हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कविता ! नाङ्गै पदार्पण मात्र गरी हेर ! !

- डा कविताराम श्रेष्ठ, (-)

भाषाको तरङ्गसँगै अभिव्यक्त भयौ ।  
मेरो मानसभित्र तिम्रो जन्म भएको छ ।  
कविता तिम्रो नाम भयो ।  
  
मानसपुत्री !  
नाङ्गै तिमी जन्मेकी छौ ।  
कुनैपनि आस्थाहरुले म तिमीलाई बेर्दै छैन ।   
नाङ्गै तिमीले स्वाभाविक बाँच्न पर्नेछ ।  
  
घामपानीबाट बच्न   
लुगा फगत लुगाका धरोहरुले तिमीलाई बेर्दैछु ।  
खवरदार !   
नग्नता ढाक्ने नाममा कुण्ठाहरु नउब्जियुन् ।  
नबिस्रनु कि लुगाभित्र तिमी नाङ्गै छौ ।   
नग्नता तिम्रो शास्वत स्वभाव हो ।  
नाङ्गो भूईंमा नाङ्गै पदार्पण गर ।   
  
तिमीले बाँच्नपर्ने देश र काल   
लुगासंस्कृतिका आदि छन् ।  
लुगा तिमी जति लगाउँछौ   
त्यति यीनले तिमीलाई नङ्गयाउँनेछन् ।  
नाङ्गोलाई यीनले के नङ्ग्याउला   
नग्नतालाई नङ्ग्याउने यीनका दुराग्रह स्वयं  
यीनकै कुण्ठित नग्नतालाई पर्दाफास गर्ने कारक बन्नेछन् …  
जहाँ यीनको अस्तित्वको पूरापूरा अवसान हुनेछ ।  
नाङ्गो भूईंमा नाङ्गै पदार्पण मात्र गरी हेर ।  
  
तिम्रो जन्म नै   
विस्थापनाबाट भएको छ ।  
कुनै पुरातन भाँडा वा भँड्खारोमा बन्द छैन ।  
कुनै बन्दी आयामको नियतिवद्ध छैन ।  
स्वाभाविक आयामहरुमा तरल बग्न  
तिमीलाई स्वतन्त्रता छ ।  
बच्ने बचाउने नाममा  
नाक कान आँखा वा स्पर्शहरु फेर्नपर्ने विवशता छैन ।  
परम्परागत रक्षाकवचको नाममा   
कुनैपनि पुरातन सूक्तहरुसँग   
सम्झौता गर्नपर्ने कर छैन ।  
खुइलिई सकेकाका मूल्यहरुका के कुरा   
कुनै पनि भुगोल वा काल तिम्रो व्यवधान हुने छैन ।  
हावा पानी बाटो घाटो नाक मुख आँखा कान भोजन आश्रय सबैसबै  
स्वाभाविक ढङ्गमा   
स्वाभाविक आयामहरुमा   
अनुकूलित स्वभावसम्मत हुँदै जानेछन् ।  
सम्पूर्ण मूल्यहरु स्वभावसम्मत बलात्   
तिमी अनुकूल बन्नेछन् ।  
तिम्रै अङ्गहरुको अनुकूलतामा समय बग्नेछ ।  
तिम्रै अङ्गहरुको अनुकूलतामा देश बग्नेछ ।  
तरल तिम्रो स्वाभाविकता- स्वभाववाद  
स्वभावतः सबैको आदर्श बन्नेछ ।  
सबै देश सबै कालका शास्वत तिमी   
हरदेश हरकालमा अजर हुनेछौ   
अमर नै हुनेछौ ।  
नाङ्गो भूईंमा नाङ्गै पदार्पण मात्र गरी हेर ।  

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |