अनेसासको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन – बेलायत सम्मेलन
शर्मिला खड्का (दाहाल), (काठमाण्डौ )
‘भाषा हाम्रो प्राण हो, देश हाम्रो ज्यान, जहाँ रहे नि चिनाउने संस्कृति हो शान,’ नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतको राजधानी लन्डनमा हालै सम्पन्न भएको छ । अगस्ट २६, २७, २८ गरी तीन दिनसम्म चलेको उक्त सम्मेलनमा नेपाल तथा अन्य देशबाट पनि सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पहिलो दिनको कार्यक्रममा परिचय र मन्तव्य आदान प्रदान गरिएको थियो । ह्यारी फूटबल क्लवमा सम्पन्न गरिएको उक्त कार्यक्रममा विभिन्न देशका सहभागी बीच डायस्पोरिक लेखन, नारीलेखन र बाललेखनबारे विचारहरू आदनप्रदान गरिएको थियो । उद्धोषक गोपीकृष्ण प्रसाईको कुशल उदघोषणसँगै सम्पूर्ण साहित्यकारहरूको साहित्यिक परिचयसहित व्यक्तित्वको चर्चा गरिएको थियो । विदेशिनुपर्ने बाध्यतासँगै बाँच्नुको जिजिविषालाई कायम राख्दै भाषासाहित्यको लागि गरिएको यो कार्य प्रशंसनीय थियो । संयोजक जया राईको कुशल नेतृत्वमा गरिएको यो कार्यक्रम ऐतिहासिक थियो । विभिन्न देशबाट आउने सहभागीह्रुलाई कसरी ल्याउने, कहाँ राख्ने र कार्यक्रम कहाँ कसरी सम्पन्न गर्ने भन्ने विषयमा संयोजक जया राई र अनेसास बेलायत च्याप्टरका सम्पूर्ण पदाधिकारीहरू तन्मयताका साथ लागि परेको देखिन्थ्यो । संयोजक जया राईको महत्वपूर्ण काममा सहयोग गर्नुहुने साहित्यकार तथा समाजसेवी विकलचन्द्र आचार्य, डा. रुपक श्रेष्ठ,कवि गोपीकृष्ण प्रसाई, कवयित्री लारा राई र शशी थापा सुब्बाको सक्रियतालाई प्रशंसनीय मान्नुपर्छ । डायस्पोरिक लेखनलाई विकास गर्ने उद्देश्य राखी सन् १९९१ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएको हो । यसका विभिन्न शाखाहरूमा भाषासाहित्यलाई प्रवर्धन गर्न साहित्यिक कार्य भइरहेको छ । प्रवासमा रहेर आफ्नो भाषासाहित्यप्रति प्रेम, आस्था, समर्पणको भावना राखी डायस्पोरिकलेखनलाई सुदृढ गर्ने उद्देश्य राखी यसका संस्थापक अमेरिकामा बसोबास गर्ने साहित्यकार होमनाथ सुवेदीले स्थापना गरेका हुन् । प्रत्येक दुई वर्षमा गरिने यो सम्मेलनको पहिलो कार्यक्रम अमेरिकाको न्युयोर्कमा सन् २००९ मा गरिएको थियो ।
दोस्रो दिनको कार्यक्रम लन्डनस्थित ह्यारो फुटबलको क्लवको सभाकक्षमा भव्यताका साथ सम्मन्न भएको थियो । उद्घाटन, पुस्तक विमोचन, कार्यपत्रप्रस्तुत कवितावाचन आदि रहेको सो दिनको कार्यक्रम महत्वपूर्ण तथा प्रमुख थियो । नेपाली प्रतिभा पलायनको सबुत प्रमाणसहित लारा राई र शशी थापा सुब्बाले आफ्नो उत्कृष्ट प्रतिभा र कुशल उद्घोषणको नमूना साथ कार्यक्रम संचालन गर्नु भएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्नु भएको थियो भने अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईँले अध्यक्षता ग्रहण गर्नुभएको थियो । संस्थाका संस्थापक होमनाथ सुवेदी, डा. गोविन्दराज भट्टराई, प्रदीप नेपाल, डा. सुष्मा आचार्य, माइकल हट, हरिहर अर्याल आदिले विशिष्ट आतिथ्यता ग्रहण गर्नु भएको थियो । विदेशमा रहेर विभिन्न कार्यव्यस्तताका वावजुद पनि बेलायतमा रहेका प्रतिभावान व्यक्तिहरूले यो सम्मेलनका लागि आफ्नो धेरै समय र शक्ति खर्च गरेर लागिपरेका थिए । महामहीम राजदूतबाट पानसमा बत्ती बाली समारोहको औपचारिक उद्घाटन गर्नुभएको थियो भने संस्थाका संस्थापक होमनाथ सुवेदीलद्वारा ठूलो ब्यानरको पर्दा हटाएर कार्यक्रमको शुभारम्भ गरियो । ठूलो तालीको गडगडाहटका साथ बेलायती पावनभूमिमा नेपाली भाषा साहित्यको ऐतिहासिक कार्यको मधुर ध्वनि गुन्जियो । श्रेया राईको मीठो राष्टिय धूनले समारोहमा देशप्रति सम्मान प्रकट गरिएको थियो ।
संयोजक जया राईदारा विभिन्न देशका शाखाबाट पठाइएको शुभकामना मन्तव्य पढेर सुनाइयो । शुभकामना मन्तव्यको क्रममा बेलायतस्थित गैरआवसिय नेपाली संधका अध्यक्ष सूर्य गुरुग, प्रतिभा प्रतिष्ठान बेलायत,ब्रुनाईका अध्यक्ष रक्षा राई, साहित्यकार खगेन्द्र पाठक, नेपालका कवि रमेश श्रेष्ठ, आदिले व्यक्त गर्नुभयो ।
कार्यक्रमको निश्चित गन्तव्यको क्रममा पुस्तक विमोचनको एउटा बेग्लै महत्वपूर्ण आकर्षण थियो । नेपाली साहित्यमा विदेशमा यति धेरै पुस्तक एउटै कार्यक्रममा विमोचन गरिएको सम्भवतः यो पहिलो अवसर थियो । डायस्पोरामा रहेर धेरै पुस्तक लेखिसकेका होमनाथ सुवेदीका डायस्पोराका डोरा, बेलायत भूमिमा आफ्नो दैनिक जिविकालाई कायम राख्दै भाषा साहित्यमा समर्पित दुई युवा साहित्यकार र समाजसेवी विकलचन्द्र आचार्य र डा. रुपक श्रेष्ठको क्रमशः बेलायती आँगनमा गोर्खली सुवास र विगवेन र समय सार्वजनिक गरियो । त्यस्तै नेपालबाट सहभागी साहित्यकार डा. सुष्मा आचार्यको वासुदेव लुँइटेलको स्मृतिग्रन्थ र शर्मिला खड्का दाहालको सिर्जना र सन्त्रास को पनि लोर्कापण गरियो । यसै अवसरमा शर्मिला खडका (दाहाल)दारा सम्पादित इ पत्रिका समयसिर्जना डट कम लाई पनि सार्वजनिक गरियो ।
कार्यक्रमको दोस्रो चरणमा कविता, गीत, गजलका साथसाथै कार्यपत्र प्रस्तुत गरिएको थियो । लामो समयदेखि नेपाली भाषासाहित्यका गहन अध्येता माइकल हटले नेपाली उपन्यासको प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो । डायस्पोरा लेखनमा विशेष अनुसन्धान र अध्ययन गरिरहनुभएका डा. गोविन्दराज भटटराईले डायस्पोरामा अन्तर्राष्टिय नेपाली साहित्य समाजले खेलेका भूमिकाबारे मुल्याकन गर्नुभयो । कार्यपत्रप्रस्तुतिको क्रममा डा. सुष्मा आचार्यले नेपाली साहित्यमा नारीलेखनको विकासक्रम र प्रवृत्तिबारे विस्तृत व्याख्या गर्नुभयो । डायस्पोरिक लेखनमा आफ्नो शक्तिशाली पहिचानको लागि संघर्षरत युवा कवि गोपीकृष्ण प्रसाई र गजलकार डा. रुपक श्रेष्ठ डायस्पोराले नेपाली लेखनमा खेलेको भूमिका बारे बताउनुभयो । दिनभरिको कार्यक्रममा कार्यपत्रसँगसँगै नेपाली भाषासाहित्यको विकास र विस्तारबारे विशेष चर्चा परिचर्चा गरियो । नेपालबाट सहभागी हुनुभएका कवि रमेश श्रेष्ठ ,साहित्यकार गीता रेग्मी, अस्मिता भन्डारी, कमला वली, कर्ण थापा डम्वर गिरि आदिले रचना पाठ गरेर सुनाउनुभएको थियो । त्यस्तै बेलायत प्रवासमा रहनुभएको माया क्यालेन्डर, नारायण गाउँले, देवन्द्र खवास, मुकेश राई,प्रतिभा बोहरा, नरेश काङमाङ, सुशीला कार्कीले रचना पाठ गरेर सुनाउनुभयो । क्यानाडाका गोपी सापकोटाले राष्टियताले भरिएको छन्दवद्ध कविताले सबैलाई भावुक बनाउनुभएको थियो भने नीलहरी घिमिरेले गायत्री मन्त्र पाठ गरी धार्मिक महत्व झल्काउनुभयो ।
अन्तिमचरणमा नृत्य, संगीत र कविताले कार्यक्रमको भव्यतालाई अझ रौनक बनाएको थियो । गोर्खा वेलफेयर सोसाइटी युथ क्लव साउथ हेरोका बहिनीहरुले प्रस्तुत गरेका उत्कृष्ट नृत्यले कार्यक्रमलाई अझ रोचक बनाइदिएको थियो । कुनै पनि कार्यक्रम सफल बनाउनलाई विभिन्न पक्षबाट गरिएको सहयोगको उत्तिकै महत्व हुन्छ । यस कार्यक्रमलाई पनि सफल बनाउन आर्थिक सहयोग गर्नुहुने कुल आचार्य, माधवलाल श्रेष्ठ, उमेश रेग्मी, गञ्ज आलेमगर, महन्थ श्रेष्ठ, सुरेन्द्र श्रेष्ठको भूमिका महत्वपूर्ण थियो । त्यस्तै दिनभर चियापान र अन्य काममा खटनु हुने बसुन्धरा राई, पूर्णिमा राई, प्रिती राई र साहित्कारहरूलाई व्यवस्था गराउन सहयोग गर्नुहुने बुद्धि बहादुर राई र विमल आचार्यको भूमिका पनि गहन थियो । यसरी पहिलो दिनको कार्यक्रम एउटा ऐतिहासिक महत्व बोकेर सम्पन्न भयो ।
दोस्रो दिनको कार्यक्रम थेम्स एकेडेमीमा सम्पन्न भएको थियो । कविता, गीत, गजलसँगसँगै अनेसासले निवार्ह गनुपर्ने भूमिकाको बारेमा विस्तृत छलफल गरियो । कार्यक्रमको तयारीको क्रममा भएका कमीकमजोरी र डायस्पोरिक लेखनमा आउने अप्ठेरा पक्षहरूको बारेमा पनि छलफल गरियो । नेपालबाट सहभागी हुनुभएका कवि रमेश श्रेष्ठ ,साहित्यकार गीता रेग्मी, अस्मिता भन्डारी, कमला वली, कर्ण थापा डम्वर गिरि आदिले रचना पाठ गरेर सुनाउनुभएको थियो । अनेसासको बेलायत च्याप्टरका अध्यक्ष होम परिवागको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. गोविन्दराज भट्टराईले डायस्पोरिक लेखनको विकासको लागि अनेसासले गर्नुपर्ने कार्यहरूको विवरण दिनुभयो । अनुवादसाहित्यलाई विकास गर्नुपर्ने, स्थानिय शाखाले नेपाली भाषाको लागि गरेको कार्यको इतिहास राखिनुपर्ने, बालबालिकालाई नेपाली भाषाको अध्ययनका लागि सुअवसर प्रदान गरेर उनीहरूको वातावरणलाई सुहाउँदो बालसाहित्य सिर्जना गर्नुपर्ने आदिको विषयमा सुझाव दिनुभयो । कार्यक्रमको अन्तमा बन्द सत्रपछि घोषणापत्र जारी गरियो । घोषणापत्र यस प्रकारको थियो ।
१) ‘डायस्पोरा’शब्दलाई नेपाली भाषामा आगन्तुकशब्दको रुपमा लिई शब्दकोशमा यसको प्रविष्टि गराउने ।
२) नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन विविध प्रकारका प्रयत्न गर्ने । यसका उद्देश्य प्राप्तिका लागि निम्न बमोजिमका कार्यहरू गर्ने :
२) क. हरेक नेपाली डायस्पोराले त्यस देशमा श्रष्टाहरूसंग सम्पर्क बढाई साहित्यिक आदनप्रदान गर्ने ।
२)ख.सम्बन्धित देशका विद्यालय, विश्वविद्यालय, पुस्तकालय तथासाहित्यिक संस्थाहरू, संचारमाध्यमहरू सँग सम्बन्ध स्थापित गर्न प्रयत्नगर्ने ।
२) ग नेपाली भाषा पठनपाठनको निमित्त स्थानिय निकायहरूसँग सम्बन्ध बढाउने ।
२)घ हरेक डायस्पोरामा नेपाली भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण र त्यसको निरन्तरताको लागि उपयोगी पाठ्यसामाग्रीहरू (दृश्य, श्रव्य, र छापा ) को निर्माण गर्ने ।
२) नेपाली साहित्य सिर्जनाका अभिवृद्धिका लागि हरेक नेपाली डायस्पोराले अनुवादका माध्यमलाई प्रोत्साहन गर्ने ।
२) च सम्बन्धित देशका नेपाल विषयमा अनुसन्धान गर्ने विद्वत तथा विदुषीहरूको पहिचान गरी वहाँहरूको कार्यलाई अभिलेख गर्ने, प्रोत्साहित गर्ने र सम्मान गर्ने ।
३) आगामी सम्मेलनहरूको निमित्त कार्यपत्रका विधाहरूको विस्तार गर्दै यथा समयमा प्रस्तुत हुने विषय तथा शीर्षकहरूको सुनिश्चित गर्ने ।
४) विश्वकै जननी भाषा तथा पूर्वीय सभ्यताको सम्बाहक संस्कृत भाषामा अभिलिखित सम्पदालाई विश्वसामु परिचित गराउने ।
५)विविध भाषा र संस्कृतिबीच अन्तरसम्बन्ध स्थापना गरी समन्वय र सहअस्तित्वको स्थापनाको लागि प्रयत्न गर्ने ।
६)अनेसास केन्द्रले विविध डायस्पोरामा आयोजित कार्यक्रमप्रति आफ्नो भूमिका र उत्तरदायित्वलाई स्पष्ट परिभाषित गरी अन्तर सम्बन्धलाई सुदृढ गर्न गम्भीरताका साथ लिने ।
७) अन्तर राष्ट्रिय जगतमा फैलिएको अनेक नेपाली डायस्पोरा केन्द्र र ती केन्द्रसँग सम्बन्ध स्रष्टा, सृजना र संस्थाहरूको विषयमा संक्षिप्त जानकारीमूलक डाइरेक्टरी निमार्ण तर्फ विशेष पहल गर्ने ।
यसरी तीन दिनसम्म चलेको अनेसासको सम्मेलन यिनै विविध कार्यक्रमका साथ सम्पन्न भएको थियो । विदेशी भूमिमा धेरै बाधा, अडचन र अवरोधलाई पन्छाएर नेपाली भाषासाहित्यका लागि गरिएको यो कार्यक्रम ऐतिहासिक थियो । यो कार्यक्रमले डायस्पोरामा बेलायत भूमि भाषा साहित्य र सिर्जनालेखनमा निकै अगाडि रहेको महसुस गराउँदथ्यो भने नारी सहभागिता, सक्रियता र प्रतिभाले कार्यक्रमभरि नै निकै प्रशंसा पाएको थियो । यिनै विशेष चर्चा परिचर्चाका साथ बेलायतको दोस्रो अन्तर्राष्टिय सम्मेलन भव्यताका साथा समापन भयो ।