हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

लेखकको सत्ता र साझेदारी

प्रकाश सायमी, (गोधुली संसार, ललितपुर)


सन् १९८२ मा महात्मा गान्धीको जीवनीमा आधारित चलचित्र गान्धी मा अभिनय गरेपश्चात्  सर्वोत्कृष्ट अभिनयीको पुरस्कार ग्रहणगरेपछि बेन किँग्स्लेले गर्व
पूर्वक भनेका थिए, “मलाई गान्धी बन्न दुईवर्ष पूरा लाग्यो ।

गैरभारतीय परिवारमा जन्मेका अँग्लोइन्डियन अभिनेता कृष्णा भान्जेले बेन किँग्स्ले हुनुभन्दा गान्धी हुन त्यो चुनौति पहिलो फिल्ममा नै भोगेको सुनाउँदा सम्मानित सिनेकर्मीहरु झन् चकित भएका थिए । चरित्र रुपान्तरण र भूमिका निर्वाहमा हलिऊड थर्काएर बसेका अभिनयका बेताज बादशाहहरू रबर्ट डी नीरो, मार्लन ब्राण्डो, अल् प्याचिनो, डस्टिन हफ्म्यान पनि त्यो वेला उनको महावाणी सुनेर थर्केका थिए । तर त्यसैका निर्देशक सर रिचर्ड एटेनबोरोलाई गान्धी बनाउन चैँ कति वर्ष लाग्यो भन्दा उनी अद्र्धनिलिमित भएर भावुक भएका थिए ।

गान्धी बनाउन वा  बन्न जति वर्ष लागे पनि त्यो एउटा सूचीबद्ध क्रम थियो तर बनिया परिवारमा जन्मेका पोरबन्दरका मोहनदास कर्मचन्द गान्धी स्वयम्लाई महात्मा गान्धी बन्न कति वर्ष लाग्यो होला भन्ने प्रश्नमा सदैव मौलिकताको सवाल यथावत कायम छ । 'द स्टोरी अफ माय् एक्सपेरिमेन्ट विथ् अफ ट्र्यूथ' मार्फत् आफ्नो आत्मगाथा सार्वजनिकीकरण गरेका मोहनदासले आफू धेरै व्यक्तिबाट प्रभावित भएको स्वीकारेका छन् तथापि खद्दरको धोती लगाएर पर्दामा उत्रेका बेन किँग्स्लेले पश्चिमीया जगतलाई प्रभाव पार्नु भन्दा अगि नै अमेरिकी जीवनका महान् लोकनायक मार्टिन लूथर किँग, वा भर्खरै कैदमुक्त भएका लेक वालेशालाई पनि गान्धीको जीवनदर्शनले पहिले प्रभाव नपारेको होइन ।

एउटा मान्छे किताब बनेको यो इतिहास पश्चिमीया का निम्ति आश्चर्य त थियो नै तर साँच्चै एउटा किताब बन्न गाह्रो कि किताब लेख्न गाह्रो ?

प्रभाव, प्रेरणा र अनुकरण जसरी मान्छेको जीवनबाट ग्रहण गर्न सकिन्छ, हरेक युगका लेखक वा स्रष्टा पनि अघिल्लो लेखकबाट सदैव प्रेरित भइरहेको हुन्छ । मौलिक हुनुको ढोँगमा उही पुरानै क्रमलाई निरन्तरता दिइरहेको हरेक लेखकले आफ्नो सफलताको सिँढी चढ्दै गर्दा भान पाउँछ ,तर त्यो सत्यता उसले कहिले पोख्ने त ?

नेपाली साहित्यमा यस्ता बीज प्रश्न उठाएर बीसको दशकमा तीन लेखकले यो साहित्य समाज र जीवनजगत्लाई तर्साएकाछन्, ती प्रश्न साँच्चै साँच्चै नै आजसम्म धर्मसङ्कट नै बनेको पाइन्छ ।

आफ्नो पहिलो कृतिमा नै मदनपुरस्कार पाएका स्रष्टा पारिजातले शिरीषको फूलप्रकाशन गर्नु अगि आफ्ना दुई कृति आफ्नै हातले जलाएर लेखक हुनुको मौलिकतामा दरवार खडा गरेकी थिइन्, यो कुनै चानचुन कुरा होइन आफैँले जन्माएको कृति आफैँले जलाउन सक्नु ?

कवि भूपीले आफैमाथि सेल्फ पोट्रेट लेखेर  व्यँग्य गरे । त्यतिवेलाको आफ्नो शक्तिलाई  सत्तामा बदले । नेपाली भाषामा त्यस किसिमको आँट त्यसअगि कसैले गरेका थिएनन् 

यी दुई लेखकीय घटनाले साहित्यिक जगतमा जुन थिरकन ल्याएको थियो, त्यो अझै भूकम्पशाली भयो जब निबन्धकार शंकर लामिछानेले “ .. म लेखक हुँ या इन्टरप्रेटर ? ” भनेर हाइभोल्टेज प्रश्न उठाए । जवाफ उनैले दिन सकेनन् अरुले दिने कुरै भएन ।

मौलिकताका भ्रम बनाइराख्ने र पहिले लेखिसकेको कुरालाई दोहोर्याएर फेरि स्रष्टाको पद दावी गरिरहने संसारका धेरै लेखकले ठूल्ठूला मानसम्मान र पुरस्कार पाएपछि औपचारिक भएर माइक्रोफोनमा बोल्दा भन्ने गरिन्छ,  यो कृति कुनै नयाँ होइन ..यही समाजको उपज हो म त मात्र माध्यम हुँ । यो तपाइँहरू बीचबाटै मैले लिएको हुँ वा लेखिन मात्र बाँकी थियो । ...

लेखकले यति भन्ने आँट इमानदारीपूर्वक पहिल्यै कहिले गरेको हुँदैन जब ऊ साँच्चै  सामान्य भनिएको लेखक भन्दा बढी चिनिन थाल्दछ, अनि ऊ मौलिकताको भ्रम गर्न छोड्छ ।

चर्चा, पुरस्कार, सम्मान वा अभिमानको रथारोहण गरिरहेको वेला लेखकलाई आफ्नो सत्ताको अनि स्वामित्वको डरले पनि सत्य बोल्न आत्मानुमति हुँदैन जसका कारण ऊ हरेक कृतिमा यो कृति मेरो अघिल्लो भन्दा पृथक छ भनेर  दावी गरिरहन्छ, वा आजसम्म यस्तो किताब लेखिएको छैन, भनिटोपल्छ ।

यो डर वा भय, ऊसित त्यो वेलासम्म कायमै रहन्छ, जबसम्म ऊ आफ्नै अगाडि अरुबाट नाङ्गिएको हुँदैन । विटनिक कवि एलेन्स गिन्सवर्गले आफ्नो कविता 'मान्छे नाँगो छवाचन गरिरहँदा वारम्बार सभा हलमा उपस्थित व्यक्तिले  मान्छे कसरी नाङ्गो छ, पुष्टि गर भनेपछि उनी ई यसरी  नाङ्गो छ,’ भनेर आफ्नो पाइन्ट खोलेर नाङ्गै बाहिर हिँडे ।

उनको यो सर्वथा नौलो प्रयोगलाई कसैले अभद्रता भने, कसैले पौरुषता भने, कसैले दुस्साहस भने तर मिडियाचक्रमा आज पनि यसलाई ठूलो आँटको संज्ञा दिइन्छ । उनको यो निजी प्रदर्शनलाई आचार्य रजनीशले आँट होइन, कायरताको संज्ञा दिए त्यतिवेला ।  उनले भने कवि गिन्सवर्ग डर छेरुवा रहेछन्, आफू पुरुष हो कि होइन भन्ने थाहा पाउन पनि उनलाई त्यत्रो मान्छेको साक्षीकरण  चाहियो 

रजनीश स्वयम्ले उठाएको यो तर्क पनि डर कै उपज हुनगयो पछि । सत्ता साक्षेदारीमा  । मराठीभाषाका प्रसिद्ध नाटककार महेश एलेन्कुञ्चवारले आफ्ना प्रतिस्पर्धी विजय तेन्डुलकरको सत्ता हल्लाएपछि लेखेका थिए, एक पात्र मार्फत् ;“ लेख्नुको आवेगमा हामी केवल अघिल्लोको पाइला मेट्दै पाइला मात्र पछ्यारहन्छौँ, मौलिकता त्यहाँ कहाँ छ र, यो त केवल आवृत्तिभर मात्र हो । ..

समलैँङ्गिकता र यौन शोषणका  वारेमा आफ्नो लेखनले चुलिएका एलेन्चुञ्चवारलाई आफूभित्रको यो डर तोड्न वा आफूमाथिको मिथ्या सत्यता बोल्न करीब पैँतीसवर्ष लागेको उनी स्वयम्ले दावी गरेका छन् । डर यति मात्र हो, कोही भन्न सक्छन्, कोही भन्न खोज्छन् वा कोही भन्नै नसकी जान्छन् ।

काफ्का, देवकोटा, पारिजात, भूपी, शंकर वा एलेन्सगिन्सवर्ग यसैका प्रोक्सी पात्र हुन् , कोही बोले कोही बोलेनन् ।

काफ्काका वारेमा भनिन्छ कि उनले  जीवनभर मनुष्यका वारेमा लेखिरहे र त्यो मनुष्य स्वयम् उनी नै थिए भन्ने उनलाई कहिले थाहा नै रहेन । काफ्काको स्वयंआफ्नो विस्तारमा सारा मानवतालाई समेट्दथ्यो, तर काफ्काभन्दा कम कलाकारका लागि यही स्वयंउनको एउटा सीमा पनि हुन सक्दछ ।

काफ्काले आफ्ना परमप्रिय मित्र म्याक्स् ब्रडलाई देहान्तपूर्व निर्देशनात्मक पत्र लेखे, मेरा अप्रकाशित कृतिहरूका पाण्डुलिपि जलाईदिनू । उनले यो आदेश त्यस्ता मान्छेलाई दिए जो उनका एकदमा विश्वासिला थिए, जो उनलाई खूब माया र आदर गर्थे जो यस्तो काम कदापि गर्न सक्दैनथे । म्याक्स् ब्रडले त्यो काम गरेनन् पनि । अन्त वेलामा पुगिसकेर मनमा सबै अहम् ध्वस्तन्यस्त भइसकेको परिस्थितिमा  काफ्काले निक्कै हिम्मत गरेको यो घटनाले उनमा बारम्बार आफू पुनरुक्ति भइरहेको तडपन प्रशस्त देखिन्थ्यो ।  जीवनमा यस्तो घटनावली हुने काफ्का पहिलो स्रष्टा होइनन्, अरुमा पनि भएको छ, हाम्रा देवकोटाले पनि शान्त भवनको अस्पतालको शय्यामा पुगिसकेपछि आफ्ना निकटवर्ती  हरि श्रेष्ठलाई यही आग्रह गरे, ‘मुनामदन बाहेक मेरा सबै कृति जलाइदिनू । ..ब्रडले जस्तै हरिले पनि सशर्त आग्रह स्वीकारेनन् ।

आजसम्म नेपाली भाषामा देवकोटालाई चिनाइरहनु नपर्ने तर सँधै चिनाइने कृति हो, मुनामदन । प्रकाशनको इतिहासमा सर्वथा सबैभन्दा बढी विक्री भएको मानिने यो कृति प्रकाशन हुँदा नेपालभाषी पाठकका निम्ति नौलो उपहार भए पनि नेवार भाषा जान्ने र बुझ्नेका निम्ति यो नौलो खुराक थिएन । वा नेवारभाषाको चर्चित लोककाव्य 'जि वयाः लच्छि मदुनि' सुनिसकेका र गाइसकेका भावकका निम्ति यो कुनै नूतन अनुभव ठहरिएन तर आज पर्यन्त पनि देवकोटा मुनामदनका पर्याय बन्न पुगे । त्यति मात्रै होइन देवकोटा कै यही शैलीमा ग्राम्य परिवेश, स्थानान्तरणको घाउ, निम्नमध्यम वर्गको संघर्ष र गरीब जीवनको अनुपम प्रेमको कोष्ठकभित्र  कैयन् गीति नाटक लेखिए ।

हामी केही नयाँ लेख्दैनौ सबै पुराना कुरा दोहोर्याउँछौ, अग्रजलाई पछ्याएर कलम चलाउँछौ, अब मौलिकता भन्ने कुरा लेखनमा छैन भन्ने गरेको र भनेको वर्षौँभएपनि लेखिने काम यथावत् जारी छ ।

गौरी शंकर नाट्य परिवारको आग्रहमा इब्सेनको जस्तो नाटक चाहियो भनेपछि रिमालले मसान लेखेको सर्वसत्य स्वीकार्य छ । ओसामा दोजाइको जस्तो उपन्यास हाम्रो साहित्यमा पनि चाहियो भनिएकै वेला शिरीषको फूल फुलेको हो । नेपाली साहित्यबाट नोबेल पुरस्कारको निम्ति प्रस्तावित माधव घिमिरेको 'अश्वत्थामा' भन्दा धेरै पहिले नै भारतवर्षमा धर्मवीर भारतीले यही विषयमा 'अन्धयुग' लेखिसकेका थिए । अब यसपछि पनि अश्वत्थामा माथि नाटक, उपन्यास काव्य फेरि लेखिएका छन्, लेखिँदै पनि छन् फरक फरक विषयमा । यो पनि कायमै छ,  यो अटुट छ ।

म मफलर भएको भए र म कमिज भएको भए, एकै समयका दुई कविले लेखेको दुई कविता भए पनि विषयवस्तु दोहोरिएको मात्र भन्न मिल्दैन । कटुवालको 'कति कति आँखाहरु बाटो छेक्न आउँछन्,' नेपाली गीतमा कतिपटक उनी पछि आएका गीतकारले पनि त्यो छेको हालेका छन् । कतिपटक कटुवाल स्वयम् पनि मन त फलामकै भए हुन्थ्यो भन्ने कवितामा साहिर लुधियानवीको दिल अकेला शिकारी दोहोरिएका छन् ।

देवकोटाको सुन्दर शान्त विशाल नेपाल पढेपछि मात्र हामीलाई गाउँछ गीत नेपाली सार्थक लाग्छ । बँगालीभाषाको साझा संस्कृति र भाषा बुझ्नेका निम्ति दार्जीलिङले आज जे सोच्छ, नेपालले त्यो भोलि गर्छ भन्ने समको उक्ति बँगाली लोकगीतमा सुनिसकेको जस्तो लाग्छ । यो नराम्रो होइन, तर आफ्नै भनेर दावी गर्नु चैँ अपराध हो । शंकर लामिछानेले भन्दा पहिले जीवनलाई प्याजसित हरमन हेस्सेले तुलना गरिसकेकाछन् । बीपी कोइरालाले भन्दा पहिल्यै कारिन्दाको मृत्युको स्केच अनेपाली भाषामा पनि त छ 

भारतका एक चर्चित लेखक सुरेन्द्र मोहनले आफ्ना अग्रज मोहन राकेशका पद पछ्याउँदै त्यही लेखे जे जे राकेशले लेखकाथिए, राकेशले संस्कृतका महाकवि कालिदास माथि 'आषाढ का एकदिन' लेखे उनले पनि 'आठवाँ सर्ग' लेखे, राकेशले बुद्ध माथि 'लहरोँ के राजहंस' लेखे, उनले पनि 'सूर्य की अन्तिम किरण से सूर्यकी पहले किरणतक' लेखे, राकेशले आधुनिक जीवन माथि 'आधे अधूरे' लेखे उनले पनि 'नायक, खलनायक, विदूषक' लेखी छाडे । राकेशले पाएको जस्तै पुरस्कार उनले पनि पाउँदै गए । राकेशले 'अँधेरे बन्द कमरे'मा साहित्य एकेडेमी अवार्ड पाए, सुरेन्द्रमोहनले पनि 'मुझे चाँद चाहिए' लेखेर त्यही पुरस्कार पड्काए । राकेशको देहान्त भए पनि सुरेन्द्र मोहनले केही लेख्न सकेका छैनन अहिले सम्म ।

अग्रजलाई पछ्याउने वा दोहोर्याउने परम्परा विदेशमा जस्तै नेपालमा पनि यथावत् छ , अहिले चर्चामा आएको मोक्षान्तः काठमाण्डू फिभर शैलीका निबन्धकथा लेखेर बीसवर्ष अगि चर्चामा आएका कथाकार दिनेश सत्यालले डायमन् हारवरलाई मेरो सलाम, चिहानघाटबाट वा सिमावारि सिमापारि को अछुत आकर्षण कायमै राखे । उनले नयाँलाई स्पेश दिन चाहन्छु भनेर शंकरीयशैलीमा सन्यास लिएपनि उनको लेखनको धार बगिरहेकोछ आज पनि । नेपाली साहित्यमा पहिलो विदेशी पुरस्कार डोयेचेवय्ला पाउने कथाकार सत्यालको शैली साँच्चै नै नवागतले बचाएकै छ, आजकालको अखबारको कथाकारितामा ।

नयाँ लेख्छु भनेर आएका लेखकलाई होस् वा नयाँ लेख्दैछु भन्ने लागेका लेखकलाई पनि पूर्ववर्ती लेखकको प्रेरणा वा अनुशरण चाहिन्छ । त्यसो भनेर भीमनिधि तिवारी र हरिहर शास्त्री जस्तो अरुको प्रभाव पर्ला भनेर कहिले कसैको कृति नपढ्ने लेखक हुनु पनि ठीक होवोइन ।

प्रेरणा लिने क्रममा नक्कल गर्नु वा चोरी गर्नु भएन जसले गर्दा लेखकको सिर्जनशीलतामा कुनै पनि वेला सुख्खा (क्रिएटीभ फ्लश) हुनसक्छ, त्यसबाट चैँ लेखक सावसचेत हुनु जरुरी छ ।

भारत सरकारद्वारा सन् २००५ मा नोबेल पुरस्कारका निम्ति नामित हिन्दी भाषाका  उपन्यासकार निर्मल बर्मा सदैव भन्थे, “हरेक लेखकमा आफ्ना पूर्ववर्ती लेखकहरुको प्रभाव पर्दछकुनै शब्द, कसैको कविताको पंक्ति, कुनै पुरानो पढिएको कहानीभिन्नाभिन्नै दिशाबाट आएका अनुगुञ्जहरु एउटा अनौठो रचनाअनुभवमा आर्को जन्म लिँदै जान्छ ...त्यो बच्चाजस्तै जसको चालले उसको बाबुको याद दिलाउँछ ।

बर्माको यो भनाई उनको सर्वाधिक चर्चित कृति धुंधसे उठती धुनको पृष्ठ १९१ मा सगर्व  पढ्न पाइन्छ । कति मीठो र शाश्वत छ, उनको यो भनाई । चौधवर्ष अगि यो पंक्ति पढ्दा म तरङ्गित भएको थिएँ, उनी मेरो प्रिय लेखक हुनुको कारणले पनि । तर उनलाई पनि थाहै भएन छ, त्यो भन्दा पचासवर्ष अगि स्पेनिश भाषामा लेखिएको होर्खे लूई बोर्खेसको लैबरिन्थ्स् को २३६ पृष्ठमा यही पंक्तिको पहिलो लाइन यसरी नै प्रकाशित छ, “सत्यता के हो भने हरेक लेखकले आफ्ना पूर्ववर्ती लेखकलाई रच्दछ । उनको कार्यले हाम्रो अतीतको संरचनालाई सुधारीकरण गर्छ, जसरी यसले आगतलाई सुधार्न सक्छ । .

काफ्का र उनका पूर्ववर्ती शीर्षका  बार्खेसले लेखकको सम्बन्ध, स्पर्धा र समीकरणका वारेमा चर्चा गरेकाछन् जसरी महाकवि देवकोटाले लेख्न सिकाइमाग्न आएका आफ्ना शिष्य शंकरलाई भनेका थिए, “रिपीटेशन अन द सेम वर्क अफ लाइन ह्याज् नो मिनिङ, भनेको एकसाठ्ठीवर्ष पछि पनि हामी त्यही बाटोमा छौँ । काफ्काको बाटोबाट आएका  बोर्खेसका एकेक पढेर नयाँ कीर्ति लेख्ने पाउलो कोहेलो होस् वा काफ्कामाथि बारम्बार पुनर्जीवित भइरहने जापानी लेखक हारुकी मुराकामीको नयाँ कृति लाई बुकस्टलमा पर्खिरहेका हाम्रा आँखाले त्यही पंक्ति सम्झिन जरुरी छ,..

न किञ्चित नूतनम बस्तु वयम् उत्प्रेक्षितुँ क्षमाः

वाचो विन्यास वैचित्र्य मात्रम् अत्र विधियेताम्

(जयन्त भट्ट )

हामीहरु कुनै पनि नयाँ कुरा लेख्न समर्थशील छैनौँ , यो लेखाईमा शब्दको विन्यासको विचित्रता नयाँ गर्न सक्दछौँ अर्थात् विषयवस्तु पुरानै हो,शैली मात्र नयाँ हो ।

०००

Comments

prakash sayami

Thanks Basu ji for publishing it .. this is complete version fo this areticle 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |