श्रापित समय
नर बहादुर दाहाल , (दार्जिलिंग)
बहँदैछ समय
विशाल सागर जस्तै
फुत्कँदैछ समय
खोलाको माछा जस्तै
बिलाउँदैछ समय
कर्कलाका शीत-विन्दु जस्तै
हराउँदैछ समय
शून्यमा शून्य जस्तै |
¤
यो समय
कहिले मेरो आफ्नो भएन
सँधैँ आफ्नै गतिमा हिँड़िरह्यो....
यसलाई मैले अँगालोमा बाँध्न
खोजें
तर बाँध्न सकिन
यसको गतिलाई रोक्न खोजेँ
तर रोक्न सकिन
यसको वेगलाई मैले छेक्न खोजे
तर छेक्न सकिन
यो प्रवाहमान भइ गईरह्यो....
यो गतिमान भइ बहिरह्यो
दुःखमा मलाई लाग्थ्यो
यो क्षणिक भइ देओस
तर यो यथावत रह्यो
सुखमा मलाई लाग्थ्यो
यो दीर्घकालसम्म यस्तै रहोस
तर यसको प्रकृतिमा
कुनै परिवर्तन भएन ।
यसले नता मेरो दुःख बुझ्यो
न मेरो सुखमा यसले साथ दियो
यसैले मलाई लाग्छ
यसद्वारा उपैक्षित
म जस्तै कसैबाट
यो श्रापित छ ।
यो सुखमा स्थिर रहन नसक्ने
नकसैको
दुःख बोकि हिँड़न सक्ने
अविराम गतिमा हिँड़िरहे पनि
विश्रान्ति कहिले नपाउँने
सधैँ निराधार रहने
सुन्दर भएर पनि
सधैं निराकार रहने
श्रापग्रस्त समय
अनन्तसम्म
घस्रिरहनेछ....
यो जीवन्त भएर पनि
यसलाई काल भनिन्छ
यसलाई चिन्न सक्ने
महान बन्छन