हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

न्यूयोर्क

बसन्त श्रेष्ठ, (भर्जिनीया)

सेण्ट्र्लपार्क्रको विशाल छाती
ट्विनटावरका दुईवटा ठुला आँखा
एम्पायर स्टेट विल्डिङ्गको कान
मेनह्याटनको मुख
ब्रुकलिन र क्विन्सलाई
दुबै कानमा कुण्डल झै झुण्ड्याएर
हडसन नदिलाई
पाखुराको सिरान बनाएर
वासिङ्गटन र ब्रुकलिन ब्रिजको
हातमा लामा लामा नङ्ग्रा झै फिँजाएर
दिनहुँ मान्छेको रगतको नशाले लठ्ठिएर
एटलाण्टिक महासागरको किनारमा
सर्वाङ्ग नाङ्गै निर्धक्क पल्टिरहने
विश्वकै समृद्धशाली देशको
एउटा समृद्धशाली छाडा शहर
न्यूयोर्क ।

शहर जो कहिल्यै सुत्दैन
अलिकति आगतको
अलिकति विगतको
अलिकति मायाका कुरा गर्ने
यससँग फुर्सद  छैन
यहाँका वासिन्दाहरु
सँधै दौडिरहन्छ
सँधै कुदिरहन्छ
जाँदाजाँदै ट्रेनमा पढ्छन्
ट्रेनमै खान्छन अनि ट्रेनमै सुत्छन्
सँसारभरकै मान्छे देखिने
विचित्रको रङ्गिन शहर
न्यूयोर्क ।

यस शहरभित्र बाँच्नलाई
नौलो देखिनु हुन्न
सहयोग गर्छ भन्नेसँग
सहयोग लिन हुन्न
विना पैसा हिँडन पनि हुन्न
धेरै पैसा बोक्न पनि हुन्न
नचिनेकोलाई घरको ढोका
खोल्नै हुन्न
थाहा छैन यहाँ मान्छे
शहरभित्र बाँचिरहेछ
या
शहर भएर मान्छे बाँचिरहेछ
यो बहुरुपी शहर न्यूयोर्क
सँसारकै अपराधि लुक्ने शहर
घर नपसेसम्म
सुरक्षित नभईने शहर
अवैध व्यापार गर्ने
व्यापारी शहर न्यूयार्क ट्रेन ।

तर यसै शहरभित्र
विश्वशान्तिको नारा लाउने
सँयुक्त राष्ट्र् सँघको कार्यालय
भएको शहर
स्वतन्तत्रताकी प्रतिमूर्ति
न्यायको तराजु बोकेर न्याय दिन
तयार भएर उभिएको शहर ।

अपराध नियन्त्रणकोलागी
विश्व वाणिन्य केन्द्रका दुई
ठुला आँखाले हरक्षण
पहरदारी/ खबरदारी गरिरहेको शहर
सँसारकै धनी र प्रतिष्ठित मान्छे
बस्न रुचाउने शहर
थुप्रै विशेषताले भरिएको
सँसारकै सबभन्दा ठूलो शहर
न्यूयोर्क ।

खै कति वर्णन गरौ
तिम्रो अपरम्पारको महिमा
सडकमाथि सडक गाडीमाथि गाडी
मान्छेमाथि मान्छे
बोकेको शहर
यहाँ बाँच्न सक्नेले
सँसारमै बाँच्न सक्ने शहर
यहाँ वाहन चलाउन सक्नेले
सँसारमै वाहन चलाउन सक्ने शहर
अभ्यस्त हुनेलाई
रमाईलो शहर
नहुनेलाई सुन्दा नै डर लागेर आउने
एउटा किम्बदन्ती बॊकेको
पुरानो सुन्दर शहर
न्यूयोर्क ।
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |