हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

कथा कहाँ पुग्यो साथी ?

सुन्दर जोशी , (वेस्ट पाल्म बीच, फ्लोरिडा )


"
दुइ ओटा कथाको प्लटमा एउटा मगज घुमे पछि के हुन्छ ?" मैले दिक्क लागेर भ्यानकुभरमा बस्ने मेरो पत्रकार साथीलाई टेक्स्ट गरेँ |  

"ल्यापटपको कि बोर्डमा हुनु पर्ने तिम्रा हातका औलाहरु निधार थिची रहेको हुनुपर्छ "  उताबाट जवाफ आयो  |

"बिल्कुल  ठिक" मैले फेरी टेक्स्ट ठेलें | वास्तबमा साथी, जो सम्पादक पनि हो, उसले भने जस्तै मेरा दुवै हातका औलाहरु घरि घरि निधार छाम्न पुगी रहेका हुन्थे |

" तिमि कहाँ छौ ?" मित्रको प्रस्न |

" यति बेला ज्यास्पर लेकको छेउमा छु, प्रकृतिको अति विहंगम  दृश्य  मेरो आँखा अघि | तर भाव शुन्य भएको छु " दिक्क हुँदै गरुङ्गोसंग लेखें |   

" कुन होटेलमा ?" 

" ब्लु मून रिसोर्टमा"  

" तिम्रा बिषय बस्तुहरु के हुन्  ? कुनै जीवित पात्रहरु पनि छन् छेउ छाउमा ?" 

"मतलब ?"  

" तिम्रो आसपासमा कुनै तेस्रो बिषय बस्तु डुली रहेको हुनुपर्छ, त्यसलाई भेट्टाउ सकेनौ भने स्थान परिवर्तन गर, अन्तै जाऊ " सम्पादक मित्रले यसरी आदेश फर्मायो मानौ मेरो परिवेश उसको आँखामा सदृश्य | संजयले धृतराष्ट्र्लाई युद्ध स्थलको बारेमा भनि रहेझै पो बोलि रहेछ चकित भै सकेको थिएँ | किनकि त्यो तेश्रो बिषय बस्तुमा मेरो आँखा अडीइ सकेको थियो | क्या रुप थियो, क्या लचक हिडाईमा अनि उनको पाइलाहरु नजरको गन्तब्यनै बसेको ठाउँसम्म | उनि मेरो बिल्कुल नजिक आइ सकेकी अवस्थामा फोनको घन्टी बज्यो | उही सम्पादक मित्र | उसलाई हतार भो जान्न सायद तर मैले फोन अफ गरिदिएँ उनको सामना गर्न तैयार भई बसेँ

" कुनै रोमान्टिक कथा लेख्दै हुनु हुन्छ ? " आगन्तुक पात्रको पहिलो प्रश्ननै गजबको थियो मैले अलिकति पनि समय खेर नफालीकन भनि हालें " अचम्म, कथानै लेखि रहेछु भनेर कसरी थाहा पाउनु भयो ? " 

" यस्तो मजाको ठाउँमा ल्यापटप अघि राखेर मस्त डुबेर बसी राख्नु भएको , त्यसैले अनुमान गरेकी"  ति आकर्षक  ब्यक्तित्वका धनि आगन्तुक महिलाले पनि  नछाड्ने छाँट देखाई हालिन |

साँच्चै तिन छक परें उनको कुराहरु सुनेर, यहाँ कथा लेख्नकै लागि भनेर ब्यबहारिक जिन्दगीबाट भागेर ति टाढा, यति महँगो होटेलमा आएको छु भन्ने कुरा मैले मेरो सम्पादक मित्रलाई पनि भनेको थिईन, जोसंग अक्सर कथाका बिभिन्न बिषय बस्तुहरुसंग हुने दुर्घटनाहरुको बारेमा गफ छाट्ने गर्दथिएँ  | हिजो साँझ पनि यहाँ छु भन्ने कुराको सुइँको सम्म नदिई बारमा बसेर भोड्का तन्काई रहेको बेला काल्पनिक कथाको अनेक प्रसंग उठाएर धुनधान गफ नछाटेको होईन यहाँ छु भन्ने कुराको सुइँको उसले पनि एक छिन् अघि मात्रै थाहा पाएको थियो तर यी रुप ब्यक्तिवकि धनि महिलाले मलाई छक्कै पारिन |

मैले अलिकति गरुङ्गोसंग भनेँ " वास्तबमा तपाइले ठिकै अनुमान गर्नु भयो तर ..."

" के तर  ? कतै मैले तपाइको एकाग्रतामा बाधा पुर्याईन ?" उनले झस्कि झैँ गरिन् |

"त्यस्तो होइन, लेख्नकै लागि यहाँ घन्टौ देखि छु तर ल्यापटपको कि बोर्डसंग औंलाहरु तर्सिए झैँ भै राखेको | केहि लेख्न सकी रहेको छुईन |"  मैले भएको कुरा नै निसंकोच भनिदिएँ |   

" तपाई कुनै नया बिषय बस्तुको खोजीमा हुनुहुन्थ्यो | हो कि होइन भन्नुस ?" उनले माल्भिका सुब्बाको जस्तो ज्यानमारा मुस्कान छाडेर भनिन् अनि लेखक महोदय, अर्थात , मेरो मनको चोर पक्राउ परेको देखेर झन्डै सेन्टीफ्ल्याट भएँ |  

" म्यलिग्न लेकको किनार, स्पिरिट आइजल्याण्ड त्यसको मोहिनी रुप आँखा अघि राखेर बसेको एउटा लेखकले केहि पनि लेख्न नसक्नुको  कारण जान्न सक्छु ? "  तिनी, अर्थात नया बिषय बस्तुले मेरो स्वीकृतिनै नलिई मेरो अघिको कुर्सीमा आसन जमाईन कटाक्ष नियाल्दै सोधिन  

" वास्तबमा मसंग सको कुनै जवाफ छैन, खै के भयो के भयो आज मलाई, आज यस्तै हुनु लेखेको रहेछ "  उदासीको एउटा निस्वास छाड्दै सहज भनि दिए मैले |

" कतै तपाइको ध्यान तपाइले थाहा नपाए जस्तो गरि मेरो चियो गरि रहेको थिएँन ?"

" मतलब ?" नराम्रो संग झस्किए   |

" तर मलाई केहि फरक परेको छैन, किन झस्किनु भएको तपाई ? हरेक  मानिस  एउटा सिंगो उपन्यासको बिषय हुन सक्छ भन्ने अर्थमा भनेकी | लेखकहरुले हरेक मानिसहरुमा कथाको बिषय बस्तुको बिउ भेट्ने गर्छन  भन्ने सुनेकी थिएँ | प्रश्न खाली यसरी सित्तैमा भेटिएको कथाको बिउलाई प्रयोग गर्नु हुन्छ कि हुदैन भन्ने मात्र हो |"

केहि निले जस्तो गरेँ मैले, यो मेरो घाटी सुकेको संकेत थियो |

"मैले यति धेरै बकबक गरिसकें तर तपाइले मेरो कुरामा त्यति धेरै रुची लिनु भए जस्तो लागेन | तपाई कल्पनामा हराएर काल्पनिक पात्रहरु सिर्जना गरेर लेख्न रुचाउनु हुन्छ होला सायद  ?" उनले अलि गम्भीर बन्दै भनिन |

" त्यस्तो हैन, वास्तबमा यसरी कथाको बिषय बस्तुसंग मेरो जम्काभेट पहिले कहिले पनि भएको थिएँन, यो बिल्कुल अनौठो अनुभव भयो |" मैले वाताबरणलाई झन खुकुलो बनाउने प्रयास गरेँ |

"वास्तबमा पनि यहाँ केहि दिन देखि छु तर यति मनोरम ठाउँमा आएर पनि मेरो मन पटक्कै रमाउन सकी रहेको छैन | आज  झन खै के भएको हो कोनी मलाई ? " बोलेर नथाक्ने छाट देखाईन उनले |
" यस्तो  हुनुको कारण चाही ?"  अलिकति चासो देखाई हाले मैले | प्रतिउत्तरमा केहि नबोली उनि आफ्ना सुन्दर आँखाहरुलाई टाढा टाढा लगी रहेकी थिईन उनको यो मनोदशा देखेर पहिलो पल्ट झसंग भए | भित्रको लेखक महोदय त्यसको ब्याख्या गर्न लागि रहेकै बेला उनले भनिन " प्रकृतिले मनको रोगलाई हिलिंग गर्छ भन्ने कुरा पत्याउनु हुन्छ तपाई ? "   

भित्रको लेखक फेरी झस्कियो तर आफ्नो तर्फबाट कथालाई भडकाएर गल्ति गर्न चाहन्न थिएँ | मेरो दिमाग अघिका फरक फरक दुइ प्लटमा घुमी रहेको थिएँन बरु एउटा नया कथाको सिंगो प्रतिमुर्ति भेटेर दंगदास थियो | धेरै स्वांग पार्नुको अर्थ पिजडामा आइ सकेको पन्छी उडाउनु हो भन्ने ठानेर मैले गफ सुरु गरेँ | 

" त्यसो तपाई प्रकृतिसंग झ्याम्मिन आउनु भएको हो | मेरो भनाइको मतलब.....!"   उनले मलाई उछिनेर केहि भन्न लागेकी हो कि जस्तो लागेर रोकिएँ तर प्रतिउत्तरमा एउटा मन्द मुस्कान मात्र आयो |
मैले पनि त्यस्तै मन्द मन्द तर अर्थपूर्ण मुस्कुराउदै ल्यापटपको किबोर्ड सुमसुम्याउदै भने

"तपाईको कुरा सुन्दा स्तो लाग्छ, काल्पनिक कथाको बिषय बस्तुमा डुबी रहनु पर्दैन अब मैले "
" तपाइलाई त्यस्तो लाग्यो ?   सम्झी रहेको थिएँ बेकार तपाइको एकाग्रता बिथोल्न आइपुगेँ !" 

" पूर्व जन्ममा निक्कै पुण्य गरेको हुनु पर्छ मैले, त्यसैले यसरी सिंगै कथा मेरो अघि ...!" 

लेखक महोदयको गफ सकिएकै थिएँन, उनि यस्तरी हाँसी कि ओरिपरिको प्रकृति सबै मुस्कुराएको देखे मैले | उनि प्रकृतिमै हराई रहेकी थिइन् यहि मौका छोपेर उनको रुपलाई निर्धक्क, धित मरुन्जेल नियालेँ मैले पनि | अध्बैंसे भएर पनि बैंसको उन्मादमा थिईन उनि, अनि सौन्दर्य.. ?  सितिमिति यसरि लट्ठीने मानिस हुदै होईन लेखक महोदयम केहि बोल्ने सुर कसी रहेको बेला उनले नै उछिनेर उस्तै ज्यानमारा मुस्कान छोडेर भनिन " मन पर्यो ....मलाई मन पर्यो " |

"के मन पर्यो ?" फुस्कि हाल्यो ओठबाट |

"तपाईका कुरा !" उनले आँखामा आएको एक झुप्पा केश पन्छाउदै भनिन् |

"कुरा मात्रै ?"  लेखक महोदयले नछोड्ने सुर कस्यो |

" अरु के मन पर्नु पर्ने थियो कुन्नि ?" उनले सिधै मेरो आँखामा नियालेर सोधिन |  बिचरा , पहिला अत्तालिए तर सम्हालिदै यता उता नियाल्दै भनि हालें " प्रकृति, यहाँको वाताबरणअनि आजको मौसम ! " 

उनि फेरी अघि जस्तै दिल खोलेर हाँसिन | 

केहि बोल्न सकेको भए मर्नु,  चुपचाप टोलाई रहें बट्टाबाट एउटा सिगरेट निकालेर झन्डै सल्काए | मेरो अनुहार नियाल्दै उन्लेनै भनिन

" बाई वे, सिएना " उनले आफ्नो सुकोमल हात अघि बडाउदै भनिन | अनि मैले पनि आफ्नो जब्बर हातमा उनको हात परे पछिको कुतकुतिले रोमान्चित हुँदै आफ्नो परिचय दिएँ |

" वास्तबमा एउटी जोर्नालिस्ट पनि हुँ | लेखकहरु जस्तै पत्रकारहरु पनि मानिसको अनुहार हेरेकै भरमा उसको अन्तर्मनको कुराको थुप्रै भेउ पाउँदा रहेछन भन्ने लाग्यो होला तपाईलाई हैन ? " सारा प्रकृती मक्ख पर्ने गरि मुस्कुराईन |

" वास्तबमा ..!" मैले पनि उस्तै तर कपटी हाँसो हाँसे, हेरौ कतिको चाल पाउँदि रहिछिन भित्रको कपटी लेखकलाई |


त्यहि बेला फोनको घन्टी बज्यो | मेरो सम्पादक मित्रको होला भन्ने ठानेर फोन हातमा लिए तर फोन सियेनाको पो घन्किएको रहेछ, टिपेर कानमा पुर्याईन त्यसैमा अल्झीइन् | भएन, जुरुक्क उठेर अलि पर सम्म गईन मेरो मुटुमा ढ्यांग्रो ठोकि दिईन | मलाई यो मोबाइल फोन भन्ने वस्तुसंग पहिलो पल्ट अचाक्ली रिस उठ्यो | प्रविधिको यो बिकसित भाँडो नभएको भए हाम्रो बार्तालापमा यो अबरोध पक्कै आउने थिएँन | आफ्नै फोन हेरेर मुर्मुरिदै नजाने केके सोची रहेथे उनि मेरो नजिक आइ सकेकी पत्तै भएन |

 

" आज साँझ तपाईको केहि कार्यक्रम  छैन भने हामी संगै डिनर खाउँ हुन्न ? " उनले हतारमा यस्तरी सोधिन | मलाई विश्वास भयो उनि मेरो मनको कुरा चोर्न सक्दि रहिछिन, किनभने वार्तालापको अन्तमा आफै त्यहि प्रस्ताब राख्ने वाला जो थिएँ

"हुन्छ नि " एकदमै सारांसमा स्वीकारें, अनि मुटु कलेजो सबै गदगद भै उफ्री रहेको स्थितिलाई सम्हाल्न थालें |
" तपाइलाई भरै साँझ बारमा भेट्ने छु, अहिले जानु पर्छ | " एउटा अर्थपूर्ण मुस्कान दिएर उनि आफ्नो बाटो लागिन |

भने उनका शब्द शब्द ओठमा खेलाएर बसीरहें " ..अहिले.. जानु ..पर्छ !"  "..जानु पर्छ !"  'जान्छु' नभनेर किन उनले 'जानु पर्छ' भनिन ? एक किसिमको बाध्यता उनको जानुसंग | त्यो बाध्यता नभएको सायद उनि मसंग यहीं बसी रहेकी हुन्थिन | जे होस् भरै बारमा भेट्नु छदै , डिनर पनि संगै खानु ,  त्यसैले मैले कल्पेर बस्नु आवश्यक देखिनं मेरो उही सम्पादक साथीलाई कल गरेँ |

" कस्तो टेलीप्याथी भएको यार, तिमीलाई कल गर्न भनेर फोन झिक्न गोजीमा हात लादै थिएँ फोन भाईब्रेट भयो | हेर्छु तिम्रै फोन, यो गजब भयो यार |" सम्पादक मित्रले गफ दिए |

" गफ नदेउ बुढा " मैले पत्याईन |

" कथा तैयार भयो ?" 

" अब भने एउटा कथा निश्चित लेखिने भैयो ! "  एकदमै निश्चिन्त हुँदै भनेँ मैले अलिकति कुरा फुस्काई हालें | अझै उत्सुक हुँदै थियो, मैले कुराकानीलाई पजमा राखेर गइदिएँ आफ्नो रूमतिर | तैयार जो हुनु थियो साँझकोलागि

 

साँझ, अलि हतारमै बारमा पुगेँ भन्ने ठानेको भन्दा पहिला नै आफ्नो एउटा हातमा आइप्याड  अर्को हातमा गिलासको आकार हेर्दा ह्वाईट वाईन हुनु पर्छ, लिएर उनि एउटा ठुलो सिसाको झ्याल नजिक उभिई रहेको भेटिईन | हाम्रो यो दोश्रो भेट थियो तर कुनै औपचारिकता थिए | हाई, हेल्लो केहि भएन | एउटा हल्का मुस्कान सहित उनले भनिन "मान्नु पर्छ यो होटेलको आर्किटेक्चरलाई | यहाँ बसी सकेपछी जस्तै पिउँदिन भन्ने मानिसलाई पनि पिउन बाध्य पार्न सक्छ यहाँको वाताबरणले|

"पिउनेहरुलाई एउटा एउटा बहाना चाहिन्छ भन्छन, वास्तबमा तपाइले भने जस्तै यो ठाउँ, पनि यहि बहानामा केहि लिएर आउँ है ? " उनको उत्तरको प्रतिक्षा नै नगरी काउन्टरतिर बढें |

आफु परें लेखक, उनि परिन पत्रकार, त्यसमाथि एउटी रुपसी, भएन आफुलाई कथाको बिषय मान्छे सायद त्यो मसंग बाड्न चाहन्छे, यो स्थितिमा आज यो ज्यानले कति पिउने हो केहि ठेगान थिएँन | उनको कथा सुन्ने उत्सुकता, आतुरता सहित उनको नजिक पुगेँ | गिलासहरु स्वाभाविक रुपमा ठोक्कि

" तपाइको नयाँ कथाको सफलताको नाममा " गिलास जुधेको आवाजसंगै उनले निन | निक्कै हिम्मत गरेर मैले उनको रुपलाई रक्सीमा मिसाएँ मिठो घुट्को निलेंकतै अलि सुनसान ठाउँमा बस्न पा पनि हुने भन्ने लागि रहेको बेला उन्लेनै भनिन " केहि बेर कतै बसेर गफिने हो कि ?"

मैले मौन स्वीकृति नाएँ यता उता नियालें | उनले पहिले नै निधो गरि सकेको हुनुपर्छ त्यो ठाउको बारेमा, मैले खाली उनलाई पछ्याएँ | हामी त्यहाँ बसेर रक्सिमात्र होइन प्रकृतिको विहंगम दृश्यपनि पिउन सक्थ्यौं | उनि एउटा लामो काउचमा खुट्टा तेर्स्याएर मस्त बसिन | जिन्स अनि कालो लामो बूट जुत्ता, खरानी रंगको स्वेटरमाथि मरून कलरको पश्मिनाले उनको त्यसै पनि राम्रो रुपलाई ज्यानमारा बनाई दिएको कुरा मेरो लेखकको आँखाले देखि हाल्यो | कलेजो सबै बाहिर आउला जस्तो | पापी मन, टुलु टुलु हेरी मात्र रहें  |

पार्श्व संगीत उस्तै, जोन मायेर्सको ' योर बडी इज वोनडर ल्याण्ड ' बजी रहेको थियो |  मैले पनि छेउको काउचमा आसन माएं |

"तपाइको कुनै त्यस्तो साथी , जो टाढा भए पनि सम्पर्कमा बसी रहन मन लागोस, मन भित्रको उच्छबासहरु सित बाँडी रहन मन लागोस, मतलब भौतिक रुपमा नभएपनि प्रबिधिलाई माध्यम बनाएर उसलाई हर पल आफ्नो नजिक राख्न मन लागोस ?"  उनले एक सासमा यति लामो वाक्य बनाएर त्यो वाक्यभित्र अनगिन्ती भावार्थ लुकेको प्रश्न गरिन किमेरो घाटीमा भोद्काको झोलपनि अड्कियो | हेरेको हेरेकै भएँ | मनले शंका गरी हाल्यो कतै पत्रकारज्युलाई मेरो सम्पादक महोदय बिचको सम्बन्धको सुइँको पनि ? अथवा कतै यो सम्पादक महोदयकै कुनै जाल झेल होइन ?  मनमा एकैसाथ थुप्रै संकाहरु बुरुक बुरुक उफ्रि  कतिबेर त्यतिकै टोलाए आफैलाई थाहा भएन | उन्लेनै बोल्न थालेपछि मात्रै झस्किएँ |उनि भनि रहेको थिईन: " लेखकहरुको आफ्नै दुनिया हुन्छ भनेको वास्तबमा हो रहेछ, तपाईलाई भेटे पछि पुष्टि भयो !"

"कसरि ?"  धन्न बाक्य फुट्यो मेरो |

" तपाईलाई धेरै अन्यौलमा राख्न चाहन्न !" उनले आफ्नो हातमा लि राखेको लामो सुलुत्त परेको ग्लासबाट हल्का चुस्की लिएर भनिन | उनलाई त्यसरीनै नियाली रहेको थिएँ जसरि लाटा बुङ्गाको कथामा एउटा लाटो केटोले पधेरामा पानी थाप्दै गरेकी एउटी युवतीलाइ नियालेको प्रसंगको बर्णन गरिएको | उही ज्यानमारा मुस्कान छाडेर उनि फेरी बोल्न थालिन " हिजो यो ठाउँ निक्कै गुल्जार थियो, यहिं थिएँ | तपाई मेरो बिपरित दिशामा फर्किएर फोनमा मस्त हुनुहुन्थियो | मेरो नेपाली त्यति राम्रो छैन तर मैले तपाइको धेरै कुराहरु बुझेँ त्यसैले मैले अघि बाहिर तपाईलाई एकैपल्ट कुनै रोमान्टिक कथा लेख्दै हुनु हुन्छ भनेर प्रश्न गरेकी " |

"तपाई नेपाली बुझ्नु हुन्छ ? मैले सपनामा पनि नसोचेको कुरा भयो यो ?"  पहिरोबाट लडेरपनि सकु भएको मानिसको अवस्था थियो लेखकज्युको तर सम्हालिएर भनिहालें | वास्तविक दुनियामा फर्किएँ |

 "   -   बर्ष अघि न्यु योर्क टाईम्सको रिपोर्टर भएर इराक पुगेँ | युद्धको मैदानबाट रिपोर्टिंग गर्नु मेरो काम थियो ज्यान जोखिममा राखेर फ्रन्ट लाईनमा सैनिकहरुसगै दौडी रहेकी हुन्थेँ | त्यहीं, जीवनमा पहिलो पल्ट मैले ब्रिटिस सेनामा काम गर्ने नेपाली सैनिकहरुसंग परिचित हुने अवसर पाएँ | उनीहरुको ब्यारेक मेरो सबै भन्दा प्रिय ठाउँ थियो किन भने त्यहाँ मेरा थुप्रै नेपाली मित्रहरु थिए,  अनि ....!"

बोल्दा बोल्दै उनि यसरी अडिईन कि मेरो सासनै अड्किए जस्तो भयो | निक्कै गरुङ्गोसंग बोलेकी थिईन उनले त्यो अन्तिम शब्द "अनि.." | अनि मभित्रको वास्तविक लेखकले एकदम छिटो तौली सकेको थियो त्यो शब्दलाई | एकैपल्ट मनमा अनेक प्रश्नहरु उठि सकेका थिए तर लेखक बोल्न सकेन | पात्रकै मुखबाट सुन्ने मन गर्यो लेखकले हातमा भएको गिलास टेबलमा राखेर आफ्नो टाउकोलाई दुइओटा हातका पन्जाहरुभित्र अड्याएर चुपचाप बस्यो |

 

"अनि मेरो प्रिय साथी, प्रेमी भन्दापनि हुन्छ, समुन्द्र गुरुङले युद्धमा वीरगति पाएपछि त्यहाँ बस्न सकिन | न्यु योर्क फर्किए पछि मैले पैसाकोलागि अर्काको देशको सेनामा भर्ति हुने नेपाली वीरहरुको बारेमा अध्ययन गर्ने विचार गरेँ | त्यहि बहानामा मेरो समुन्द्रको गाउँ रुम्जाटार पुगेँ, उसकै परिवारसंग बसेँ | रुम्जाटारमा माओबादी आक्रमण हुँदा त्यहि थिएँ | झन्डै मारिएँ | " 

उनको स्वर गरुङ्गो भएर फेरी अडियो भित्रको लेखक लाजले भुतुक्क भएर सुतुर मुर्गले झैँ टाउको लुकाउने बगर खोजि रहेको थियो | कथा लेख्न महँगो रेजोर्ट होटेललाई राईटिंग रिट्रीटको रुपमा प्रयोग गरि कुनै काल्पनिक कथाको ताना बाना बुनेर सम्पादक साथीलाई धुनधान गफ दिई रहेको थिएँ उनले मेरो कुरा सबै सुनेकि रहिछिन | उनलाई नै गलत अर्थमा हेरी रहेको थिएँ कुनै रोमान्टिक कथाको सिर्जना होला भन्ने विश्वास लिएर उनको छेउ पुगेको थिएँ | भित्रको लेखकलाई आफैसंग प्रस्त घृणा जागी सकेको थियो | उनले एक शब्दपनि मलाई तिमि स्तो उस्तो नभनीकन लेखक हुनुको मेरो परिचय, अर्थात आडम्बरलाई आत्महत्या गर्नु पर्ने अवस्थामा पुर्याईदिई सकेकी थिईन

किनकि रुम्जाटार मेरो छिमेकि गाउँ  थियो जहाँ मेरापनि आफन्तहरु थिए | मेरो बालककालका थुप्रै साथीहरु ब्रिटिश आर्मीमा भर्ति भएर हंगकंग, ब्रुनाई बेलायत पुगेको मलाई थाहा नभएकोपनि होईन | मैले कहिलेपनि उनीहरुलाई आफ्नो कथाको बिषय बस्तु बनाउन सकिन | मेरो देश सगरमाथा बुद्धको देशमात्र भनेर चिनिदैन भाडाका सैनिकहरुको देश भनेर पनि चिनिन्छ भन्न पनि मलाई जानकारी नभएको पनि होईन तर .. यस्तै अनेक तर्कनाहरु मनमा उठेर आफ्नै संसारमा हराईरहेको बेला उनले मलाई झस्काई दिईन " तपाई हराउनु भयो ?"

" हो हराएँ, लज्जित पनि भएको छु | वास्तबमा भन्ने हो भने तपाइको आँखामा सिधा हेर्ने साहस पनि छैन ममा !" मैले निसंकोच भनि दिएँ |

" तपाइको भावनालाई, मनस्थितिलाई बुझ्न सक्छु | तर चाहन्छु तपाई मलाई सहयोग गर्नु होस् !" ऊनले एक दमै मिठो अनि सहज भनिन 

"  यही बारेमा किताब लेख्ने कुरा ? " मैले प्रश्न गरेँ | उनले स्वीकृतिमा शिर हल्लाउदै भनिन " हो ! मेरो अनुसन्धान अधुरै | मैले इराकको युद्ध पनि देखेकी छु रुम्जाटारको पनि | दुवै युद्धमा नेपाली लडाकुहरुको लास देखेपछि मेरो मनमा थुप्रै प्रश्नहरु उठेका छन, एउटा लडाई बिदेशीकोलागि पराई भूमिमा अर्को लडाई आफ्नै आँगनमा ... ?  यस बारेमा मलाई भन्दा बढी तपाईलाई थाहा हुनु पर्ने ?" पत्रकारको चतुर आँखाले मलाई पुलुक्क नियालेको मैले चाल पाएँ | सबै कुरा थाहा भएर पनि मुर्तिवत टोलाई रहें | एक मनमा लाग्यो जुरुक्क उठेर बाथरूममा जाउँ आफुभित्रको लेखकको मुख बेस्सरी लेप्र्याई दिउ | त्यस्तो गर्ने मौका पनि दिईनन उनले | वाईनको गिलास उठाएर सानो चुस्की लिईन आइप्याडमा केहि खोज्न थालिन | एकै छिनमा एउटा तस्बिर देखाएर मलाई सोधिन " यो चित्रमा कुनै कथा देख्नु हुन्छ ?" झन अवाक्क भएँ किन भने मैले त्यो चित्र फेसबुकमा धेरै पल्ट देखेको थिएँ | मनमा सहानुभूतिको लहर नउठेको पनि होईन तर कथा देखिन नि मैले, अथवा देखेर पनि नदेखेको स्वांग पार्यो कि  भित्रको लेखकले ? आफैलाई प्रश्न गरेँ मैले | त्यो सेतो खास्टो ओढेर बन्दुकको सहारा लिएर टुसुक्क बसेकी ति बहिनीको मुहार मेरो आफ्नै कान्छी बहिनीको जस्तो लाग्यो मलाई पहिलो पल्ट | मुटु गाँठो परेर भक्कानिएर आयो | 'थुक्क सुन्दर, तँ  कुन दुनियामा छस ?' मेरो मनले मलाई नै धिक्कार्न थाली रहेको बेला कानमा उनका मिठो नरम बोलिहरु पर्न थाल्यो |

" किताब कपि हुनु पर्ने हातमा बन्दुक किन ? कुनै बिध्यालयमा हुनुपर्ने  यी बहिनी किन जीवनको त्यो अनकन्टार भिरमा छिन ? यस्ता धेरै प्रश्नहरु मेरो मनमा , त्यसैले फेरी नेपाल जादैछु | हुन थुप्रै साहित्यहरु लेखिएको होला यस्तो बिषयमा तर आफ्नै आँखाले हेर्न चाहन्छु, मलाई थाहा यस्ता लडाकुहरुलाई अझै पनि क्यानटोनमेन्टमा राखेर उनीहरुको भविष्यको मोल मोलाई भै रहेको | यस्तै बिषयमा एउटा किताब लेख्न चाहन्छु, तपाई सहयोग गर्नु हुन्छ मलाई ?" 

कति बेला कति बेला आफ्नो अनुहार छोपेर चुप चाप आँखामा आएका आँसुहरु पो पुछि रहेको रहेछु | केहि जवाफ दिन सकिनं | मेरो भद्रगोल अन्यौल देखेर उनले नै भनिन " तपाइको आफ्नो घर ब्यबहार, ब्यबसाय अनेक किसिमका बाध्यताहरु होलान, केहि छैन | एक्लै पनि गर्न सक्छु | तर तपाईले हिजो साँझ आफ्नो सम्पादक साथीसंग तपाइको नया बिषय बस्तुहरुको बारेमा अर्थात साहित्यको बारेमा गर्नु भएको गफ संयोगले सुनीसके पछि मलाई अनायास लाग्यो 'तपाइले यदि मेरो बिषय बस्तुलाई आफ्नो कथाको बिषय बनाउनु भयो भने कति सुन्दर कथा लेखिने थियो होला ?' त्यहि भएर मात्र भनेकी | न्यु योर्क टाइम्स  मलाई फेरी अफगानिस्थान जाऊ भन्दै छन, मलाई थाहा त्यहाँ पनि नेपालीहरु लडि रहेका छन | यो फोटो हेर्नुस " वान मेन आर्मी " भनेर कसैले फेसबुकमा राखेको रहेछ | एक्लैले उचाल्न पनि नसक्ने मेसिन गन उठाएर थुप्रै त्रुलाई भूटेकोले उसको बहादुरीको चर्चाले संसार ढाकेको |  तर अफगानिस्थान होइन रोल्पा रुकुम जान चाहन्छु | मैले खोजेको कथाको असली पात्रहरु त्यहाँ छन |"

मलाई उनिसित कुनै एउटा बहाना बनाएर त्यहाँबाट भागुं कि जस्तो भै रहेको बेला फोनको घन्टी बज्यो | मैले मेरो होला भन्ने ठानेको थिएँ तर फोन यस पल्टपनि सियेनाकै बजेको रहेछ | उनि एकछिन फोनमा ब्यस्त भएको बेला सम्पादक मित्रलाई टेक्स्ट गरेर आफुले हिजो सुनाएको बिषय बस्तुमा कथा लेख्न नसक्ने कुरा लेखि दिउँ कि जस्तो लागि रहेको बेला सत्तरी पचह्त्तरको हाराहारीमा उमेर ढल्केको एकजना उज्यालो ब्यक्तित्वका धनि मानिस सरासरी हामी भएकै ठाउमा आइपुगे | सियेनाले उठेर आगन्तुकको स्वागत गर्दै मसंग परिचय गराईन " राईटर फ्रम नेपाल !"

" सुन्दर, तपाईसंग भेटेर खुसि लाग्यो !" औपचारिकता निभाएँ | ति सज्जनले हात छोड्दै छोडेनन् भने  " मैले दोश्रो विश्व युद्धताका ब्रिटिश सेनामा रहेर फोटो जोर्नालिस्टको काम गरेको थिएँ मेरा थुप्रै गोर्खाली साथीहरु थिए | मसंग उनिहरुको फोटोहरु अझै पनि छन्  तर मेरो फेसबुक प्रोफाईल चै छैन है |"  ति सज्जन यति मजाले हाँसेकी मैले सजिलै उनि सियेनाकी बाबु हुन् भनेर अनुमान गरिहालें | छाति खोलेर हाँस्ने तरिका बाबु छोरी दुबैको उस्तै उस्तै रहेछ |

"कुनै दिन तपाई साल्ट लेक सिटि आउनु होला अनि त्यति बेलाका थुप्रै फोटोहरु देखाउंला, यस्ता फोटोहरु जोसंग बिचित्रका कथाहरु जोडिएका छन | हुनसक्छ तपाइलाई काम लागोस !" सियेनाको पिताजीले एकदम आफ्नो ठानेर भन्नु भयो | मैले पुलुक्क सियेनालाई नियालें | उनि आफ्नो बाबुको अनुहार नियालेर मुस्कुराई रहेकी थिईन |

" मैले केहि केटि साथीहरु भेटेको छु, आफ्नो उमेर मिल्ने, उनिहरुसंग गफिन जान्छु | सियेनाले हिजो राती तपाइको बारेमा भनेकीले मलाई गोर्खालीसंग भेट्न मन लागेर एकछिन भागेर आएको | चाहन्छु तपाईपनि सियेनासंग आउनुहोस हामीसंगै डिनरको लागि | आज हाम्रो एउटा स्पेसल डिनर |  " सियेनाको ड्याडले फेरी उत्तिकै मजाले हाँसेर मेरो कुममा मायालु धाप पनि मारे

सियेना आफ्नो बाबुको गफ सुनेर एकनास मुस्कुराई रहेकी थिईन | अनि ति सज्जनले सियेनाको केश सुमसुम्याउँदै भने " तपाईरुको कल्चर अनुसार हेर्ने हो भने काम नलाग्ने बाबु हुँ | मैले मेरी छोरी सियेनालाई एउटा राम्रो केटा खोजेर बिबाह गरि दिन पनि सकेको छैन | उल्टो उनलाई युद्ध भूमिमा जान उक्साई रहेको हुन्छु | " अनि फेरी त्यस्तै मजाले गलल हाँसे मलाई तीखो नियालेर सोधे "के भै रहेको वीरहरुको देश नेपालमा ? अरुकोलागि बलिदान हुन सक्ने वीरहरु आफ्नै देशमा चाहिं के गर्छन ? सियेनाको अनुभवहरु सुनेर एकदम दुखि छु | " मसंग यस प्रश्नको तत्काल कुनै जवाफ छैन भन्ने कुरा जानेको जस्तै उनले मेरो जवाफको प्रतिक्क्षा पनि गरेनन   मसंग न्यानो हात मिलाएर गए | हेरेको हेरेकै भएँ | कस्तो मजाको ज्यान, कस्तो हुँदो हो उमेरमा ? मनमनै सोची रहेथे |

 

" केहि दिनपछि अफगानिस्थान जादै छु , युद्ध स्थलमा रिपोर्टर भएर जानुको अर्थ ज्यान जोखिममा पार्नुपनि हो | फर्किएर आइन्छ कि आइदैन भनेर हामी बाबु छोरी जिन्दगीको केहि पल संगै रमाइलोसंग बिताउन यहाँ आएका थियौ   भोलि फर्किदै छौहाम्रो यहाँको बसाइको अबधिको अन्ततिर तपाई संगको भेट एउटा सुखद पक्ष हो | एउटा मिठो सपना जस्तै भयो तपाईसंगको भेट |"  सियेनाले एकदमै गम्भीर भएर भनिन | भने यस्तो महसुस गरि रहेको थिएँ मानौ उनि मेरो त्यस्तो साथी हुन जसलाई बर्सौ देखि जान्दछु आज उनि रणभुमिमा जान लागेको सुइँको पाएर मेरो मुटु बेस्मारी कठ्यान्ग्रीएको | शब्दहीन हुन पुगेँ | केहि बोल्नै सकिनं

"  हिजो मैले तपाइको साहित्यिक गफ नसुनेको भए तपाइलाई खोज्दै भेट्न जाने थिईन, अहिले यसरी संगै पनि हुने थिएँनौ  | उदेश्य मेरो तपाईसंग यसरी भेट्नु गफ गर्नुको, मैले भनि सकें युद्धस्थलमा जादै छु | फर्किएर आउछु कि आउदिन केहि ठेगान छैन | मेरो एउटा अनुरोध तपाई संग, यदि .....!" बोल्दा बोल्दै उनि रोकीईन अनायास आफ्ना सुन्दर आँखाहरुलाई झ्यालबाट बाहिर टा...ढा कता हो कता निक्कै टाढा पुर्याईन |  मेरो नजरले पछ्याउने कोसिस मात्र गर्यो भित्रको लेखकले उनको मनको आर्तनादलाइ राम्रैसंग महसुस गर्यो | अनि अचानक हिउँ जस्तै जमेको मेरो ओठहरु बोल्नपनि थाले "तपाई अघि सहयोगको कुरा गर्दै हुनुहुन्थियो, केहि लेख्ने बारेमा .?" 

" मसंग एउटा अधुरो पाण्डुलिपि , अफगानिस्थानबाट फर्किएर आएँ भने मेरो अर्को गन्तब्य रोल्पा रुकुम हुने त्यो अधुरो कथालाई पुरा गर्ने छुँ | तर फर्किएर आऊन पनि सक्छु ? त्यसैले त्यो अधुरो पाण्डुलिपिको प्रतिलिपि तपाई अर्थात एकजना नेपाली लेखकको हातमा सुम्पिन चाहन्छु | तपाइले मलाई बचन दिनु पर्छ  यदि. ..!" बोल्दा बोल्दै उनको वाक्य रोकियो आँखाहरु फेरी भागे

मेरो मुटु पहिलेनै जमी सकेको थियो, शायद आँसुको पोखरी पनि,   त्यो अधुरो पाण्डुलिपिको बारेमा मात्रै सोची रहेको थिएँ | हिजोका मेरा बकमफुसे कथाका प्लटहरु मेरो मस्तिष्कबाट धोति समातेर भागी सकेका थिए | अनि मैले साहस गरेर भनेँ " तपाईलाई केहि पनि हुदैन, तपाई फर्किएर आउनु हुन्छ हामीसंगै रोल्पा रुकुम जानेछौ | तपाइको अधुरो पाण्डुलिपिले पूर्णाकार अवश्य लिने | यति धेरै अधीर भइ सकें कि तपाइको पाण्डुलिपिको थोरै साइनोपसिसमात्र भए पनि नसुनिकन  यहाँबाट उठ्नै नसक्ने भए | "

उनि आइप्याडमा तस्बिरहरु खेलाएर मेरो कुरा सुनी रहेकी थिईन उही बन्दुक बोकेर बसेकी बहिनी त्यहि वान मेन आर्मीको तस्बिरलाई पालै पालो देखाउदै भनिन् "यिनीहरुनै हुन् मेरो त्यो अधुरो पाण्डुलिपिको साइनोपसिस | अर्थात यस्ता अबोध योद्धाहरु कहाँ छन ? एउटा मिठो सपना देखाएर यिनी जस्तै अनगिन्ती नाबालकहरुको हातमा बन्दुक थमाउनेहरु कहाँ छन ?  बाँच्नकोलागि स्वदेशमा होस् या बिदेशमा, अरुको लागि लड्ने वीरहरु चाहिँ कहाँ छन ? किन उनीहरु एउटा वास्तविक युद्ध लड्दैनन जसले गर्दा भोलिको पुस्ताले स्वदेशमा या बिदेशमा अरुकोलागी रगत बगाउन नपरोस ! यस्तै यस्तै प्रश्नहरुको भण्डार मेरो पाण्डुलिपि भित्र | "  

 

" यो प्रश्नहरुको उत्तर खोज्न तपाईलाई सघाउने छु | यो बिचमा यहि उदेश्य पूर्तिलाई आफ्नो लक्ष्य बनाएर नेपाल जाने छुँ | " मैले आफ्नो अठोट सुनाएँ |

"पक्का हो ?" उनले आफ्नो नजरलाई एकै पल्ट मेरो आँखाको डिलमा ल्याएर राखिन आँखाको भाखामा झन धेरै प्रश्नहरु गरिन | मैले बुझे, किन नबुझ्नु ? भावनाको समुन्द्र मन्थन गरेर काल्पनिक कथा लेख्न खप्पिस लेखक जो ठहरिएँ

" अब ढुक्क भएर जान सक्छु अफगानिस्थान !" उनले खुशी हुँदै आइप्याड बन्द गर्दै भनिन |   मक्ख परें |

" के तपाइको साथी हुन सक्छु ? " मक्ख परेको देखेर उनले खुशी हुँदै सोधिन |

" फेसबुकमा ?"  मैले सोधेँ |  

प्रति उत्तरमा हामी दुवै संगै मजाले हास्यौं |

" जाने हैन अब? डिनरको समय भयो, वास्तबमा हामी ढिलो भै सक्यौ " उनले हतार गरिन |

मैले मौन स्वीकृति जनाउँदै सियेनालाई अगी बढ्न इसारा गरेँ | दुइ पाइलासंगै के हिडेका थियौं फेरी फोनको घन्टी बज्यो | फोन हातैमा थियो मैले देखि हालें सम्पादक मित्रको नाम

" कथाकार ज्यु, कथा कहाँ पुग्यो ? डेड लाईन सकियो नि ?"  हेलो पनि भन्न नपाउँदै बम्की हाल्यो |

" माफ गर्नुस मित्र, कथा लेख्नै सकिएन, अब अर्को कथा कहिले कहाँ लेखिने हो केहि ठेगान भएन |" मैले सहज भनि दिएँ |

" नचाहिने कुरा नगर है पात्तेको लेखक ! यत्रो दिन आस देखाएर... " बम्कियो |

मैले फोन डिसकनेक्ट गरिदिएँ | मलाई फोनमा साथीसंग आफ्नो लाचारीको कुरा गर्न मन लागेन

 

Comments

binita bindu dhakal

this is not only a story, this a representation of a patriotic person. How do you get such thought and feelings? A grand salute to your pen and a grand salute to your brain. At last I have another question, how do you get words like these, my friend?

paras nepal

अपेक्षा गरे जस्तै मीठो... बधाई छ दाजु...

Ganesh Khadka

प्रस्तुत कथा अधोपान्त पढें । आँखै नझिम्क्याई एकै बसाईमा सिध्याएँ । र अन्तमा निशब्द भएँ यसको भाव,कला,बिषय,सन्दर्भ र शैलीको प्रभाव ले । कथाहरु धेरै लेखिन्छन् र धेरै पढिन्छन् पनि । तर पाठक को मन मस्तिष्क हल्लाउने प्रभावी कथाहरु बिरलै भेटिन्छन् । एउटा अत्यन्तै प्रभावशाली कथा वाचनको अवसर ले आफुलाई धन्य महशुस गर्दैछु म यतिबेला । कथालाई मनोरम लेखन,अभिश्रवण र कथनका रुपमा प्रस्तुत हुने रमाइलो गद्द्यात्मक आख्यान बिशेष हो भनेर भनिन्छ । म आफु कथा कम लेख्ने र धेरै पढ्ने पाठक हुँ । आदरणिय कथाकार दाई सुन्दर जोशीको कथाकारितालाई एकदमै नजिकबाट छाम्ने मौका पहिलो पटक मिल्दैछ,- ले पनि बेहद हर्षित हुँदै गर्दा यस्तो उच्च कोटिको कथा प्राप्तिले निक्कै छोइएकोछु । सिर्जनामा बिचार-दर्शन,कला-शिल्प,देश,माटो र जीवन-जगत खोज्ने जिद्दिवाल पाठक हुँ म । यि सप्पै कुराको उपस्थितिले मलाई गज्जबको तृप्‍ति दिलायो । रहर / लहड र देखासिकीको भरमा बिना योग्यता नामी साहित्यकार हुने धून साँध्ने स्वघोषित वरिष्ठहरुले एक पटक पढ्नै पर्ने गुरु कथा हो यो । उपरोक्त कथाउपर कुनै टिप्पणी,बिबेचना र समिक्षा गर्ने हिम्मत / हैसियत राख्दिन म । यत्ती चाँही बोल्छु,- एउटा सुन्दर कथाको लागि आवश्यक तत्वहरु- कथावस्तु,पात्र,संबाद,भाषा-शैली,बातावरण र उद्देश्य सबै सबै भरपुर उपयोग गरेर आकर्षक कथा बुन्न कथाकार अपार सफल हुनुहुन्छ । यहाँ सबभन्दा लोभलाग्दा र मेरो लागि इर्ष्या गर्न वाध्य चिजहरु के हुन् भने कथा खिपाइको बान्की,पात्र-संबादमा कला सौन्दर्य,बिषयवस्तुको गहनता,वाक्य विन्यासमा मिठास,शब्द चयनमा ललितता,आकर्षक बिम्बहरुको प्रयोग र लेखनमा परिपाठ । म वास्तवमा मर्माहत भएकोछु दाजु । साँच्चै,लेखन कलाको जादुगारी डाहा लाग्दो छ मेरो दाजुको । सर्जक / लेखक भनेको यस्तो एउटा कलाकार पनि हो जसले आफ्नो लेखन कलाको शक्तिले हरेक पाठकलाई सम्मोहित पार्न सक्दछ । म सिक्दैछु त्यो मोहनी शैलिको अनुसरणमा आफुलाई हिंडाउन । यो खाइलाग्दो कथा सिर्जना मेरो पनि पोल्टोमा हालिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै यस्तो मौका पुनश्च:मिलिरहोस् भन्न चाहन्छु ।

Sundar Joshi

कसरी लेख्नु हुन्छ एती मिठो गरी? \" यस्तो मिठो प्रश्न योग्य भएछ त्यो कथा, म बेहद खुसि र प्रोत्साहित भएको  छु / अब यसको उत्तर चाही अक्ष्ररमा खै कसरि दिनु ? मेरो एउटा कथाकी पात्र मेलिनाले टुंगना र डम्फुको भाग १ मा कतै लेखेकी छे, उनलाई भावना कसरि फुट्छ भनेर, मलाई पनि त्यस्तै त्यस्तै हो कि जस्तो पो लाग्यो ...!!!

Tanka Subba

शुन्दरजीका कथामा शुन्दर शैली । बिषयबस्तु पनि झन्झनाहट रहेछ । यसो एकदुर्इ लार्इन पढु भनेको त नसकि धरै पार्इएन । प्रस्तुति बेजोड छ । प्रस्तुति चरालार्इ लिसो थापेर राखे जस्तो छ । रुखमा बस्न आउँने बितिक्कै पक्रे झै । कथा यस्तो प्रकारको हुन जरुरी छ । कथा मलार्इ मन पर्यो । धन्यवाद ।

निलम कार्की निहारिका

कथाको शैली अतिनै पृथक छ | सारै मन पर्यो दाई,  कसरि लेख्नु हुन्छ यति मिठो गरि ? 
निलम कार्की \'निहारिका\'

तारा बराल

\"अरुकोलागि बलिदान हुन सक्ने वीरहरू आफ्नै देशमा चाही के गर्छन ? 
एउटा मिठो सपना देखाएर यिनी जस्तै अनगिन्ती नाबालकहरुको हातमा बन्दुक थमाउने हरु कहाँ छन ?\" 
कथाकी नायिका मार्फत अभिव्यक्त यी माथिका शब्दहरु देशप्रतिको लेखकीय चिन्ता हो |
सुन्दरजी ! राम्रो कथाको लागि धन्यवाद !! 

lalit Chakra lama

हिजो को अवस्था होस या आजको , सियना को सायनोपोसिस को प्रश्न अहिले पनि जटिल वा भनु असम्भव प्राय छ। सियना को भावना लाई सलाम ! प्ररिबेश ले गर्दा हो कि ? तपाईंको पात्र र कथाको समा साह्रै अधुनिक हुन्छ। \"निहारिका\" जी को भनाइ यहाँ सापटी लिन्छु । \" कसरी लेख्नु हुन्छ एती मिठो गरी? \" पुस्तक को रुपमा पनि छिट्टै पढ्न पाउ ।    

रामहरि पौड्याल

क्यासल रककि अप्सराको अति चर्चाको भोक मेट्न 
साहित्यिक वेब साइट चाहार्ने क्रममा भेटेको यो
 खस खस.कमले सुन्दर जोशीको अर्को राम्रो कथा
 पढ्ने सौभाग्य जुरायो ! यस्तै जोडदार कथाहरु पढ्न
 पाइरहियोस हार्दिक शुभकामना !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |