हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हाउस वार्मिंग पार्टी

गोविन्द गिरी प्रेरणा, (मनासस, भर्जिनिया, अमेरिका )


परिवेश हातमा रहेको कपको सेलाइसकेको कफीको चुस्की लिंदै विगतमा हराउन थाल्यो ।

मान्छेलाई समयले कहाँवाट कहाँ पुर्याउँदो रहेछ । कहाँ कहाँ भोजपुरको याकु गाउँमा जन्मेर, त्यहीं स्कूले शिक्षा सकेपछि उनका वा आमा विराटनगर वसाईं सरेका थिए । विराटनगरवाट विएसम्मको शिक्षा ग्रहण गरेपछि फराकिलो शहर र अग्लो उद्देश्य लिएर उ काठमाडौं हान्निएको थियो । काठमाडौंमा उसले शुरुमा त निकै हण्डर खानु परेको थियो ।

पहिलो कुरा त अविवाहित भएकाले डेरा पाउन उसलाई हम्मे हम्मे परेको थियो । एक्लो केटाले त डेरा पाउनै मुस्किल । कति ठाउँमा त विहा गरेको छु , गाउँमा स्वास्नी छे भनेर ढाँट कुरा पनि गरेको हो । तर त्यो ढाँट कुरा पनि काम लागेको थिएन र विराटनगरकै एकजना परिचितको घरमा शरण लिन पुगेको थियो ।

त्यहाँ एकाध महिना वसेपछि उसले कसरी त्यहाँवाट उम्किने, त्यो दाउ खोज्ने अभियान छेड्नु पर्यो । कारण सरल थियो,  ती आफन्तको जागिर एयरपोर्ट भन्सारमा थियो र रातदिन नोटको विटा ल्याउने र होटलमा वास वस्ने वानी भएको थियो । यौटा नोटको विटो स्वास्नीको हातमा सुम्पेपछि उसले त्यस वापत एकाध दिन घरमा वास वस्न नआए पनि गुनासो हुन्नथ्यो । पछिपछि त घरमा भन्दा घर वाहिर वास वढी हुन थालेको वेलाको परिवेशमा उ त्यो घरमा शरण लिन पुगेको थियो ।

चिवेचरीको झैं चिरविरे स्वरकी म्याडमको उदासीलाई साम्य पार्न परिवेशले भन्यो, त्यत्रो कमाई गर्ने सरलाई किन दुखी वनाउनु हुन्छ ?

म्याडमले त्यसपछि उसको हात समातेर सोधेकी थिइन्, "अनि मभित्र उग्र भइरहेको आगो कसले शान्त पार्छ नि ?"

म्याडमको यो जवाफले उ अवाक् भएको थियो ।

त्यसपछि एक्कासी म्याडमले उसको कठालो समातेर आफ्नो कोठामा लगेर सोधेकी थिइन्, तिमी सक्छौ मलाई शान्त पार्न ?

उ चूपचाप थियो यो अचानक विकास भएको अप्रत्यासित घटनाक्रमले र उसको ओठ वोल्न नसकेर थर्थराएका थिए ।

त्यसपछि म्याडमले उसलाई चिथोर्न, कोपर्न थालेकी थिइन् र एकाएक रुन थालेकी थिइन् । म्याडमको आँसुले उ द्रवित भएर उसले हत्केलाले सुस्तरी आँसु पुछिदिएको थियो । म्याडमले उसले आँसु पुछेका दुवै हात च्याप्प समातेकी थिइन् र उसलाई अँगालोमा वाँधेकी थिइन् ।

यतिन्जेल नफूटेको उसको धैर्यको वाँध अव फूटेको थियो ।

केहीवेरपछि म्याडमको आगो साम्य भएको थियो र परिवेशको छातीमा भने डरलाग्दो डडेलो सल्केको थियो ।

यसैवीच हो उसले त्यो घर छाडेर अन्त जान खोजेको ।

तर म्याडमले वाचा वन्धनमा पारेर उसलाई त्यहीं वस्न वाध्य तुल्याएकी थिइन् । उ वाध्यतावस वस्नु परेको थियो ।

पछिपछि त उसलाई दुनियाँमा म्याडमभन्दा कोही नभए हुन्थ्यो जस्तो लाग्न थालेको थियो । राजकुमार भण्डारी, म्याडमका पति घरमा वास वस्न आएको दिन उसलाई नमज्जा लाग्न थालेको थियो ।

अचानक एकदिन राती घर आइपुग्दा राजकुमार दम्पत्ती मारामार झगडा गरिरहेका थिए । लोग्ने निकै पिएर आएको वुझिन्थ्यो, उ लर्वरिएको आवाजमा भन्दै थियो, मलाई नामर्द ठानेकी राँड तैंले ? नाठो खेलाएर रमाएकी , तेरो म रगत पिउँछु, इत्यादि ।

माथि कोठामा उनीहरु उसकै विषयमा झगडा गरिरहेका थिए भने अव उसले त्यहाँ वास वस्न उचित ठानेन र सँगैको घरमा वस्ने, हालसालै चिनेको साथीकहाँ उ पुगेको थियो ।

केही दिन अघि चिनापर्ची भएको, एक दुई पल्ट सँगै चिया पिएको र एकाध पल्ट आउजाउ गरिसकेको हुनाले उसलाई त्यहाँ जान कुनै अप्ठ्यारो लागेन र भन्यो, आज म यतै वस्न चाहन्छु । हुन्छ ?

त्यो साथीले भनेको थियो, एकदम स्वागत छ तपाईंलाई ।

यसो अलिकति पिउँदै गफगाफ गर्न मन लागेर हो...उसले भनेको थियो ।

त्यसपछि दुवै वाहिर निस्केका थिए र हाफ वोतल ह्विस्की , सोडा , दालमोठ र ड्राई मिट किनेर फर्केका थिए ।

त्यो मित्र अर्थात् रितुवर्ण थपलियासँगको त्यो साँझको वसाई अनि अवेरसँग वस्दै पिएर गफ गरेको रातले उसको जीवनमा नयाँ मोड ल्याई दिएको थियो ।

 

----------
"होइन कफीमै अल्झने हो कि पार्टीमा जान तयार हुने हो हजुर
?" विन्द्यवासिनीको वोलीले परिवेश झस्कियो । उ विस्मृतिको काठमाडौंवाट एक्कासी अमेरिकाको भर्जिनिया राज्यको फल्सचर्चमा आइपुग्यो ।

मलाई त पार्टीमा जान पटक्क जाँगर चलेको छैन, वासिनी । उसले विन्द्यवासिनीलाई भन्यो ।

उ माया गरेर स्वास्नीलाई वासिनी भन्न मन गथ्र्यो । उ पनि त्यसो भन्दा मख्ख पर्थी ।

वासिनीले उसको गाला मुसार्दै भनी, "ल छिटो तयार हुनोस् म मेकअप सकिहाल्छु ।" यति भनेर वासिनी मेकअपका लागि अर्को कोठातिर लागी र उ पुनः एक्लो भयो ।

वास्तवमा उसलाई म्याडमको पंजावाट छुटकारा दिलाएर अमेरिका ल्याउने वासिनी नै थिई, यद्यपि आज पर्यन्त वासिनी यो तथ्यवाट वेखवर छे ।

-------

राती अवेरसम्म रितुवर्ण र परिवेश त्यो हाफ वोतल ह्विस्की सिध्याउन नसकेर आकास पातालको गफ गर्दै समय कटनी गरिरहेका थिए ।

झण्डै मध्यरातमा रितुले भनेको थियो, "यार एकछिन वाहिर हावा खाएर आउँ, सारै औडाहा भयो ।"

वास्तवमा खडेरी परेको जेठको महिना थियो त्यो । परिवेश रितुको प्रस्ताव सकार्दै वाहिर जान जुरुक्क उठेको थियो । अनि दुवै हल्लदै यताउता टहलिईरहेका थिए ।

"वास्तवमा समयको खेललाई मान्नुपर्छ, म तपाईंलाई यौटा कुरा भन्न चाहन्थें, तपाईंलाई मेरो कोठामा निम्त्याउन चाहन्थें । तर तपाईं आफै मेरो कोठामा आएर ठूलो संकट टारिदिनुभयो ।" रितुले भन्यो । परिवेश क्यै कुरा नवुझेर छक्क परेको थियो ।

"वास्तवमा तपाईं भनेपछि हुरुक्क हुने यौटी कन्या छिन् ।" रितुवर्णले यसरी कुराको उठान गरेको थियो ।

"को होली त्यो अभागिनी ।" परिवेशले हाँस्दै भनेको थियो । यसो भन्न उसले पिएको ह्विस्कीको पनि अलिकति योगदान हुँदो हो ।

"जो भए पनि राम्री कन्या हो । सुशिल कन्या हो । तपाईं भनेपछि हुरुक्क हुने कन्या हो ।" रितुले भनेको थियो । परिवेश रितुको कुराले आश्चर्यको भूमरीमा परेको अनुभूत गर्दै थियो ।

"त्यो कन्याको प्रस्ताव स्वीकार्ने हो भने तपाईको जीवनले नयाँ आयाम पाउँछ ।" उसले भनेको थियो ।

'यो त कुन ठूलो कुरा भयो र । उसको छातीमा यो जवाफ उम्रेको थियो ।' तर ओठमा आइसकेको थिएन ।

"त्यो कन्यालाई स्वीकार्नु भनेको अमेरिका जाने भिषा लाग्नु हो ।" रितुले सुस्तरी भनेको थियो ।

"कसरी ?" परिवेशले सोधेको थियो ।

कसरी भने त्यस कन्यालाई डिभी परेको छ र छिट्टै उसले लोग्नेको नाम फाराममा भर्न पाई भने सिधै अमेरिका ग्रिनकार्डसहित । परिवेशको कानमा यी शव्द परेको थियो ।

अघिसम्म त परिवेश ठट्टाको मूडमा थियो र सवथोक हल्का रुपमा लिई रहेको थियो, तर यो कुराले भने उसले पिएको ह्विस्कीको नशा स्वात्तै वेपत्ता पारिदिएको थियो । तपाईंको कुरा म भोली दिउँसो उनीकहाँ पुर्याउन सक्छु । रितुले भनेको थियो । परिवेश अक्क न वक्क भएको थियो ।

अव सुत्न जाउँ, रितुले भनेको थियो ।

तर के सुत्नु नि, रितुको कुराले परिवेशको निद्रा वेपत्ता भएको थियो । रातभर निद्राको ठाउँ छटपटीले लिएको थियो । परिवेशको निद्रा वेपत्ता पार्ने त्यो कन्या अरु कोही नभई विन्द्यवासिनी थिई ।

---------

परिवेश आफ्नो कफीको कपमा फर्कियो ।

अमेरिकाको आगमन परिवेशका लागि सुखद आश्चर्य थियो । नसोचेको भूमरिवाट नसोचेको संसारमा उसले पदार्पण गरेको थियो ।

अमेरिका त उसले सपनामा पनि सोचेको थिएन, कहिल्यै आउँला भनेर ।

रितुले भोलिपल्ट विन्द्यवासिनीसँग भेटाएको थियो अनि पहिलो भेटमै दुवैले एकअर्कालाई मन पराएका थिए ।

विन्द्यवासिनीले अन्तिम वाक्य यसो भनेकी थिई, "भोलि अमेरिका गएर दुःख पाएँ भनेर मलाई दोष दिन पाउनुहुन्न नि ।"

उसलाई लागेथ्यो, अमेरिका मन नपरेर गाली गर्ने को मूर्ख होला । त्यस्तो हुँदैन । उसले यत्ति मात्र भनेको थियो प्रकटमा ।

वास्तवमा विन्द्यवासिनीलाई डिभी चिट्ठा परेको रहेछ र उपयुक्त पात्रको खोजिमा रहिछ ।

गाउँवाट आएको पढाकु, सज्जन भन्ने कसैले वताएपछि उ आफैंले टाढैवाट परख र पारख गरेकी रहिछ ।

उसले परिवेशको सामान्य पृष्ठभूमि थाहा पाएकीले मन पराउन सजिलो भयो भने म्याडमको चक्रवाट छुटकारा पाएर अमेरिका पुग्न पाउनुले परिवेशलाई सकारात्मक निर्णय गर्न सहयोग पुगेको थियो ।

अमेरिका आउने वित्तिकै परिवेशले यौटा फाष्ट फूडमा काम पाएको थियो र एकै वर्षमा असिष्टेण्ट म्यानेजर हुने मौका पाएको थियो । वासिनीले पनि नेल्समा काम पाएकी थिई ।

हो यसैवीच रितेश शर्मासँग परिवेशको परिचय भएको थियो । दशवटा काम गरेर अमेरिका पचाइसकेको रितेश अहिले घर जग्गा किनवेच गर्ने रियाल्टर भएको थियो । अनि दुईचार दिन विराएर उ एपार्टमेण्टमा आएर गफ लाउँथ्यो र भन्थ्यो, हैन तपाईहरु घर किन्ने होइन ? हेर्नोस, अहिले मौकामा घर किन्नु भो भने एक वर्षमै पचासौं हज्जार नाफा हुन्छ ।

केही पल्ट त परिवेश र वासिनी दुवैले वास्ता गरेनन् ।

एकदिन चाहीं परिवेशले झर्के झैं गरेर भन्यो, हैन रितेशजी तपाईंले ठट्टा गर्नु भएको हो कि के हो मैले त कुरै वुझिंन । एपार्टमेण्टको भाडा तिर्न धौधौ छ, घर किन्ने कुरा गर्नु हुन्छ ।

लौ त्यही भएर त घर किन्नोस् भनेको नि । तपाईंले एपार्टमेण्टलाई तिरेको भाडा महिनैपिच्छे भूस हुन्छ । तर घर किन्नु भो भने तपाईले तिरेको घरको किस्ताको केही अंश वचत हुन्छ । दिन दुगुना भने झैं घरको भाउ वढेको वढ्यै छ, वढेको रकम सोझै नाफा । अनि के चाहियो ।

तर रितेशको कुरा उसलाई अझै पत्यार लागेको थिएन । किन भने घर किन्न उसँग पैसा थिएन ।

अनि कुन पैसाले किन्नु नि घर ? परिवेशले भनेको थियो ।

हेर्नोस , पैसा चाहिंदै चाहिन्न । यसो ५।७ हजार भए भैहल्छ । रितेशले भनेको थियो ।

वासिनी त्यसो भए आँट्ने हो त घर ? उसले सोधेको थियो ।

यति सजिलै घर पाइन्छ भने त किन नकिन्नु नि । मैले अलिकति जम्मा पारेकी छु , तपाईं पनि अलिकति खोज्नोस्, अमेरिकामा घर मालिक हुन पाईने अवसर किन गुमाउने ? वासिनीले भनेकी थिई । त्यसपछि घर हेर्ने सिलसिला चलेको थियो ।

 

घर तीन लाख असी हजार डलरमा पाइएको थियो ।

परिवेशको त झण्डै सातो गएको थियो मोल सुनेर । वाफरे झण्डै चार लाख । भन्नाले अढाई करोड नेपाली ।

परिवेश चूप लागेको देखेर रितेशले भनेको थियो, दाई मोल देखेर तर्सिनु भा,को ? हेर्नाेस् न, ६ महिनामा यो घरको मोल साँढे चार लाख पुग्छ, अनि त तपाईंलाई ६०।७० हजार डलर नाफा ।

परिवेश फेरि हिसाव गुन्न थालेको थियो ६० हजार डलर अर्थात् ४० लाख भन्दा वढी ।

रितेषले फेरि भनेको थियो, वजार मूल्य त्यस घरको अहिले तीन लाख पन्चानव्वे हजार छ । अहिलेनै १५ हजार डलर त इक्विटी छ ।

परिवेशले सोधेको थियो, के हो इक्विटी भनेको ?

यसलाई नाफा सम्झनोस् । परिवेशले मुस्कुराउँदै भनेको थियो ।

वाफरे किन्दैखेरि १५ हजार डलर नाफा । परिवेश दंग परेको थियो ।

ल घर मन परेको भए आँट्नु होस्, रेल स्टेशनको नजिक यति मजाको घर १५ हजार इक्विटी सहित पाउनु भाग्यै हो । राम्रै भाग्य रहेछ तपाईंहरुको । अलिक टेढो तरिकाले मुख वँग्याउँदै रितेशले भनेको थियो र विदा हुँदै उसले भनेको थियो, हिरा पाइएको छ क्यारे, लिन मिल्ने नमिल्ने तपाईंहरुको सोचमा भर पर्छ । म भोलि आउँला घर सल्लाह गर्नु होला ।

रितेश गएपछि वासिनी र परिवेश अवेरसम्म घर किन्ने विषयमा छलफल गर्दै अल्झिएका थिए । साँच्चै यति सजिलोसँग अमेरिकामा घर पाइन्छ भने के चाहियो ?

हैन घर किन्दै १५ हजार डलर नाफा रे, विचित्रै होइन त यो ? परिवेशले भनेको थियो ।

भाग्यमा भएपछि यस्तै हो । चिट्ठा परेर अमेरिका आउन पाइयो , भाग्यले । यस्तो घर पाइने भो, भाग्यले । वासिनीले भनी ।

यस्ती मायालु वासिनी पाएँ , भाग्यले । परिवेशले भन्यो र वासिनीलाई च्वाप्प गालामा म्याँईं खायो ।

अर्को दिन रितेश आउँदा उनीहरु घर किन्नका लागि तयार भैसकेका थिए ।

रितेशले घर मूल्याँकन, घर निरिक्षण , घरको लागि ऋण सवका लागि दौडधूप गरेको थियो । उनीहरुको आम्दानीले ऋणका लागि अपुग भयो । रितेशले नै यौटा कम्पनीमा पार्ट टाइम काम गरेको देखाएर त्यो समस्याको समाधान गरिदियो ।

वासिनी र परिवेश दंग थिए, सारा कुरामा रितेशले सहयोग पुर्याएको थियो । उनीहरु भन्थे, यो रितेशले त देवदूतको रुपमा हामीलाई सहयोग पुर्याउन गोलोकवाट आएको हो ।

विहानको चियादेखि रातीको खाना पनि रितेशले उनीहरुकहाँ नै खान्थ्यो, अविवाहित थियो,  मनमौजी थियो ।

घर पास गर्नेदिनसम्म रितेश परिवेश वा वासिनीलाई कतै जान परे आफ्नै कारमा पुर्याउने ल्याउने गरिदिन्थ्यो । रितेशको सहयोगले उनीहरु कृतकृत्य भएका थिए । घर पास भयो । अव उनीहरुको हातमा अमेरिकाको घरको साँचो थियो ।

---------------------

परिवेश र वासिनीले घर किनेको कुराले साथीभाईहरुमा चर्चा भएपछि सवले भने, हाउस वार्मिंग पार्टी नगरेसम्म हामी तिमीले घर किनेकौ पत्याउन्नौं ।

"अमेरिकामा यसरी आफ्नो घर भएपछि यो पार्टी भन्ने के ठूलो कुरा हो र ।" परिवेशले भन्यो । "पार्टी त गर्नैपर्छ ।" वासिनीले पनि भनी ।

दुवैको सल्लाह मिलेपछि उनीहरुले चिने जानेका सवैलाई वोलाएर हाउस वार्मिंग पार्टी गरेका थिए ।

पार्टीको दिन परिवेशको भुईंमा खुट्टा थिएन र अलि धाक धक्कू उसको ओठवाट झर्न थालेको थियो ।

डेरा भनेको डेरा हो । घर भनेको घरै हो । आफ्नो घरमा उफ्रिनुको आनन्द वेग्लै हुन्छ । उ भन्दै थियो ।

हैन यो घर कति वर्ष पुरानो हो ? कसैले सोधेको थियो ।

हुन त यो घर ३५ वर्ष पुरानो हो । तर घरको सवथोक नयाँ छ । हिटिंग सिस्टम चाहीं घर वनेदेखिकै रहेछ, एकदम मजवूत । वास्तवमा अमेरिकामा घर कहिल्यै पुरानो हुँदैन । उसले हौसिएर जवाफ दिएको थियो ।

अनि मोरगेज कति पर्छ नि ? कसैले सोधेको थियो ।

हाम्रो कमाइले मज्जाले पुग्छ । अझ यौटा वेडरुम भाडामा लाउने हो भने त उत्तम हुन्छ । उसले जवाफ दिएको थियो ।

वास्तवमा उसले यो जवाफ दिनुको खास कारण थियो । रितेशले यौटा पत्रिकाको अफिस राख्न यौटा कोठा भाडामा लगाइदिने वचन दिएको थियो ।

पार्टीमा पेयले रौनक वढाएको थियो । हातहातका गिलास स्वत स्फूर्त छचल्किन थालेपछि परिवेश झन् छचल्किन थालेको थियो । घर भनेको घरै हो, एपार्टमेण्ट भनेको एपार्टमेण्ट नै हो भनेर दुइचार चोटी दोहोर्याउन थालेपछि एकाध निम्तालुहरुले मुख कुच्याउन थालेका थिए र वासिनीले पाखुरामा समातेर एउटा कुनामा लगेकी थिई र मायालु प्रकारले हपारेकी थिई, हजुरलाई रक्सी लाग्यो कि क्याहो, एउटै कुरा कति दोहोर्याउनु भएको । सवैले नराम्रो मानेका छन् । रेष्टरुममा गएर यसो फ्रेस भएर आउनु होस्, अनि डिनर शुरु गर्ने ।

वासिनीले यसो भनेपछि परिवेश आज्ञाकारी छात्र झैं चूपचाप रेष्टरुममा गएर ताजा भएर फर्केको थियो ।

त्यसपछि उसले सवैलाई सम्वोधन गर्दै भनेको थियो, मित्रहरु यहाँहरुले पाउ कष्ट गरेर आइदिनु भयो, यो घरको शोभा वढाइदिनु भयो, हामी यसका लागि विनम्रतापूर्वक धन्यवाद दिन्छौं । अव डिनर तयार भएको छ, अव डिनर पनि शुरु गर्नुभए हुन्छ । ढिलो हुँदैन भने डिनर पछि नाचगान पनि गर्ने हो ।

केही निम्तालुहरु भोलि विहानै काममा जानु छ भनेर खाना खान थाले । कोही भोली १२ वजे काममा जाने हो, आनन्दै छ भन्दै गिलास सुम्सुम्याउन व्यस्त थिए ।

एक जनाले सोधे, हैन रितेशजी त देखिनु भएन नि !

अँ अलि ढिलो हुन्छ भनेका थिए आउँछन् । वासिनीले भनेकी थिई ।

अव रितेशको दर्शन पाउन मुस्किलै पर्ला । घर पास भएपछि अव उसलाई भेट्न हम्मेहम्मे पर्छ । उसलाई चाहियो भने दिनमा १० पल्ट पनि फोन गर्छ, भेट्नै आउँछ, हामीलाई चाहियो भने १० महिना पनि फोन उठाउँदैन । कसैले जवाफमा भनेको थियो ।

त्यति असल रितेशको वारेमा गरेको टिप्पणीले वासिनीलाई कताकता नमिठो लाग्यो । तर प्रत्यक्षमा क्यै भनिन ।

पार्टी राती अवेरसम्म चलेको थियो र अन्तमा नाचगानसमेत गरेर टुङ्गिएको थियो ।

घर सरेपछि उनीहरुले पहिलो किस्ता डेड महिनामा तिरेका थिए । त्यसपछि हरेक महिना किस्ता, विजुलीको वील, तीन महिनामा होम ओनर्स एसोसिएसनको दस्तुर, पानीको वील आउन थालेको थियो । सवै रकमको जोड र उनीहरुको कमाइको जोडवीच कम अन्तर देखा पर्न थालेको थियो र परिवेशले पार्ट टाइम काम थालेको थियो । वासिनीले पनि अतिरिक्त काम थालेकी थिई ।

रितेशलाई जति फोन गरे पनि उठ्न छाडेको थियो र भ्वाइस मेसेज छोड्दा पनि जवाफ आउँदैनथ्यो ।

केही महिनापछि घरको कर तिर्नु पर्ने चिट्ठी आयो । केही दिनमा घरको विमा नविकरणका लागि चिट्ठी आयो । र त्यसभन्दा डरलाग्दो कुरा उनीहरुको घरको मजवूत हिटिंग सिस्टमको मेसिन वन्द भयो र मर्मतका लागि कुरा बुझ्दा मेसिन पुरानो भएकाले फेर्नुपर्ने र त्यसका लागि पाँच हजार डलर लाग्ने देखियो ।

घर मालिक हुन पाउनुको आनन्द र रमाइलो तीन महिनामै धूलधूसरित भएको थियो र मरिमरि काममा गएर आएपछि परिवेश र वासिनी एकअर्काको मुख हेर्ने मात्र भएका थिए । उनीहरुको वोली अर्थतन्त्रले निभाईदिएको थियो ।

केही समय त उनीहरु रितेशले परेको वेला सहयोग गर्छ भन्नेमा ढुक्क थिए । अव त्यो ढुक्कको तिर उल्टोतिर पुगेको थियो । तर हाउस वार्मिंग पार्टीमा राती अवेरसम्म पनि रितेशले फोन उठाएको थिएन र सवै निम्तालुहरु गैसकेपछि पो उसको फोन आएको थियो । न्यूयोर्क गएको गाडी विग्रेर आउन नसकेको उसको भनाई थियो ।

जवाफमा परिवेशले लौ त भरे भोली भेटौंला भनेको थियो , जुन भरे भोली कहिल्यै आएन । अफिसका लागि कोठा भाडामा लगाउने कुरो पनि गर्भमै तुहिएको थियो ।

अव के गर्ने ? परिवेशको मनले सोध्थ्यो । अव के गर्ने ? वासिनीको मनले सोध्थ्यो ।

तर प्रत्यक्षमा सोध्ने आँट गर्न सकेका थिएनन् ।

एकदिन दुवैले एकसाथ छुट्टी पाएका थिए । यो जुराइदिने अरु कोही नभएर डरलाग्दो हिमपात थियो । अघिल्लो दिन देखि भएको हिमपातले वाटो घाटो सारा वन्द भएको थियो । सारा दोकान, व्यापारिक प्रतिष्ठान वन्द भएका थिए । यो वन्दकै कारण उनीहरुले स्वत छुट्टी पाएका थिए ।

"हामीले यसरी सुत्न नपाएको पनि कति धेरै भएछ हगी ?" वासिनीले भनी ।

"हो त नि हगी ?" परिवेशले भन्यो ।

"हामीले ढुक्कले प्रेम नगरेको पनि कति भैसक्यो हगी ?" परिवेशले वासिनीको कपाल मुसार्दै भन्यो ।

"त्यही त भन्या ।" वासिनीले परिवेशको छातीमा मुण्टो गाड्दै भनी ।

वाहिर हिउँ अविराम परिरहेको थियो तर उनीहरु भने पसीनाले लफ्रक्कै भिजेका थिए । प्रेमको मौसम जो उदाएको थियो ।

निकै वेर उनीहरु अँगालोमा गुजुल्टिरहे मानौं उनीहरुको विहा भर्खरै भएको हो, पिरतीको उदात्तता भर्खरै आरम्भ भएको हो । "वासिनी यौटा कुरा भनौं ?" परिवेशले सोध्यो ।

"भन्नुस न ।" वासिनीले भनी ।

"हाम्रो प्रेममा तगारो, हाम्रो सुखको तगारो, शान्तिको तगारो यो घर घाँडो भो हगी ?"  परिवेशले भन्यो ।

"मैले पेटमा भएर पनि मुखले भन्न नसक्या कुरा यही त हो नि ।" वासिनीले भनी ।

"कतिले घर छाड्दा रहेछन्, हामी पनि छाडौं न, के भो त ?" वासिनीले भनी ।

"लाज हुन्न ?" परिवेशले भन्यो ।

"कति अमेरिकन, इण्डियन, पाकिस्तानी, वंगाली, स्प्यानिस लाई लाज नहुने, हामी नेपालीलाई लाज हुने ? लाजले पैसाको संकट टार्ने होइन क्यारे ।" वासिनीले भनेकी थिई ।

त्यसपछि घर फोर क्लोजरमा गएको थियो र उनीहरु पुन एपार्टमेण्टवासी भएका थिए ।

 

लौ अझै के गम खाएर वस्नु भा, भन्दै वासिनी परिवेश सामु झुल्किई । ल म तयार भैहालें भनेर उ रेष्टरुमभित्र छिर्यो र केहीवेरमै फ्रेस भएर निस्कियो अनि कपडा वदल्न थाल्यो । दुवै तयार भएर निस्कदा साँझले आफ्नो अनुहार देखाइसकेको थियो । "मै चलाउँछु कार, भरे फर्कदा मैले नै चलाउनु पर्ने हो क्यारे ।" वासिनीले भनी ।

"लौ तिम्रै इच्छा ।" परिवेशले जवाफमा भन्यो ।

"तर गाडी चलाउन पर्दैन भनेर धेरै पिउने होइन नि राजा" वासिनीले हाँस्दै भनी ।

"हुन्छ ।" परिवेशले यत्ति भन्यो ।

"कुरा पनि कम गर्ने है ।" वासिनीले फेरि भनी ।

"म वोल्दै वोल्दिन ।" परिवेशले भन्यो ।

"नवोले त लाटो भन्छन् नि प्यारा ।" वासिनीले भनी ।

"त्यसो भए अलिअलि वोलौंला ।" परिवेशले भन्यो ।

यतिन्जेल उनीहरु कारमा वसि सकेका थिए र वासिनीले टोयोटा कोरोलाको २००० मोडेलको कार मज्जाले हुईंक्याइसकेकी थिई । उनीहरु पुग्दा पार्टी जम्न शुरु भैसकेको थियो । परिवेशले हातमा लिएको एक वोतल वाइन स्मृति भाउजुको हातमा राखिदिंदै भन्यो, "अवेर त भइएन नि भाउजु ?"

"अलिअलि अवेर भैहाल्यो नि, यसको क्षतिपूर्ति अलि अवेर वसेर चुक्ता गर्नुपर्छ ।" स्मृति भाउजुले हाँस्दै भनिन् । कोही तलमाथि गर्दै घर निरिक्षण गर्दै थिए । कोही हातमा गिलास खेलाउँदै पिउनुको आनन्दमा झुम्दै थिए ।

परिवेश पनि हातमा ह्विस्कीको गिलास लिएर चुस्की लाउँदै यताउता घरको भित्री भागहरु हेर्न थाल्यो । सुगम घर हेर्न चाहनेलाई तल माथि, भित्र वाहिर गर्दै थियो र घरको कहानी पनि वताउँदै थियो, घर सानै छ, हामीलाई पुग्ने छ । कसैले भन्यो," घर राम्रो समयमा किन्नु भो । हेर्नोस, आफू त भाउ अकासिएको वेलामा परियो, निल्नु न ओकल्नु भएको छ ।"

सुगमले भन्यो, हेर्नोस, यो सव अर्थतन्त्रको कुरा हो । भोली यो अर्थतन्त्र अझै ओरालो पनि त लाग्न सक्छ, कस्ले भन्न सक्छ, जाँदैन भनेर ।

अर्कोले भन्यो, एपार्टमेण्टको भाडा भन्दा त मोरगेज कमै होला नि ?

त्यो त कम छ । उसले भन्यो ।

त्यसो भए तपाईं नाफामै हुनुहुन्छ । अर्कोले वतायो ।

वल्ल सुगम र परिवेश आमने सामने भए । दुवैले हात मिलाए । गला पनि मिलाए ।

सुगमले भन्यो, ढिलो गर्नु भो नि आउन ।

धेरै ढिलो त होइन । वास्तवमा हिडौं हिडौं भन्दा भन्दै ढिलो भयो । परिवेशले भन्यो ।

लौ गिलास मात्र लिएर भएन नि , स्न्याक्स पनि लिनु पर्यो, ल म ल्याइदिन्छु । यति भनेर सुगम उसलाई स्न्याक्स लिन गयो ।

परिवेशलाई असजिलो लागिरहेको थियो । उसले घर किन्दा उ निकै फुर्किएको थियो र फूर्ति लाउँदै थियो । तर सुगम विनम्रतापूर्वक प्रस्तुत भइरहेको थियो ।

वास्तवमा परिस्थितिले नराम्रोसँग लात हानेको थियो । उ र उजस्तै थुप्रैलाई लात हानेको थियो । अझ भनौं टाठा वाठा भएर हतारहतार घर किन्नेहरु सवै थलिएका थिए र सोझासाझाहरुको दिन फिरेको थियो ।

वासिनी थुप्रैसँग हाई हल्लो गर्दै कुराकानीमा व्यस्त थिई । परिवेश भने एउटा कुनामा वसेर एकोहोरो ह्विस्की पिएर आफैमा हराइरहेको थियो । अनि तपाईंको रियाल्टर चाहीं को नि ? कसैले सोध्यो । रितेश । रितेश शर्मा । उसले जवाफ दियो ।

त्यो गुनिलो भाई अलि ढिलो आउँछु भनेको छ । स्मृति भाउजुले भनिन् ।

रितेश । त्यो दुष्ट मनुष्य । परिवेशले त्यसलाई आमाचकारी गाली दियो, मनमनै ।

त्यो गुनिलो भाई आउँछ त ? कति भो नभेटेको । परिवेशले भन्यो ।

न्यूयोर्क गएका रहेछन्, वाल्टिमोर आइपुगें भनेको आधा घण्टा भयो, अव एकाध घण्टामा आई पुग्छन् । यसपल्ट स्मृति भाउजु वोलिन् । परिवेश अचानक अट्टहास गरेर हाँस्न थाल्यो । वातावरणमा एक्कासी सन्नाटा छायो । सव चूप लागे । हतारिंदै वासिनी परिवेश छेउ पुगी, के भो ? उसले सोधी ।

लौ के हुनु ? मलाई मज्जाले हाँस्न मन लाग्यो । रक्सी खाएको भएर, ठूलो आवाज भयो होला, त्यत्ति हो । परिवेशले भन्यो ।

स्थिति अव सामान्य भैसकेको थियो , क्षणभरमै । कतिले आफूलाई रक्सी लागेको भएर कानले त्यस्तो ठूलो आवाज सुनेको होला पनि भन्ठाने ।

"अव खाना खाउँ ।" वासिनीले परिवेशको कानमा भनी ।

"अव एक पेग लिन्छु, लास्ट पेग । अनि जाने ।" परिवेशले भन्यो ।

अनि उठेर गयो अनि एक पेग ह्विस्की लिएर फर्कियो ।

पार्टी खाएर मानिसहरु धमाधम विदा हुन थालेका थिए भने केही युवा युवती मीठा मिठा गीतमा झुम्दै कुम हल्लाउन थालेका थिए । यो अव नाच्ने वेला भएको संकेत थियो ।

वासिनीले अघिनै खाना लिइसकेकी थिई । परिवेशले अहिले लियो र कुनामा वसेर खान थाल्यो ।

सुगमले परिवेशको छेउमा गएर भन्यो, ढुक्कसँग खानुहोस् । अव गएर सुत्ने नै त हो ।

हो त्यो त हो । परिवेशले जवाफ दियो ।

सुगम यताउता गर्न थाल्यो केहीवेर र उद्घोषणा गर्यो, अव डिजे शुरु हुन्छ । सवैले ताली वजाए र गीत शुरु भो । नाच शुरु भो । अव आगन्तुकहरु कोही आइरहेका थिएनन् र जान खोजेकाहरु पनि रोकिएका थिए डिजेले गर्दा । डिजे नृत्य सकिएपछि सवैजसो थकित भए झैं खुइय गर्दै वसे । वासिनी पनि वसी । परिवेश वासिनी छेउ पुग्यो र भन्यो, "वासिनी जाउँ ।" "हुन्छ ।" यत्ति भनी वासिनीले ।

"हैन, केक नखाई कहाँ हुन्छ ? अव केक काट्ने वेला भैहाल्यो ।" सुगमले भन्यो ।

केही वेरमै जन्मदिनको झैं केक सजियो टेवुलमा र करतल ध्वनीकासाथ सुगम र स्मृतिले केक काटे अनि केकका टुक्राहरु सवैलाई वाँडियो ।

परिवेशलाई राम्रैसँग लागिसकेको थियो । उसले यौटा सानो टुक्रा केक मुखमा हाल्यो प्लेट कुनामा कतै राख्यो अनि वासिनी छेउ पुगेर भन्यो, वासिनी , अव जाउँ ।

 

परिवेशले जुत्ता लगायो । वासिनीले पनि लगाई । सुगम र स्मृति ढोकासम्म पुर्याउन आए । वासिनीले परिवेशको यौटा हात समातेकी थिई । स्मृतिले सुगमको हात समातेकी थिई । परिवेश र सुगमले विदाइका हात मिलाए । हात मिलाउँदै परिवेशले भन्यो, त्यो "गुनिलो भाई त आएन नि हगी ?" सुगम र स्मृतिले मुखामुख गरे ।

परिवेशले हाँसेर भन्यो, अव उसको आउने कामै छैन किन आउँथ्यो ? अव उ कहिल्यै आउँदैन । यत्ति भनेर सुगमको हात छाडेर परिवेश गाडी पार्किंग गरेको ठाउँतिर लम्कियो ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |