हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

... तर डिकबहादुरको भगवान मर्यो

दीपक जडित, (साउथ किहे, हवाई)


रातको नौ बजे जस्तोतिर छिमेकी डिकबहादुरका दुबै छोरीहरु साइकलको टायरको राँको बालेर मेरो आँगनमा आएछन् । मुलबाटोको पारीपट्टि पल्लो गाउँसम्म भएको बिजुलीबत्ती बाटोकै पायक नपरेकोले हाम्रो गाउँमा छैन
, अत: परिवारका अन्य सदस्यलाई टेलिभिजनले अबेरसम्म जगाउने कुरा पनि भएन । गाउँघरको छिट्टै खाने छिट्टै सुत्ने पद्दती अनुसार घरमा सबै सुतिसकेका थिए । म रेडियो बटारेर बिबिसी सेवा सुन्दै सुत्ने तरखरमा लाग्दैथिएँ । 

 

आँगनबाट बोलाए, 'सर, हाम्री आमालाई नानी पाउने बेथाले सारो पारेको छ । आउनु अरे, बुवाले बोलाउन पठाउनुभ'को ।'

 

आजै साँझ खाना खाँदा श्रीमतीले कुरा गरेकि थिइन्, 'बच्चा पाउने मैना पनि कटिसक्यो सुनिता भाउजुको । त्यस्तो भ'को बेलामा पनि ति डिकबहादुर दाइ मातेर आएर कुट्न छोड्दैनन् । पेटमै बच्चा मरिसक्यो कि के हो?'

 

'धत्! त्यस्तो उल्टोसुल्टो कुरा नगर । पेटमा बच्चा मर्यो भने चैं नजन्मिने भन्ने पनि हुन्छ र? कतिले मरेको बच्चा जन्माए भन्ने पनि सुनिन्छ त । बरु सुनिता भाउजुले बच्चा जन्मिने दिनको हिसाब ठीक राखिनन् होला ।' मैले भनेथें ।

 

'होइन, पेटमा बच्चा जिउँदो भए पो चल्छ, चट्पटाउँछ र बाहिर निस्कन खोज्छ त?.....' आफ्नो अनुभव पनि भएको आधारमा हुनुपर्छ श्रीमती तर्क पेश गर्दैथिइन् । म हारेझैं चुप लाग्दिएको भएर विषय बन्द भएथ्यो । श्रीमतीसँग भएको वार्तालाप सम्झँदै म टर्चलाइट टिपेर आँगनमा ओर्लिएँ । डिकबहादुरकि ठुली छोरीले हातको राँको अलि पछिल्तिर पारेर मलाई नियाल्दै भनिन्, 'सर, ढुङ्गानासर पनि आउनुभ'को छ । सरलाई कोट ला'र आउन नबिर्सनु भन्नु है भन्नुभ'को छ ।'

 

अग्लो कदकाँठी, सेतै फुलेको कपाल र जुँगादाह्री सहितको रुपाकृतिले महाभारतका पात्र पितामह भिष्म जस्ता देखिने ढुङ्गाना सर विद्दता र सुझबुझले महाभारतकै अर्का पात्र महात्मा विदुर जस्ता लाग्छन् मलाई । वाककला पनि विदुरकै जस्तो छ ढुङ्गाना सरको । हरेक कुराहरु विम्ब सजाएर भन्ने खुबि भएका ढुङ्गाना सरले मलाई कोट लगाएर आउनु भन्नुको पनि पक्का केहि लाक्षणिक तात्पर्य हुनुपर्छ । केहिबेर गम खाएँ, 'न म कुनै रंग रउसमा सरिक हुन जान लागेको, न त यो कोट लाउनु पर्ने जाडोको मौसम !' तर महात्माको व्यक्तित्व भएका उनै ढुङ्गाना सरसँगको भगिरथ सत्सँगको प्रतापले हुनुपर्छ मैले कुरा बुझें र डिकबहादुरका छोरीहरुलाई 'एकैछिन पर्ख है त' भनेर फेरि माथि उक्लिएँ । श्रीमतीलाई जगाएर सबै अवगत गराएँ र भएको पैसा झिक्न लगाएँ । पुग नपुग गरेर सातहजार रहेछ । अलिकति त घरमा पनि दुमो चाहिन्छ भन्दै थिइन् श्रीमती । सबै खल्तिमा हालेर म आँगनमा झरें ।

 

'ल हिँड छिट्टो ।' डिकबहादुरका छोरीहरुलाई हतार लगाउँदा ठुलीचाहिँले मैले कोट नलाएको देखेर खै गरिन्, 'खोइ त सरले कोट त लाउनुभएन त?'

 

छिटोछिटो पाइला बढाउँदै मैले भनें, 'ढुङ्गाना सरका गहिरा कुरा तिमीहरु अहिले नै बुझ्दैनौ । वहाँले कोट लाउनु भन्नुको मतलब पैसा बोक्नु भन्नुभएको हो ।'

 

'आमुई! हो र?' आश्चर्यजनक प्रतिक्रियामा उनिहरु दुबैको मुख खुल्ला भएको थियो शायद तर अँध्यारोमा म देख्न सक्दिंनथिएँ । त्यसमाथि म उनिहरुलाई पछाडी पारेर लम्किँदैथिएँ । अघि अघि लम्किँदै मैले सोधें, 'ढुङ्गाना सरलाई तिमिहरुले बोलायौ कि आफैं आउनुभयो?'

 

'हाम्री आमा बेथाले रो'को सुनेर आफैं आउनुभ'को ।' सानी चैंले जवाफ दिइन् । केहि हप्तादेखि डिकबहादुर र ढुङ्गाना सरको बोलचाल बन्द थियो । करेसो जोडिएका छिमेकिहरु माझ बस्तुबाख्राको निहुँले ठुलै रडाको मच्चाएको थियो । ढुङ्गाना सरले हात जोडेर माफी माग्दा पनि डिकबहादुरले तथानाम मुख छोडेर गाली गरेको थियो र पानी बाराबारको स्थिती बनेको थियो । यहि कारणले मैले सोधेको थिएँ, ढुङ्गाना सरलाई बोलाएको कि आफैं आउनु भएको भनेर ।

 

कति विशाल ह्रदय त ढुङ्गाना सरको! डिकबहादुरले त्यत्रो बेइजत गरेको कुरालाई पनि पचाएर असल छिमेकिको कर्तब्य निभाउन उसैकहाँ नबोलाई पुगेका । मैले स्कूलमा छँदा उनै ढुङ्गाना सरले पढाउनुभएको मैनालीको 'कर्तब्य' कथा सम्झिएँ । जस्तै पारिवारिक किचलो भएता पनि भाइ श्रीधर विरामी हुँदा भाइको छोरा शशीधरको विहेमा आफ्नो पिता समान हुनुको कर्तब्य निभाउन नबोलाई पुग्ने मुरलीधरझैं । उसबेला ढुङ्गाना सरले 'कर्तब्य' कथा पढाउँदा अबको समयमा यस्ता मान्छे हुँदैनन् जस्तो लाग्थ्यो । त्यो बेला मानिस र मनिसहरुको व्यवहार प्रकृति बुझ्न सक्ने क्षमता आफुमा नहुनुको कारण त्यसो लागेको रहेछ भन्ने ज्ञान म अचेलभरी पाउँदैछु । नत्रभने बच्चै देखि देखे चिनेका ढ्ङ्गाना सरको महात्मा व्यक्तित्व चिन्नलाई मलाई उमेरले किन पकाउनु पर्थ्यो ?

 

स्कूलमा डिकबहादुर म भन्दा एक कक्षा माथि थियो । उमेरमा चारपाँच वर्षै माथि होला । स्कूलकालमा फौजदारीमा खुब नाम कमाएको डिकबहादुर छयालिस सालको आन्दोलन चलेताका स्कूलमा विद्यार्थी संगठनको नामी नेता बनेको थियो । एकै गाउँका भएका कारण डिकबहादुरको मसँग तँ तँ र म म चल्थ्यो । परिवार आर्थिक कमजोरीको चपेटामा भएको डिकबहादुर त्यस समयको नेतागिरीलाई कायम मात्र राखेर हिंड्न सकेको भए आजको छाडातन्त्र मौलाएको परिस्थितीमा राजनीतिक पहुँच र अवैध आर्जनमा निक्कै ठुलो मान्छे हुने सम्भावना थियो । तर स्कूलमा नेतागिरी चलाउँदा चलाउँदै गाँजा, रक्सी र तरुनीको कुलतमा लागेर डिकबहादुरले आफुलाई पतनतर्फ धकेल्यो । आज एक सामान्य किसानमात्र भएर जिविका चलाईरहँदा पनि रक्सीको कुलतबाट आफुलाई बाहिर निकाल्न सकेको छैन । बरु परिवारलाई नै आफ्नो कुलतसँगै दिनानुदिन बगाईरहेछ अन्योल र अझ गरिबीको भूमरीमा ।

 

डिकबहादुरको घरमा पुग्दा ढुङ्गाना सर सुत्केरी व्यथा लागेकि सुनिता भाउजुलाई राखेर बजारसम्म लैजान सजिलोकोलागी माटो बोक्ने बाँसको जाक्लालाई उल्टो फर्काएर त्यसमाथि कपडा ओच्छ्याउँदै हुनुहुन्थ्यो । रातविरात बाटो, चौतारोतिर हल्लाखल्ला र मस्ती गर्दै हिंड्ने केहि फोकट्या गाउँकै केटाहरु ढुङ्गानासरलाई सहयोग गर्दैथिए । फोकट्या नै सही भर अभरमा गाउँतिर यस्तै केटाहरु काम आउँछन् । अरुपनि एकाध गाउँलेहरु डिकबहादुरको घरमा कोहि रमिते बन्न त कोहि सहयोगकै भावना लिएर आएका थिए । मलाई देख्नेबित्तिकै ढुङ्गाना सरले खर्च बोके नबोकेको ठहर गर्न भन्नुभयो, 'लौ यिनिहरुसँग समस्या मात्र छ है । समाधानको उपाय के छ?'

 

मैले अलिअलि छ भन्ने जनाएपछि सुनिता भाउजुलाई बाँसको जाक्लालाई बनाईएको स्ट्रेचरमा राखेर बजारतिर दौडाईयो । वहन गर्नुपर्ने जिम्मेवारी व्यथाले रोईकराई गर्दैरहेकि सुनिता भाउजुलाई बजारसम्म पुर्याउनुमात्र थिएन । बजारमा पुगेर सवारी साधनको प्रयोजनमा चल्ने जीप खोजेर बाह्रपन्ध्र किलोमिटर टाढा रहेको हस्पिटल सम्म पुर्याउनु र जयजन्म गराएर सकुशल घरसम्म ल्याई पुर्याउनु पनि थियो ।

 

राम्रोसंग चिनजान भएका, अप्ठ्यारो परेको बेला हातहाती पैसा नहुँदा पनि राती होस् कि दिउँसो विरामी बोकेर हिंड्न नाईँनास्ती नगर्ने स्वभावका जीप चालकलाई उठाएर बजारबाट हिंड्दा एघार साढे एघार जति बजिसकेको थियो । कृष्णपक्षको रात सुनसान र गाढा अँध्यारो थियो । सुनिता भाउजु व्यथाले झनै छट्पटाएर चिच्याउँदै थिइन् ।

 

'नरो, नरो । एक्छिनमा हस्पिटल पुगिन्छ । मर्दिनस् अब ।' एकरति प्रेम नभएको लवजमा च्याँठ्ठीयो डिकबहादुर । मानौं उसलाई श्रीमती र आउनेवाला बच्चाको भन्दा ज्यादा जीप खर्च र हस्पिटल खर्चको चिन्ताले खाईरहेछ । उसको यहि मनस्थितीलाई बुझेझैं ढुङ्गाना सरले भन्नुभयो, 'कतिजनाको त यो बाइरोडको बाटोमा गाडीले थर्काएरै बच्चा जन्मिन्छ । सुनिताको पनि त्यस्तै भैदिए डिकबहादुरको हस्पिटल खर्च नै जोगिनेथियो ।'

 

भएका हामी सबै परिस्थिती माथि खिल्ली उडाएको नहुने पारेर हाँस्यौं । डिकबहादुर हाँसेन । किन हाँस्थ्यो र? उ त ढुङ्गाना सरसँग रिसाएको मान्छे । 'यतिबेला पो बरु उ ढुङ्गाना सरको बारेमा के सोच्दै होला? अझै रिसले मुर्मुरिईरहेको होला कि, यो सहयोगको निम्ती मनभित्रबाट कृतज्ञ भैरहेको होला ?' म सोच्दैथिएँ ।

 

ग्राभेल मात्र बिच्छ्याईएको कच्ची सडकमाथि जीप उफ्रिंदै पाफ्रिंदै अघि बढ्दैथियो । यो उफ्राईले सुनिता भाउजुलाई अझ बढि पीडा थपेको हुनुपर्छ उनि झन् जोडले चिच्याउँदै थिइन् ।

 

हस्पिटल पुर्याएर सुत्केरीलाई डाक्टर, नर्सहरुको जिम्मा लगाएपछि आनन्दको शास फेर्दै विश्रामकोलागी राखिएको लामो बेञ्चमाथि लस्कर लागेर बस्यौं हामी । सुत्केरीलाई जे गर्नुथियो डाक्टरहरु गर्दैथिए । हामी मध्येकै केहि घरि यता र घरि उता गर्दै छिन छिनमा खबर ल्याउँथे -

 

'निक्कै ठुलो बच्चा छ रे पेटमा ।'

 

'बच्चा निस्कन पेट चिर्नु पर्छ रे ।'

 

एउटै जीपमा आएका हामी सिमित टाउकाहरु माझमा पनि यहिँको खबर यहिँ छिनको छिनमा 'यस्तो अरे' र 'उस्तो अरे' भन्दै सुनाउनेहरु साँच्चैका खवर सुनाउँथे कि आफैं बनाउँथे कुन्नि, भगवान जानुन् । एकछिनमा एउटाले आएर सुनायो, 'बच्चा त पेट नचिरी निस्कियो रे, तर सापे छ रे!'

 

'के भन्छ यो?' सुनाउनेले 'तर' ले जोडिएको पछिल्लो वाक्य सुनाइसक्न नभ्याउँदै डिकबहादुर सुनाउनेलाई खाउँला झैं गरेर जुरुक्क उठ्यो; अझ सुनाउनेलाई नै झम्टिउँला झैं पनि गरिराखेर 'हे! रामधनी!!' भन्दै थचक्कै बस्यो जस्ताको तस्तै । यसपटकको खबर वास्तबमै हामीसबैको निम्ती अनपेक्षित र थचक्क बसाउने खालको थियो ।

बच्चा जन्मिँदा शत्रुको पनि सापे जन्मियोस् भनेर कुनै शत्रुले समेत कामना गर्न सक्दैन भने डिकबहादुर त आनीबानीमा अलि अड्बाङ्गो पाराको मात्र न हो । आखिर उ पनि हाम्रै समाजको मर्दा पर्दा चाहिने एक छिमेकी हो । तर घटित भैसकेको सत्य हामीले चाहँदैमा वा हामीले नचाहँदैमा फेरिएर प्रस्तुत हुने कुरापनि थिएन । सापे बच्चा जन्मिएको कुरा सत्य निस्कियो । यो थाहा पाएर हामी सबै मर्माहत भयौं । सँधै छोरा भएन भनेर खुन खुन गर्ने र मातेको बेला छोरा नभएकै कुरा समेत झिकेर श्रीमतीलाई भकुर्ने डिकबहादुर आगोमा परेर फुर्दै गरेको फिट्कीरी झैं मुरमुर देखिन्थ्यो ।

 

बच्चा हेर्ने अनुमति हुनासाथ हामी सबै एकैसाथ गयौं बच्चा हेर्न । ठुलो टाउको भएको, कम्मरदेखि तल सुकेको जस्तो हुँदै यौटा मात्र खुट्टा भएको बच्चाको अर्को खुट्टा हात जत्रै आकारमा चिउँडोबाट पलाएको रहेछ । दुबै हातहरु साविकमै भएको हुँदा झट्ट हेर्दा सुँड भएको जस्तो पनि लाग्थ्यो । पेटभित्र बच्चाको विकास क्रममा बाधा परेर अनेक स्वरुपले विकलाङ्ग बच्चाहरु जन्मिएको देखेसुनेकै भएपनि यो बच्चा अद्भुत किसिमको लाग्यो मलाई । हस्पिटलले सुत्केरी र बच्चा घर लिएर जान सकिने जनाउ दिएपछि हस्पिटलको तिरो भरेर विकलाङ्ग बच्चा लिएर फर्कियौं । हामी सबै उदास थियौं । सबैको मन एकतमास भएको थियो । निश्चय नै डिकबहादुर पनि उदास थियो । दुखी थियो हामी भन्दा धेरै तर स्वभावत उ आफुलाई उदास बनाएर प्रस्तुत गरिरहेको थिएन । सट्टामा श्रीमतीमाथि आफ्नो आक्रोस पोख्न शुरु हुँदैथियो । भन्दैथियो, 'यो अलच्छिनीले सापे छोरा पाउनु भन्दा त छोरा नपाएकै ठीक थियो नि ।'

 

'श्रीमतीलाई किन दोष दिन्छौ भाइ? यो त तिम्रो कारणले भएको हो । गर्भिणी श्रीमतीलाई नित्य कर्म नै हो जस्तो गरेर रातैपिच्छे कुट्थ्यौ नि? त्यसैको परिणाम हो यो ।' ढ्ङ्गाना सरले हाकाहाकी कटाक्ष गर्नुभयो ।

 

'होइन सर, कुटेकै कारणले यस्तो भएको होला र?' मैले यो अफसोसको तात्तातो घडीमा ढुङ्गानासरको कुराले डिकबहादुरलाई नराम्रो महसुस नहोस् र पहिले देखि नै रहेको आपसी वैमनस्य झ्याङ्गिएर नजाओस् भन्ने अभिप्रायले डिकबहादुरको बचाउ गर्दै भनें, 'यसरी विकलाङ्ग बच्चा जन्मनुमा त अरु नै केहि कारणले पेटमा बच्चाको शारिरिक विकाशमा बाधा भएको होला नि सर ।'

 

जीपमा हाम्रो बसाईको हिसाबले मैले बुझ्न सक्ने तर डिकबहादुरले सुनेपनि बुझ्न नसक्ने गरेर ढुङ्गाना सरले भन्नुभयो, 'तिम्रो तहमा कहाँ सोच्न सक्ला डिकबहादुरले? उसले त अब यो दोष सुनितालाई लगाउँछ र झन कुट्न थाल्छ । त्यसैले उसलाई उसले कुटेकै कारणले यस्तो भएको भन्ने पार्दिनु पर्छ । पश्चताप होस् न उसलाई अनि बुढि कुट्न पनि छोड्छ कि?'

 

अवाक भएँ म ढुङ्गाना सरको चतुराईपूर्ण कुराले । म भएको भए पहिले नै दुश्मनी परिसकेको हुँदा डिकबहादुरलाई यो अवस्थामा चिढाउने कुरा गर्दिंन थिएँ पक्कै । तर ढुङ्गाना सरकोलागी के मित्र के शत्रु ! सबै बराबर । ओखती हुनसक्छ भने विष प्रयोग गर्न पनि नडराउने ।

 

झण्डै बिहान भैसकेको थियो डिकबहादुरको विकलाङ्ग बच्चालाई घर ल्याइपुर्याउँदा ।

 

अर्कोदिन देखि डिकबहादुर झन् बहुलाउन थाल्यो । झन् बढि रक्सी पिएर आफ्नै भाग्यलाई धिक्कार्दै र श्रीमतीलाई भन्नु नभन्नु भन्दै हिंड्न थाल्यो । किन सुध्रिन्थ्यो गतिछाडा भएर बिग्रिसकेको आचरण ।

 

दुईतीन दिन पछि मातेर टिल्ल भएको अवस्थामा डिकबहादुर मसँग भेट भयो । र एक्कासी पड्किन थाल्यो, 'बुझिस् म मेरो सापे छोरालाई मारेर फालिदिन्छु । खाल्टो खनेर गाडिदिन्छु । म सक्दिंन त्यो सापे दुखले हुर्केको देख्न । त्यो सापेलाई दुख गरेर हुर्काउन पनि सक्दिंन । त्यसले हुर्केर पनि के गरेर खान सक्छ ? मारीदिन्छु म त्यसको घाँटि निचोरेर ।'

 

'मुर्ख भएर जे पायो त्यहि बोल्दै नहिँड डिकबहादुर । भोली तलमाथि केहि पर्यो भने लैजालान् तँलाई चौखुर्याएर । अनि थाहा पाउलास् ।' सम्झाउने प्रयत्नमा मैले भनें ।

 

'कस्ले लान्छ मलाई चौखुर्याएर? मलाई चौखुर्याउनेले लैजाओस् न मेरो सापे छोरा । म दान गर्दिन्छु । छ हिम्मत कसैको?' डिकबहादुरको यो विक्षिप्तता वयान गरिनसक्नु थियो । विकलाङ्ग सन्तान पैदा हुँदा निश्चय नै सबैलाई यस्तै महसुस हुँदो हो तर यत्ति हो डिकबहादुरले जस्तो निचोरेर मारिदिन्छु भन्दै हिंड्ने ह्याउ हुन्न सबैमा । प्रत्यक्ष्यमा म डिकबादुरको भनाईमा उसको दोष देख्दैथिएँ तर परोक्षमा यो डिकबहादुर एक्लैको दोष थिएन । हाम्रो सिँगै सामाजिक संरचनाको दोष थियो । डिकबहादुरले पनि देखेबुझेको छ हाम्रो समाजमा विकलाङ्ग जन्मिएका वा अपाङ्ग भएकाहरुले कुन हविगत र हैसियतमा बाँच्नु पर्छ भन्ने कुरा । बाँचिबर्ती गयो भने भोली डिकबहादुरको छोराले पनि सामाजिक तिरस्कार सहनु परेर एक हैन हजार मृत्यु मर्नुपर्ने हुनसक्छ । यदाकदा विकलाङ्ग र अपाङ्गहरुलाई सामाजिक तिरस्कार गर्नु पाप हो भन्ने धर्मको डर देखाए जस्ता कुराहरु आउने गरेपनि आफैं अन्यौलमा परेको हाम्रो समाजले मानिसहरुमा कानुनत यो डर स्थापना गराउन सकेको छैन । अझ विकलाङ्ग तथा अपाङ्गहरुलाई दैनिक जीवन यापनमा सरल उपायहरु व्यवस्थापन गर्ने त कुरै छोडिदिउँ ।

 

'यस्तो मुर्ख कुरा गर्दै नगर है डिकबहादुर । र मुर्ख्याईं काम पनि नगरेस् । यस्तो सापे बच्चाहरु त्यसैपनि धेरै बाँच्दैनन् । ब्यर्थै किन आफुलाई अपराधी बनाउने कुरा सोच्छस्? कुनदिन आफैं मर्छ तेरो छोरा ।' जसोतसो डिकबहादुरसँग पन्सिएँ म । तर भित्र भित्र मन पोलिरह्यो । कस्तो नियति लिएर जन्मिएछ डिकबहादुरको छोरा? जो जन्मिएको तीनदिन मात्र हुँदैछ र म मर्छ भनिरहेछु । अनि बाबुचाहिँ मर्छ भनिदिएरै खुशी भैरहेछ ।

 

चार... पाँच... छ... सात.... गर्दै दिनहरु बिते तर डिकबहादुरको छोरा मरेन । एक कान दुई कान मैदान हुँदै गयो । वरपर, वल्लोगाउँ, पल्लोगाउँदेखि मान्छेहरु डिकबहादुरको छोरा हेर्न आउन थाले । यसरी आँगनमा तमासेहरुको भीड बढ्दा डिकबहादुर झन् दिग्दारिएर आफ्नो सापे छोरा छिट्टै मरिदिए हुन्थ्यो भन्ने कामना गर्थ्यो तर जन्म र मृत्यु किन कसैको कामना अनुसार हुन्थ्यो र? डिकबहादुरले छोराको न्वारान गरायो । जन्म भैसकेपछि मृत्यु उपरान्तसम्म पनि मान्छेका गरिरहनु पर्ने कर्महरु हुन्छन् । डिकबहादुरको छोरा त जिउँदै छ । सापे भन्दैमा गर्नु पर्ने कर्म नगराई कहाँ हुन्थ्यो?

 

पुरेतले 'डिकबादुरको पुत्र टेकबहादुर' भनेर नाम घोषणा गरे ।

 

'कत्रो ठट्टा?' डिकबहादुर पुरेतसँग रिसायो, 'जस्को टेक्ने खुट्टै छैन उसको नाउँ टेकबहादुर? अरु क्यै नाउँ जुरेन?'

 

पुरेतले पनि के गरुन्? ठट्टा अवश्य गरेका थिएनन् होला उनले । जस्तो नाम जुर्यो उस्तै घोषणा गरे होलान् तर परिस्थिती सम्हाल्न सिपालु थिए पुरेत । भने, 'हैन कस्तो कुरा नबुझेको ए डिकबहादुर तैंले? त्यै खुट्टा छैन र त टेकबहादुर नाम राखिदे'को । एउटा खुट्टाले पनि टेक्ला कि भनेर ।'

 

दिनप्रतिदिन डिकबहादुरको आँगनमा बच्चा हेर्नेहरुको घुईँचो बढ्दै जान थाल्यो र परिस्थिती अर्कै हुँदै गयो । चिउँडोबाट हात जत्रै आकारमा यौटा खुट्टा पलाएर पेटसम्म लत्रिएको डिकबहादुरको छोरालाई साक्षात गणेश भगवानको जन्म भएको हो भन्दै पूजा गर्ने र भेटि चढाउनेहरु निस्कन थाले । रातारात यो क्रम बढ्दै गयो । हिजोसम्म हेरेर अचम्म मानेर फर्किनेहरु पनि अब हातमा नैवेद र भेटी लिएर दर्शन गर्न आउन थाले । स्थानिय पत्रपत्रिकाले डिकबहादुरको सापे छोराको फोटो छापेर गणेश भगवानको हौवालाई बढावा दियो । राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजन च्यानलहरु पनि विकलाङ्ग जन्मिएको बच्चालाई गणेश भगवान बनाउन बिना शरम शरिक भए ।

 

यहि गाउँमा मोटर छिर्न सक्ने बाटो छैन । हेल्थपोष्ट छैन । एम्बुलेन्स छैन ।  डिकबहादुरकि श्रीमतीलाई नै बाँसको माटो बोक्ने जाक्लामा राखेर गाडीसम्म लगिएको थियो । खोलामा पुल नहुँदा बर्खामास केटाकेटिहरु स्कूल जान पाउँदैनन् । यावत समस्याहरु भएको यो गाउँमा यस्ता समस्याहरु देखाउँदै कार्यक्रम बनाउन वा लेख्न कुनै पत्रपत्रिका र टेलिभिजन च्यानलहरुले कहिल्यै जानेनन् । तर वकवास कुराको पछाडी मात्र दौडने सञ्चार माध्यमहरुले विकलाङ्ग जन्म भएको डिकबहादुरको छोरालाई साक्षात गणेश भगवान बनाएरै छाडे ।

 

भक्तजनहरुबाट भेटीको ओइरो लाग्न थालेपछि डिकबहादुरको पनि रवैया फेरियो । हिजोअस्ती सम्म घाँटी निचोरेर मारिदिन्छु भन्ने गरेको सापे छोरा आम्दानीको गतिलो माध्यम भएपछि उ आफुलाई महादेवकै स्थानमा राख्न थालेको थियो सायद । नत्रभने पनि उसले अब आफ्नो सापे छोरालाई पक्का भगवान चैं मान्न थालिसकेको थियो । मैले उसैलाई सम्झाउन केहिदिन अघि 'तेरो छोरा आफैं मर्छ, यस्ता बच्चाहरु धेरै बाँच्दैनन् ।' भनेको कुरालाई लिएर गाउँलेहरुसँग 'मेरो घरमा भगवान पैदा भएको फलानोको नेत्र बलेको छ । छिट्टै मर्छ भन्छ ।' भन्न थालेको थियो डिकबहादुर ।

 

म दैनिक जसो नै गैरहन्थें डिकबहादुरको घरमा । मसँग केहि भन्दैन थियो । हरेकपल्ट भेटी स्वरुप हुन थालेको आम्दानीले उसको आँखामा आएको चमक देख्थें म । तर डिकबहादुरको यो आम्दानीको स्रोत टिकिराख्न सकेन । जन्मिएको तेत्तीसौं दिनमा डिकबहादुरको भगवान मर्यो । हल्लाखल्ला हुने नै भयो । हामी छरछिमेकीहरु भेला भयौं । थाहा पाउने जति भक्तजनहरु पनि भेला भए र भगवान पनि मर्दा रहेछन् भनेझैं घोर आश्चर्यमा परे ।

 

मरेको बच्चाको सदगत गर्न लैजाने तयारी भैरहँदा डिकबहादुर मुर्च्छा परौंलाझैं डाँको छाड्दै थियो । म डिकबहादुर भित्र उसदिन यो बच्चाको घाँटि निचोरेर मारिदिन्छु भन्ने डिकबहादुर छ कि छैन खोज्दैथिएँ ।

                            *****

 

१२ सेप्टेम्बर २०१२

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |