हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

जय फेसबुक महात्म्य

शर्मिला खड्का (दाहाल), (काठमाडौँ)

 
            अचम्मको छ फेसबुकको संसार । यसले मानिसलाई चकित मात्र पार्दैन उत्तेजना, आक्रोश, खुसी, दुःखको ज्वारभाटाले लपटेर वल्लोछेउ र पल्लोछेउ पुर्याउँछ । असम्भवलाई सम्भव बनाउँछ, सम्भवलाई असम्भव । वर्षौ हराएकालाई भेट गराउँछ भने आन्द्रा नै गाँसिएकालाई अलग गराउँछ । परापूर्वकालमा वर्णित कुनै लोककथाको जादुई यन्त्रजस्तो । यसभित्र के छैन ? एउटा सानो सिंगो संसार छ । यसभित्र मानवीयता, अन्तर्गत पर्ने हास्य, विस्मात, दुःख, हाँसो, श्रृड्गार, त्रास, करुण, भयानक  काव्य शास्त्रको नौवटै रस रहेको छुन्छ । त्यस्तै राजनिति, संस्कृति, कला, विज्ञान, प्रकृति, ईश्वर सबै अटेको हुन्छ ।

            आजभन्दा पन्ध्रवर्षअघि नेपाली समाजमा मोबाइलको छाया पनि परेको थिएन । आजभन्दा सात वर्षअघिसम्म नेपाली समाज फेसबुकको जादुई संसारबाट धेरै टाढा थियो । विज्ञानक्षेत्रमा भएको प्रविधिको यो विकासले समाजलाई दिनपरदिन बदल्दै लगेको छ । हाल नेपाली समाजमा फेसबुकको सन्जालमा नलठिठनेको सख्या धेरै थोरै हुँदै गएको छ ।  यसमा पोस्ट हुने ताजा ताजा समाचार, अचम्म लाग्दा दृश्य, आफ्नो मनको कुन्ठा, हर्ष समाचार सबै पोस्ट गर्न पाइने हुनाले पनि यसको पे्रमीको सख्या दिन पर दिन बढ्दै गएको हो । म स्वयम पनि फेसबुकमा हराउने गर्दछु । कतिपय हास्यास्पद कुराहरूले मनको तनावलाई अर्कै संसारमा लगेर छोडिदिन्छ ।

            एकाबिहानै के कुरामा हो मेरो मुडअफ भइदिन्छ । मेरो मुडअन गर्ने एउटै साधन भैदिएको छ त्यो हो फेसबुक संसार । कहिले फेसबुकको मेसेजमा आउने प्रशंसकहरूको प्रशंसाको पत्र त कहिले मित्रहरूको आउने आत्मीयताको मेसेजहरू त कहिले फेसबुकमा पोस्ट हुने मीठामीठा चुटकिलाहरू, गीत, गजल  र विभिन्न जानकारीहरू । त्यसैले एकाबिहानै फेसबुक सुमसुमाउन पुग्छु म प्रेमीले प्रेमिकालाई सुमसुमाएझैँ । फेसबुकमा पोस्ट गरिएको यो एउटा चुकटिलाले खित्का छोडेर हसाउँछ मलाई ।

अमेरिकाबाट गाउँमा रामलाई  फोनमा फूर्ति लगाउँदै श्यामले भनेछ ।

श्याम– “ओबामालाई चिन्छेस् ?”

राम– “चिन्दिन यार ।

श्याम–.“एन्जेलिना जोलीलाई नि ?”

राम– “अहँ चिन्दिन यार ।

श्याम– “अग्रेजी फिल्म हेरे पो चिन्थिस् । रिहानलाई नि ?”

 राम– “चिन्दिन यार ।

श्याम– “अग्रेजी गीत सुने पो चिन्थिस् । लन्ठु ।

श्यामको कुरा सुनेर रामले झर्कैदै भन्यो ।

राम– “भक्तेलाई चिन्छेस् ?”

श्याम अहँ चिन्दिन यार ।

राम– “तेरो स्वास्नीको ब्याय फ्रैन्ड हो । कहिल्यै घर बसे पो चिन्छेस् ।

            त्यस्तै अर्को बिल गिटस सम्बन्धि यो चुकटिला निकै रोचक थियो ।

एकपल्ट कतारको एउटा होटलमा बिल गेटसको छोरा खाना खान गएछ । खाइसकेपछि वेरालाई ५०० डलर टिप्स दिएछ । भोलिपल्ट बिल गेटस गएछ उसले ५० डलर दिएछ । बेरालाई अचम्म लागेछ र सोधेछ । अनि बिल गेटसले भनेछ– “मेरो छोरा संसारको सबैभन्दा धनी बाबुको छोरा हो तर बिल गेटस एउटा मजदुरको छोरा हो ।

            फेसबुकमा साहित्यको आफनै संसार छ । कहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा भएको धाँधली त कहिले प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता प्रतियोगितामा भएको अनियमितताले फेसबुक तातिइरहेको हुन्छ । विभिन्न ठाउँमा भएका साहित्यिक गतिविधि र यस सम्बन्धी चर्चा परिचर्चाका समाचार, फोटो र अझ भिडियोले मनको तरड्गमा रोमान्चकता थपिदिन्छ । पाण्डुलिपिको चर्चासँगै कृष्ण धरावासीको दोस्रो विहेमा भएको क्रिया प्रतिक्रियाले फेसबुकको स्टाटस तातिएको हुन्छ । सावन १ गतेका दिन कृष्ण धरावासीले स्टाटसमा यस्तो लेखे– “सावने सक्रान्तिको शुभकामना । मानसिक लुतो हुनेको लुतो जाओस् ।  तल एउटा कमेन्ट यस्तो थियो– “सेम टु यु ।

            मलाई हाँस उठ्यो । फेसबुकको चमत्कारी लीला देखेर । यस्ता हजारौ कमेन्टहरू कहाँ थिएन होलान् पहिला ? के फेसबुकले नै जन्माएका हुन् त यी कमेन्टहरू ।

            फेसबुकमा सबैभन्दा बढी आफ्नो भावना, विचार र सन्देशहरू सम्प्रेषण गर्नेमा मैले साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीलाई देखेको छु । उनको स्टाटस पढ्न लायक ज्ञानवर्द्धक, समसाययिक राजनीति र सामाजिक वेथितिलाई कडा व्यड्ग्य हानेर लेखिएको हुन्छ । एक पल्ट उनले यस्तो लेखे

नेपाली महिला वास्वतमा नै नवचेतना र जागरणले भरिएका छन् तर के सबै महिलामा महिला अस्तित्वको वोध छ ? भारतको अयोध्यामा जन्मेको श्यामवर्णका रामको महिमा सम्मानमा रामनवमी मनाउँछन् तर जस्तै क्रान्तिकारी महिलाले पनि आजसम्म सीताजयन्ती मनाएको मैले थाहा पाएको छैन ।

प्रकाश सायमी यस जिज्ञासाले मेरो चेतनालाई यसरी उघायो

प्रकाश दाइ यति सरल कुरा पनि थाहा पाउनुभएन ? क्रान्तिकारी महिला सीतालेझै समाज र श्रीमान्ले अन्याय गरे भने सहेर सहनशील भएर बस्नु पर्छ भन्ने सिद्धान्त नै मान्दैनन् ।

यसरी फेसबुकमा आउने कतिपय यस्ता स्टाटसलाई म आफनो बलबुताले भ्याएसम्म कमेन्ट गर्छु । तर फेसकुकमा महिलाको उपस्थिति धेरै कम हुने हुनाले यस्ता कमेन्टमा प्रतिउत्तर दिने धेरै कम हुन्छन् ।

फेसबुकमा साहित्यको आफ्नै संसार छ । यहाँ पोस्ट हुने छोटामीठा मुक्त, गजल, गीतले पाठकलाई तानिहाल्छ । तर ती रचना जति प्रभावकारी हुन्छन् त्यत्तिकै चोरिने सम्भावना बढी हुन्छ । त्यसैले फेसबुकको रचनाको असली रचनाकार सधँ रहस्यको धरातलमा नै रहन्छ । फेसबुकको एउटा यो कविताले मलाई तुरुन्तै तानेको थिया

 

 भैँसी बेची मोबाइल किने कुखुरा बेची सिम

हतारहतार फेसबुक खोले पार्दै आँखा चिम

राम्री रहेछ नि साथी उनी च्याटमा दिनका दिन

भेट भयो मिलन चोकमा गरियो खानापिन

गोजी पनि खाली भयो लाग्यो त्यो रिन

गाइबाख्रा बेचसिके अब आयो घर बेच्ने दिन

 

फेसबुकमा सबै खाले साहित्य पढन पाइन्छ । हल्काफुल्का साहित्यदेखि गम्भीर खालका साह्त्यििक लेख, रचना र गीत गजल पाइन्छन् । एउटा फेसबुककै मुक्तक

 

निष्ठुरीको बाचाकसम पिपलका पात लाग्यो

एउटा चोट आलो थियो फेरि अर्को साथ लाग्यो

चन्द्ररुपी मुहार अनि कल्कलाउँदो यौवन उनको

किन धाउनु मधुशाला नपिउँदैमा मात लाग्यो

 

अर्को यो गजल करुणरसले भरिएको थियो

हजारौँको भीड बीच मौनताले  पिरेजस्तो

कलेजो नै निकालेर बन्दगीमा तिरेजस्तो

सहरभरि धेरै घर छन् मनकारी मुटु भन्थे

चौपायाझैँ लावरिस मै सडकमा फिरेजस्तो

हल्किएका आँखालाई परेलीले बाँधेपनि

मनभित्रै प्वालपारि तप्किएर गिरेजस्तो

मृत्युले त तरस खाइ उपहार मै छाडेपनि

जिन्दगी नै तिर बनी मुटुभित्र छिरेजस्तो

 

 यो गजल पढपछि मलाई मेरो यो करुण रसले भरिएको कविता पोस्ट गर्न मन लाग्यो

आँसु बने सागर

आँसु बने सागर, किनारा कतै देखिएन

पीडाको सागरमा डुबी रहे मोती कतै भेटिएन ।

 

बुझाउन सम्झाउन यो मन, भाषा कुनै भेटिएन

अथाह पीडा पोख्न, शब्द कुनै भेटिएन ।

 

भाग्यको खेल अनौठो कर्म दासी हुदोरहेछ

भाग्य भयो बैरी दुःखले कहिल्यै साथ छोडेन ।

 

मृत्युसँग जीवन साट्ने, चाहाना धेरै भयो

चाहाना मेट्ने बाटो खोजे, तर समयले साथ दिएन ।

 

जीवनको पाइला संगै पीडाले सधै पछ्याइरह्यो

पाइलासँग छाया मेटियो तर पीडा कहिल्यै मेटिएन

 

यो कविता पछि कवि नवराज सुब्बाको कविताले मलाई तानिहाल्यो

 

एकैछिन अघि यतै कतै

यही माटोमा

रोपेको थिए मैले मन

 यही ढुड्गामा बिसाएको थिएँ

 माया

तर

 खै छैन त ?

कसले लग्यो भन्दै

एउटा बालक रोरह्यो

रुदै भुईमा

लडिबुडि गरिरह्यो

यसरी बिचरा म रुदारुदै पो बूढो भएछु ।

 

फेसबुकमा धेरैजसो विदेशमा बस्ने नेपालीहरू भेटिन्छन । उनीहरू साहित्यमार्फत आफना प्रेमिकालाई यसरी सन्देश पठाउँछन् ।

 

विदेश बस्दाबस्दै घर मैले भुल्ने हो कि ?

मलाई छोडि मेरो नानु बाहिर कतै डुल्ने हो कि ?

शंका गरेको होइन नानु माया लाग्छ तिम्रो अति

दुःख नमाली बस्नु है यस्तै रहेछ जिन्दगानी

 

अर्का विदेशी सर्जक अभागी कान्छा गाउँलेको यो मीठो गजल

 

काटे रगत सबको एक, जातको कुरा नगर

सानो ठूलो भनी सधैँ घातको कुरा नगर भो

बुझ्नुपर्छ नारी पुरुष, एकै रथका दुई पाग्रा

दुवै मिले के हुन्न र, हातको कुरा नगर भो

गाउँभरि चर्चा होला, जवानीले मात्तिएर

 बाध्यताले प्रदेशीय, मातको कुरा नगर भो

 

लिलामीमा पर्यो जीवन, दिन पनि रात भो

पलपल मरि बाँची राछु रातको कुरा नगर भो

भाग्न खोज्दा प्रवासमा हाँसो खुसी लुटी छाड्यो

समाजमा शब्दरुपी लातको कुरा नगर भो

लन्डन बसेर निरन्तर कविता विधामा कलम चलाइरहने एकजना कवि दुर्गाप्रसाद पोखरेलको कविताहरु मलाई निकै उत्कृष्ट लाग्छन् । उनको यो कविताको जीवन दर्शनले भरिेको कविताबाट म निकै प्रभावित भए ।

 

त्यो बाटै होइन पनि भन्लान्, चित्त रुवाउने गरी

चुन्नु सुन्दर बाटो आफ्नो लक्ष्य सुहाउनेगरी

राम्रा काम गर उनीहरूमा ईष्या र जलन हुनेछ

तर कति नथाक्नू पछि त्यो तिनको चलन हुनेछ

उत्साह भर्नेहरू कमै मिल्लान् काम गर्दा धेरै नखोज्नू

पछि ताली बनाउन आउँलान् काम बनेपछि खोज्नू

मीठो बोली देउ नमीठा नै भए पनि मान्छहरू

भोलि पस्कनेछन् तिम्रै बोली घरघरमा भान्छेहरू

आत्मशक्ति भाग्दछ मन रोगी भएपछि

आत्मशक्ति जाग्दछ कर्मयोगी भएपछि

मन राख्नु सदा स्वस्थ्य दुख संताप हटदछ ।

प्रफुल्ल मनले रहे मनमा नै विश्व अट्दछ।

यस्तो सोच राख्नू मनमा केही बाँचेर गर्न सकियोस्

यस्तो सोच राख्नु मनमा परे हाँसेर मर्न सकियोस्

 

फेसबुकमा विपरित लिगीको बेग्लै आकर्षण देखिन्छ । अझ केटीको फोटो छ भने लाइक गर्ने र कमेन्ट लेख्नेको धुइरो लाग्छ । यसले गर्दा कतिपयले केटीको फोटो राखेर फेक आइडी पनि चलाएको पाइन्छ । फेसबुकमा सबैभन्दा चर्चित हुने स्टाटस भनेको राजनीति नै हुन्छ । राजनीतिप्रतिको वितृष्णालाई जनताहरूले विभिन्न किसिमको कार्टुन बनाएर र कविता बनाएर पोस्ट गरिएको हुन्छ ।

विशेषत जेठ १३ गते संविधान बन्न नसकेको अवस्थामा जनताको आक्रोश थामिनसक्नु भएर फेसबुकमा पोखिएको थियो । कुनै गीत कविता र कार्टुन मार्फत नेताहरू र सभासदहरूलाई भन्नुसम्मको गाली गलौज गरिएको थियो । फेसबुकमा विशेष माओवादिको नेता प्रचन्ड र प्रधानमन्त्री बाबुरामको विभिन्न कार्टुनहरू बनाएर राखिएको पाइन्छ । राजनीतिलार्इ कवितामा  जनताले यसरी रिस पोखेको थिए

प्रचन्ड र ज्ञानेन्द्र छोराको पीरमा

बाबुराम सरकार कृष्णभिरमा

सुशील र रामचन्द्र कता गए

 देउवाजी अब एक्लै भए

माकुनेलाई पिर छ श्रीपेचकै

ओलीजीको जिन्दगी दाउपेचमै

 मधेशी बाँच्छ विहारीको पिरमा

राख्छ यसलाई दिल्लीले शिरमा

जाबो जनतालाई के छ र पिर

यिनका मुटुमा महँगीकै तिर

 

फेसबुकमा राष्टियताप्रति तीव्र व्यग्ड्य हान्दै राष्ट्रिय गीतलाई यसरी प्यारोडी बनाएको पाएँ मैल

 सयौँ थुगा नेताका जुगा तान्ने हामी नेपाली

बाइसीएल र थुथफोर्स भै फैलिएका मेची महाकाली

बन्द हडताल कोटी कोटी भ्रष्टाचारीको आँचल

जोकोही बादी आए नि विदेशी कै दलाल

शान्ति छैन, संविधान छैन हरूवा छन् केवल

राष्टियता बाँकी छैन नाममात्रै माधव नेपाल

 प्रचन्डभूमि फोेरमभूमि तराई पहाड हिमाल

जताततै टुक्रिएका ससाना राज्य नेपाल

गुटबन्दी फुटबन्दी समस्या छन् विशाल

संविधान लेख्नै नसक्नेहरूको प्रतिगामीको नेपाल

राजनीति मात्र नभई फेसबुकमा चलचित्रको समसामयिक विषयबस्तुलाई पनि साहित्यमा यसरी उतारेको पाइन्छ ।

मालतीको भट्टि

रौसी जाबो उमेर छँदा कति पिइयो कति

घरभन्दा प्यारो लाग्थ्यो मालतीको भट्टि

मजस्तै भुसतिघ्रे अरु पनि आउँथे

चाउरी प¥या बुढा पनि त्यही भट्टि धाउँथे

झम्के साँझको पर्खाइमा दिन काट्नै गाह्रो

घरकी बूढी भन्दा पनि मालती नै प्यारो

आफनो ठाउँ भट्टिभित्र अलि कुनापट्टि

ससुराली भन्दा प्यारो लाग्थ्यो मालतीको भट्टि

मालतीको कड्के नजर चारैतिर डुल्ने

आफू भने मालतीको मुस्कानमा भुल्ने

घरमा चाहिँ बूढीले भान्सा कुरी बस्ने

आफू भने मध्यरातमा घरभित्र पस्ने

मालतीले कुम्ल्याई हजुर पैसा भएजति

सम्झदानि दिक्क लाग्छ मालतीको भट्टि

 

फेसबुकले हाँसो खुसी मात्र दिने होइन कहिलेकाही नसोचको टेन्सन पनि हुन्छ । विभिन्न विचारधाराका मानिस हुने भएकाले विभिन्न सोच्दै नसोचेको टेन्सन हुने काम पनि हुन्छ । आफूले भनेको कुरालाई अरुले अर्कै अर्थलगाएर बुझिदिने, अरुले भनेको कुरा आफूले अर्कै अर्थ लगाएर बुझिएको हुनसक्ने हुन्छ । यसले अझ आफूलाई तनावमा राख्दछ । कतिपय व्यक्ति नराम्रो धारणा राखेको हुन्छन उनीहरूले फेक आइडी चलाएर आफूलाई जस्तोपायो त्यस्ते कमेन्ट पठाएको पनि हन्छ ।

फेसबुकमा सामाजिक जीवनमा काम लाग्ने धेरै कुराहरु पोस्ट गरेको पाइन्छ । जस्तै यो एउटा भनाइ पढौँ

पहिला पहिला लेखिन्थ्यो अतिथि देवो भवः पछि लेखिन थालियो शुभलाभ , अहिले लेखिन्छ कुकुरदेखि सावधान भन्नुहोस हामी कतातिर गइरहेका छौँ ।

त्यस्तै झगडा सम्बन्धी यो भनाइ

लोग्नेस्वास्नीको झगडा परालको आगो तु्रुन्त बल्छ तुरुन्त निभ्छ

गर्लफैन्डको र व्यायफ्रैन्डको झगडा मट्टितेलको आगो कहिलेकाही अरुलाई पनि सल्काउँछ

दाजुभाइको झगडा दाउराको आगो अरुलाई भात पकाउन सजिलो बनाउँछ

छिमेकी छिमेकीको झगडा भुसको आगो बलेपछि निभ्न गारो

नेता नेताको झगडा प्लास्टिकको आगो तपतप चुहिएर जनतालाई र देशलाई पोल्छ ।

 

             नेपाली साहित्यमा फेसबुकको चर्चा गर्दा पेन लभर्स भन्ने ग्रुपको चर्चा गरिएन भने त्यो अधुरो रहन जान्छ । पेन लभर्सले नेपाली साहित्यको समाचार, जानकारी, साहित्यिक गतिविधिको फोटोहरू राखिएको हुन्छ । जसलाई सन्चालक किशोर पहाडीले निकै मेहेनत गरेको पाइन्छ । तर कहिलेकाही यस ग्रुप नचाहिने तर्क विर्तक गरेको पाइन्छ भने कुनै कुनै समाचार पोस्ट नगर्नुपर्ने पोस्ट गरेको पाइन्छ । अरु पनि थुप्रै कथाविधा, कविताविधा, गजलविधाका धेरै ग्रपहरु सक्रिय पाइन्छ । त्यस्तै फेसबुकमा विभिन्न साहित्यिक वेवसाइडहरूको लिंक पनि प्रसस्त पढन र थाहा पाउन सकिन्छ । अर्कोतिर यो फेसबुकको जादुई संसारले अनेकौ जादुई लीला गर्छ, चमत्कार गर्छ, खुरापात गर्छ । कहिले मन्दिर जाँदै नजानेपनि फेसबुकमा इश्वरको भक्ति गरेको फोटो राखेर स्तुति भजन ट्याग गरेको पाइन्छ । फेसबुकले मानिसलाई कतिसम्मको वनावटी र देखावटी बनाएको छ भन्ने एउटा सानो घटना म यहाँ राख्न चाहन्छु । एकपल्ट गीतकार भीम विरागको देवहसान भएको खबर फेसबुक र साथीभाइ मार्फत थाहा भयो । एकजना साथीले लौ आर्यघाट जाऔँ हामी पनि जाने ।भन्नुभयो ।

हामी एकछिनमा अरु साथीहरूसँग आउँछौ तपाई जादै गर्नुहोस् ।भन्नुभयो । म पनि आफ्नो काम छाडि उँहालाई हार्दिक श्रद्धान्जली चढाउन आर्यघाट पुगें । त्यहा त कोही साहित्यकार हुनुहुन्थेन । मैले सोचेको थिएँ त्यहाँ टनाटन साहित्यकार हुनुहोला । तर उल्टो भयो । मैले एकदुई जनालाई फोन गरे कसैले थाहा नपाएको कुरा गर्नुभयो कसैले फुर्सद नभएको कुरा गर्नुभयो । पछि मलाई जाऔ भन्ने साथी पनि आउनुभएन । म घर फर्के । घर आएर यही मायवी फेसबुकमा घुम्न थाले । मलाई अचम्म लाग्यो फेसबुकमा गीतकार भीम विरागलाई श्रद्धान्जली दिनेको भीड देखेर । काठमाडौ बाहिरको त आउनुसक्नु हुन्न काठमाडौँ भित्रको कोही न कोही एकदुई जना मात्र भएनि आउनु पर्ने हो नि भन्ने लाग्यो । अनि फेसबुकले हामीलाई कति औपचारिक बनाइदिएछ भनेर नमज्जा लाग्यो । अनि भोलि हामी सबैको श्रद्धान्जलीको सभा यस्तै पो हुने होकि भनेर म निकै घोरिए । यो कुरा फेसबुकमा राख्न मन लागेको थियो । फेरि सोचे यो जादुई लीलाले फेरि आफू अर्कै अर्थको घेरामा मुसिने हो कि । अनि अन्त्यमा एकपल्ट भने जय फेसबुक महात्म्य ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |