हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सौता

विद्या सापकोटा, (काठमान्डौ )


प्रेम, सबन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्वहरु हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ? बारम्बार प्रश्नले गिजोल्न लागेको थियो । परिस्थिति कल्पनाभन्दा बाहिरको हुनुले पाँचसात रेक्टरका भूईचालाहरु गइरहन्थे मन भित्रभित्रै । यी र यस्तै प्रश्नहरुलाई पछ्याउदै त्यो सुदूर गाउँसम्म पुगेको थिएँ क्यार म ।
“कमला खै त ?“ आमाको गोडामा घोप्टिदै यताउता हेर्यो प्रमेशले ।
उत्तर आउनु अगावै छिनछिन चुरा बजाउदैं एक लज्जावती युवती हाजिर भई । प्रेम भरिएका प्रफुल्ल आँखाहरु प्रमेशतिर फाल्दै मतिर इसारा गरी उसले, “सगुन हैन ?”
“हजुर !” मेरा हात पनि जुम्ल्याहा भए । 
यस्तैमा हामी पिढींको फलैचामा पुगिसकेका थियौ । “लामो यात्राबाट आउनुभएको थाक्नु भएको होला ?” स्वाभाविक मुस्कानकासाथ भित्र पसी ऊ । थाकेको त छदैं थिएँ त्यसमा मन बशमा थिएन । कस्तो–कस्तो लागिरहेको थियो । त्यो कस्तो–कस्तो के थियो मलाई नै थाहा थिएन । केहिबेरमा लटक्क जमेको दही र अरु खानेकुरा लिएर सामुन्नेमा उभिई ऊ । नियाश्रोले चाउरिएका अनुहार उज्यालो पार्दै आमा हाम्रै अगाडी बसिरहनुभएको थियो । टुसुक्क ऊ पनि बसी । मलाई झन् अप्ठ्यारो लागेर आयो । बोल्न लाग्दा शब्दहरु घाटीमा आएर गुजुल्टो परेजस्तो भयो । लत्रिएको अनुहार देखेरै होला, बरण्डाको बिछ्यौना देखाउदै आरमको लागि आग्रह गरी उसले ।
सामुन्नेको घनाजंगलयुक्त पहाड, परबाट चिहाउदैं लुक्दै गरेजस्तो सेतो हिमाल, धन्सारसहितका जस्ता वा टिनले छाएका घरहरु अनि पवनको मन्दमन्द स्पर्श । बार्दलीको खाटमा पल्टदै नियाले मैले । पश्चिममा पुगेका राता किरणहरु साझ पर्न लागेको संकेत दिदै थिए । वातावरण मोहक थियो तरपनि मन शान्त हुन सकिरहेको थिएन । कताकता डर थियो नै ।
समय कटाउन कै लागि डायरीको पानामा रुमल्लिदै थिएँ म । “सगुन जी !” खाना खान जाऔं । झ्याउकिरीको झ्याउँझ्याउँमा आफ्नो मसिनो स्वर मिसाउदै छेवैमा आइपुगी ऊ । जूनको उज्यालोमा उसको छायाँ बार्दलीबाट आँगनसम्मै तन्किएको थियो । लामो सलक्क परेको कपाल, बुट्टेदार फरिया, टपक्क मिलेको चोली, मिलेकोे शरीर छायाँचित्र मै गाडिएछु  ।
