हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

परदेशमा

प्रकाश सायमी, (ललितपुर )


परदेशमा
धेरैवेरदेखि संघारमा कसैको आहटले
कसैको पदचापले
ढोका ढक्ढकाइरहेजस्तो
धेरैदिन देखि
आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो
कोही आउने सन्देश लिएर विहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो
हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो
वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ
यो परदेशमा ।

दैलो खोली हेर्दा संघारमा कोही रहेनछ
बलेसीमा
चैतको चञ्चल हावाले पो जिस्केको रहेछ
को आउँछ र, यहाँ ?
को आउनु थियो र ?
कसले पो मेरो नाउँमा चिठी ल्याउँछ यो परदेशमा
छिमेकीको छानामा सुकाएको पलँगको तन्नामा
मंसिरको बैँशालु घाम लडिबुडी खेल्दैछ
मेरो सिरानीमा माघको कठ्याँग्रिदो रात
लमतन्न छ

हे धरा ! मलाई एकमुठी घाम
पठाइदिनु यो परदेशमा ।
सात साल आयो
सत्र साल गयो
छत्तीस नाध्यो
छयालीससले छायो
कसैलाई नपर्खिनु भन्थ्यो समयले यो परदेशमा ।
नसम्झिनु भन्थ्यो आफ्नो घरलाई पनि ।
असारको झरीले
बगाएछ त्यो घरलाई । त्यो बालापन र त्यो बैंशलाई ।
सबैलाई साँचेर राखेको छु
यो बैंशको क्यालेण्डरमा ।

आफैलाई राखको छु यो परदेशमा
आफैलाई झुकाएर राखेको छु यो परदेशमा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |