि आफैं हिड्न पर्छ भन्ने कुरामा प्रेरित गर्यौं । वहाँले पहिले त वैसाखीको सहारामा हिंड्ने कुरालाई सहज लिनुभएकै थिएन । भन्दै हुनुहुन्थ्यो 'वैसाखी नै टेकेर हिंड्न थाल्यो भने त मान्छेले पनि हेप्लान् नि हौ ।'

 

'दुनियाँले हेप्ला कि के गर्ला भनेर आफ्नो अवस्थालाई नजर अन्दाज गर्दा भोली झन चट्पटाउनै नसक्ने अवस्थामा पुग्नुभयो भने के गर्नुहुन्छ?' यसै भनेर हामीले वहाँलाई वैसाखी टेकेर हिंड्न राजी गरायौं । साथसाथै यो पनि थाहा पायौं कि वैसाखी टेक्न हिच्किचाउनुमा मान्छेले के भन्लान् भन्ने कुरासँगै महानगरको महँगीमा बसेर उपचार गराउनुपर्दाको आर्थिक पीडाले समेत अदृश्यबाट भूमिका खेलिरहेको रहेछ । स्वास्थ्यको निम्ती सकारात्मक लिनुपर्ने शर्त राखेर हामी वैसाखी उपलब्ध गराउँन भोलीपल्ट बिहानै किन्न जाने नीधोमा पुग्यौं ।

 

भोलीपल्ट वैसाखी पाउने पसल नयाँ सडकमा रहेको पत्ता लगाएर हामी सखारै नयाँ सडकतिर हिंड्यौं । सफा टेम्पो चढि नयाँ सडक छेउछाउतिर ओर्लिएर वैसाखी पाउने पसलमा पुग्दा पसल खुलिसकेको थिएन । पसल अगाडी उभिएर हामी गफ गर्दैथियौं । हाम्रो नाकलाई ताजा नर्कको दुर्गन्धले बेस्सरी तर्सायो । 'नयाँ सडकको पेटितिर पनि कसैले आपतकालिन अवस्थामा मलत्याग गरेछ कि क्या हो?' भन्दै हामी दुर्गन्ध आउने स्थान नजिकै पो छ कि? झैं गरेर यताउता आँखा घुमाउँदै थियौं ।

 

'छि! छि! गुहू त तैंले पो कुल्चेर आइछस् ।' मित्रले मेरो दाहिने खुट्टाले गुहू टेकेको देखेछ । मेरो खुट्टाले टेकेको गुहू उफ्रेर उसको खुट्टामा सरिहाल्लाझैं उ म देखि अलि पर्तिर सर्यो ।

 

'हरे शिव! हो त रहेछ ।' मैले दाहिने खुट्टाको पैताला फर्काएर हेरें । जुत्ताको तलुवामा भित्र काप कापसम्म खाँदिने गरेर पसेको रहेछ । जुत्ताको तलुवा पुरै सुनको ताजा जलप लगाएझैं भएको थियो । मैले पेटिबाट सडकतिर झरेर पैंतालीस डिग्री कोणमा पैताला उचालेर कुर्कुच्चा भुईँमा ठोक्दै झार्न खोजें । तर कहाँ झर्नु लिसोझैं टाँसिएको गुहू ? म जुत्ता खोलेर फाल्नु कि के गर्नुको मनस्थितीमा खोरण्डोझैं खोच्याउँदै पेटीमै उक्लिएँ । एकजना भलाद्मीले थाहा पाएछन् । घिनाउँदै भने, 'छ्या! कहाँ कहाँ देखि गुहू टेकेर याँ मेरो पसलको आघिल्तिर फोहोर गर्न आ'को? उता जानुस् ।'

 

ति भलाद्मी त्यहि पसलको ढोका खोल्ने उपक्रममा लागे जुन पसलमा वैसाखी किन्न भनेर हामी आएका थियौं ।

ति नै भलाद्मीलाई लक्ष गरेर मैले भनें, 'यो गुहू मैले जानेर टेकेको हो र? तपाईंको नयाँ सडकमा पनि गुहू हुँदोर'छ पेटीतिर, टेकियो त अब के गर्ने? बरु तपाईंसँग पसलमा पानी होला दिएर सहयोग गर्नुस् न म पखाल्छु ।'

 

उनि बाहिर पट्टिको शटर खोलिसकेर भित्री ढोका खोल्दैथिए; झर्किंदै बोले, 'हो हो, मैले यहाँ पसलमा कस्ले कस्ले गुहू टेकेर आउँछ भनेर धुने पानी राखेको छु नि । कस्ता कस्ता मान्छेहरु पनि देख्नुपर्छ ब्यानब्यानै । जानुस् कहाँ गएर धुनु पर्छ धुनुस् । ब्यानब्यानै मेरो पसलको अगाडि फोहोर गर्ने होइन ।' बोले मात्र होइन, पसलेले चेतावनी नै दिए अघोषित तवरले नत्र राम्रो हुने छैन भनेर ।

 

'कस्तो कुरा गर्नुहुन्छ? म कहाँदेखि तपाईंको पसलमा सामान किन्न आएर कुरिरहेछु । गुहू टेकिएछ त मैले के गर्ने? मैले जानेर तपाईंको पसल फोहोर गर्न टेकेर आ'को हो र? धुने पानी दिनुहुन्छ भने दिनुस् नत्र म यत्तिकै पस्छु तपाईंको पसलमा । मलाई वैसाखी किन्नु छ । हेरौं कसरी रोक्नुहुन्छ?' म पनि बम्किएँ ।

 

'यार तँ चैं साँच्चै अम्रिकाने नै भै'छस् । तेरो अम्रिकाको सहर हो र यो सडकहरु सफा हुनलाई? अलि हेरेर हिंड्नु पर्दैन? अब हिँड् कतै धुने ठाउँ पाइएला । यस्तो पसल पनि पाइएला नि अरु पनि ।' बिचमा साथी बोल्यो । पसलेको ब्यावहार उसलाई पनि चित्त नबुझेको हुनुपर्छ । गुहू टेकेको खुट्टा लिएर खोच्याउँदै र नाकले दुर्गन्ध सहँदै कहाँ जाने? चिन्ता थियो र पनि हामी त्याहाँबाट हिंड्नै लागेका थियौं । हातमा पेप्सीको दुई लिटरको बोटलमा पानी लिएर पसले ढोकामा देखिए र भने, 'लु लिनुस् पानी । अलि राम्रो सफा गरेर आउनुहोला है त पसलमा ।'

 

पसलेलाई धन्यवाद दिएर म पुन सडकमै झरेर खुट्टामा टेकिएको गुहू धुन लागें । त्यसबेला सोच्दैथिएँ, 'भर्खरै सम्म मैले गुहू धुने पानी राखेको छु र पसलमा? भन्ने मान्छेले अचानक फेरि कसरी पानी दिए? के उनको पसलमा वैसाखी किन्न आएको हो भनेर? यदि त्यसो हो भने हामीमा खै सहयोगको भावना? मेरो ठाउँमा त्यस पसलमा सामान नकिन्ने अरुनै कोहि भएको भए? अथवा म त्यो पसलमा सामान किन्न नआएको भए के यि पसलेले मैले कुल्चेको गुहू धुन पानी दिएर सहयोग गर्थे होलान् त मलाई? मैले टेकेको गुहूले उनको पसल फोहोर हुन्छ भनेर चिन्तित त थिए तर मैले उनको पसलमा केहि किन्ने थिइंन भने मलाई पानी दिएर सफा हुन सहयोग गर्न तयार थिएनन् उनि । सहयोगी भावना किन मर्दैछ हामीसँग? विना स्वार्थ किन हामी कोहि कसैलाई सहयोग गर्न तयार हुँदैनौं?'

 

दुई लिटर पानी पुरै रित्याएपछि नयाँ सडकको गुहू टेकेको मेरो खुट्टा अथवा सफा भयो । फेरि धन्यवाद दिएर हामी पसलमा पस्यौं र चाहिएको जस्तो वैसाखी हेर्न थाल्यौं । 'गुहू त राम्ररी सफा भयो के?' भनेर सोध्दै भएपनि पसले साह्रै विनम्र भावमा हामीलाई सस्ता, महँगा खालपरीका वैसाखीहरु देखाउन थाले । तर उनको अन्तरमा वैसाखी भन्दा परकै कुराको जिज्ञासा रहेछ । उनले मतिर मुखरित भएर सोधे, 'बाबु विदेशबाट आउनुभएको हो?'

 

भर्खरै साथीले 'तँ त अम्रिकाने नै भै'छस्' भनेको सुनिसकेका पसलेले मलाई यो प्रश्न सोध्नुमा उनिभित्र अझै थप जिज्ञासा वा प्रश्नहरु छन् भन्ने संकेत गर्दथ्यो । मैले होइन भन्न मिल्ने ठाउँ पनि थिएन । हो भनें ।

 

'कुन ठाउँबाट?' थप प्रश्न मध्येको पहिलो प्रश्न फ्याट्ट खोले उनले ।

 

'म अलास्काबाट हो ।' आफु जहाँथिएँ सोहि अनुशार जवाफ बुझाएँ मैले । 'ए! त्यो भनेको कहाँ नि?' पसले अल्मलिए । स्वभाविकै थियो नेशनल जियोग्राफिक च्यानल हेर्ने वा पत्रिका पढ्नेहरु बाहेककालाई भूगोलको अलि राम्रै ज्ञान नभएसम्म अलास्का कहाँ हो, कुन देश हो? भन्ने लाग्नु अनौठो थिएन । अमेरिकामै पनि १० प्रतिशतलाई अलास्का र हवाईको बारेमा थाहा नहोला कि भन्ने अन्दाज गर्छु म किनभने ८० प्रतिशतले अलास्का र हवाई टेकेकै हुँदैनन् भन्ने कहिँ सुनेको थिएँ ।

 

'अमेरिका नै हो । अमेरिकाको यौटा स्टेट हो ।' साथीले पसलेलाई भन्यो पहिले र मलाई भन्यो, 'तँ पनि यार! सबैलाई कहाँ अलास्का, आइडाहो भनेर थाहा हुन्छ? थपक्क अमेरिका भने सकिएन?'

 

हो हो सकियो भनेझैं भावमा मैले साथीको अनुहारमा हेरें । उ पनि बढ्ता जान्ने पो भएँ कि भनेझैं शशंकित भएर मैलाई हेर्दैथियो ।

 

'होइन अलास्काकि नेता सारा पलेनले त मेनल्याण्डमा गएर मलाई अमेरिका आउँदा खुशी लाग्यो भनेर आई अस्ति भर्खरै । मैले किन अलास्कालाई अमेरिका नै हो भन्ने नि?' यसपटक मैले बेमतलबको कुरा सुनाएछु । साथीले पनि वास्ता गरेन । पसलेलाई त झन के मतलब? बरु उनले सोधे, 'कहाँ हो त्यो अलास्का भनेको? टेक्सासतिरै हो?'

 

'होइन । टेक्सास पृथ्वीको भुँडीतिर छ अलास्का चैं टुप्पीमा ।' आफ्नै तालको जवाफ दिएँ मैले ।

 

'ए! टाढा छ?' अझै निध्याए उनले ।

 

'हजुर धेरै नै टाढा छ ।' प्रष्ट्याएँ मैले ।

 

सँगसँगै हामी वैसाखी पनि हेर्दैथियौं । साथीले छानिसकेको थियो । पसले मलाई अमेरिकाको बारेमा सोध्न थाले । 'म कहाँ बस्छु? पढ्छु कि पढ्दिन? काम गर्छु कि गर्दिंन । मेरो अमेरिका बस्ने स्टाटस के छ?' मलाई यसरी आफ्नो बारेमा आन्द्राभुँडीनै पल्टाएर देखाईदिनुपर्ने गरि कसैले सोधीखोजी गरेको निको लाग्दैन तर म दिक्क पनि मान्दिंन भएको कुराहरु बताईदिन । म उनको जिज्ञासा अनुरुप जवाफ पनि दिँदैथिए उनलाई । उनि पनि आफ्नो बताउँदैथिए । उनको छोरा टेक्सासमा पढ्न बसेको रहेछ । भन्दैथिए, 'कामगर्दै पढ्न साह्रै गाह्रो छ भन्छ छोराले । यसपाली ग्र्याजुएट हुन्छ अनि चैं अलि राम्रो जागिर पाउँछ कि?'

 

बैसाखीको पैसा तिरीसकेपछि मैले सोधें, 'तपाईंले साँच्चै अमेरिकाबाट आएको थाहा पाएरै मलाई पानी दिनुभएको हो अगि?'

 

पसले मुसुक्क हाँसे र भने, 'हो त, नत्रभने याँ पानी कम्ता महँगो छ र?'

 

म पनि हाँसें र हाँस्दै सोधें, 'पसलमा सामान किन्न आएको भएर पनि होइन त?'

 

'त्यो पनि हो तर कसैले सामान किन्ने भन्दैमा किनिहाल्छन् भन्ने कहाँ हुन्छ र? ढाँटेको पनि त हुनसक्थ्यो ।' उनले भने । हामी पसलेसँग बिदा भएर बाहिर निस्कियौं । सफा टेम्पोतिर अघि बढ्दै गर्दा साथीले भन्यो, 'अब चैं राम्रो हेरेर हिँड् नि, फेरि टेक्लास् गुहू ।'

 

'किन चिन्ता गर्छस् धुने पानी दिहाल्छन् नि । बरु तँ मलाई अम्रिकाने भन्दिनु ।' म जिस्किएँ ।

 

'होइन त? अम्रिकाने भनिस् भनेर चित्त दुखाउँथिस् नि । देखिस् फाइदा के हुँदोर'?' साथी भन्दैथियो ।

 

म अवाक् भएँ । यसैपनि मैले एक हिसाबले स्विकारेकै हुँ मैले देश छोडें भनेर ।

 

 

Comments

By mistake,maile Basujilai sambodhan garda ,  Deepakji, achamma hunu bhayeko hola, lekh padher Basujilai lekhnu ko artha chai Basuji, mero sathi bhayeko naatale tapailai abashya pani uhale share garnu hola bhaner ho hai! Dipakji!! lekh ekdam nai ramro laagyo, Dipakji!!!! aru pani padhna paaune aashama chhu, ani yo chai lekh maatra nabhayer euta ghatna nai rahecha!!aru kura arko lekh padhne mauka payema lekhne nai chhu!!
Subhadra

Gajab ramro lekh rahecha Basuji,  Padhna thalepachi nasidhii chhodna nai man laagena!!! sabai ekaipatakma padhna bhyaaye tyo pani bihana bihaanai!! hehe, la aba Nepal aaunu huda chai pakka bhetnu parcha hai Basuji!!!!
From Subhadra

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |