गाउँको संझना
डा. दुर्गाप्रसाद अर्याल, (काठमाण्डौं )
सारा नेपालको दृश्य भित्र-बाहिर झल्मल
यसैको मोहनीमा म आफैं पर्दछु अल्मल
वन-पर्वत गाउँका दृश्यमात्र समीप छन्
मेरा जीवनका ऊर्जा ज्ञानका ती प्रदीप छन्।।१
अनेक काव्य संगीत हित-प्रित नयाँ-नयाँ
पाइन्छन् नर-नारीका धर्ममा-कर्ममा जहाँ
अनेक बाद छन् अन्त, गाउँमा साधुवाद छ
मेरानिम्ति यही आज आशीर्वाद प्रसाद छ।।२
प्रत्येक स्थलमा नौला सुनौला रुप-रङ्ग छन्
आफ्नै पौरखले बाँच्ने मान्छेमा कति दङ्ग छन्
यो नेपाल धरा-धाम रमणीय-पवित्र छ
थला-थला स्वयंपूर्ण कलाकोश विचित्र छ।३
गाउँको संझना जाग्दा मुटुको अन्तरालमा
थक्क-थक्क गरी बस्छु नगरीको बिहालमा
यो कोलाहलमा आज उच्च यो रक्तचाप छ
अपराधबिना कस्तो संताप र विलाप छ।।४
गाउँ र घरका दृश्य बेथा मर्म र बेदना
दुख-दुर्घटना-दर्द सराप-अपहेलना
उपहास र विश्वास आँसु औकाद आदत
टि.भी.का यी बनेका छन् मनोरञ्जन राहत।।५
कटक्क मुटु काटिन्छ यो व्यङ्ग्य उपहासमा
नक्कली सभ्यता देख्ता शहरीकृत दासमा
यहाँ पाइन्न सौजन्य अपराध अनेक छन्
तै पनि सिर्जना गर्ने कविका हात धन्य छन्।।६