हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

महायात्राको आधाबाटो

दीपक जडित, (हवाई, अमेरिका )


दन्त्यकथाका राजकुमारहरु जस्तै दुई जवान पौराणिक पुरुषहरुले समातेर मलाई माथि माथि लग्दैथिए । जब बादलको मादक सुगन्ध कपुर जस्तै मेरो नाकमा ठोक्कियो मैले तिनिहरुलाई सोधें, 'के म स्वर्गतिर लगिंदैछु?'
मेरो दाहिनेपट्टिको सुकुमारले भन्यो, 'स्वर्ग कुन ठाउँ हो? त्यो कहाँ छ?'
सामान्य आश्चर्यका साथ मैले सोधें, 'अहो! स्वर्गको बारेमा तिमीलाई थाहा छैन? स्वर्ग भनेको त्यहाँ हो जहाँ दुखको पहुँच हुँदैन । जहाँ ईश्वरहरु रहन्छन् । मानिसहरु पनि यदि असल छन् भने मरेपछि त्यहाँ लगिन्छन् ।'
'ए त्यसो हो?' उसले पनि स-आश्चर्य नै भन्यो, 'तिम्रो थोरै बयानमा धेरै कुरा लुकेको छ । छलफल गरौंला बिस्तारै | तर पहिले यो भन कि स्वर्ग यहि बाटो जान्छ भनेर तिमीलाई कसरी लाग्यो ?'
म निश्चित थिइँन र भनें, 'मलाई बादलको वस्ती कटाएर लगिंदैछ र स्वर्ग माथि नै हुन्छ होइन त?'
मेरो देब्रे पाखुरा समाउने अर्को सुकुमारले भन्यो, 'स्वर्ग कुन ठाउँ हो? त्यो कहाँ छ? हामी त जान्दैनौं । तर याद राख, जब तिमी यौटा लोक छोडेर हिंड्छौ, तिम्रो निम्ती कुनै तल हुँदैन; कुनै माथि पनि हुँदैन । तलमाथि, कोणहरु र दिशाहरु तिमीहरुले आफ्नो सजिलोलाई बनाएको कुरा मात्र हो जुन तिम्रो लोकमा मात्र चल्ने गर्छ । अब तिमी अनन्तमा छौ । जहाँ समय बाहेक अर्थोक केहिको नाप हुँदैन ।'
बेपर्वाह थिएँ म जे सुकै होस् या केहि नहोस् । बादलको वस्ती नाघिसकेर निक्कैबेर हिँडेपछि चिच्याउँदै म उत्साहका साथ बोलें, 'अब ताराहरुको गाउँघरमा पुगिनेछ । चन्द्रमालाई छोएर अघि बढिनेछ । अहा! स्वर्ग कस्तो सुन्दर होला? के चित्रगुप्त बुढा भैसके होलान्? ईन्द्रको हाउभाउ अझै हिजडाकै छ कि?...........'
म देखि डराउनु पर्ने केहि थिएन तर उनिहरु म देखि हच्किएझैं गरे, 'तिमी कस्को कुरा गर्दैछौ? तिनीहरु कसैलाई हामी चिन्दैनौं र हामी तिमीलाई कुनै स्वर्गतिरपनि लाग्न लागेको होइन । तिमीलाई त हामी आत्माहरुको रिसाईकल सेन्टरतिर लगिरहेका छौं । जहाँ ठुला ठुला ज्योर्तिमय पुञ्जहरुको कन्टेनरमा तिम्रो आत्मालाई राखिनेछ र तिम्रो आत्मा उपर अध्ययन पश्चात तिमीलाई उपर्युक्त जीवनमा प्रवेश गराउन फेरि तिम्रै लोकमा फिर्ता लगिनेछ ।'
उनिहरुको यो कुराले भने म बेपर्वाह रहन सकिंन । निश्चितता प्राप्त गर्न सोधें, 'तिमीहरु मसँग दिल्लगी गरिरहेको होलाउ, हैन? किनभने मलाई थाहा छ तिमीहरु चित्रगुप्तको कारिन्दा हौ । मलाई तिमीहरुले चित्रगुप्तको सम्मुख लग्नेछौ र चित्रगुप्त मेरो पाप पूण्यको.......।'
'फेरि को चित्रगुप्त?' ठुलो स्वरमा साँच्चै रिसाएर एउटाले भन्यो, 'को चित्रगुप्त भनेको? हामी चिन्दैनौं चित्रगुप्त, सित्रगुप्त ।'
मैलेपनि उसले जत्तिकै रीस देखाएर आफ्ना आँखा ठुल्ठुला पार्दै र अझ नाकका पोरा फुलाउँदै भनें, 'चित्रगुप्त भनेको यमराजको बैदार हो । मैले त तिमीहरु त्यहि बैदारको पनि चपरासी सपरासी होलाउ भन्ठानेको । तर तिमीहरु चित्रगुप्तलाई पनि चिन्दैनौ भने के को आधारमा मलाई जबर्जस्ती मेरो पाखुरा समातेर लग्दैछौ? ......तेरिमा झ्याँक्ने हो, तिमीहरु त यता माथितिरका अपहरणकारी जस्तो पो छौ । अब मलाई तिमीहरुको आइडीकार्ड देखाउ । हैन भने मलाई यसरी पाखुरा समातेर अपहरणको शैलीमा कहिँ लैजान पाउँदैनौ ।' बादलको वस्तीहरु काटेर निक्कैबेर हिडीसक्दा पनि म ताराहरुको गाउँघर नजिक नपुग्दा अर्कोतिर क्रोधित हुँदैथिएँ । म सोच्दैथिएँ कि ताराहरुको गाउँ नजिकबाट हिंडीरहँदा पृथ्वीलाई तल सानो डल्लो जस्तो देख्नेछु तर जहाँबाट मलाई हिँडाईदैथियो त्यहाँ नजिक न ताराहरु थिए न चन्द्रमा न पृथ्वीनै ।
'हामीले तिम्रो पाखुरा समातेका छैनौं । तिमीलाई छोएका पनि छैनौं । पाखुरा साखुरा तिम्रै लोकमा छोडेर केवल आत्माको रुपमा यहाँ आएका छौ तिमी...', अर्को अलि विनित बनेर बोल्यो, 'हेर हामीले स्वर्ग फ्वर्ग पनि केहि देखेका छैनौं । चित्रगुप्त, यमराज स्यमराजहरु पनि चिनेका छैनौ । कल्पकल्पान्त भैसक्यो हामीले यहि कार्य गर्दै आएको । आजसम्म हामीलाई कसैले परिचयपत्र पनि मागेको थिएन । हामीलाई परिचयपत्र दिने निकाय नै छैन त्यसैले हामी परिचयपत्र देखाउन समर्थ छैनौं । त्यसउसले तिमीले यो व्यर्थको विवाद र वहस झिक्नु कत्तिपनि उचित छैन ।'
'...तर म तिमीहरुलाई को भन्ठानेर तिमीहरुको पछि लागेर जानु? तिमीहरुलाई मेरो आत्मालाई ज्योर्तिमय पुञ्जको कन्टेनरमा राखेर अध्ययन गर्ने अधिकार दिने को हो? सर्वोच्व बेगरको कुनैकुराहरु हुँदैन कहिँपनि भन्ने कुरा थाहा छैन तिमीहरुलाई? तिमीहरुको सर्वोच्व को हो, के हो? गैह्रकानुनी हिसाबले त्यसै तिमीहरु मेरो आत्मालाई ल्याएर त्यसमाथि शोध गर्न खोजिरहेका छौ ? या त यमराज ईत्यादिहरुसँग फिरौती रकम असुल्नलाई मलाई बन्धक बनाउन खोजिरहेछौ?'
अहँ मेरो रीस पट्टक्कै शान्त भएन । बरु मेरो त झन् भन्दा झन् रीसको पारो चढ्दै गयो । हुनपनि मेरो देह अहिले नै फेर्नुपर्ने गरि पुरानो भैसकेको थिएन । जवानी मै थिएँ म । तर आफ्नो प्रेमको समाप्तीको पीडा सहन नसकेर आफैंले त्याग गर्न चाहेको थिएँ आफ्नो देहलाई । बाँचुञ्जेल आफुले कसैको पनि कुभलो नगरेको हुँदा जुनसुकै कारणले भएपनि शरिर छाडेर गैसकेपछि मलाई स्वर्गमै जाने ईच्छा थियो र स्वर्गमा स्थान पाउन योग्य उम्मेद्वार भन्ठान्थें म आफुलाई | तर ईच्छित महायात्राको विचमै मेरो ईच्छामाथि कुठाराघात हुने ठहर्यो । महायात्रामा जस्को साथ म हिंड्दैथिएँ तिनीहरु स्वर्ग देखे सुनेकै छैन भन्ने किसिमका निस्किए । हेर्दा पौराणिक पुरुषझैं दिव्य देखिने यी दुई को हुन त? र मलाई कहाँ लाँदैछन्? केहि खुट्याउन नसकेपछि म अड्डी कस्न थालेको थिएँ ।
'म स्वर्ग प्राप्त गर्छु भनेर ढुक्क भएर हिंड्दैथिएँ तिमीहरुसँग । तर स्वर्गसँग तिमीहरुको केहि सरोकार छैन भने म तिमीहरुको प्रयोगशाला हो कि प्रशोधनशाला हो त्यहाँ जान्न । बन्दै जाँदिन । हेरौं कसरी जबर्जस्ती गर्दारहेछौ?' मेरो घुर्कि थियो ।
'हामीले तिमीलाई जबर्जस्ती गरेकै छैन । जबर्जस्ती ल्याएको पनि होइन तिमीलाई । तिमी स्वयँ हाजिर भएका हौ र अहिले स्वर्ग स्वर्ग भनेर हुँदै नभएको स्वर्गको रट लगाईरहेछौ । आफुले कर्म गर्नुपर्ने ठाउँलाई नै पो स्वर्ग भन्छौ होला तिमीहरु भन्ने लाग्थ्यो हामीलाई त । हामी तिमीलाई तिमीले भनेको जस्तो स्वर्ग पुर्याउन पनि सक्दैनौं ।' उनिहरुमा अब त रीसको नामोनिशान थिएन । दैबीरसयुक्त वाणीले सम्झाईरहेथे उनिहरु मलाई । म पनि नरम हुन बाध्य भएँ र नरम स्वरमा सोधें, 'उसोभए मलाई किन ब्यर्थ त्यो कन्टेनरमा राखेर अध्ययन गरिरहने? आखीर उहि लोकमा फेरि कुनै जीवनमै फिर्ता पठाउने हो भने ब्यर्थ किन म त्यो कन्टेनरमा मेरो समय वर्वाद गरुँ? मलाई यहिँबाट मेरो साविककै जीवनमा फर्काउन मिल्दैन?'
दुबैले मुखामुख गरे र एकैस्वरमा भने, 'अवश्य मिल्छ । अहिले सम्म त तिम्रो देह नष्ट भैसकेको छैन तर ढिलो गर्यो भने तिम्रा प्रियजनहरुले नै तिम्रो देह नष्ट गर्नेछन् । अतः छिट्टो गर्न तिमीलाई हामीले यो बाटो पठाउनु पर्ने हुन्छ ।'
उनिहरुले मलाई कालो अँध्यारो सुरुङ्गजस्तो गहिरो न गहिरो बाटो देखाए र खसाउन तयार भए ।
'यो गहिरो त निक्कै तलसम्म छ जस्तो छ । म कहाँ पुग्छु नि यो बाटो?' मेरो डर तिनीहरुले बुझे क्यार भने, 'हेर्दा मात्र हो यो डरलाग्दो देखिने । यो तल हैन तिमीलाई तल जस्तो लागेको मात्र हो । जानलाई यहि बाटो सजिलो र छिट्टो हुन्छ । वान वे हो यो यहाँ पसिसकेपछि फेरि फर्कन मिल्दैन । तयार छौ?'
'छु ।' मेरो मुखबाट शब्द खस्न नभ्याई उनिहरुले मलाई त्यहि कालो अँध्यारो गहिरो ईनारजस्तो बाटोमा खम्र्याङ्ग खुम्रुङ्ग खँदारिदिए । उनिहरु भन्दैथिए 'कस्ता कस्ता मान्छेहरु पनि देख्नुपर्छ...'
त्यहि शब्द 'कस्ता कस्ता मान्छेहरु पनि देख्नु पर्छ...' मेरो कानमा यता पनि पर्यो जब मैले चल्मलाएर हस्पिटलमा पिर्लिक्क आँखा खोलेँ । मलाई हेर्न वरिपरी झुम्मिएका अनेकौं मध्ये कुनै अपरिचित मान्छेको आवाज थियो त्यो । व्हिल चेयरमा बसेको उ अझै भन्दैथियो, '...म जन्मिंदै अपाङ्ग जन्मिएको मान्छे त आज रोगसँग लड्न उपचार गराउन आएको छु । यो नौजवान लाठेको बुद्धि हेर? यौटी केटिको निम्ती बिष खाने, थुईय... ।' मैले मुण्टो फर्काएर उसलाई हेर्दा उ अर्कोपट्टी फर्केर गुड्दै भीडमा ओझेल भयो ।
'दीपकको होस आयो ।' कसैले घोषणा गर्यो । अझ धेरै मान्छेहरु मेरो वरिपरी झुम्मिए । कोहि रुँदैथिए मेरो निम्ती; कोहि गाली गर्दैथिए मलाई । म हस्पिटलको बेडबाट उठ्नु भन्दा अगाडिनै सबैको नजरमा गिरिसकेछु भन्ने हेक्का भैसकेको थियो मलाई ।
एकैछिन् आफुलाई सम्झिएँ, 'थुक्क! मैले के गरेको होला?' मनमनै भनें, 'अब सबैको अगाडी लाजकै मर्नु हुने भो । किशोरवयको प्रेम साँच्चै अन्धो हुँदोरहेछ । जीवन नचिनेर होला किशोरवयमा प्रेमलाई जीवन भन्दा महत्वपूर्ण ठानिएको । जीवन नरहे प्रेम के का लागी होला? प्रेम जीवनमा उज्यालोको लागी हो, जीवन प्रेममा बलि चढाउन हुँदै होइन ।' त्यस घटना पछि म जीवन बुझेको अनि प्रेम चिनेको दार्शनिकझैं भएको छु कि जस्तै लाग्थ्यो आफुलाई । तर मैले बुझेको कुरा अरुलाई बुझाउन त के सुनाउन समेत अयोग्य घोषित भएको थिएँ सर-संगतमा म । कायर, बुद्धिले हीन, पशु....... यस्तै यस्तै अनेक विशेषणहरु बनेका थिए मेरो परिचयमा ।
'थुक्क! तेरो बुद्धि?.....' पछिसम्म पनि दौंतरी तथा आफन्तहरुले यसैगरी मेरो मनोवललाई उठ्न दिएनन् त्यसैले माहायात्रामा आधाबाटोसम्म हिँडेको यो रोमांचक कथा समेत म भित्र वर्षौंसम्म गुम्सिरहेको थियो । मैले कसैलाई सुनाउने सम्म पनि आँट गर्नै सकेको थिइनं ।
आजको दिनलाई सलाम जस्ले मेरो महायात्रामा आधाबाटो हिँडेको कथालाई ह्रदयको गुम्फनबाट उकासेर प्रकाशमा ल्याएको छ ।

Comments

Rama gautam

कथा कि मृत्यु यात्रा सस्मरण !! कत्ति पट्यार लागेन पढ्न!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |