हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सुखको खोजी

अन्जु पुरी, (काठमाण्डौं)


अर्को कोठाबाट चर्को चर्को स्वरमा बाझेको आवाज आइरहेको छ । आठ वर्षको अनिमेषलाई अब त यस्ता झगडाहरुको बानी नै परिसक्यो । अलि सानो छँदा त उसलाई ममी
ड्याडीले झगडा गरेको देखेर असाध्यै डर लाग्थ्यो । उसको कमलो मनमा आँधीहुरी नै चल्थ्यो । ऊ चुपचाप आफ्नो कोठामा गएर सिरकभित्र गुटुमुटु भएर आँखा चिम्लेर सुत्थ्यो र डरले थर्थर काँपिरहन्थ्यो । अब के हुन्छ होला भनेर सोच्दै ऊ निकैबेरसम्म आतङ्कित भएर त्यसरी नै सुतिरहन्थ्यो जबसम्म उसलाई मिश्री आन्टीले खाना खान बोलाउँदिनथी ।

सानैदेखि उसलाई मिश्री आन्टीले खाना खुवाउँथी, उसका सबैकाम गरिदिन्थी । आन्टीको स्पर्शमा सधैँ ऊ ममताको न्यानोपन खोज्थ्यो, तर पाउँदैनथ्यो । आन्टीसित ऊ लाडिन, जिस्किन पाउँदैनथ्यो, जिद्दी गर्न, घुक्र्याउन, केही पाउँदैनथ्यो । कुनै कुरा भन्नेबित्तिकै मानेन भने आन्टीको भयङ्कर क्रोधको सामना गर्नुपथ्र्यो । कैलेकाहीँ ममीले मायाले बोक्दा, काखमा लिँदा, खाना खुवाउँदा उसको मन मीठो आनन्दले भरिन्थ्यो । ममीसितै टाँसिएर बसिरहूँ जस्तो हुन्थ्यो । सधैँभरि ममीले यस्तै गरे हुन्थ्यो जस्तो लाग्थ्यो उसलाई । तर ऊ यस्तो भावना व्यक्त गर्न भने सक्दैनथ्यो ।

ड्याडी र ममीको किन झगडा हुन्छ, उसले बुझ्न सकेको छैन । फिल्ममा, टिभीमा देखाएजस्तै ड्याडी र ममी सधैँ मिलेर, खुशी भएर बसिदिए हुन्थ्यो । टिभीका ममी ड्याडीले जस्तै सधैँ उसलाई माया गरिरहे हुन्थ्यो जस्तो लाग्थ्यो । तर उसको लागि त ड्याडी र ममी सँगै बसेको, उसलाई कतै घुमाउन लगेको दृश्य पनि दुर्लभ थियो ।

अनिमेषकी हजुरमुमा पैंसठ्ठी वर्ष पुगिन् । उनलाई बाथको रोगले थल्याएको दुईतीन वर्ष भैसक्यो । उनी धेरै हिँडडुल गर्न सक्दिनन् । भर्यांग ओहोरदोहोर गर्न त पटक्कै सक्दिनन् भन्दा पनि हुन्छ । खाना खान तल ओर्लिन नसक्ने हुनाले उनको शाकाहारी खाना कोठामै आइपुग्छ । फिजियोथेरापिस्ट घरमै आउँछन्, उनलाई हातगोडाको एक्सरसाइज गराउन । उनलाई नुहाइदिने, उनको स्याहार सुसार गर्ने जिम्मा पनि मिश्रीकै छ । अनिमेष दुई वर्षको हुँदादेखि नै मिश्रीले यो घरमा काम गर्न थालेकी । त्यतिबेला देखि नै अनिमेष र उसकी हजुरमुमा दुवैको हेरचाह मिश्रीकै जिम्मामा छ । अनिमेषकी ममीलाई त्यस्ता थाङ्ने काम गरेर बस्ने फुर्सद छैन । तर काम गर्न भनेर राखेको मान्छेले काम पो गर्छन्, आफ्नोले जस्तो माया कहाँ गर्छन् ? त्यसैले अनिमेष र उसकी हजुरमुमालाई मिश्रीदेखि कुनै गुनासो छैन । बरु कुनै कुरामा चित्त नबुझेर झुक्किएर गुनासो ग¥यो भने कतै मिश्री पो रिसाउने हो कि भन्ने डर छ । त्यसैले मिश्रीले दया गरेर जे जति हेरविचार गर्छे, त्यसैलाई धन्य मान्न बाध्य छन् उनीहरु ।

दिनरात व्यापारमा व्यस्त रहने व्यापारी छोरा अनि पढेलेखेकी आधुनिक बुहारी ! दुवैलाई केही भन्न सक्ने स्थितिमा थिइनन् अनिमेषकी हजुरमुमा । तैपनि दिनरात उनको मन भतभती पोलिरहन्छ, आफूलाई चित्त नबुझेका कुराहरु भन्न नपाएर । आफ्नो जमानाका कुराहरु सम्झिँदै अहिले छोराबुहारीको जमाना र उनीहरुको रहनसहनसित तुलना गरिरहन्छिन् उनी । जतिजति सोच्दै जान्छिन्, सुखदुःख र जीवनप्रतिको आफ्नो लामो अनुभवको आधारमा छोरा र बुहारीलाई केही अर्ती उपदेश दिन आवश्यक जस्तो लाग्छ उनलाई । तर राति अबेर घर आउने र बिहान ढिलोसम्म सुत्ने छोराबुहारीको दिनचर्याका बीच उनीहरुसित कुरा गर्न, उनीहरुलाई केही भन्न उपयुक्त समय नै पाउँदिनन् उनी । कुनैबेला संयोगले दुवैजना घरमा छन्, फुर्सदमा छन् भने पनि झगडा गरेको आवाज सुनेरै उनी अघाउँछिन्, केही भन्ने जाँगर नै मरेर आउँछ ।

नाति कैलेकाहीँ हजुरमुमाको कोठामा जान्छ, “हजुरमुमा, कथा सुनाइस्योन !

खै बाबु ! मलाई कथा कहाँ आउँछ र, सप्पै बिर्सिसकेँ ।

अस्तिनैको सुनकेशी राजकुमारीको कथा भनिस्योन !

, , आऊ । एकादेशमा ..........नातिलाई काखमा राखेर उसको कपाल मुसार्दै दसौंपल्ट सुनाइसकेको कथा सुनाउन थाल्छिन् उनी । तर जीर्ण हुँदै गएको शरिरले गर्दा आठवर्षे नातिलाई काखमा धेरैबेर राखिरहन पनि सक्दिनन्, घुँडा दुख्न थाल्छ उनको । उनलाई अक्सर खोकी पनि लागिरहन्छ । उनले खोक्न थालेपछि नाति बिस्तारै उठेर आफ्नो कोठातिर लाग्छ । उनी धेरै कोशिस गर्छिन्, तर उनलाई थाहा छ, उनको वात्सल्यले मात्रै नातिको ममत्वको आवश्यकता पूर्ति गर्न सक्दैन अब । उनी आफैँ अशक्त हुँदै गैरहेकी छिन्, उनैलाई हेरचाहको खाँचो छ । आँखाको, कानको शक्तिको साथमा स्मरण शक्ति पनि क्षीण हुँदै गैरहेको छ । पहिले जस्तो धेरै कथाहरु याद पनि छैन अब उनलाई । फेरि हिजोआजका केटाकेटीको संसार धेरै फराकिलो छ । फनपार्क, गेमिङ्ग जोन, इन्टरनेट, शपिङ्ग .... । त्यसैले नातिलाई आमाको मायाको कमी महसुस नहोस् भन्ने उनको कोशिसले सफलता पाउन सक्दैन । उनी देख्छिन्, स्कुलको समयदेखि बाहेक नाति सधैंभरि कम्प्युटरमा भिडियो गेम खेलेर, टिभी हेरेर अनि बिजुली नभएको बेला निर्जीव खेलौनाहरुसित कुरा गरेर आफ्नो एकाकीपन मेट्ने कोशिस गर्छ । उनलाई सारै नरमाइलो लाग्छ ।

धेरै दिनदेखि उनलाई छोरा बुहारीलाई केही भन्न, सम्झाउन मन लागेको छ । तर केही बोल्न सकेकी छैनन् उनी । उनलाई थाहा छ, अहिलेको आधुनिक जमानाका मान्छेहरु पुराना मान्छेका थोत्रा कुरा सुन्न चाहँदैनन् । फेरि अर्ती कहाँ मीठो हुन्छ र ? त्यो त सधैँ तीतो नै हुन्छ, जसरी औषधि तीतो हुन्छ । उनीहरु ठान्छन्, उहिलेका मान्छेले के नै जानेका हुन्छन् र ? उही पहिलेको जमानाका दुःखकष्ट, आदर्श, रुढीवाद, गन्थन..... । तैपनि आज उनी निश्चय गर्छिन्, छोराबुहारीले सुनून्नसुनुन्, मानुन् या नमानून् तर उनी आफ्नो मनको कुरा भनेरै छोड्छिन् ।

यतिका वर्ष उनले डरै डरमा बिताइन् । कहिले बाआमाको डर, कहिले सासुससुराको डर त कहिले लोग्नेको डर । त्यसपछि पनि उनले छोराछोरी रिसाउलान्, चित्त दुखाउलान् भन्ने डरले छोराछोरीलाई कहिल्यै कडा स्वरमा गाली गर्न, वा पिट्न सकिनन् । अब त जीवनका दिन नै कति बाँकी छन् र ? अब पनि कति डराउनु ? मनको कुरा भनिदिन्छु, बुझे अर्ती उपदेश हुनेछ, नबुझे गाली, विषै भएपनि होस् । बढीसेबढी के होला ? छोराबुहारी रिसाउलान्, नबोल्लान् । अहिले चाहिँ कहिले पो फुर्सद छ र उनीहरुलाई, यो बूढी आमासित बोल्ने, हालचाल सोध्ने, भलाकुसारी गर्ने ? हदै भए वृद्धाश्रममा लगेर फ्याँकिदेलान्..... त्यतिसम्म नै गिर्न त सक्दैनन् होला .... । गिरेछन् भने त्यसको पाप उनीहरुले नै भोग्ने हो.... । मलाई त अब यो बोझ भैसकेको शरीरको के माया ? यो अस्ताउन लागिसकेको जीवनको के मोह ? यस्तो सोचेर उनको अनुहारमा दिक्दारीका मुजाहरु थपिए ।

बिस्तारै उठेर छोराबुहारीको कोठातिर लागिन् उनी । छोरा र बुहारीबीचको झगडाको आवाज स्पष्ट सुनिन थाल्यो ।

“..........आइमाईमान्छे भएपछि आइमाईको इज्जतमा बस्नुपर्छ ! लोग्नेमान्छेले घोडा चढ्यो भनेर आइमाईले धुरी चढेको सुहाउँदैन बुझ्यौ !

ए........ लोग्नेमान्छेले चाहिँ जे गरेपनि इज्जत नजाने, आइमाईले अलिकति स्वतन्त्रता खोजे, आफ्नो अस्तित्व खोजे इज्जत गैहाल्ने ? कुन जमानाको कुरा गर्दैछौ, मिस्टर ? आइमाईले डेढ हातको घुम्टो हालेर घरको काम मात्रै गर्ने, बच्चा मात्रै स्याहार्ने जमाना गए । त्यस्तै चाहन्थ्यौ भने गाउँबाट कुनै अनपढ औँठाछाप केटी बिहे गरेर ल्याउनुपथ्र्यो जसले तिमीलाई भगवान् ठानेर, तिम्रो गोडाको पानी खाएर अनि भनेको मानेर दासी भएर बस्थी .......।

दुईचार अक्षर पढ्दैमा त्यत्रो फूर्ति ? खै, तिमीले पढेर के चाहिँ लछारपाटो लगाएकी छ्यौ ? मैले कमाएको पैसा खर्च गरेर क्लब, पार्लर, स्पा, डिस्को गएर, किटीपार्टी गरेर, खूब मोडर्न भएर साथीहरुसित धाक लगाउन पाएकी छ्यौ ।

ओहो.......तिमीलाई आफूले कमाएको पैसामा त्यत्रो घमण्ड ? खै, कति कमाएका छौ र घमण्ड गर्छौ ? मेरा साथीहरुका कत्रा कत्रा घर छन्, स्वीमिङ पूल, जिम, टेनिस कोर्ट, बार सबै घरमै छ । सबैका कम्पाउण्डमा तीनचारवटा जापानीज गाडीहरु छन् । तैपनि उनीहरुको श्रीमान्मा तिम्रोजस्तो घमण्ड छैन । आफ्नी श्रीमतिलाई कति केयर गर्छन्, कति माया, कति इज्जत दिन्छन् ।

त्यस्तै धेरै पैसा कमाउने, माया गर्ने, इज्जत पनि दिनेसित गए हुन्थ्यो नि त !

किन ? म बढी भएँ अब ? मैले बाटो खुला गरिदेओस् र सिङ्गल भएर नयाँ नयाँ केटीहरु घुमाउँदै हिँड्न पाइन्छ भनेर ? तिम्रो चर्तिकला चाहिँ मलाई थाहा छैन भन्ठान्छौ ? मलाई पनि तिम्रो एकएक हर्कतको इन्फर्मेशन छ । मैले त तिम्रो स्वतन्त्रतामा हस्तक्षेप गर्न नखोजेकी मात्रै हुँ । अस्ति कुनचाहिँ रातो कोटवाली मैयाँसित राजघरानामा डिनर गर्दैथ्यौ मलाई सब थाहा छ । मेरो मुख नखुलाऊ.... तिम्रै लागि राम्रो हुँदैन.....।

मुख छ भन्दैमा बढ्ता बोल्ने होइन, जिब्रो सम्हालेर बोल, नत्र राम्रो हुँदैन होस गर.....!आवेशमा आएर छोरा चिच्यायो ।

लौ हेरूँ त ममाथि हात छोडेको ! त्यसपछि के के गर्नुपर्छ मैले पनि जान्या छु । मपनि कुनै माग्नेकी छोरी हैन । मेरो बाबाले पनि ठूल्ठूला मान्छे चिनिस्याछ ......

ढोकामा आमा उभिएको देखेर छोराको बोली मुखभित्रै रह्यो । केही बोल्न नसकेर ऊ फनक्क फर्केर अर्को कोठातिर लाग्यो । बुहारी चाहिँ आवेशमा ओठ थर्रर्र कमाउँदै क्रोधित भएर उभिइरही । एकैछिन फर्केर जाऊँ कि, के भनूँ कसरी भनूँ भएर अलमलिइन् अनिमेषकी हजुरमुमा । त्यसपछि बिस्तारै अघि बढेर बुहारीलाई बस्ने इशारा गरिन् र आफू पनि सोफामा बसिन् । बुहारीचाहिँ बिस्तारै बेडमा बसिन् । बुहारीको अनुहारमा अझै पनि असन्तोष र क्रोधका रेखाहरु प्रष्ट कोरिएका थिए । एकछिन पर्खेर अनिमेषकी हजुरमुमाले संयमित स्वरमा बोल्न शुरु गरिन्

मलाई थाहा छ, यतिबेला तिमीहरुलाई मैले केही पनि बोलेको मनपर्ने छैन । यही सोचेर नै म यतिका दिन, यतिका वर्षसम्म चुपचाप लागेर रमिता हेरेर बसेँ । तर आज मलाई तिमीहरुलाई, खासगरि आइमाई भएको नाताले तिमीलाई केही भन्न मन लागेको छ । मेरो कुरालाई मनमा लिनु नलिनु तिम्रो खुशी । तर यति तिमीले बुझ, कि मैले सासू भएको कारणले बुहारीलाई दबाउन, होच्याउन वा तह लगाउनको लागि यी कुरा भन्न लागेकी हैन । तिम्रो र तिम्रो सन्तानको हित चिताएरै मैले धेरै सोचविचार पछि तिमीसित कुरा गर्ने निर्णय गरेकी हुँ । किनभने तिम्रो सन्तान मेरो पनि सन्तान हो । मेरो पनि रगत हो, मेरो वंशज होे । उसको अहित म कसरी चिताउन सक्छु ?

तिमीले जत्तिकै पढेलेखेकी नभएपनि मपनि सामान्य पढेलेखेकी आइमाई हुँ, राम्रै कुलघरानकी छोरी र बुहारी हुँ । तिमीले भन्दा बीसौँ वर्ष बढी मैले यो संसारलाई देखेकी, जानेकी र बुझेकी छु । तिमीहरुले हामीले भन्दा बढी जानेको भनेकै यो नयाँ नयाँ विज्ञान र प्रविधिका कुराहरु मात्रै हो । जीवन र जगत्लाई त हामी बूढापाकाले तिमीहरुले भन्दा पक्कै धेरै बुझेका छौँ, भोगेका छौँ । तर तिमीहरु यो कुरा मान्न चाहँदैनौ । कसैको अर्ती उपदेश सुन्नै चाहँदैनौ ।

त्यस्तो होइन मुमा, म सुन्छु, मर्जी होस् ।अनिच्छापूर्वक भनी अनिमेषकी ममीले ।

मेरो कुरा सुन्न तयार भैदिएकोमा धन्यवाद । यदि तिमीले बुझ्यौ, मान्यौ भने म छोरालाई पनि सम्झाउने कोशिस गर्नेछु ।एकैछिन रोकिएर बुहारीको अनुहार नियालेपछि लामो सास फाल्दै फेरि बोल्न थालिन् सासू ।

पहिले पहिले हाम्रा बाजे बराजुका पालामा सबै मानिस खेतीपातीमै निर्भर थिए । परिवारको हातमुख जोर्न वर्षैभरि कडा मेहनत गर्नुपथ्र्यो । अशक्त र बालखबाहेक घरका सबै सदस्यले रातदिन खेतबारीमा समय दिनुपथ्र्यो । घरमा पालिएका पशुपंछीको हेरविचार पनि गर्नुपथ्र्यो । त्यसबाहेक पनि भान्साको धन्दा र बालखको स्याहारसुसारको समेत जिम्मा लिनुपर्ने भएकोले आइमाईहरुको जीवन धेरै नै कष्टकर थियो । बिहानको झिसमिसेदेखि आधा रातसम्म पनि आइमाईको दिनचर्या निरन्तर चलिरहन्थ्यो । बिरामी भएर अशक्त भई ओछ्यान परेको समयदेखि बाहेक आरामसँग दुई घडी बस्न पाउँदैनथे उनीहरु । हामीलाई त ती कुराहरु सुन्दा कुनै दुःस्वप्न जस्तो लाग्छ । तिमीहरुलाई त झन् एकादेशको कथाजस्तो लाग्दो हो ।

तर हाम्रो पालासम्म आइपुग्दा त्यस्तो चौबीसै घण्टा दुःख गर्नु परेन । कलकारखाना, व्यापार व्यवसायहरु बढ्दै गएपछि दुईचार अक्षर पढेका र अलिकति पूँजी लगानी गर्न सक्नेहरुले खेतीपातीलाई दुखिया पेशा ठानेर छाड्दै गए । व्यापार व्यवसाय र जागिरलाई अपनाए । छोराछोरीले पढ्न पाउने भए । मैले पनि मेरा बाबाको कृपाले म्याट्रिकसम्म पढ्न पाएँ । त्यसपछि क्याम्पस पढ्दा पढ्दै मेरो बिहे भयो । मैले पनि बिहेलाई आफ्नो व्यक्तिगत स्वतन्त्रताको, पढाईको, हाँसखेल गर्ने उमेरको पूर्णविराम सम्झेर त्यतिबेला खूबै रोएँ । तर बिस्तारै आफैँ आफ्ना रुचि, आफ्ना प्राथमिकताहरुलाई परिस्थिति अनुरुप नै बदल्दै लगेँ । ब्याडमिन्टन खेल्न भनेपछि हुरुक्कै हुने मेरो मनलाई घरका परिवारजनको खुशीमा रम्न सिकाएँ । पेन्टिङ्ग गर्न रुचाउने मेरा हातहरुलाई घर वरिपरिका फलफूलका बिरुवाहरु स्याहार्नमा र बगैँचा सिंगार्नमा व्यस्त बनाएँ । साथीसंगीहरुसित हाँसोठट्टा गर्दा मात्र प्राप्त हुने खुशीलाई आफ्ना सन्तानको सुख, खुशी र उन्नति प्रगतिबाट अझ बढी बटुलेँ ।

हेर दुलही ! मैले देखेर र भोगेर जानेको मूल कुरा यही हो, कि मानिसले विज्ञान र प्रविधिमा जतिसुकै प्रगति गरेपनि प्रकृतिलाई जित्न कहिल्यै सक्दैन । पृथ्वीमा जसरी दिनपछि रात र रातपछि दिन आउँछ, त्यस्तै गरी मानिसको जीवनमा पनि सुख र दुःखको अपरिहार्य नियम प्रकृतिले बनाइदिएकी छिन् । मानिस जतिसुकै धनी वा गरीब, पढेलेखेको वा अनपढ भएपनि उसको जीवनमा सुख र दुःख दुवै बराबर हुन्छन् । विभिन्न मानिसले भोग्ने दुःख र सुखका रुप र प्रकार भिन्न भिन्न हुन्छन् । तर जुनसुकै रुपमा भएपनि सबै मानिसले दुःख सुख बराबरी नै भोग्नुपर्छ ।

मानिस सकभर शारीरिक परिश्रमबाट टाढै भाग्न खोज्छ । कठोर श्रम गर्नेलाई दुःखी र श्रम गर्नु नपर्नेलाई सुखी ठान्छन् प्रायः मान्छेले । तर मेरो अनुभवमा त्यो सत्य होइन । विज्ञान र प्रविधिले एकातिर सुविधाको विकास गरेको छ तर अर्कोतिर त्यसैले विध्वंस, हिंसा, दुर्घटना, उर्जा संकट, वातावरणको विनाश, अनि तीबाट उत्पन्न विभिन्न नयाँ नयाँ रोगव्याधिहरुको पनि सँगसँगै विकास गर्दै लगेको छ । यो कुरालाई वैज्ञानिकहरु स्वीकार्न चाहँदैनन्, तर नकार्न पनि सक्दैनन् । ऊ त्यो बन्दै गरेको घरमा इँटा बालुवा बोक्ने मजदूरलाई हेर त । लोग्ने स्वास्नी नै दिनभरि कति कठोर परिश्रम गर्छन् । त्यहीँ इँटाले बारेर बनाएको अँध्यारो अस्थायी छाप्रामा बस्छन् । उनीहरुसित न त राम्रो ओछ्यान छ, न मीठो खाना । तैपनि ती रातभरि कति मीठो र गहिरो निद्रामा सुत्छन् । उनीहरुको निर्दोष ख्याउटे अनुहारमा शान्ति र सन्तुष्टिको तेज छ । तिमीहरुलाई जस्तो राति निदाउनलाई ह्विस्की, वाइन अथवा स्लीपिङ पिल्सको सहारा चाहिँदैन । उनीहरुलाई हतपति हामीलाई जस्तो डाइबिटीज, कोलेस्ट्रल, माइग्रेन, हाई ब्लड प्रेशर जस्ता रोगहरु पनि लाग्दैनन् । के त्यो सुख होइन ? उनीहरु हातमुख जोर्ने बाध्यतामा परिश्रम गर्छन्, हामीहरु रोगले च्यापेपछि रोगसित लड्न बाध्य भएर महँगा मेशिनहरु ल्याएर सकीनसकी एक्सरसाइज गर्छौँ । उनीहरु पैसा नभएर मिष्ठान्न भोजन खान सक्दैनन्, हामी रोगले च्यापेर मिठो खान पाउँदैनौँ । के फरक छ र ?”

आफूले कहिल्यै महत्व नदिएको, केही नजान्ने जस्तो ठानेको सासूमुमाबाट यस्ता सरल तर गहन कुराहरु सुनेर बुहारी पनि प्रभावित नभई रहन सकिन । ध्यानपूर्वक सासूका कुरा सुन्न थाली ।

ईश्वरको कृपाले तिमीहरुले बाँच्नका लागि कठोर शारीरिक श्रम गर्नुपरेको छैन । उच्च शिक्षा पढ्न पाएका छौ, पढेर, देखेर, सुनेर धेरै कुरा जान्ने मौका पाएका छौ । यसलाई त तिमीहरुले आफ्नो सौभाग्यको रुपमा लिनुपर्छ । आफूसित भएको सुख र खुशीलाई नचिन्ने तर नभएका सुख खोज्दै हिँड्ने मान्छे कस्तुरी मृग जस्तै हो । यो संसारमा सुखको खोजी गर्नु भनेको मृगतृष्णा हो । आफूसित नभएको टाढाको सुखले मन लोभ्याउँछ । तर जब त्यो कुरा आफ्नो पहुँचमा आउँछ, त्यसले खासै सुख र सन्तुष्टि दिँदैन । त्यसपछि मान्छे अर्को नयाँ सुखको खोजीमा लाग्छ । तर यस्ता बाहिरी भौतिक साधनहरुमा सुख र खुशी खोजेर कहिल्यै पाइन्न ।

तिमीले पहिले राम्रा राम्रा लुगा, गहनाहरु र सौन्दर्य प्रसाधनहरुमा सुख देख्यौ होला, तर ती सब लगाउन पाएपछि तिमीले थाहा पायौ, क्षणिक बाहेक त्यसमा खासै सुख र खुशी छैन । त्यसपछि वाइन र अरु रक्सीहरुमा आनन्द खोज्यौ, त्योपनि भोग्यौ । त्यसबाट पनि वाक्क भैसक्यौ । खुशी र आनन्द खोज्न रेष्टुरेन्ट, डिस्को, पब, स्पा आदि धाउँदैछौ, त्यसले पनि तिमी छिटै अघाउनेछ्यौ । त्यसमा पनि दीर्घकालीन सन्तुष्टि पाउन सक्नेछैनौ । आआफ्नो अहम् र सुखलाई छुट्टाछुट्टै खोज्दा खोज्दै तिमीहरु लोग्ने स्वास्नी बिस्तारै एकअर्काबाट टाढिँदै जानेछौ । अनि त्यसपछि के ? डिभोर्स ....?

ठीकै छ, आआफ्नो स्वाभिमान र स्वतन्त्रताको रक्षाको नाउँमा तिमीहरुले त्यो पनि गर्लाऊ । तर के त्यस स्वतन्त्रताबाट तिमीहरुले साँच्चै सुख र आनन्द पाउनेछौ त ? जीवनमा स्वतन्त्रताको अर्थ के ? सुखको अर्थ के ? आत्मसन्तुष्टि भनेको के ? राम्ररी सोच त ।

त्यसरी एकअर्कासित छुट्टिएपछि तिमीहरुले बाँकी सिङ्गै जीवन एक्लाएक्लै बिताउन सक्लाउ ? अहँ ! दुवैले फेरि आआफ्ना लागि नयाँ जीवनसाथी रोज्नेछौ र नयाँ जीवन शुरु गर्नेछौ । तर तिमीहरुको प्रवृत्ति त्यही, मन त्यही, यो संसार उही । अनि नयाँ जीवनमा पनि तिनै पुराना समस्या र असन्तुष्टिहरु उत्पन्न हुनेछैनन् भन्ने ग्यारेन्टी के ? तिमीहरुको मनले फेरि त्योभन्दा नौलो र नयाँ सुखको चाहना गर्दैन भन्ने आधार के ? अनि त्यस्तोमा तिमीहरुको यो सानो छोरा अनिमेषको भविष्य कस्तो होला ? उसको बारेमा कहिल्यै सोचेकी छ्यौ ?

आफ्नो जोडीसितको अँगालोले नपुगेर डान्स पार्टी र डिस्कोहरुमा गएर अर्काका जोडीसित अँगालोमा बाँधिएर नाच्नुमा सुख खोज्ने यो नयाँ पुस्ता ! अझ मैले त सुनेकी छु, कतिपय अत्याधुनिक भनिने दम्पत्तिहरु नयाँ नयाँ सुख, एडभेन्चर र आनन्दको खोजीमा शारीरिक सुखप्राप्तिको नाउँमा एकआपसमा लोग्ने स्वास्नी साटासाट समेत गर्न थालेका छन् रे । कस्तो आश्चर्य ! त्यसले पनि क्षणिक आनन्द त देला । तर त्यस्तो खतरनाक प्रवृत्ति फैलिँदै गयो भने त्यसले समाजमा कस्तो विकृति भित्राउन सक्छ, कसैले कल्पना गरेको छ ? भर्खरै विदेशको कुनठाउँमा हो, समाचारमा मैले पढेकी थिएँ, पहिले कुनैसमय पतिपत्नी रहिसकेर छुट्टिएका दम्पत्ति पछि ज्वाइँसासूको रुपमा भेट भए रे । के तिमीहरुले खोजेको सुख, सन्तुष्टि र स्वतन्त्रतापूर्ण समाज यस्तै हो ? तिमीहरुले आफ्ना सन्ततिलाई सुम्पिन खोजेको सभ्यता र संस्कृति यस्तै हो ?

जीवनमा सुख र खुशीको परिभाषा, मापदण्ड, आफैँले नै बनाउने हो । साना साना कुरामा पनि खुशी खोजे भेटिन सक्छ । मनमा नियन्त्रण नभए ठूलाठूला र महँगा सुखका साधनले पनि खुशी दिन सक्दैन । आफ्नै मनलाई सोध, खुशी के मा छ ?

एउटा गरिब ज्यामीले तिमीहरुले भन्दा बढी खुशीसाथ जीवन बिताइरहेको हुन्छ । उसले श्रीमतिलाई एउटा नयाँ धोती किनिदिएको दिन उसको लागि तीज जत्तिकै रमाइलो हुन्छ । हप्ताभरि काम गरेर अलिकति पैसा बचाएर घरपरिवार सँगै बसेर एक छाक मासुभात खान पाएको दिन उनीहरुको लागि दशैँजत्तिकै रमाइलो हुन्छ । बल्लतल्ल फुर्सद निकालेर आफ्ना बालबच्चालाई वर्षमा एकदिन चिडियाखाना घुमाउन लैजाँदा ती बच्चाहरुको अनुहार धपक्क बलेको देखेर ऊ लाखौँको पुरस्कार पाएजत्तिकै रमाउँछ । सामान्य स्कुलमा पढ्ने आफ्नो सन्तान परीक्षामा पास भएको नतीजा आएको दिन ऊ करोडौँको चिठ्ठा परेजस्तै खुशी हुन्छ । उसले आफ्नै परिवारभित्र साना साना कुराहरुबाट प्राप्त गर्ने यस्ता खुशी र तिमीहरुले लाखौँ खर्च गरेर विदेश भ्रमण गरेर पाउने खुशीलाई तुलना गर त ! कुन खुशी ठूलो ?

तिमीलाई नपुग्दो के छ र ? लोग्ने छ, घर छ, खानलाउन दुःख छैन । संसारमा कयौँ दम्पत्तिहरु निःसन्तान भएर कति तड्पिइरहेका छन् । तिमीहरुको त त्यति राम्रो कल्कलाउँदो छोरो छ । आफ्नो सारा व्यस्तता र स्वार्थलाई एकातिर राखेर एकपल्ट त्यो छोरालाई हेर त ! उसले केही भन्न सक्दैन, जान्दैन । तर उसको मनभित्र, आँखाभित्र कति गुनासो छ, सबैकुराले सम्पन्न भएर पनि उभित्र कति अभाव छ । बाबुआमाको माया, लाडप्यारको अभाव, तिम्रो संरक्षकत्वको अभाव.... । ...उफ्फ्..........!बोल्दाबोल्दै थाकेर अनिमेषकी हजुरमुमा सोफामा टाउको अड्याएर लामो लामो सास फेर्न थालिन् ।

तिमी पढेलेखेकी मान्छे, केही सृजनात्मक काम गर्न सक्छ्यौ, आफैँ कुनै अफिस खोल्न सक्छ्यौ, अथवा जागिर नै खान मनलागे पनि खान सक्छ्यौ । तिम्रो स्वतन्त्रतामा बन्देज लगाऊ, तिमी घरभित्रै गृहिणी भएर बस भन्न मैले खोजेकी हैन । तर केवल नयाँनयाँ सुख र आनन्दको खोजीमा अथवा लोग्नेसित बराबरी गर्न वा बदला लिनकै लागि भनेर दुनियाभरि चाहारि हिँड्नु मूर्खता हो । मैले यति मात्र भन्न खोजेकी हुँ । तिमी त इन्टेरियर डेकोरेशनमा रुचि भएकी मान्छे । सबभन्दा पहिले आफ्नै घरलाई सिंगार, आफ्नो एकमात्र छोरा, आफ्नो सबैभन्दा अमूल्य सम्पत्तिलाई स्याहार । आफ्नो मनलाई सम्झाऊ । आफूले खुशी के के मा खोज्ने हो, आफ्नो जीवनका प्राथमिकताहरु निश्चित गर । त्यसपछि तिम्रो जीवनले आफैँ एउटा सही दिशा पहिल्याउँदै जानेछ । सम्पत्ति, ऐश्वर्य र ऐशआरामले मात्रै सुख र खुशी पाइने भए भगवान् बुद्धले त्यत्रो राजपाट, सिंहासन छाडेर किन सुखका खोजीमा हिँड्नुपर्थ्यो ...... ?” 

लौ, मेरो भन्नु यति नै हो । बाँकी तिमीहरु धेरै पढेलेखेका, मभन्दा जान्ने छौ, आफैँ सोचविचार गर, चिन्तनमनन गर । म त डाँडामाथिको जून, आज अस्ताउने हो कि भोलि ! त्यो सानो निर्दोष बालख नातिलाई चाहिँ तिमीहरुले बिचल्ली नपार्नू .....।यति भनेर थकित मुद्रामा उठेर बिस्तारै हिंडिन् अनिमेषकी हजुरमुमा ।

बुहारी चाहिँ खै के सोच्दै थिई.............. ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |