हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सहरमा जीवन गीत !

गीता त्रिपाठी, (काठमाडौं)

यी बचपन र जवानीका बीच

जवानी र बुढ्यौलीका बीच

यो सहर मै जस्तो रोगी, बूढो र असहाय बन्दै गएका बेला

तिमी निर्वासनबाट फर्किएकी छोरीझैँ

अकस्मात् आयौ यो सहरमा

 

रङ र कुची थियो तिमीसँग

थियो सबैभन्दा गाढा मुटुको रङ

र त्यही रङको प्रिय क्यान्भासमा

पोति दियौ प्रेमका अप्रतिम बान्कीहरू

 

जे जे गुमाएकी थिएँ

ती सबै तिमीले उस्तै गरी फर्काएकी छ्यौ

परेवाहरू खेलिरहेको चोक

साधुहरू हिँडिरहेको धाम

आनन्द बुद्धका विश्राम स्थल र

चलचित्र घरका रोचक चहल पहलहरू

 

नो पार्किङमा अडिएकी छु म

तिम्रा जीवन गीतका हरफहरू च्यापेर

यहीँबाट उँड्दै छन् परेवाहरू

यतै छेऊमा तन्किएका छन् जीवन टाँगिएका तारहरू

म सुकाउँदै छु धोएर हिजोको दाग

मभित्र एउटा आधुनिक धोवी चौर

घाम थापेर मुस्कुराइहेको छ

 

ट्युसन सेन्टरबाट भर्खर बाहिरिएकी म

घर जाने बाटोमा

अलिकति उज्यालो पर्खिरहेछु

दृश्यहरू आर्ट ग्यालरीझैँ सम्पन्न छन्

म आँखाभरि तिनै सम्पन्नताहरू बिसाएर उभिएकी छु

 

अनुभूत गरिरहेछु तिमीमा

कृष्ण मन्दिर, अलका सरावगी र डुब्दै गरेको घाम

मेरो हातमा छ उनैले हस्ताक्षर गरेको उपन्यास इक ब्रेक की वाद

कुर्ची ! म फेरि दोस्रोपटक यो सहरमा

तिमीसँगै जन्मिएकी छु एउटा लामो अन्तरालपछि

तिम्रो लिभिङ हेरिटेजलाई चियाउँदै

तिम्रै आर्ट ग्यालरीको बन्द झ्यालनिर उभिएकी छु

भन

कहिले मुक्त गर्छ्यौ तिमी मलाई ?

म अनगिन्ती प्रश्नहरू बोकर

सहरको किनारामा

एउटा सुझाव पेटिका झुण्डिरहेकी छु ।

 

२३ मार्च, २०१२

Comments

kumari lama

This poem of Geeta Tripathi touched me lot. I feel its for me may be many other readers too feel that. In my view the richness of this poem is to make readers feel that it is for them. Huge Congratulation!!!!! poet Geeta Tripathi...

शिव प्रकाश

कलमलाई गीताजीले हैन कलमले गीताजीलाई बगाउँछ । एक अर्को मीठो कविता ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |