गजल
आनन्द श्रेष्ठ, (काठमाण्डौं )
टाढा थियौ, आफ्नै ठानी, नजिक सर्दै आयौ किन !
अविश्वासको खाडल थियो, भर पर्दै आयौ किन !
हिमालको चुचुरोमा, आफ्नो घर छ भन्ने ठान्थ्यौ
के परेछ काम कुन्नी ! तल झर्दै आयौ किन !
दु:ख पर्दा आत्तिएर सुख खोज्दै छाडी गयौ
आफैलाई बगाउने भेल तर्दै आयौ किन !
सुनको थालमा "भुजा" खान्थ्यौ, नोकरका बथान थिए
त्यही घरलाई फर्की फर्की गाली गर्दै आयौ किन !
जनी-जुनी तिमीसँग भेट अब हुन्न भन्थ्यौ
एकै रात बिछोडिँदा माया भर्दै आयौ किन !