हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

एक साँझको कुरा

पद्मावती सिंह, (छाउनी, काठमाडौं)


साँझ छिपिसकेको थियो । ट्रेन सधैझैं
 आफ्नै रफतारमा 45 Street क्वीन्सबाट फलसिङ्गतिर कुद्दै थियो । म आफ्नो दिनभरिको डयूटी सकी आफ्नो एर्पाटमेन्टतिर थकित भई फर्किरहेकी थिएँ । साँझको समय हुँदा ट्रेनमा यात्रुहरू खचाखच भरिएका थिएँ । म ढोकातिर उभिएर यात्रा गरिरहेका थिए ।

 

मेरो दृष्टि सधै भेटिने एक वृद्ध महिलामाथि र्यो उनीपनि नेपाली नै हुनाले हामी भेट्दा मुस्कान आदान प्रदान गर्थ्यौँ तर आज उनी साह्रै मलीन अनुहार लाएर आँखा चिम्लेर यात्रा गरिरहेकी हुँदा मेरो दृष्टि उनीमा परेपनि उनको दृष्टि ममा परेको थिएन एकजना यात्रु झरेपछि हतपत उनीसँगको सिटमा हुत्तिएर बस्न पुगेँ

 

नमस्तेमैले उनको ध्यान आफूतिर केर्न्दित गरेँ ।

 

नमस्तेउनले आँखा खोलेर मतिर हेर्दै झस्किएर भनिन् ।

 

तपाई कहाँसम्म ?’ औपचारिकता दर्शाउँदै मैले सोधें ।

 

फ्लसिङ्ग सम्म ....।

 

म पनि फ्लसिङ्ग सम्म ।

 

तपाईको एर्पामेन्ट कुन स्ट्रीटमा पर्यो ?’ मैले कुराकानीलाई अगाडि बढाएँ ।

 

बर्कले एभेन्यु अपार्टमेन्ट 4E, फ्लसिङ्ग  उनले भनिन् ।

 

हामी त नगिच पो रहेछौं । म पनि त्यहीं नगिच बस्छु । तपाईलाई म सधैं देख्छु । बोल्न चाहेर पनि बोल्नै मौका पाएकी थिइन । यदि तपाईलाई फुर्सद छ भने जाऔं मेरो एपार्टमेन्टमा, केही खानपिन गरौं ।मैले अनुरोध मुछिएको स्वरमा भनेँ ।

 

थ्याङकस् .....आज होइन अर्को दिन ....।उनले घडीतिर दृष्टि पुर्याउँदै भनिन् ।

 

हुन्छ ....। आज विशेष केही काम छ कि ?’ मैले उनको मलीन उदास अनुहारमा दृष्टि टिकाएर सोधें ।

 

म आज साह्रै थाकेकी छु । वाक्क भइसकें यो दिनदिनको रूटिन जस्तो कामदखि .....।उनले लामो हाई काढ्दै भनिन् ।

 

मैले उनको अनुहार हेरें उनी कम्तीमा पनि साठी वर्षकी हुनुपर्छ । यस्तो उमेरमा पनि काम गरी खानु पर्ने बाध्यता देखी म मनमनै सोच्न थालेँ के उनी एक्लै बस्छिन् ? उनको छोराछोरी कोही छैनन् ?’

 

चाहेर पनि मैले सोध्न आँट गरिन । अर्काको निजी जिन्दगीमा चिहाउनु शोभनीय कुरा होइन भनी ठानी चुप लागेँ ।

 

ट्रेन कुद्दै ठाउँठाउँमा यात्रूहरू ओराल्दै बटुल्दै अगाडि आफ्नै गतिमा कुदिरहेको थियो । मैले झ्यालबाट चिहाएँ । न्यूयोर्क शहरले साँझको लालिमा ओढेर सुन्दर मुस्कान छर्दै थियो ।

 

न्युयोर्क संसारकै प्रसिद्ध शहर हुनाले यहाँ संसारकै मानिसको बसोबास छ । हरेक देशका धर्म तथा जातिका मान्छेहरू काम र मामको खोजीमा भौत्तारिन्दै यहाँ आइपुग्छन् । अमेरिकाको नामी र व्यस्त शहर र संसारकै सपनाको शहर हुनाले भविष्यको सपना बोकी जति पनि मानिस संसारकै जुनसुकै कुनाबाट आउँछन् एकपल्ट यहाँ पाइला टेकेपछि यहाँबाट हतपती जान मन गर्दैनन् । म पनि केही वर्ष अगाडि डि.भी परेर आएकी थिएँ । यहीँको परिवेश, हावापानी र दौडधूपको जिन्दगीमा भूलेर बसेकी छु । आफ्नो देशको संस्कृति र चालचलन, रहनसहन, परिवेश भन्दा एकदम फरक संस्कृति र चालचलनलाई अङ्गालेर बाँच्न प्रयत्नरत् छु तर आफ्नो देशको माया र आफन्तहरूभन्दा टाढा हुनुपरेको पीडाले म भित्रदेखि खुशी छैन र रमाउन प्रयत्न गरिरहेता पनि रमाउन सकिरहेकी छैन ।

 

मलाई सोच्नमग्न देखेर आफ्नी आमाको उमेरकी वृद्धले सोधिन्– ‘नानी कहिंले अमेरिका छिर्नु भएको ?’

 

पाँच वर्ष अगाडि डि.भी परेर....।मैले हाँस्दै भनेँ ।

 

अनि तपाई नि ?’ मैले सोधी हाँले ।

 

चालिस वर्ष अगाडि ....।उनले गहिरो सास फेरेर भनिन् ।

 

चालिस वर्ष अगाडि ??’ मेरो ओठबाट आश्चर्य मिश्रित प्रश्न फुत्किहाल्यो ।

 

हो चालिस वर्ष अगाडिदेखि यो देशमा मैले आफ्नो हाड घोटिरहेकी छु । अझ घोट्दै छु । त्यो पनि एक्लै आफ्नो जीवनलाई लतारिरहेको छु ।यसो भनी उनले मेरो अनुहारमा विषादपूर्ण दृष्टि फ्याँकिन् ।

 

जाऊँ बरु मेरो एपार्टमेन्टमा .... आज म साह्रै उदास छु । कोही मेरो साथ भएमा उदास साँझलाई रित्याउन सजिलो पर्छ ।उनले मेरो सामु प्रस्ताव राखिन् ।

 

मैले सहर्ष स्वीकार गरें । ट्रेन आएर फ्लसिङ्गको अन्तिम स्टेसनमा आएर रोकियो । हामी दुवै ट्रेनबाट ओर्लेर भरेङ्ग चढेर बाहिर सडकमा निस्कियौं ।

 

साँझ छिपिएर रात पर्न लागेपछि पनि न्यूयोर्कको चहलपहल पसलहरूमा बलेको उज्याला बत्तीहरू, स्ट्रीट लाइटहरूले गर्दा फ्लसिङ्ग स्ट्रीट धपक्क बलेको थियो । बर्कले एभिन्यू एर्पाटमेन्ट (App 4E) ठूलो विल्डिङ्गको चार तल्लामा लिफ्टबाट उनको तीनकोठे एर्पाटमेन्ट छिर्यौं । भित्र बस्नासाथ बैठक कोठा रहेछ । अनि दुईवटा ससाना कोठाहरू, बैठककोठाको साइडमा सानो किचन र बाथरुम रहेछ । साँझको धमिलो प्रकाशमा उनीसित भित्र छिर्नासाथ मेरो आँखाले चहारेर एर्पाटमेन्टको बस्तुस्थितिलाई ठम्याइ हाल्यो । जुत्तालाई ढोकाको साइडमा राखेको जुत्ता राख्ने र्र्याकमा राखेर हामी दुई भित्र पस्यौं ।

 

मेरो निवासमा स्वागत छउनले अभिनय गरेझैं दुबै हात मतिर फैलाएर भनिन् ।

 

थ्याङ्गकयूमैले पनि मुस्कुराउँदै प्रसन्न अनुहार लाएर भने ।

 

तपाई एक्लै ?’ मैले सोफामा बस्दै सोधें ।

 

छोरी र ज्वाईं बस्थे अहिले भिन्दै शहरमा पोस्टिङ्ग भएर गएका छन् ।फ्रिज खोलेर एपल जुस मेरो हातमा थमाउँदै उनले भनिन् ।

 

त्यसपछि उनी फ्रेस हुन बाथरुमभित्र पसिन् । लुगा फेरेर आफ्नो हातमा एपल जुस लिएर मेरो सामु बसिन् ।

 

घर कहाँ नेपालमा ?’ मैले संवादलाई अघि बढाउँदै भनें ।

 

पाल्पामा तर अब त्यहाँ कोही छैनन् । सायद घर पनि बिक्री भइसक्यो होला ।उनले सक्षिप्त उत्तर दिइन् ।

 

त्यसपछि उनले मलाई आज राति यहीं डिनर खाऊँ है ।भनेर प्रस्ताव राखिन् ।

 

तपाईलाई दुःख हुन्छ ।मैले आनाकानी गर्दै भनें ।

 

केही दुःख हुन्न । फ्रीजमा पास्ता छ, अलिकति मासु छ । सलाद पनि छ । तपाई भएर मात्र, म नत्र केही नखाई सुत्थे ।

 

हुन्छ नि त .....तर तताउने काम म गर्छु है ।त्यसपछि जुस सकाई मैले भनें ।

 

अझै काम गर्नु हुँदो रहेछ आमा । अब त आराम गर्ने बेला भइसक्योमैले नातालाई अलि नगिच ल्याउन आमाशब्दको प्रयोग गरैँ ।

 

अब दुईवर्ष काम गरेँ भने वृद्ध भत्ता पाइन्छ त्यसपछि गरौंला नि आराम ...। तर उमेरको के कुरा काम गर्नु सकुञ्जेल काम चाहिं गर्नुपर्छ हैन र ....? उनले उल्टै प्रश्न गरिन् ।

 

कहाँ काम गर्न जानु हुन्छ ?’

 

मैनहैटन ।उनले भनिन् ।

 

अब के काम भनेर सोध्न संकोच लागेर सोधिन ।

 

अब डिनर खाऊँ । नानीलाई पनि फर्किनु पर्छ ।उनले भनिन् ।

 

माइक्रोवेभमा तताउने काम मैले गरेँ । उनले वाइन ल्याएर टेवलमा सजाइन् । दुबै आमने सामने बसेर वाइनको चुस्की लिदैं डिनर खान थाल्यौं ।

 

आज मलाई कसैको साथमा बसेर खान पाउँदा साह्रै रमाइलो लागिरहेको छ । कहिलेकाहीं त एकाकी जीवन देखि अत्यास लागेर आउँछ तर के गर्नु यहाँको जीवननै यस्तो छ । छोरी साथमा हुँदा पनि शनिवार र आइतवार मात्र त भेट हुने हो नि ....। दिनभर बाहिरी काममा व्यस्त रहन्छु । उनको राति डयूटी हुनाले म घर आउँदा उनी डयूटीमा गइसकेकी हुन्छिन् । ज्वाईं अर्कै शहरमा काम गर्ने हुनाले महिनामा एक दुईचोटी मात्र आउँछन् । यहाँको जीवन नै यस्तै हो नि ।

 

 मेरो श्रीमान पनि अर्कै शहरमा काम गर्नु हुन्छबोष्टनमा ....। हामी पनि कहिलेकाहीं मात्र भेट्छौं ।मैले काँटाले पास्ता खाँदै भनेँ ।

 

नानी.....।साँच्चै भनूँ भने म यहाँ कहिल्यै रमाइन, तर चालीस वर्ष यहाँ आएर म भासिएको भासिए भएँ । अब त यहाँको नागरिक भइसके । नेपालमा पनि आफ्नो नगिचका कोही छैनन् । माइतमा एउटा भाई मात्र छ, अलि मगज खुस्केको बिहे पनि गरेको छैन । काकाहरूले हेरेका छन् आमाबाबुको सम्पति पनि उनीहरुले चलाएका छन् । नेपालमा जान मन त लाग्छ तर गएर कहाँ बसूँ जस्तो लाग्छ । पाल्पाको गाउँमा गएर बस्न अब यो उमेरमा कहाँ सकिन्छ र ? त्यहाँ यहाँ जस्तो सुविधा छैन, सुरक्षा पनि छैन । देशको परिस्थिति लथालिङ्ग छ ।

 

छोरीसित गएर बसे हुन्छ नि त ....।मैले सल्लाह दिएझैं गरी भनें ।

 

ज्वाईं छोरीसित बस्न पनि गाह्रोनै हुँदो रहेछ । ज्वाईं कुइरे हुनाले संगै बस्न रुचाउँदैनन् । आफ्ना आमाबाबुसित त बस्न नरुचाउँने जातले सासुसित बस्नकहाँ रुचाउँछन र ....। त्यसैले छोरीको बिहे भएपछि सधैं एक्लै बस्दै आएकी छु । कहिलेकाहीं उनीहरुकहाँ जाने गर्छु । अब त अर्कै शहरमा हुनाले नगएकी पनि एक वर्ष भइसक्यो ।

 

डिनर खाएपछि मैले टेबुलमा सफा गरी खाएको प्लेटहरू र भाँडा धोइ दिएँ ।

 

जीवनले नै एक्लो पार्यो मलाई ।उनले भावुक भन्दै भनिन् ।

 

पढेलेखेका भनेर सानै उमेरमा विहे गरिदिए बाबुआमाले ....।उनी अतीतमा हराउन थालिन् ।

 

बिहे गरेपछि पढ्न अमेरिका छिरेका श्रीमान फिर्दै फिरेन । केही वर्ष आवत जावत गर्थे । एउटी छोरी जन्मिइन् । पछि उनले आमा छोरीलाई नै झिकाए । यता आउन पटक्कै इच्छा नभएतापनि छोरी बोकी आएँ । दुईचार वर्ष त भाषा पनि नबुझ्ने, चालचलन र संस्कृति पनि बेग्लै हुनाले साह्रै गाह्रो भो । पहिले त राम्रै गर्थे बूढाले, पछि निहूँ खोज्न थाले । पखिनीभनी बातै पिच्छे मलाई हेप्न थाले अनादर गर्न थाले । पछि पछि त घर फर्की भनेर धम्की दिन थाले । छोरी अलि ठूली भएपछि छोरीलाई स्कूलमा पढाई मैलेपनि केटाकेटी हेर्ने काम गर्न थालेँ । आम्दानी गर्न थालेपछि मलाईपनि साहस र हिम्मत आयो । यहाँको भाषा र आनीबानी सिकेपछि मैले पनि आम्दानी गरी घर चलाउने थालेँ । केही वर्षपछि लोग्ने भनाउँदो त्यस मुरदारले मलाई छोडी एउटी बूढी हप्सी च्यापी बस्न थाले । तर मैले हिम्मत हारिनं... घर पनि फर्किन । दिनरात काम गरी छोरीलाई हुर्काएँ । अलि ठूली भएपछि उनले काम गर्दै पढन थालिन् । आमाछोरीले संघर्ष गर्दै जीवन धान्दै आयौं । यतिका वर्ष विताइयो तर यहाँ आफ्नो कोही भएनन् । केटाकेटी स्याहार्ने, घरको काम गर्ने देखि बूढाबूढीको आची धुने हरतरहका काम गरेर आफुलाई पालियो । यसो फुर्सद लिएर घुमघाम गर्न कहिल्यै पाइएन । काम र मामको दौडधूपमा चालिस वर्ष काटियो । बिहान उठ्यो काममा हिड्यो, साँझ फर्कियो । बाँयादाया सोच्ने फुर्सदै भएन । अझै कसरी यतिका वर्ष बिताइयो अहिले संम्झिदा पनि कहाली लागेर आउँछ ।

 

मैले घडी हेरें भरखर दश बज्नै लागेको रहेछ । अमेरिकामा, त्यो पनि न्यूयोर्कमा दश बज्नु भनेको सबेरै हो । एर्पाटमेन्ट पनि नगीच भएकोले बूढी आमालाई केहीवेर साथ दिने मनसाय बनाएँ ।

 

नानी पनि एक्लै हुनुहुँदो रहेछ । एउटा कोठामा मैले मान्छे राख्ने गरेकी छु पेइङ्ग गेष्ट । अहिले खाली छ । सकेसम्म नेपाली नै राख्छु । किचन एउटै तर खानपिन बेग्लै । दुइटा फ्रिज छ ठूलो र सानो । सानो फ्रिज गेष्टलाई दिने गरेकी छु । त्यति नगरे बहालतिरेर बस्न कहाँ सकिन्छ र बहाल दुबैले शेयर गर्दा दुबैलाई फाइदा र साथ पनि बस्न पाइने कसो ?’ वृद्धाले उत्साहित भएर मेरो अनुहारमा चिहाइन् ।

 

उनले यहाँ आएर बाँच्न सिकीसकेकी रहिछिन् भनेर मनमनै ढुक्क भएँ । हुन त म पनि एर्पाटमेन्ट शेयर गरेर नै बसेकी छु एकजना स्पेनिससित । खासै केही समस्या त छैन तर तर वृद्धाको एकाकी जीवन र अपनत्व देखी म प्रभावित भएँ । मुखले केही नभने पनि उनको प्रस्ताव मलाई मन पर्यो ।

यहाँ बाँच्न अनेक तिगडम गर्नुपर्छ । सकुञ्जेल त पेइङ्गगेष्टलाई आफै पकाएर पनि खुवाएँ । नेपालबाट आएका पढ्ने केटाकेटीहरू मैकहाँ बस्थे । उनीहरूको अभिभावक बनी उनीहरूको हेरचाह पनि गरेँ । कतिले पैसा नतिरी खानासमेत खाएर भागे पनि । कतिले बरालिएर राति राति आएर दुःख दिए । कतिले पैसा सापटी लिएर तिर्दै तिरेनन् । पेइङ्गगेष्ट राख्दा पनि धेरै हैरानी र सास्ती हुन्छ तर जे भएपनि नेपालीहरूको साथमा बस्दा नेपाली भाषा बोल्न पाउँदा आनन्द भने आउँछ ।त्यही बेला उनको मोबाइल बज्छ । छोरीको फोन रहेछ । छोरीसित उनी धेरैबेर कुरा गर्छिन् । म चुपचाप उनको कुरा सुनिरहन्छु । उनले छोरीसित कुनै दुःखको कुरा गरिनन्। आफ्नो समस्याको पनि कुनै कुरा गरिनन् मात्र आफ्नो दिनदिनको दैनिकी बारे कुरा गरिरहिन् । फोनमा कुरा गरेर सकेपछि उनले भित्ते घडीतिर नजर टिकाएर भनिन् – ‘अब तिमी घर फर्किनु पर्छ । कि होइन भने यही बस ...।

 

होइन आमा, भोलि बिहानै काममा हिड्नु पर्छ । म जान्छु । भोलि चाहिं मेरो एपार्टमेन्टमा आउनुपर्छ ।मैले अभिवादन गर्दै जान उठें । तर मन डेरातिर फर्किन आतुर भएपनि तनचाहिं त्यहाँबाट छुट्टिन चाहिराखेको थिएन । उनको समिप्य मलाई साह्रै सुखद् लागिरहेको थियो । अमेरिका आएको पाँच वर्षमा पहिलोचोटि मलाई आफ्नो नगिचको आफन्तकहाँ आएझैं अनुभव भइरहेको थियो । उनको संघर्षशील जीवन गाथा सुनेर अमेरिका बसेर संघर्ष गर्न उर्जा प्रदान गरिरहेको थियो मलाई ।

 

बिहे गर्नु भएन त फेरि ?’ जिस्किन्दै सोध्ने आँट गरेँ ।

 

उमेरमा त राम्रै थिएँ । गरे त पाइन्थ्यो नाईं । तर विहे गर्न पनि त केटा रोज्न पर्यो, संगै हिड्नु पर्यो समय र परिस्थिति नै मिलेन । नत्र मैलेपनि देखाइ दिन्थे बिहे गरेर । सानी छोरीकोपनि माया लाग्यो । हामी यहाँको आइमाईझैं जोसुकैसित लहसिने, छोराछोरीको वास्ता नगर्ने निस्फ्रिक्री छाडा र अविवेकी कहाँ छौ र ...?’ उनले एकै सासमा तथ्य कुरा ओकेलिन् ।

 

भोलि मकहाँ पक्का आउनु पर्छ है ।म रात्री अभिवादन गुड नाइटभन्दै आफ्नो एपार्टमेन्ट तिर लागें ।

 

आफ्नो कोठासम्म नपुगुञ्जेल मैले तिनको बारेमा सोची रहेँ । तिनले भनेको कुराहरूनै मेरो दिमागमा रिबाइन्ड भईरह्यो । आफु पनि त्यति राम्रो घर र जागीर छोडी डि.भी.परेर अमेरिकामा सप्तरङ्गी सपना बोकेर आएकी हुनसम्म संघर्ष गरेर बाँच्नु परेको छ । स्टाफ नर्स भएपनि गतिलो केही काम नपाई बूढाबूढीको स्याहार गर्ने ओल्ड होममाकहिले राति कहिले दिनको डयूटी गरी बाँच्नु परेको छ । एम.ए. पास गरेका श्रीमान बैंकको मेनेजर थिए । अहिले केही काम नपाई नाइट गार्डको काम गरी बसिरहेका छन् । सधैं उतै फर्कूँ फर्कूँ  जस्तो लागिरहेको अवस्थामा बूढी आमाको कुरा सुनेर संघर्ष नै जीवन हो भन्ने कुरा मनमा घन्कीरह्यो । उनको भेटघाट र संघर्षमय जीवनगाथाले सधैं निरासाको पोखरीमा चुर्लुम्म डुबेर आफ्नो घरका अन्य सदस्यहरू, साथीहरू र माइतीलाई सम्झेर पीडाको शिखर चढ्ने मेरो संबेदनशील मनमा संघर्ष गर्ने र जीवनलाई जुनसुकै अवस्थामा अगाडि बढाउन हिम्मत र साहसको सञ्चार भइरह्यो ।

 

नेपाल जस्तो अविकसित देशको त्यो पनि अशिक्षित एकजना ग्रामीण आइमाईले हिम्मत र साहसले चालिस वर्ष अमेरिकामा टिक्न सफल भइन् भने म त पढेलेखेकी काठमाडौंमा जन्मेकी शहरीया आइमाई हुनाले अगामी दिनहरू जस्तोसुकै अवस्थामा पनि संघर्षशील भई बिताउन सकिन्न र ?’ आफुले आफैलाई ढाडस दिदै म पाँच तल्ला चढ्न लिफ्टको प्रयोग गर्न थालेँ । आज कोठाभित्र छिर्दा मलाई कोठा सुनसान लागेन । मनमा एक प्रकारको जोश र फुर्तिको अनुभव गरें । बाथरुम भित्र छिरी नुहाएर फ्रेस भई विछ्यौनामा पल्टें । आज दिमाग र मन शान्त र ढुक्क हुनाले पल्टिनासाथ थाकेको शरीरले न्यानो विछ्यौनाको स्पर्श गर्नासाथ शरीर लोलाएर आएको अनुभव भयो । बेडस्वीच अफ गरी मैले आँखा चिम्लें । पलभरमै म सपनाको संसारमा पखेटा चाल्दै डुल्न थालें।

Comments

सि.अार.खिम्दुङ

घत लाग्दो अनि कल्पना परिकल्पना मा नभएर 
साँचिकै अनुभव,यो कथा पढेर साँचिनै अाँखा 
रसाएर अायो,वस्तव मा हामि नेपाली हरूले कहाँ 
कुन देश मा गएर दु:ख को अनुभुति र अनुभव नगरेका हैाला र??

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |