गजल
रमेश खकुरेल, (काठमाडौं)
आफू बिराउँछन् र अरू घान पार्दछन्
आनन्द मान्दछन् जब हैरान पार्दछन् ।
आमा बुढी भइन् र लुगा छन् धुजा धुजा
लागेर लाज आउँछ अन्जान पार्दछन् ।
न गरेर खान जाँगर सन्तोष भो न ता
खान्छन् लुटी रसीद भने दान पार्दछन् ।
घोच्यो कहाँ र दुख्छ कहाँ जान्दछन् तर
मेरो व्यथा त ढोँग कि झैँ भान पार्दछन् ।
जे देखिँदा अरू जनले लाज मान्दछन्
देखाउँछन् उही र अझै शान झार्दछन् ।
स्वर नाम के चरो अनि हो ताल के पशु
धोती लगाउँछन् र यसै तान मार्दछन् ।