हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

साहित्यिक उत्सव धर्म

प्रकाश सायमी , (काठमाण्डौं)


किताब पढ्नेका निम्ति लेखक र लेखकका निम्ति पाठकको खोजी सदैव एक महत्ताको विषय नै हो । भारत व्रिटीश साम्राज्यको उपनिवेश छँदै अन्तिम बायसाराय लोर्ड माउन्टबेटन र उनकी पत्नी डिना माउन्टबेटनले फूलैफूलको शहर जयपुरमा शुरु गरेको लिट्रेचर फेस्टिभलले भारतीय साहित्यकारमा मात्र नभइ नेपाली साहित्य समाजमा पनि प्रभाव पारेको यथातथ्य सर्वत्र जगजाहेर छ ।

सन् २००६ बाट जयपुरमा नियमित शुरु हुन थालको लिट्रेचर फेस्टिभलमा सदैव हिन्दी,उर्दू र अँग्रेजी लेख्ने लेखक बाहेक पुस्तक प्रकाशक, विक्रेता र वितरकको पनि ठूलो जमघट मानिन्छ । यस कुम्भ मेलामा आफ्नो पुस्तक सार्वजनिकीकरण गर्न हिन्दुस्तानका प्रायः लेखकको तामझाम रहेकै हुन्छ । गत वर्ष यही मेलामा उर्दूभाषी कवि एवम् शायर गुलजारले वाचन गरेको कविता किताबहरूको लोकप्रियता नसेलाउँदै नेपाल र नेपालीलाई ध्यानमा राखेर बुकवर्म टस्ट र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा एन्सेल नेपाल लिटरेचर फेस्टिभवल गत असोज ४ बाट शुरु भएर असोज ७ मा सकिएको छ । गतवर्षबाट शुरु भएको यो फेस्टिभललाई नेपालको पहिलो अन्तर्राष्ट्रिय साहित्यिक रमझम भनिएको छ ।

एउटा व्यावसायिक मोबाइल कम्पनीद्वारा प्रायोजित गरिएको यस महोत्सवमा नेपाली भारतीय र भारतीय नेपाली लेखकको उपस्थिति रहेको थियो भने महोत्सवका पाँच दिन भित्र आठओटा नेपाली किताबको लोकार्पण भए भने चारैदिन प्रज्ञा प्रतिष्ठानको परिसर चार भागमा विभक्त भए, प्रतिष्ठानले यस महोत्सवका लागि प्रवचन कक्ष, डबली, भानुभक्त कक्ष  र पाश्र्वभूमिको पार्किङ लट उपलब्ध गराएको थियो भने प्रज्ञा प्रतिष्ठानको कमजोर हालतमा रहेको शौचालय पनि कार्यक्रम भर खुल्ला नै रहेको थियो ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सचिव विजय मल्ले ०४२ सालतिर नाट्य महोत्सवको रौनक घट्दै गर्दा नाटककार अशेष मल्ल, नाट्यकर्मी हरिहर शर्मा, नाट्यकर्मी मदनदास श्रेष्ठ र पंक्तिकारलाई प्रज्ञाको प्राँगणमा एकपटक भनेका थिए,“ महोत्सव यस्तो होस्, कतै कोही किताब किन्दै होस्, कतै कोही प्रवचन दिइरहेका होस्, कतै कोही एक्लै अभिनय गरिरहेको होस्, कतै टिकटको निम्ति लाम बसिरहेको होस् । मलाई प्रज्ञा भवनको कम्पाउन्डमा त्यस्तो भएको हेर्न इच्छा छ । ...

कवि नाटककार एवम् उपन्यासकार बिजय मल्लको यो इच्छा उनी जीवित हुन्जेल कहिले पुरा नभए पनि अजीत बराल र नीरज भारी लगायत उनीसित सम्बद्ध थुप्रै युवाले श्रद्धेय मल्लको अपुरो सपनाको केही अंश यसपालि काठमाण्डूमा पूरा गरिदिएको छ ।

उत्सव शुरु हुनु अगि नै आयोजक संस्थाले मोबाइल कम्पनीलाई मनपर्ने रंगको पृष्ठभूमिमा निम्ता कार्ड र पत्रिका रीड प्रकाशन गरेको थियो , सम्पूर्ण पाठ्य सामग्री अँग्रेजीमा छापिएको –(विज्ञापन बाहेक )  आकर्षक कार्डमा कार्यक्रम विवरणीका र आमन्त्रण पत्र एकै साथ थियो भने कार्यक्रम स्थलमा विमोचन गरिएको रीडको सातौँ अंकको पनि लोकपर्ण गरिएको थियो । रीड को आवरणपृष्ठमा प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति वैरागी काइँला, वर्तमान प्राज्ञ सभाका सदस्य दुर्गालाल श्रेष्ठ, पूर्व सदस्य सचिवद्वय ध्रुवचन्द्र गौतम र गीता केशरी सहित गुञ्जन सदस्य हिरण्यकुमारी पाठकको मोडल फोटो मुद्रित थियो भने प्रज्ञा प्रतिष्ठान परिवारको उपस्थिति यसैमा सीमित देखिन्थ्यो ।

नेपाली उपन्यासको शतवार्षिकीको विशेष उपलक्ष्यमा नयाँ शैलीका उपन्यास लेख्ने भनेर सम्मानित भएका दुई स्रष्टा गौतम र केशरी यहाँ सँगै देखिए पनि ,“ गीता केशरीको लेखनमा परम्परागत र विवरणात्मक शैली पाइन्छ , उनको भाषा साहै सपाट छ तर पनि यसमा केही मात्रा लयात्मकता पाइन्छ । ..

यो गीता केशरीको लेखनको सम्मान हो या अवमूल्यन अलि अस्पष्ट खालको छ, यो किसिमको नगण्यताको गुणगान देखिएको  छ भने बैरागी काइँलाको कविता माथि पुनमूल्याँकन हुन जरुरी छ भन्ने देखिएको छ ।

कार्यक्रमको शुभारम्भ यिनै पाँचजना स्रष्टाबाट पानसमा बत्ती बालेर शुरु भयो, कार्यक्रम तालिकामा एघारबजे लेखिएको भएपनि कार्यक्रम एकघन्टा पन्ध्र मिनट ढिलो शुरु भएको थियो । कार्यक्रमको शुरुवातमा आयोजक संस्थाका तर्फबाट स्वादिलो र संक्षिप्त मन्तब्य दिइएको थियो भने समयको क्षतिपूर्ति कटाउन आयोजकलाई त्यतिवेला धौधौ पर्यो जब प्रमुख वक्ता प्रा डा. अभि सुवेदीको कि नोट –(गाँठी कुरो ) आइपुग्यो । वक्ता अभि सुवेदीले आफ्नो घना र लामो मन्तब्यको अन्त्यमा सुखानुभास गर्दै भनि छाडे, “छक्कै लाग्यो यहाँहरुले मेरो कुरा सुनिदिनु भएकोमा ।

तर यसपछि सुकर्मको साँगीतिक कार्यक्रमले दर्शकपंक्तिलाई बाँध्न नसकेपनि माहौलमा रमणीयता छर्दै लग्यो ।

सुकर्मको प्रस्तुति पछि अन्य कार्यक्रम र्याली स्कोरमा अगि बढे भने कुनै कार्यक्रममा पनि दर्शकको कमी वा अभाव देखिएन । अधिकांश कार्यक्रम अघिल्लो भूभाग डबली र पाश्र्वभूमिको पार्किङ्ग लटमा भएको हुनाले दर्शकको आवत जावत दुवैतिर बराबर देखिन्थ्यो । पहिलो दिन नै अपेक्षाकृत रुपमा भन्दा बढी दर्शकको उपस्थिति देखिएपछि सँधै गाईजात्रामा मात्र भीडभाड देखिने प्रज्ञा भवनको परिसर निक्कै उत्सवधर्मी देखिएको थियो ।

पहिलो दिनको छओटा कार्यक्रममा समाजार्थिक, गीतसंगीत, भाषा, नारी चिन्तन र लेखक परिचय वाहेक लब्धप्रतिष्ठित लेखक जगदीश घिमिरेको नव्यत्तम उपन्यास सकसको विमोचन पनि  सम्पन्न भयो । बहुप्रतिक्षित उपन्यास सकसको विमोचनमा साहित्यकार वाहेक कुटनीतिज्ञ,राजनीतिज्ञ, सरकारी कर्मचारी, कानुनविद् ,  गैरसरकारी संस्थाका प्रतिनिधि बाहेक गायक गायिका पनि सहभागी थिए भने यस उपन्यासको विमोचन पहिलो दिनको घनीभूत आकर्षण बनेको थियो ।

दोस्रो दिनको कार्यक्रममा एघारओटा शृँखलामध्ये पहिलो सत्र राष्ट्रिय दैनिक अखबारका  सम्पादकसितको समवार्ताबाट शुरु भयो भने अन्त्य गजल वाचनबाट सम्पन्न भयो । अघिल्लो दिन झरना बज्राचार्यसित कुराकानी गरेर चर्चामा आएकी भारतीय लेखिका अद्धैत काला यसदिन पनि झुल्किएकी थिइन् भने उनीसित सिनेमा, साहित्य र युवा सहभागिताका विषयमा धेरै कुरा भए , नेपालमा बसेर पढे हुर्केकी कालालाई यसपालिको साहित्यिक उत्सव मावली आएजस्तै भएको देखियो ।  र त्यसवाहेक रत्न पुस्तक भण्डारको एक र फाइनप्रिन्टको दुई पुस्तकको  विमोचन पनि सम्पन्न भयो । हजारौँ हजारौँको उपस्थिति रहेको सो कार्यक्रमा पुस्तक विक्री साढेतीनसयभन्दा बढी हुन नसक्नुमा पाठकको क्रय शक्तिको ह्रास वा भनेजस्तो पुस्तकको छनौटको अभाव हो । तर अचम्म र रोचक कुरा के रह्यो भने कविताका पाठक छैन भनिएको अवस्थामा पनि रमेश क्षितिजको कविता संग्रह घर फर्किरहेको मानिसको माग चैँ साढे तीन शयभन्दा बढी नै  पुगेको देखियो तर पुस्तकमा टिप्पणी गर्ने वक्ताको वाक्कलाले चैँ पाठकलाई भड्काउन सक्ने सम्भावना चैँ प्रवल देखिन्थ्यो ।

तेस्रो दिनका एघार कार्यक्रम र तीन विमोचन मध्ये दुई कार्यक्रम देखिने गरी रद्द भए, सुनील गङ्गोेपाध्यायसित कुराकानी र चन्द्र  घिमिरेको डन्ट् टच् मि ओ कविता को विमोचन । आयोजक  बुकवर्म ट्रस्टको भगिनी संस्था फाइनप्रिन्ट नै प्रकाशक रहेको डन्ट् टच् मी ओ कविता पुस्तक समयमा नआएर कार्यक्रम रद्द गर्नु पर्यो भने कवि चन्द्र घिमिरेकै सौजन्यमै नेपाल आउने तारतम्य मिलाइएका बाँग्ला लेखक सुनील गङ्गोेपाध्यायले अन्ततः नआउने निर्णय दिए । पश्चिम बँगाल र बँगलादेश, दुवै स्थानमा यस समय शायद सर्वाधिक पढिने लेखक सुनील गङ्गोेपाध्याय यसप्रकारका आमन्त्रणलाई सुपरफ्लुअस (अनावश्यक) करार दिन्छन् । उनले सन् २००० मा काजी नजरुल इस्लामको जन्मशतीमा भारतका प्रधानमन्त्रीको चियापानलाई बहिष्कार गरेका थिए भने त्यसको लगत्तै अर्को वर्ष प्रधानमन्त्रीसितको बँगलादेश यात्रामा उनको नाम काटिएपछि साहित्यकार एवम् समाजकर्मी महाश्वेता देवी र कवि शंख घोषले उनका कारण आफ्नो नाउँ काट्न लगाएका थिए । ती गङ्गोेपाध्याय यसपालि यहाँ पनि देखिएनन् ।

यसैदिन भारतीय पाक्षिक पत्रकारितामा खुशवन्त सिंह र प्रीतिश नन्दीलाई जोड्ने एक सेतु पत्रकार विनोद मेहता आफ्नो आत्मकथा लखनऊ व्वाय को प्रकाशन पछि देखिए, उनीसित कुराकानीमा चर्चित स्तम्भकार कुन्द दीक्षित देखा परे । तर दुर्भाग्यवश उनलाई मेहताले उनको भाइ कनकका नाउँबाट सम्बोधन गर्दा रमाइलो भन्दा परिहासपूर्ण हुन गयो । मेहताले भारतीय पत्रकारिताको हाशियेमा नेपाली पत्रकारितालाई केही गुरुमन्त्र दिए । यसदिन नेपाली बाल साहित्य, भाषा शुद्धता, पुस्तक संकलनको रुचि लगायत साहित्यिक विषयको महत्वपूर्ण पाटो कविता माथि दुई कार्यक्रम मञ्चन भए, कविता शक्ति र सीमा का वारेमा बहस र सन्ध्यापूर्व कविता वाचन । डेढ दर्जन कविले कविता वाचन गरेर रङ्गिएको डबलीमा धेरै वेर कविताको प्रतिध्वनि कायमै थियो ।

कविता गीत बाहेक अन्तिम दिन अर्थात् चौथो दिन, असोज ७ गते नाटक, चलचित्र, अभिनय, मुफस्सिलमा लेखन, शिक्षा, इतिहास, साहित्यिक पत्रकारिताको विषयमा वार्ता, बहस अनि चर्चा चले । विवरणीकामा नभएको थप एक कार्यक्रममा पाँच नेपाली चलचित्र अभिनेत्री ऋचा शर्मा, दीया मास्के, निशा अधिकारी, विनीता वरालसित नम्रता श्रेष्ठले वार्ता गरे । चलचित्रमा नग्नता र कास्टिङ्ग कोचका वारेमा साहित्य महोत्सवमा थप रौनक दिएको थियो भने निशा अधिकारीको फोटो खिँच्न पत्रकार र उनलाई हेर्न दर्शकको फरक भीड देखिनु लिट्रेचर फेस्टिभलको आकर्षण नै थियो ।

यसरी दुई संस्था आवद्ध रहेको एन्सेल नेपाल लिट्रेचर महोत्सव सकियो । यस महोत्सवले साहित्यिक कार्यक्रममा युवाको सहभागिता अनि पुस्तक विक्री वितरणको रौनक अनि लेखक प्रकाशकलाई आफ्नो पुस्तकको प्रचारप्रवद्र्धनलाई नयाँ बाटो दिएको छ भने नेपाली साहित्यका पाठकलाई एउटै थलोमा चार दिनसम्म समेटेको छ ।

आफ्नो नाम र पहिचान खियाउँदै गएको बुढो संस्थासित जोडिएर बुकवर्मका युवा सहजकर्ताले कार्यक्रम अवधिभर निकै सक्रियता र सहभागिता देखाएको थियो भने सुरक्षा, सहयोग र सद्भावको राम्रो सन्देश दिएको देखियो । महिनौँ अगिको लामो प्राभ्यासपछि आयोजित यस कार्यक्रमको  सफलताको श्रेय आयोजक संस्थासँगै नेपाली भाषाको सम्बृद्धिका निम्ति लेखिरहने कलमजीविलाई जान्छ ।

यसवाहेक यस महोत्सवमा गल्ति नै नभएका होइनन् भन्न सकिन्न तर भएका गल्तिलाई यति ठूलो कार्यक्रम गर्दा सानातिना गल्ति त हुन्छन् नै । भनेर नकारात्मक दृष्टि  वा अन्डरइस्टिमेट पनि गर्न पनि मिल्दैन बरु के गर्न सकिन्थ्यो भनेर अगाडि बढ्न सकिन्छ ।

के गर्न सकिन्थ्यो त ?

यस महोत्सवको सफलताको  श्रेय उत्सव निर्देशक भनेर चिनिएका अजीत बराल लाई जान्छ भने  गुणदोषको भारी पनि उनैको हो । सबभन्दा ठूलो त्रुटी उनले छानेको सल्लाहकार समितिमै छ, त्यहाँ बहुसङ्ख्यक सल्लाहकार एकै जात (दुई घिमिरे, दुई  शर्मा, एक अधिकारी र एक सुवेदी  ) छन् , उषा शेरचन बाहेक । प्रायः ब्राम्हणको बाहुल्यता भएको यस समितिले आजको लोकतान्त्रिक चरित्रलाई अपनाउन सकेको भए राम्रो हुने थियो । यसको धमिलो असर हरेक कार्यक्रममा परेको देखिन्छ ।

नेपाल लिट्रेचर फेस्टिभल भनिएको हुनाले कुनै कुनै होर्डिँग र भित्तोमा नेपाली वर्णमालाको अक्षर पनि देख्न पाएको भए कल्याण हुन्थ्यो , हुन त आयोजक संस्थाको दुवै नाउँ नै नेपाङ्ग्रेजी परेको हुनाले पनि यो ठिमर संस्कृति देखिएको हो ? ( कतै बुक वर्म कतै फाइन प्रिन्ट )

यस महोत्सव आयोजनापूर्व (अझै सम्भव भए दुई महिना अगि नै ) पोहोर भएका कार्यक्रमको रिभ्यू र रिभिजन –(पुनरावलोकन र पुनर्परिक्षण ) गर्न सकेको भए, गल्ति दोहोरिने थिएन । पोहोर पनि यो महोत्सवमा पोखराबाट बढी साहित्यकार सहभागी थिए भने यसपालि पनि यसको थोरै असर देखिएको छ ।

भाषा, व्याकरण र बोलीको शुद्धताको वारेमा यति खुल्ला बहस चलेको यस कार्यक्रममा नेपाली साहित्य र भाषा जान्ने उद्घोषक छान्न सकेको भए सबल देखिन्थ्यो । कार्यक्रमको उद्घाटनकै दिन उद्घोषकले दुई महिला साहित्यकारलाई बोलाउने प्रसङ्गमा जननी लेखिका भन्ने नयाँ परिचयावली प्रस्तुत गर्दा हाँसोको फोहोरा छुट्यो जसलाई पछि प्राज्ञ बेञ्जु शर्माले यसरी व्याख्या गरे, ‘धेरै जन्माउने कम लेख्ने लेखिका भनेको होला भाइले ।

कार्यक्रममा साहित्य भन्दा बढी पत्रकारिता कुरा भए  शायद एक्सपोजरको लोभले तर यसले अखबारी लेखनका धेरै अगाडि आए र साहित्यिक कुरा हराए ।

आयोजकले निम्तो कार्डमा कार्यक्रम सूचिमा हरेक ठाउँमा लञ्च ब्रेक नलेखेर ब्रेक मात्र लेखेको भए राम्रो हुनेथियो । यत्रो व्यावसायिक संस्थाले प्रायोजन कार्यक्रममा लञ्च पनि रहेछ भनेर मान्छे झुक्किन्छन् । आयोजकले ब्रेक लेखिदिएपछि सहभागीले आफूले मनपरेको काम गर्ने थियो ।

यो नेपाल लिट्रेचर फेस्टिभल भएको हुनाले  नेपाल भाषाका पुस्तकहरु अनि सबै  प्रकाशकलाई आफ्ना पुस्तकहरू बेच्न र सजाउन ठाउँ खुल्ला गरिदिएको भए, पाठकको अझै सहभागिता बढ्ने र आयोजकको विशालता देखिने थियो । नेपालका अन्य भाषाभाषीले पनि ठाउँ पाएको भए, तपाइँले बोलाउन खोजेको बाँग्ला लेखक पनि प्रसन्न हुने थिए किनकि उनी पनि हिन्दी वा अँग्रेजीका लेखक होइनन् ।

भारतमा शिवा सिरीज लेखेर भर्खरै चर्चामा आएका अमिश त्रिपाठीका अगाडि नेपालका चर्चित लेखक सरुभक्त ओझेल परेका देखिए । अद्धैत कालाजस्ता लेखिका अगाडि मञ्जुश्री थापा, सुलोचना मानन्धर, रजनी मिला वा शारदा सुब्बा पनि बहसमा हुनसकेको भए फोरमको उज्यालो झलक्क देखिन्थ्यो ।

आयोजक बुकवर्म सक्रिय भएजस्तै ने प्र प्र मौन भएको देखियो जसले गर्दा नेपालका एकसेएक लेखक, कवि वा इतिहासविद् यस महोत्सवमा छुटे, कमसेकम सबैलाई निम्तो समयमा पुगेको भए, कल्याण हुने थियो ।

यसपालि र पोहोर जस्तै अर्कोपालि गर्दा एन्सेल पुग्ने अन्य जिल्लाका –(इटहरी र पोखरा बाहेक )  लेखकलाई पनि मञ्चस्थ सके महोत्सवको उदारता देखिनेथियो ।

पोहोर र यसपालि हल्लामा आएका कुरा यसको आकर्षण भएर नजावोस् , पोहोरको तसलीमा र यसपालिको गंगोपाध्यायले अर्को साल फेरि एउटा रातो चिन्ह लगाउने ठाउँ नबनाओस् ।

अन्ततः यो एउटा घटना हो अब इतिहास बन्नुपर्छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |