हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भिखम

युवराज नयाँघरे, (काठमाडौँ )


विमानस्थलको भीडमा छ भिखम !    उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै – परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ । उसको सानैदेखिको रहर – आकाशमा उड्ने ।

आकाशको सम्मोहनले उसलाई तान्छ घरी – घरी । भिखम तराईमा जन्म्यो, हुक्र्याे र बढ्यो । अक्षरसम्म चिन्यो ।

‘एइ बौवा, कि छे ?’

भिखमसँग ठट्टा गर्नेहरुले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने । आमन्त्रण उसका निम्ति जति रुचिकर थियो, प्रिय थियो र हुँकारयुक्त थियो – त्यत्तिकै समय कटनीका निम्ति सजिलो पनि ।

भिखम गाई चराउँथ्यो । घाँस काटेर आलीमा राख्दै सोच्थ्यो – ‘म पनि गाउँ छोड्छु !’

गाउँबाट विदेश जानेहरुको सख्या केही यता बढेथ्यो ह्वात्तै । दिन दुगुना र रात चौगुना बढेको थियो । रामलखन, चन्दर, लालबाबु, रामखेलावनहरु गइसके ।

भिखमलाई तिनको ख्याल आउँछ ।

गर्मी चढेपछि खुब पौडी खेलिन्थ्यो । रातु नदीमा धेरै पटक खेलेर मस्ती लिएको छ उसले ।

भिखमलाई लालबाबुले सिकाएको हो – पौडी खेल्न । सुरुमा खुट्टा चलाउने, हात फाल्ने र सास चलाउने कुरा बगरमा सिकायो लालबाबुले । पछि किनारमा छप्लाङछुप्लुङ । अनि भुँवरीमा छत्लाङ्ङ !

पछि त निकै गजब हुन थाल्यो । लालबाबुलाई नै हराइदियो भिखमले । एकपटक हैन – निकै–निकै पटक हराइदियो ।

सोनपुरमा हल्ला हुन्थ्यो – भिखमलाई जे कुरा सिकाऊ – पछि त उसले सबैलाई हराउँछ । सिकाउने गुरु नै हार्छ । भिखमले लालबाबुलाई पौडी सँगै कुस्तीमा पनि हरायो मज्जैले ।

भिखम विमानस्थलमा छ ।

केही पछि नै ऊ उड्दै छ आकाशमा । केही समयपछि नै यो धर्ती यतै थन्काएर भिखम बेगिने छ बेतोडले । धर्ती कहिले नछोडेको उसलाई यस कुराले मनभरी निकै खल्बली पारेको छ, छ ।

एयरपोर्टमा पुलिसका हातमा काला घँगारुका लठ्ठी देखिरहेछ ऊ । भिखमले पुरानो कुरा सम्झियो ।

यस्तै चार कक्षामा पढ्दाको कुरो मास्टरजी कडा थिए । रुखमुनि पढ्नु पर्थ्यो । एकदिन मास्टरजीको लामो लट्ठी लिएर भिखमले ढुक्कुरका बच्चा झार्यो । हनुमान सिंह, मानक र रामभरोस जस्ता साथीहरु मिलेर ढुक्कुर पोलेर खाए । 

भोलिपल्ट त्यसको गाइँगुइँ सबैका कानमा पुगिगो ।      

अनि मास्टरजीले भिखमलाई अह्राए – ‘यो लठ्ठी पुरानो भो । अर्को राम्रो लट्ठी बनाएर ल्याउनु !’

भिखमले कटबाँसको लौरो खुब मज्जाको बनायो । खुर्कीखार्की गरेर, तेल दलेर, आगोमा सेकाएर लट्ठी तयार पर्यो । अनि आफ्नो पौरख देखाउन स्कुल जान हतारियो ।

अरु दिन भन्दा चाँडै स्कुल पुग्यो ऊ । मास्टरजीलाई प्रमाण गर्दै लट्ठी अर्पण ग¥यो भिखमले ।

‘ठिक छ !’

मास्टरजीले भने । मुसुक्क हाँस्यो भिखम ।

उसलाई लाग्यो – निकै मिहिनेत गरेको फल पायो उसले । सार्है मन रमायो उसको । मास्टरजीलाई लट्ठी दिएर उसले आफ्नो पौरख देखाउने मौका पायो मज्जैले ।

‘हाफ टाइममा भेट्नु !’

भिखमले जाने बेलामा गुरु वाणी सुन्यो ।

हल्लाखल्ला बीच कक्षा चलिरह्यो । ऊ दङ्ग थियो । आज मध्यान्हमा केही राम्रै पुरस्कार पाइनेछ । मनमनै रमाइरहेको थियो भिखम ।

हाफटाइमको घण्टीसँगै ऊ दगु¥यो टहरोतिर । जहाँबाट आइरहेका थिए मास्टरजी ।

‘हिजो तैँ होइनस् – मेरो लट्ठीले ढुक्कुरको गँुड झार्ने !’

त्यतिन्जेलमा भिखमले एक स्वाँठ खाइसकेको थियो । लामो लट्ठी भाँच्यो माझैमा । चिएको लट्ठीले फेरि बजाए मास्टरले । फेदपट्टि कालो र ध्वाँसोले टलक्क टल्केथ्यो लौरो ।

अनि ऊ त्यस मास्टरको सामु कहिल्यै परेन । बिस्तारै ऊ स्कुलको आँखी हुँदै गयो । रुख, भैंसी, खेत, पोखरीमा बिताएर भिखम घर फर्कन थाल्यो । टाढियो ऊ बिद्यालयबाट !

बिमानस्थल वरपर अनौठा – अनौठा कुरा देखिरहेछ ऊ ।

अगाडी ठूलो टेलिभिजनमा अक्षर कुदिरहेछन् । जहाज आउने र जाने सूची हो त्यो ।

‘देख्–देख् !’

नन्दनले अलि – अलि अक्षर फुटाएर भन्यो – ‘टेलिभिजनमा जहाज आउने र जाने कुरा आउँछ, त्यो पढ् !’

भिखमले पढ्ने कोसिस गरिरा’छ । तर असम्भव छ त्यो स्थिति ।

सी ए टी – क्याट । क्याट माने बिरालो । एम ए एन जी ओ – म्याङगो । म्याङ्गो माने आँप । भिखमले सिकेको अंग्रेजी यै हो ।

त्यस्तो सजिलो अंग्रजी यहाँ छैन ।

उसलाई थकथकी लागिरहेको छ । बेलामा पढिएन – बडा नकाम गरिएछ नि !

बिमानस्थलमा खुब भीड छ ।

त्यो भीड देखेर उसलाई गाउँको हाटको ख्याल आइरहेको छ । ऊ बासँग बजार जान्थ्यो । बा ले बयलगाडा हाँक्थे । त्यो गाडा उनीहरुको थिएन । मुनिम काकाले ‘पहाडिया महाजन’ को राइस मिलमा बालाई काम दिलाइदिएका ।

बा टायरवाला गाडा चलाउँथे ।

एक दिनको धानको भुस्सा लोड गर्दै थिए गाडामा । गाडी उत्तानो भएर सबै बोरा बाको टाउकोमा थुप्रियो । अनि बोरै बोराले पुरिएछन् भिखमका बा ।

बिहान कालो सर्ट लगाएर गएका बा लाई दिउँसो सेतो कपडाले ढाकेर खोलातिर लगेको देख्यो भिखमले । ऊ डराई – डराई हुलमा दगु¥यो ।

घाटमा पुगेपछि बा लाई आगो लगाउन उसकै हातमा दनदनी बलिरहेको पुल्ठो थमाए मुनिम काकाले । जे – जे भने त्यै – त्यै गर्यो भिखमले ।

घर आउँदा आँगनभरि मान्छेको भीड ।

यो विमानस्थलको भीड देखेर उसले त्यो दिन फेरि सम्झियो । उसलाई अगाडीको बादलु आकाशमा बा ले हेरिरहेका छन् जस्तो पनि लाग्यो ।

केही समयपछि नै त्यै बादल भरिएको आकाशतिर उड्ने छ भिखम ।

गाउँमा भीड अरु दुई कारणले हुन्थ्यो – भाषण र भजन ।

नेताहरुको आगमनसँगै भीड खुब हुने गर्दथ्यो । एक पटक भीड जम्मा गर्दा भिखमले दुई सय रुपिया पाएको थियो । जति धेरै मान्छे बटुल्यो त्यति नोट पाइने । एक हप्ता खटेपछि उसले गब्बर सिंहको पार्टीलाई मान्छे बटुल्न सकेको थियो ।

तर अर्काे हप्ता माइकालालको पार्टीवालाहरुले भिखमलाई मज्जाले भकुरे र भने – ‘तँ जता पनि लाग्छस् । पैसा खाएर मान्द्धे बटुल्छस् । कि हाम्रो पार्टीमा लाग् कि उता लाग् । पैसा खाएर दलाली काम नगर ।’

त्यै दिनदेखि पानी समात्यो भिखमले र निर्णय ग¥यो – ‘साला पार्टीवालाको काम गर्दै गर्दिन । बरु भुखै मर्छु !’

एयरपोर्टमा आइसक्रिम चुसिरहेकी युवतीको ठूलो पोस्टर उसले देख्यो । भिखमले पोस्तर नजिकै गएर हे¥यो र ओठ चाटयो ।

ऊ सानैदेखि बरफको सोखिन । बरफ चुस्न पाएको दिन खब फुरुङ्ग पथ्र्याे भिखम । एकदिन बेच्न लगेको एक बाल्टिन दूध उसले दस वटा बरफसँग साटेको थियो । तर दुईवटा चुसिनसक्दै अरु आठवटा पग्लिएर गइसकेका थिए बरफहरु ।

दूधको हिसाब देखाउन नसक्दा राति राम्रै धुलाइ भएथ्यो भिखमको ।

एअरपोर्टमा अचम्म लाग्दा अरु कुरा छन् । भिखमलाई ती अनौठा दृश्यहरुले खुब चिमोटीरहेका छन् । आँखै नझिम्क्याई हेरिरहेछ ऊ – अचम्म र छक्क लाग्दा मान्छे र परिवेश । अचम्मका भुमरीमा छ भिखम ।

प्लास्टिकका खोलमा मकैका प्याकेट सजाइएका देखेपछि भिखमलाई लाग्यो – ‘जहाज चढ्नेहरु नि मकै खाँदा रहेछन् !’

भीडमा छ भीखम ! आँखा च्याती च्याती विमानस्थलको होहल्ला हेर्दैछ ऊ निरन्तर । बाँसघारीमा बास बस्न लागेका सारौं कराएको लाग्दैछ उसलाई ।

मेनपावरले दिएको पासपोर्ट र टिकट एक पटक फेरि हेर्यो भिखमले ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |