पासवर्ड
शिवप्रकाश, (बोष्टन)
त्यो दिन पनि दिन नियमितरुपले नै ढल्दै थियो । कुनै पहाडले छेकेको छैन त्यो विरानो आकाशलाई । हुन त यहाँ न पहाड नै छन् न पहाड जस्ता मान्छे नै, स्थिर र धैर्य । अनि विशाल मन र विचार भएका !
खुला आकाशले सिउँदोमा सिँदुर भर्न थालिसकेको छ । पश्चिमी क्षितिजको चहकमहक नै बेग्लै छ– मनै बहलाउने ? पहाडका छाती चिरेर बगेका वयस्क नदी जस्तै अलौकिक अनुभूतिका नदी शरीरभित्र बगिरहेका छन् । चाहानाका मूलहरु एकनासले फुटेका छन् ।
‘समर’ सुरु भएको छ । जुलाईको हल्का गर्मी ! तर बोस्टनको वातावरण– टुङ्गो छैन, एकछिन पछि के हुन्छ ? जे होस्, आज अचम्मै राम्रो छ मौसम । भरखरै सिमेटरी पुगेको छु । यो त्यही सिमेटरी हो जुन उसले भनेकी थिई । अहिले मेरो आँखा धेरै अनुहारमा डुलिरहेकाछन् तर कुनै अनुहारमा अहिलेसम्म अड्किएका छैनन् ।
हुन त देखेर पनि के गर्ने ? अनुत्तरित प्रश्नको बिटो बोकेका आतुर आँखा निरन्तर दौडिरहेका छन्– यहाँका मान्छेजस्तै हतारमा ! एकदमै हतारमा ! मलाई थाह छ– शार्ली ! तर चिन्ने कसरी ? उसले भनेकी थिई– ......यही हो तिम्रो ‘पासवर्ड’ अर्थात.... !
सिमेटरीमा अनौठो चहलपहल छ । निरन्तर दौडिरहेको समयभन्दा छिटो मेरा निरन्तरताहरु दौडिरहेका छन् । एकतमासले निरन्तर खोजिरहेछन् मेरा आँखाले एक अनुहार । थाह छैन कस्तो छ त्यो अनुहार ? अर्थात छ कि छैन ?
उसले भनेको सम्झन्छु– “मनका आँखाले तिमीलाई मैले धेरैचोटी हेरिसकेकी छु । तिमीले मलाई चिन्नु पर्दैन । म पासवर्ड सोध्ने छु, जवाफ दिनु ।”
मनमनै सोच्छु– “सिमेटरीमा यति धेरै मान्छे ! कतै भूत त हैनन् यी ? यो सम्पूर्ण जमात कतै अमानवीय जमात त हैन ? धरती थोत्रिएर कतै मनुमेण्ट मुनी रोपिएका मान्छे उम्रिएका त हैनन ?”
फेरि सम्झन्छु– “सिमेटरीमा अनौठो शान्ति मिल्छ भन्ने कुरा । त्यसैले मानिस यहाँ आउँछन् ।”
यसै पनि संसारमा सबैभन्दा बढी ‘मेन्टल प्रब्लम’ भएको मुलुक हो अमेरिका । यहाँका मान्छेका लागि समाधि नै शान्तिको सागर बनेको छ । अन्ततः खोलो गएर सागर मै मिसिन्छ । जीवनरुपी खोलाको गन्तव्य यही रहेछ भन्ठान्छु तर म भने झन् अधीर, व्याकुल र गरुङ्गो भएको छु ।
एकमनले सोच्छु– “त्यस्तो पनि होला कहीँ ? जस्तो मैले सोचेको छु ! यो संसारमा सायद कुनै शार्ली नै छैन ! शार्ली मरेकी पनि छैन । मर्नका लागि जन्मनु पर्छ । जसरी भेटाउनका लागि हराउनु पर्छ । न शार्ली जन्मेकी छे, न शार्ली हराएकी छे !” एउटा निश्कर्षमा निकाल्छु– “हो, धेरै मान्छे जस्तै म पनि भ्रमपीडामा बाँचेको छु ! सपनाको चिहान खोतल्दै यहासम्म किन आँए होला ! कतै बाटो हिड्ने निहुँमा बाटो उल्टै ममाथि हिडिरहेको त छैन ?”