“सञ्चो भएन कि ?” दोश्रो पटकको झकझकाइमा आँखाहरु एक अर्कामा ठोक्किए । कानमा मुन्द्रा, हातभरी चुरा, गलामा लामो पोते, लाम्चो नाकमा टलक्क टल्केको फूली, भरी सिउँदो, सहृदयी अनुहार ....म फेरी दौडिए उसैमा, त्यस्तै सत्ताइस अठ्ठाइसको उमेर हुदोँ हो ।
‘धाँजा–धाँजा भएर फुटेको पैताला, जिरिङ्ग कैलो कपाल, टाटैटाटा भएको मैलो लुङ्गी,सुकेनास लागेको जस्तो शरीर ।’ कता मैले अस्पष्ट कल्पना गरेकी आइमाई कता यो ? उसलाई राम्रो देखेर खुशीभन्दा बढी आफ्नो कल्पना गलत भएकोमा रिस उठ्थ्यो मलाई । “प्रमेशले खायो त ?” कुरा छल्दै मेरा ओठ उघ्रिए ।
” भान्छा मै हुनुहन्छ, सबैजना सँगै खाने भनेर नी । ” मेरो हात च्याप्प समाउदैं हिडीं ऊ, आज्ञाकारी बालक झैं लुरुलुरु पछि लाग्ने पालो मेरो थियो ।
पिर्का तानेर मलाई दिदैं खाना पस्कन लागी ऊ । प्रमेश चुप्प लागेर कुनामा बसेको थियो । आमा घ्यूको चम्चा घुमाउदै हुनुहन्थ्यो । पालैपालो तीन प्राणीलाई हेर्दै थाल समाएँ मैले ।
“घरमा को–को हुनुहुन्छ नि नानी ?” प्रश्न आमाको थियो ।
“बाबाआमा, भाइ, बैनी र म .......पाँच जना ।”
”भनेपछि बाटो खुलाउने जिम्मा त नानी कै रहेछ नि है?”
”भन्नाले ?” अकमक्क परें म । मुखसम्म पुगेको गाँस थालमै फर्कायो प्रमेशले ।
”बिहे गरेर भाइबहिनीलाई पालो दिने बेला भएछ भन्नु भएको के आमाले । ” उसैले प्रष्ट पारिदिई ।
...........................................................
” भोलि कुरा गरौला नि हैं ?” केही बेरको मौनतापछि अतासिदैं बार्दलीमा पुगे म ।
जसरी प्रश्न असाधारण थिएन त्यसैगरी मसँग भन्नेकुरा पनि थिएन । साहारा खोजे झैं सिरकभित्र गुट्मुटिएँ म । अझ भन्दा आफूलाई त्यसभित्र अटाउन खोजें, बाँध्न खोजेँ तर जति बाधिदै जान्थेँ,  थिचिदैं जान्थेँ मनको बाँध उत्ति फुक्दै जान्थ्यो । मथिंगलभरी कहिले आफ्ना भनिनेहरु, कहिले पराइ मानिएकाहरु त कहिले को–को सल्बलाउथें । न गाउँ कि, न त शहर की केटी ‘म’ । गाउँलेको आँखामा शहरीया र शहरीयाको आँखामा गाउँले भएरै मेरा किशोरवय र यौवनका प्रारम्भ आए, फक्रिए । मैले जानेको यति नै थियो कि, मेरा बाबुआमा संसार कै सबैभन्दा राम्रा बाबुआमा हुन् । म जान्दिनथे, कुन पीडाले वा कुन प्राप्तिले उहाँहरुलाई गाउँबाट शहरसम्म डोर्यायो ? हु्नपनि उहाँहरुले हामीलाई कहिल्यै आफ्ना पीडाका कहानी सुनाएर अत्याउनु भएन । अभाव भोगेरै पनि अभागीपनको आभास हुन दिनु भएन । मात्र असीम स्नेह र उत्प्रेरणा बर्साइ रहनुभयो । लाग्थ्यो , जीवन सुन्दर फूल रहेछ ।
कलेजका दिनहरु सकिएपछि रोजगारीको खोजी यात्रा शुरु गरे मैले । अखबारका पानादेखी गल्लिका भर्याङ्गहरुसम्मको त्यो पट्यारलाग्दो यात्रापछि मलाई लाग्यो, कामको हैन नैतिकता र गुणस्तरको अभावले खिस्रिक्क परेको ठाउँ रहेछ शहर अनि अचेतन समाज, राजनैतिक ऐजेरुले ग्रस्त बस्तिको नाम ‘गाउँ’ । प्रगतिपथमा हिडिरहेका साथीभाइ,बूढा हुदैं गएका बाबुआमा, हलक्क बढेर आफूभन्दा ठूला देखिएका भाइबहिनी अनि बेकामी आफू । खै के गर्ने र कसो गर्नेको दोधार,तीनधार, चौधार मै जीवनका उर्वर दिन,हप्ता,महिना र बर्षहरु चिप्लदै थिए । आफू र आफ्नालाई पालैपालो हेदै गर्दा जीवनको पच्चिस बर्ष उड्न लागेको यथार्थले उठाउदै लण्डन पुर्याएथ्यो मलाई ।
सभ्रान्त शहरमा पुग्दैमा समस्याहरुको छु–मन्तर किन हुन्थे र ? त्यो बिरानो मुलुकमा कतिदिन,के खाएर, के गरेर अडिने ? अडिए नै पनि आफू उड्दा–नउड्दै बैंकको नाममा उडिसकेको त्यो हाम्रो सानो घर कसरी निफन्ने ? त्यहा पुग्दा–नपुग्दै समस्याले रिङ्गयायो । कामको खोजिमा सडकका पेटी र पार्कका कुना–कुना चाहार्न लागे म । समय घर्किसकेको एक उदास साँझ उस्तै उदास पाइलाहरु घिसार्दै हिडिरहेको बेला,हिडाँइको सार मिलाउदै थप दुई पैतलाहरु थपिए । त्यो थियो, तीन बर्षदेखी लण्डन मै बस्दै आएको नेपाली युवक ।
”केही कुराको जरुरत परेमा मलाई भन्नुस है ?” घरधन्दाका सारा काम सकेर अतिथि धर्म निभाउन आएकी हुदीं हो ऊ, म विगतबाट घरप्पै वर्तमानमा झरें अनि निदाए झैं गरेर टारिदिएँ । उसका पाइलाहरु बडो उमङ्गका साथ पल्लो कोठातिर लम्के । आफूलाई भने निद्रा लाग्ने छाँटकाँट नै थिएन । त्यसै–त्यसै झर्को लागेजस्तो मात्र लाग्थ्यो । पल्लोकोठाबाट रातभर जसो चुरीका आवाज ,साउतीका स्वरहरु आइरहे । ‘पाँच बर्षपछि भेटिएका लोग्नेस्वास्नी कुराको पोको फुकाउदैं हुदाँ हुन् ।’ मलाई  आफ्नै अन्दाज पनि बडो नमीठो लागेर आयो । बेला–बेलामा उछिट्टिएर आइपुग्ने त्यो गुनगुन त्यो जोडी कै हो भन्ने पनि पत्याउनै मन लागेन । थकित भएर कोल्टे फेर्दै गर्दा अस्ति भर्खरैका दिनहरु सिनेमाका पर्दामा झैं फेरी फुत्तफुत्त देखिन लागे  ।
त्यो अन्तिम रात लण्डन बसाइको, चीसो–चीसो मौसम, उत्तरी तठबाट लहरिदै आएको हावाको झोक्काले कपाल फिरिरि हुन्थ्यो । टहटह जूनका बीच अर्धगोलाकार चन्द्रमा मुसुक्क मुस्कुराइरहेको थियो । हुन त, बारम्बार देखेको हुँ मैले जूनलाई ,चन्द्रमालाई अनि बढ्दै गएर भेटिएको पूर्णतालाई पनि । फेरी पनि त्यो रात खास थियो ।
”सगुन ! चिया”,म फेरी खग्रङ्ग भए । समय एकै हुदोँ हो ,दुई बिहानका । आफ्नो आशा र विश्वासको अन्त्य भएको कालो प्रभातको यादले झस्किनै लागेथे भित्ते घडिका टिङटिङ आवाजले सचेत गरायो । तृप्तिका पाइला उचाल्दै पधेँरा हिडिसकेकी थिई ऊ । पख्नुस् न..........म पनि दौडिएँ । मिर्मिरे मै आइमाईहरु जम्मा भैसकेका थिए । ‘ओहो !आज पनि पानी लिन आयौं, यत्ति सखारै अंगालो खुकुलो पारिदियो प्रमेशले ?’ दौतरीहरुको छेडछाडमा परी ऊ । ‘उहाँको साथी सगुन‘ मलाई देखाउदै उम्किई ऊ ।  मलाई भने उसको त्यो रातिएको गाला मनै परेन ।
एकातिर मलाई उसको अगाडी उभिन पनि असहज,असुरक्षित महशुस हुन्थ्यो । अर्कोतिर उसको मसँगको ब्यबहार भने दिनानुदिन आत्मिय हुदैं गइरहेको थियो । घरैमा धुमधुम्ती बसिरहनु अझ सकसपूर्ण हुने हुदाँ धारा–पधेँरा, घाँसदाउरा र गोठालोमा उसको पछि लाग्नु मेरो बाध्यता जस्तै बनेको थियो  । ऊ आफ्नो पे्रमको, बिहेको, विहेपछि एकजनाले घर–ब्यबहार चलाउने अर्कोले पढ्ने भनि बनेको सहमतीकोे,पतिपत्नीका बीच चल्ने मिसकलका दोहोरीको अनेकै किस्साहरु सुनाइरहन्थी । गाँउ–ठाउँका जल्दाबल्दा घटना र त्यससबन्धि टिप्पणी आदिको बारेमा पनि साक्षात्कार गर्ने मौका मिल्थ्यो ।
म पुगेको हप्तादिनको दिन हुनुपछर्, भिन्न हावा चलेको थियो गाउँमा । त्यसको प्रभाव घरसम्मै आइपुगेछ, सबैका मुख कुच्चिएका थिएँ ।  यो हुण्डरी बोकेर आएकी थिई एउटी आइमाई, छोराको उमेरको श्यामेको कान्छी पत्नी बनेर । प्रमेश दिनभर कहाँ थियो मलाई थाहा भएन, बेलुकी लुरुक्क परेर भान्छामा छिर्यो ।खाना पस्कदै गर्दा त्यो प्रसङ्ग फेरी बिउझियो ।
’मान्छेको फेला नपरेका चण्डालहरु’, ऊ कृद्ध थिई ।
”प्रेम गर्छु भनेर कहाँ हुन्छ र ?” सानो स्वरमा आफ्नो कुरा राखे मैले ।
”प्रेमको अर्थ जानेकी छौं सगुन ?...............प्रेमले त मनसँग मन जोड्छ,अर्काको छदाँखादाँको घरसंसार उजाड्ने पनि कही प्रेम हुन्छ ?”उसको आवाजमा आक्रोश थियो ।
”आफ्नै सौता आए झैं पो गर्नु भो तपाईले .........?” भन्न नहुने कुरा अनायसै फुस्कियो । 
”के अनाफसनाफ बोलेकी ?” आमा जाइलाग्नु भयो, ”प्रेम र कर्तव्यको मर्यादा राख्न नसक्ने मान्छे के मान्छे ?”
”अरुको दिल दुखाउनेहरु कहिल्यै खुशी हुन सक्दैनन् सगुन”, आफ्ना आँखाहरु दलिनतिर टाँस्दै कुरामा कुरा थपी उसले ।
”मेरो मतलब त्यो थिएन, मैले त केटीलाई थाहा नभएको पनि हुनसक्छ भन्न खोजेको ”, डराउदै–डराउदै त्यो अन्जान आइमाईको पक्ष लिएँ मैले ।
”त्यो त थाहा पाइ–पाइ आएकी हो रे , कुबेतमा सँगै काम गर्थी रे । कमसेकम आफ्नो उमेरको त ख्याल गर्नुपर्ने नि”, आमाको राँकिनु भएथ्यो । 
”कुरा जे नै भएपनि अब एक गल्तीको सजाय जिन्दगीभरी चुकाउनपर्छ त्यसले,महाअभागी त्यो झन् । ” उसको स्वर रिसले काँपेको थियो ।
प्रमेश ढुङ्गा झैं प्रतिक्रियाबिहीन । मलाई भने ऊ देखी पो रिस उठिरहेको थियो । त्यो रिस थियो वा ‘अपराधबोध’ मै जान्दिन ।
तित्ततामै भान्छा उठ्यो । मलाई एकदम नरमाइलो लागिरहेको थियो । ती सबै गाली मै माथी बर्षिएको अनुभूतिले पानी–पानी भएर आफैलाई पढ्दै थिएँ म ।
”रिसायौ कि ?” आवाज उसैको थियो । जवाफ नै नपर्खी ओठहरु पुनः चले । ” मेरी साथीले त्यस्तै एक हर्कत मात्र गरेकी भएपनि ‘जे–जे भयो–भयो, मिलेर बसौ’ भनेर उसलाई माफि दिइन्थ्यो,कदापी दिइन्न थ्यो । यो पुरुषप्रधान समाज हो सगुन, जसले जे भनेपनि बदनाम हुने यातना भोग्ने त केटीले नै हो । ”
भिजेका परेला पुछ्दै गडेर हेरी उसले । ”तिमी नै भन न, जुन घरमा÷जुन मान्छेको नामको सिन्दुर पहिरिएर बषैदेखी उसैको घर÷बाबुआमा÷बाल–बच्चा स्याहारेर–सम्हालेर बसेकी, सबैले रोजेर–खोजेर ल्याइएकी पत्नीको त यो हाल भयो, त्यो नयाँ आइमाईको के होला ? त्यसको त न माइती आफ्ना रहलान्, न घर आफ्नो होला ?भगवान्ले त्यसो नगरुन् ।” एकोहोरो बोलिरहेकी थिई ऊ, अनुहारका नशा फुलेजस्ता देखिन्थे । के भन्नु न के गर्नुको अबस्था मेरो । ”मसँग नरिसाऊ बिन्ती । म मेरी संगिनीको पीडाले फतक्क गलेको छु ।” खुइयय....एक निश्वास फ्याक्दै बिस्तारै उठी ऊ ।
ऊ गएको हेरिरहन मन लाग्यो मलाई । साँच्चै उसका शब्द–शब्द मार्मिक सत्य बोकेर ओर्लिएका थिएँ । बिदेशी भूमीमा एकसाथ रहदाबस्दा एकअर्काप्रति जन्मिएको लगावलाई प्रेम मानेर, कत्रो गल्ती गर्न लागेको रहेछु मैले ? नेपाल फर्कने दिन÷इन्गेजमेन्टको भोलिपल्टको बिहान नेपथ्यको पर्दाबाट छुसुक्क चिहाएको हुनेवाला जीवनसाथीको विवाहित छवी अनि आफूले आवेगमा रोज्न लागेको कालो बाटो रातभरी कोपर्न आइरहे । त्यो भन्दा बेशी मैले कहिल्यै मन पराउन नसकेकी एक गाउँले युवतीमा निहित आत्मसम्मानको चेतले लज्जित भइरहें म ।
अर्को बिहान,ऊ पधेँराबाट फर्कनु अघि नै आफ्नो औंलाको औंठी फुकालेर प्रमेशको हातमा राखिदिदैं आँगनीमा झरिसकेथे म । पर पुगेर हेर्दा ,आमासँगै बिदाइको हात हल्लाइरहेकी थिई ऊ । गलाको तिलहरी र सिउँदोको सिन्दुर कति राम्रो सुहाएको उसलाई, इश्या हैन अगाघ श्रद्धा जागेर आयो । मलाई अनुभव छ,म एकदम हलुङ्गो भएको थिएँ, मानौं उडिरहेको थिएँ । सायद ! त्यो उषाको पहिलो लाली मेरै नामको थियो ।

Comments

ujjwal adhikari

wow bidhya jee manai chhoyo taa hoo ,very nice story

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |