युद्धपछि पनि मेरो गाउँ
अमृत सुबेदी , (पोखरा )
गाउँमा अधिकांश तन्नेरीहरु छैनन्
नूतन, संक्रमण समयमा
केही समय रोकिएका घामहरु छन्
ति घामहरु फेरी उदाएर
प्रकास दिने, ताप दिने
घामहरु हैनन् ।
गाउँमा अधिकांश तरुनीहरु छैनन्
कोपिलामै वेचिएका,
आफ्नैवाट बलत्कृत भएका
श्रीमान गुमाएका
युद्धपछि घर फर्किएका,
नामका पछाडी,
यो देश र समाजले दिएको उपाधि
याबत नामहरु जोडिएका
एकसरे महिलाहरु छन्
तर
मेरो गाउँमा तन्नेरीहरु पो छैनन्
मेरो गाउँमा तरुनीहरु पो छैनन्
मेरो गाउँमा बोल्न सक्नेहरु पो छैनन्
मेरो गाउँमा पहाड उचाल्ने बलिष्ट पाखुरीहरु पो छैनन्
तर
मेरो गाउँलाई विभाजित गर्ने गुट उपगुटहरु छन्
मेरी आमा र आमाहरुका नाङगो छातीमा
बज्रने बुटहरु छन्
मेरी बहिनी र बहिनीहरु अस्मीता लुट्ने
वाजहरु खुलेआम गाउँमै राज गरिरहेका छन्
मेरो गाउँमा हिजो मुकुट लगाएर
नकाव लगाएर राज गर्नेहरु थिए
आज खुलेआम राज गर्नेहरु छन्
साच्चै युद्ध पछि पनि मेरो गाउँ
दृश्यमा यस्तै छ
अवस्था उस्तै भयानक छ
उस्तै डर लाग्दो छ
पिडा अझै दर्दनाक छ ।
हो
अझै पनि मेरो गाउँको
मूस्कान फिरेको छैन् ।
अझै, मेरो गाउँको तरुनी वैंश,
र जोस पलायन छ ।
बाटाहरु उस्तैछन् ।
स्कुल, देवालय उस्तै छन्
घरहरु उस्तैछन्
मरो गाउँको यस्तै अवस्थामा
आज फेरी
एक हुल वुख्याँचा
केही नदेख्ने अन्धो
केही नसुन्ने बहिरो
र बहुला मान्छेहरुको समुह
महङ्गो एजेण्डा,
मिठा सपना र आश्वासन लिएर
गाउँ छिरेको छ ।