“हैन शार्ली यतै कतै छे नत्र उसले यही सिमेटरीको नाउँ किन लिन्थी ? किन यहीँ बोलाउथी ? शार्ली अवश्य भेटिन्छे ।” मनमनै बातमार्छु ।
धेरै अनुहारमा मेरा दृष्टि दौडिरहेका छन् । धेरै आवजहरु हावामा उडिरहेहका छन् । ती मध्ये एक आवाज एकाएक मेरा कानमा ठोकिन्छ विजुलीको पोलमा ढुङ्गो ठोक्किए जस्तो ! आँखा त्यही टक्क अडिन्छन् ।
“हलो सनसाईन !” ठ््याक्कै उही शब्द ! उही आवाज ! उही लवज ! उही स्वर ! धेरै दिनदेखि देख्न थालेको सपनाहरु मेरा आँखामा एक्कासी दौडन थाल्छन् । सपनाकी एकलपात्र शार्ली एकाएक नाच्न थाल्छे यी आँखामा ! छिनमै मेरा आँखा उसका आँखामा मिसिन्छन् । अनि एकछिन पछि चार आँखाबाट मेरा दुई आँखा छुट्टिएर सिधै उसको सुकुमोल छातीमा गएर गाडिन्छन् केकमा नाइफ गाडिए जस्तो ! आखिर लोभी आँखा न हुन्, प्रायः सबै लोग्नेमान्छेका जस्तै मेरा पनि !
फूलको सुन्दरता टपक्क टिपेर फक्रेका छन् छातीमा वैंशका विम्ब ! मेरा आँखा त्यसैमा रमाइरहेका छन् । आँखासँगै मेरा पाइला त्यो आवाजतिर तानिन्छन् । छातीमा अड्किएका आँखा विस्तारै ओरालो लाग्दै पिँडुलातिर पुग्छन् । बग्दा बग्दै नदी टक्क रोकिए जस्तै रोकिन्छन् मेरा आँखा ती सुँडौल पिँडुलामा । छुँदै हातको मैलो टाँसिएला जस्तो त्यो सुकुमारी शरीर ! कुनै राजकुमारी जस्ती देख्छु म उसलाई ।
यहाँनेर म एकपटक फेरि दुविधामा पुग्छु । नारीवयका वैभव ! लाजका ती गहना ! थाह छ मलाई– वैंशका ती वैभव नै नारीवयका अमूल्य गहना हुन् । जीवनपर्यन्त यी अमूल्य नै रहन्छन् तर यो थाह छैन– अमूल्य वस्तु लुकाउनु पर्छ वा देखाउनु पर्छ ? उसले तिनलाई लुकाएरै तिनको कौतुहलता बढाएकी छे । ऊ अमेरिकी नारी हो तर यसबेला म केही नेपाली नारीहरुको कल्की अवतार सम्झन्छु । जसका उदाङ्ग अङ्गमा पुरुषआँखा ठोक्किएर झुक्न वाध्य भएको पनि देखेको छु र भोगेको पनि छु । यो भोगाइको मेसोमा ऊ एक अनौठी प्रतिनिधिपात्र भएर उभिएकी छे ।
मैले उसलाई मेरो नाउँ प्रकाश र प्रकाशको अर्थ बताउँदा उसले भनेकी थिइ– म तिमीलाई सनसाईन भन्छु । प्रकाशको सोझो अर्थ जान्न खोजेकी थिइ, पछि उसले त्यसलाई आफ्नै अर्थ लगाई– सानसाईन ।
म धेरै सपनाहरु भुल्छु तर यी पछिल्ला सपना पटक्कै भुलेको छैन । भुल्नै नसक्ने छन् ती सपना । तिनै सपनाका चिहानहरुमा डुल्दै छु । मनुमेन्टमा कुँदिएका अक्षरहरुमा उसका आँखा गाडिएका छन् । म छेवैमा पुग्छु ।
“पासवर्ड ?” प्रश्नसूचक बोली निकाल्छे । म पासवर्ड बताउँछु । मन्द मुस्कानको मीठो सुवास छर्छे– हुरुक्कै पार्छे ।
“मिस्टर सनसाइन ! यहाँ मेरो विगत गाडिएको छ ।” बोलीमा बिट मार्छे । आँखाले माथि डाँडातिर संकेत गर्छे । म उसँगै उतै लाग्छु । चुपचाप छे ऊ । हातले हातको साथ माग्छे । म पनि चुपचाम उसको हातलाई आफ्नो हातको साथ दिन्छु । मौनतामा सबै भइरहेछ । सिमेटरीको उकालोसँगै म मित्रताको उकालो चढ्न थाल्छु । मित्रता भन्दा पनि प्रेमको उकालो ठान्छु म त्यसलाई । निक्कै ठाडो छ त्यो उकालो । सिँढी नै सिँढी ।
सुनसान छ माथि डाँडामा । फूलहरुको महकले मादक बनाएको छ ‘समर’को वायुलाई । यौवनका विम्ब ओढेर रंगीचंगी फूल फूलेका छन् । चराचुरुङ्गी संगीतमय आवाजमा प्रेमका गीत गाइरहेका छन् । मानौ प्रकृति आफैं दुलही जस्तै सजिएर बसेकी छे । हावाको हल्का लहरसँग ठोक्किदा प्राप्त हुने रोमाञ्चकता बेग्लै छ । साच्चीकै प्रेमको आवृत्तिले ढपक्कै ढाकिसकेको छ मलाई । शार्लीको समीपताले मलाई मबाट खोसिसकेको छ । सुटुक्क मेरो मन चोरेर लगिसेकेकी छे उसले ।
चेरीको फेदमा अडेसा लाग्दै लामो मौनतालाई एक्कसी भत्काउँदै भन्छे– “मिस्टर सनसाईन... !” त्यतिमै बोली बन्द गर्छे । म मौनतामै मुस्कुराउँछु । उसका आँखासँग बात मार्न खोज्छु । आफ्ना आँखा उसका आँखामा बिसाउँछु । मादक मौनताको महक छर्दै फूलजस्तो मुसुक्क मुस्कुराइ दिन्छे ऊ । साच्चिकै फूल जस्तो ! शीतविन्दुका मोतीदाना सिउरेर फक्रेको सयपत्री जस्तो देख्छु म उसलाई ! माहुरी जस्तै मोहित हुन्छु म । मग्न हुन्छु । निमग्न हुन्छु । भित्रभित्रै पल्लवित हुन्छु ।
ढकमक्क चेरी फुलेको छ । हरियो घाँसमाथि फूलको ओछ्यान ! भुइँभरी खसेका चेरीफूलले बुट्टे गलैंचा ओछ्याए जस्तो बनाएको छ जमीनलाई । ऊ त्यसैमा लमतन्न हुन्छे । आँखा चिम्लिन्छे । निस्फिक्री छोडिदिन्छे हातगोडा । लामो शास तान्छे । विस्तारै मेरा हात सुम्सुम्याउँन थाल्छे । असरल्ल कपालभित्र लुकेको उसको अनुहारमा म ती फूलका रंगहर देख्न थाल्छु । मन हुँडल्ने त्यो इन्द्रणी रंगमा म हराउन थाल्छु । मधुर कल्पनामा चुर्लम्म डुब्छु । अझै मौन छु म । मौनताभित्रको त्यो रोमाञ्चकताले सुस्तरी मेरा आँखामा पर्दा लगाउँदै छ । विस्तारै म पनि आँखा बन्द गरिदिन्छु र मनमनै भन्छु– आहा, धरतीको यो स्वर्ग !
तल मान्छेको दोहोरीलत्ता थियो । यहाँ कोही छैन, ऊ र म बाहेक । यो समय यसरी नै यही टक्क रोकिए हुन्थ्यो जस्तो लाग्छ तर विडम्बना ! मैले सोचे जस्तो कहिले, के नै भएको छ र ?
मौनताको बाँध निक्कै लम्बिसकेको छ । शून्यताको आयतन झन ठूलो छ । त्यही शून्यता र मौनतामै मनले मनसँग बात मारिरहेछ । त्यही शून्यता र मौनताभित्र अलौकिक आनन्दको अपूर्व अनुभूत भइरहेछ । सुसुप्त संवेदनाहरु भित्रभित्रै तरङ्गित भइरहेछन् । ती तरङ्गसँगै अनौठा भावहरु जुर्मुराउँन थालेकाछन् । मेरो मस्तिष्कमा गाडिएर बसेका कयौं अनुहारहरु शार्लीको अनुहारमा अनुदित हुन्छन् ।
“आज मैले .....!” ऊ केही बोल्न खोज्छे तर धाँटीमा केही अड्किए जस्तो अचानक रोकिन्छे । म आँखा खोल्छु । ऊ कुन लोकमा छे थाह छैन– उसका आँखा अझै बन्द छन् ।
म एकतमासले उसलाई हेरिरहेको छु । उसँग बोल्नु, उसलाई हल्लाउनु, चलाउनु, गिजोल्नु, हुडल्नु भन्दा समीपमा बसेर मौनतामै मनका आँखाले एकहोरो हेर्नुमा मलाई अनन्त आनन्दको अनुभूति भइरहेको छ । टिलपिल तलाउमा तैरिएको दिशाहिन डुंगा जस्तो अनुभूतिको सागरमा म मनको डुंगामा तैरिरहेको छु ! मस्तिष्कमा प्रेमसौन्दर्य फक्रक्क फक्रिएको छ । त्यो प्रेमिल सौन्दर्यपानको जिजीविषा भित्रभित्रै झनझनै वढ्न थालेको छ ।
ऊ विस्तारै मेरो हात आफुतिर तान्छे र चुम्बनको गहिरो अनुभूतिमा मलाई एकछिन् डुवाउँछे । कुनै नराम्रो सपना भङ्ग भए जस्तो एक्कासी झसङ्ग भएर जुरुक्क उठ्छे । मलाई डो¥याउँछे । त्यहाँभन्दा माथि आकाशमात्र छ । अब ओरालो झर्नु छ । म पछिपछि लाग्छु । आफूसँगै मलाई पनि झार्छे ।
ऊ कसैका अनुहारमा हेर्दिन । मलाई डो¥याउँदै पार्कबाट निकाल्छे । साँझ झमक्क छ । सडकका बत्तीमा उसको आभारुप बत्तीभन्दा उज्यालो देख्छु । अलिपर सडक छेउ गाडी पार्क गरेको छ । टलक्क टल्केको कालो हम्मर गाडी ! कालै सिसा ।
हामी दुबै गाडीमा बस्छौ । गाडी हुइँकिन्छ । मेरा आँखा घरी उसका आँखासँग ठोकिन्छन् घरी आगाडिका दृष्यसँग । मुसुक्क मुस्कुराएको उसको अनुहारमा सुन्दर फूलको सजीव विम्ब चल्मलाएको देख्छु । हेराइमा कस्तो मधुर मादकता ! म तीनै मादक नयनतालमा बेलाबेलामा तैरिरहेको छु ।
“अमेरिका ! संसारको सबैभन्दा सुखी मुलुक तर यहाँ भित्रको दुःख भोग्नेलाई मात्र थाह छ । यहाँ सबैथोक भएर पनि मान्छेसँग केही छैन । लोग्ने हुनेको स्वास्नी छैन । स्वास्नी हुनेको लोग्ने छैन । आमा हुनेको बाउ छैन । बाउ हुनेको आमा छैन । सबै छ तर जे आवश्यक छ त्यो छैन । हरेकका बीचमा लामा र गहिरा तनावका रेखा छन् ।” ऊ यस्तै केही मार्मिक यथार्थहरु ओकल्छे र फेरि चुपचाप हुन्छे ।
मूलबाटो छोडेर गाडी वस्तीतिर मोडिन्छ । केहीबेर ‘अफरोड’मा मच्चिदै एकैछिन पछि ‘डेड इण्ड स्ट्रिट’को छातीमा गाडी रोकिन्छ । ओरिपरी जंगल जस्तो छ । बीचमा चिटिक्क परेको सानु घर । ऊ लामो शास तान्छे । मानौ उसले धेरैबेरपछि शास फेरेकी छे । लामो मौनतालाई भत्काउँछे– “बाइसौं शताब्दीका विम्बहरु मेरो मस्तिष्कमा नाचिरहेका छन् ।”
हामी गाडीभित्रै छौ । बाहिर अँध्यारो पोखिएको छ । उसको कुरा सुनेर मेरो लघु जिज्ञासा उतिर फर्काउँछु । “अर्थात ?”
“म सबै बताउँछु, हिड भित्र जाऊँ ।” रिमोटले स्वीच अन गर्छे– घरको ढोका खुल्छ । भित्र पस्नासाथ कोठामा मिहिन उज्यालो पोतिन्छ । ‘मोसन डिटेक्टिभ लाइट एक्टिभ’ हुन्छ– बत्ती बल्छ । बत्तिसँगै बोल्छे– “मलाई यस्तै मिहिन उज्यालो मनपर्छ ।”
एउटा घरमा एक्लै बस्छे ऊ । म फेरि एकपटक चकित हुन्छु । सोध्छु– तिमी एक्लै एउटा घरमा ?
“मयुर, मित्र र आफन्त एकै हुन् हेर्दा सबै सुन्दर र प्रिय लाग्छन् तर मयुर कतिबेला खुशी हुन्छ थाह छ ?” प्रश्नको एउटा झटारो हान्छे । “थाह छैन” भन्छु म ।
“जब आकाशलाई कालो बादलले निल्छ, मेघ गर्जन्छ र घनघोर वर्षाको घण्टी बजाउँछ । बुझ– मयुर, मित्र र आफन्त अनिष्ठमा रमाउँछन् ।”
उसको यो दर्शनिक विचार साच्चै हो जस्तो लाग्छ । म मेरो दुःखमा रमाउने आफन्त र मित्रहरु सम्झेर एकछिन् आफैंभित्र हराउँछु । यो कस्ती केटी होला ? यसलाई कोही मान्छे मन पर्दैन कि क्या हो भन्ठाछु र सोध्छु– “यसको मतलब तिमीलाई कोही मान्छे मन पर्दैैन ?”
“मन पर्छ तर मन परेको मान्छेको मन चिने पछि अनुहार पनि हेर्न मन पर्दैन । मैले यहाँका सबै मान्छेका मन चिनेकी छु । त्यसैले .... ।”
“त्यसैले के ?” म जिस्क्याउँदै सोध्छु
“त्यसैले तिमीलाई मन पराएकी हुँ ।” सीधा उत्तर दिन्छे उसले ।
निक्कै खुशी हुन्छु भित्रभित्रै । मेरो खुशी व्यक्त गर्न उसको हातमा एउटा लामो चुम्बनको उपहार चढाउँदै उसको पूर्ण परिचय माग्छु ।
ऊ संक्षिप्त परिचय दिन्छे– “म एक टुहुरी हूँ तर मेरा आमाबाबु जिउँदै छन् ।”
मलाइ अर्को प्रश्नसूचक आँधीले घुमाउँछ र सोध्छु– “टुहुरी ! के भन्न खोजेकी ?”
“जिउँदा बाबुआमाका टुहुरा सन्तान भएको मुलुक हो अमेरिका । म पनि त्यही मध्येकी एक हूँ । ड्रग र डिभोर्सले धेरै सन्तानलाई टुहुरा बनाएको छ ।”
एकछिन अघिसम्म रोमान्टिक मुडमा भएकी शार्ली जीवन खोज्दाखोज्दै जीवनसँग थाकेकी जस्ती भई । उसका आँखा रसाए । रसाएका ती आँखाका पानीले मलाई पनि कतकति रुझायो । बाहिर त्यति प्रफूल्ल, खुशी र सुन्दर देखिने मान्छे भित्रभित्रै कति दुःखी छे । आखिर दुःख कसलाई छैन ? म यस्तै यस्तै कुरामा हराइरहेको छु । ऊ पीडानुभूति ओकल्दै छ ।
“फर्सी हो यो देश ! बाहिरी दुनियाँलाई थाह छैन भित्रभित्रै कति कुहिइसकेको छ । म त्यही कुहिएको फर्सीको एक बियाँ हूँ । अमेरिकनहरुको प्रेम र सेक्स दुबै पशुवत् छ ।”
“पशुवत् प्रेम ?” म फेरि एकछिन् अड्किए र सोधे ।
“पशुले जस्तै भेट्ने बित्तिकै चाट्न थालिहाल्ने र अलिकति तलवितल हुने बित्तिकै लात्ती हानिहाल्ने । आवश्यक भयो प्रयोग गर्ने, प्रयोग पछि फालिहाल्ने । र त म एउटा मान्छेको खोजीमा थिएँ, आज भेटे जस्तो लाग्दैछ ।” यो मायिक यथार्थप्रति सहमतिको टाउको हल्लाउँदै भन्छु– “कसरी भन्छौ तिमीले भेटेको मान्छे असल हो भनेर ?”
“मैले भेटेको हैन, खोजेको हो । त्यतिकै भेटिदैन । भेट्नका लागि खोज्नु पर्छ । मैले पूर्वीय दर्शन बुझेकी छु । पश्चिममा रमझम र रमिता छ तर पूर्वमा रचना र सृजना छ । म निर्माण चाहन्छु ।” बोल्दाबोल्दै रोकिन्छे । वैंशालु नजर म तिर हुत्याउँछे ।
निक्कै फुर्किन्छु म भित्रभित्रै । मुस्कुराइदिन्छु एकनासले तर मेरा लागि लाटालाई पापा जस्तो भएको छ ‘पासवर्ड’ । त्यसको अर्थ सोध्छु ।
लघु उत्तरमा बिटमार्न खोज्छे– “यो सबै समयको आवश्यकता हो ।”
“अर्थात ?” म कुरा बुझ्दिन र तन्काउँछु ।
“अर्थात ! अब पासवर्ड बिना केही हुदैन । एटिएमदेखि मोवाइलसम्म, कम्प्युटरदेखि कन्टेनरसम्म, गाडीको ढोकादेखि घरको ढोकासम्म प्रेमदेखि र सेक्ससम्म पासवर्ड चाहिन्छ । एक्काइसौं शताब्दीको अभ्यास र वाइसौ शताब्दीको आवश्यता हो यो । समयले मान्छेको समय निलिसकेको छ । अब मान्छेको इच्छा मान्छेले हैन प्रविधिले पुरा गर्नेछ ।”
लाटाका आँखा केरामा अड्किए जस्तो मेरा आँखा धरैबेर उसका अनुहारमा अड्किन्छन् । उसका कुरा सुनेर म विम्ब नपाएर झोक्राएको कवि जस्तो हुन्छु । भुँइतिर आँखा गाडेर केही सोच्ने प्रयत्न गर्छु तर केही सोच्नै सक्दिन । ऊ उसैगरि लमतन्न बेडमा पल्टिएकी छे जसरी केहीछिन् अघि सिमेटरीमा फूलको बुट्टे गलैचामाथि निस्फिक्री पल्टिएकी थिई ।
आतिथ्य उही छ जुन सरदर अमेरिकी नारीहरुले गर्छन– रेड वाइन । वाइनको रमरमसँगै उर्लिएका वाफिला आँकाक्षाहरुसँग पौडी खेल्दैछु म । साँझ रंगीन भएको देख्न थालेको छु । उत्ताउला छालहरु उपद्रो मच्चाउँदैछन् भित्रभित्रै ।
ऊ भन्दैछे– “अब प्रेमी–प्रेमीका वा लोग्ने–स्वास्नीका बीच कम्प्युटर हुनेछ र सबैकाम अनलाईन र पासवर्डबाटै हुनेछ । प्रेमदेखि सेक्स र सेक्सदेखि सन्तानसम्म सबै । एक्काइसौं शताब्दीको अर्धस्वचालित मान्छे बाइसौं शताब्दीमा पूर्णस्वचालित हुने छ– यन्त्रवत् ।”
मेरो अनुमान भन्दा बाहिर जादैछे ऊ तर मेरो जिज्ञाषाले उसलाई पछ्याउँदछन् । सोध्छु– “कसरी ?”
“अब अर्को स्टिभ जब्स जन्मने छ ।”
कुहिरोको काग जस्तै हुन्छु म उसका यी भनाइमा र फेरि सोध्छु– “अनि ?”
“अनि, जब्सको नयाँ संस्करणले मान्छेको जीन र वीर्य कम्प्युटरबाट मान्छे र मान्छेबाट कम्प्युटरमा ट्रान्सफर गर्ने प्रविधिको विकास गर्ने छ । ‘एपल’को ठाउँमा सायद ‘चेरी वा बेरी’ बनाउने छ ।”
“अनि ?”
“ती सबै कम्प्युटरका मेमेरी र चीप्सहरुमा हुनेछन् र त्यसको उत्पादन चाइनाले गर्ने गर्ने छ ।” म एकतमासले उसको अनुहार पढिरहेको छु विस्तारै बुझ्दैछु त्यो अनुहारमा कुदिएँका अक्षर र अक्षरका भाषा ।
“आज मान्छे ‘बायोलोजिकल निड’का लागि ‘न्याचुरल सलुसन’ हैन ‘अनन्याचुरल प्ले’ गरिरहेको छ । लोग्ने–स्वास्नी, प्रेमी–प्रेमिका सबको परिभाषा बदलिदैछ । प्रेमको कुनै परिधि हुने छैन । अब प्रेम जति जनासँग पनि हुन सक्छ । त्यो प्रेममा जतिबेला, जहाँ, जे पनि हुन सक्छ । सेक्स त अहिले सबैभन्दा सस्तो भएको छ । त्यसैले न्यूयोर्कका सडकमा ओभरनाइट पार्किन निषेध गरिएको छ । गाडीमै सबैथोक हुन थालेको छ । प्रेमका दूर्गन्धहरु सडकमा छरपस्ट हुन थालेका छन् ।”
विज्ञानको कुनै नयाँ विष्णुपुराण सुने जस्तो भइरहेछ मलाई । ऊ त्यसरी नै पल्टिरहेकी छे । उसले लगाएको लुगा घुँडाभन्दा माथि सरेको छ । उसका ती गोरा, बाटुलावयमा अल्झिएका मेरा आँखा बेलाबेलामा उसका आँखासँग ठोक्काउँदै एक चित्तले सुनिरहेको छु उसका यी अद्भूत परिकल्पना ।
“मान्छेको विकल्प अब ‘सेक्स टोइज’हरु हुनेछन् । अब कसैले कसैलाई भेटेर, चिनेर, जानेर, बुझेर प्रेम गर्ने समय छैन । प्रेम अब सेक्सका लागि हुन्छ र जे हुन्छ अब सबै अनलाईन नै हुन्छ । त्यसैले पासवर्ड चाहिएको छ । लोग्ने कहाँ, स्वास्नी कहाँ ? प्रेमी कहाँ, प्रेमिका कहाँ ? प्रेमी– प्रेमिका, लोग्ने–स्वास्नीबीच सम्बन्धको सेतुका रुपमा एक पासवर्ड हुनेछ ।”
कति ठाउमा पासवर्ड नमिल्दाका अप्ठ्यारा सम्झेर सोध्छु– “पासवर्ड मिलेन भने नि ?”
“मिलेन भने लोग्ने–स्वानी वा प्रेमी–प्रेमीकाकोे अर्थ हुने छैन । ओछ्ुयान चिसै रहने छ । अमेरिकाका धेरै गाडीहरु दूर्गन्धित हुने छैनन् ।”
अर्को प्रश्नले चिमोट्छ मलाई– “चोरीको पनि त बिगबिगी छ । पासवर्ड कसैले चो¥यो भने नि ?”
“चोरले चोर्न पायो भने आफूलाई भाग्यमानी ठान्छ । त्यो चोर पनि भाग्यमानी हुनेछ । जसले चोर्छ उसैले सबैथोक.... गर्छ ! अब मान्छेले प्राय अनलाई हन्टिङ् मात्र गर्ने छन् ।”
“अनलाई हन्टिङ् ?” यो शब्दमा एकछिन रोकिन्छु । मेरा आँखाम झुण्डिएका प्रश्नवाचक चिन्ह उसले सायद देख्छे ।
“मैले यसको पहिलो प्रयोग तिमीमाथि गरेकी छु । मैले तिमीलाई अनलाई नै खोजेकी हूँ, अनलाईन बाटै तिम्रोबारेमा सबै पत्ता लागएकी हुँ । तिम्रो ‘एक्सन’ले तिम्रो स्वभाव देखाउँछ । मान्छेको ‘एक्सन’ नै विस्तारै स्वभाव बन्दै जान्छ । तिम्रो बानी, बेहोरा, रुची, क्रियाकलाप सबै अनलाईनबाटै हेरेकी हुँ । सबै कुरा ठीकै लागेपछि तिमीलाई ‘पासवर्ड’ दिएकी हँु ।”
“अर्थात ?”
“अर्थात, तिमीलाई चिन्नका लागि । तिमी त्यही मान्छे हौ कि होइनौ भनेर !”
बोल्दाबोल्दै ऊ रोमान्टिक मुडमा आई । मेरो हात तानेर विस्तारै उसका छातीमा हिँडाई । त्यो स्पर्शले धरती नै हल्लिए जस्तो भयो । बहिर जुनकीरीको उत्सव छ भित्र प्रेमोत्सव ! बाँच्नुको मजा यही रहेछ जस्तो लागिरहेको थियो तर खुशीको आयु कति छोटो ।
झल्याँस्स बिउँझिए ! बाहिर उज्यालोले अनुहार देखाउन थालिसकेको रहेछ । ओहो ! म त सपनामा सपनासँगै खेलिरहेको रहेँछु । धेरैबेर पछि बल्ल म आफैंसँग फर्किए । अनि धेरैबेर टोलाएँ ।
त्यो ‘पासवर्ड अझै मसँग सुरक्षित छ तर थाह छैन यो धरतीमा शार्ली छ कि छैन ?
जून १४, २०१२ बोस्टन, अमेरिका ।