हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वचाल त्यो रुप

शिव प्रकाश, (बोस्टन, अमेरिका)


केही दिन अघि तर धेरै दिन पछि शाम्भवीको फोन आयो ।
“शार्दूल, म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी अर्थात तिमीलाई सम्झेर ।” मैले भने– शाम्भवी तिमी र ममा यही फरक अझै बाँकी छ । तिमी बेलाबेलामा सम्झन्छौ तर म कहिल्यै विर्सन्न । कहिल्यै नविर्सेपछि सायद सम्झीहरनु नै पर्दैन !”
शाम्भवीसँग मेरो एकप्रकारको सम्मानित सहवास थियो । आत्मियता, मित्रता र मित्रता पछिका अरु धेरै साइनोहरु थिए र यद्यपि केही छन् । जुन साइनोहरु टुटाउँछु भन्दा पनि नटुटने र जोडीराख्छु भन्दा पनि सधैं नजोडिने । तर उसँग मेरो केही छैन । न कुनै नाता, न कुनै सम्वन्ध, न कुनै आत्मियता, न कुनै मित्रता तर पनि मेरो मानसपटलमा बसेर उसले शाम्भवीको सम्झनालाई प्रतिस्थापित गर्दैछे । मेरो स्मरणमा उ कति शक्तिशाली बनेर आईरहेकी छे भने शाम्भवीलाई कहिल्यै नबिर्से जस्तो अब उसलाई म कहिल्यै नबिर्सने भएको छु ?
त्यो केटी ! कति खुशी छे आफैंमा ! नितान्त नौलो त्यो आयतीत पनमा ! सापटी लिएको सँस्कारमा ! तिर्नु नपर्ने गरि उधारोको रुपमा ग्रहण गरेको त्यो सभ्यतामा ! यी सबैलाई उसेले जीवनशैली बनाएकी छे । ठीकै पनि छ । जीवन अरुका लागि साँच्ने भए पनि आफू खुशी बाँच्ने हो । म र मेरो भन्ने उत्तर आधुनिक सँस्कारले आकार विस्तारित गरेर विश्वव्यापी नव चेतना ल्याएको बेला उ जस्ती केटी कसरी टाढा रहन सक्छे ? म यस्तै यस्तै सोचिहरन्छु र उसैलाई सम्झिरहन्छु ।
म कसैको जन्मदिनको एउटा सानो जमघटमा छु । अमेरिकामा “वर्थ डे” मनाइए पनि नेपाली सँस्कार र परिकार प्रसस्त छन् । भित्र अर्को कोठामा उ बोल्दै छे । मेरा आँखालाई उसले आफूतिर बारम्बार तानीरहेकी छे । केटाहरुको झुण्ड छ, उ उभिएकी छे । हरेक आँखाहरु उसलाई तलदेखि माथिसम्म निहाल्न वाध्य छन् । मेरा आँखा पनि ती अरु आँखाका वाध्यतासँग जोडिन वाध्य भए तर त्यो वाध्यताभित्र मेरा आँखा त्यो केटीको आभारुप सामू धेरैबेर टिक्न सकेनन् । मैले मुन्टो बटारे । आँखा चिम्लनु भन्दा मुन्टो बटार्नु ठीक ठाने । उसले पहिरेको पोशाकले के छोप्न खोजेको हो, के देखाउन खोजेको हो ? ठम्याउन सकेनन् । नसकेपछि आँखा चिम्लनु भन्दा बरु मन्टु बर्टानु ठीक ठाने । कान खुल्लै थिए आवाज सुनिरहेको थिएँ ।
मानिसको भीड बाक्लिदै छ । उ बोलिरहेकी छे, उसको बोलीले सबैको ध्यान तानेको छ । अनि ध्यानसँगै उसको पहिरनले अन्य आगन्तुकका आँखा झन् मजाले तानेको छ .। मानौ त्यहाँ त्यस्तो केही छ जुन नहेरी धर छैन । ठिटाठिटीहरुको हुल एक्कासी बाहिरियो । भान्साको टेबुलमा म रसपान सहित खानपान गर्दैछु । त्यो हुलमा प्रायः परिचित अनुहार छन् तर त्यो एउटा अनुहार एकदमै अपरिचित । सबैले अंकल भनेर अभिवादन गरे तर उसले “हाई बडी” भन्दै मसँग हात मिलाई । म एकछिन् अलमल्ल भएँ । अनि "हग" गर्न तम्सी । संकोच भयो । मैले नमस्ते भने ।
“ओ नमस्ते ! हाई” भनि उसले फेरि ।
हुलको एक ठिटोले अँग्रेजीमा भन्यो “उ प्रकाश अंकल हो ।”
उसले फेरि ”हाई प्रकाश, कस्तो छ तिमीलाई ?” भन्दै एकै स्वरमा भनि “तिमी ह्याण्डसम देखिन्छौ”। उ अँग्रेजीमा बोलिरहेकी छे, म केही बोलिन । मेरो असहजताको महशूस अर्को ठीटोले गर्यो जस्तो लाग्यो । स्पष्टिकरण दिदै भन्यो “अंकल, उ नेपाली बुझ्छे तर इङ्गलिस मात्र बोल्छे ।”
फेरि पनि म केही बोलिन । सहमतिको मुन्टो हल्लाएँ, फिस्स दाँत देखाएर तर भित्रभित्रै उप्रतिको आक्रोश बढिरहेको थियो । त्यो आक्रोस मेरो अनुहारमा सायद काताकता झल्कियो होला उसले निधार खुम्च्याउँदै कुम कक्क्र्याउँदै मधुर बोलीमा भनि “तिमी ठीक त छौ ?” “ओ, माई डियर ह्याण्डसम !”
“हजूर, ठीकै छु ।”
“तर प्रकाश, तिमी सहज अनुभव गरिरहेका छैनौ । मलाई त्यस्तै लागिरहेछ ।”
“हैन, केही छैन त्यस्तो ।” उ अँग्रेजीमा बोलिरहेकी छे । म नेपालीमा जवाफ दिइरहेको छु । मभित्र यति बेलासम्ममा धेरै खुल्दुली, उत्सुकता र आक्रोसको युद्ध एकसाथ चलिसकेको छ । मेरो सहजताभित्र असहजातको कालो बादल छाइसकेको छ । मेरो मनको शान्त तलाउको तहमा आवेगको दह मिसिन थालेको छ । धैर्यताको बाँध फुट्न लागे जस्तो भइरहेछ ।
“ओ के प्रकाश, म फर्किहाँले” अँग्रेजीमै बोल्दै अर्को कोठातिर लागि । मलाइ अलिकति राहत अनुभूत भयो । लामो सास फेरेँ । कोठा भित्रबाट बाहिर उसको आवाज पहिले जस्तै चर्को र टड्कारो आइरहेछ । गानोमा मौरी झुम्मिए जस्तो गरि ठिटाहरु सबै त्यही गुडुल्किएर बसेका छन् । आफूलाई सहज र शान्त बनाउँदै म सोच्न थाले– “यो केटी हो को ? यो केटी पक्कै नेपाली होइन । किन भने नेपाली बोल्दिन । होइन, नेपाली नभए नेपाली कसरी बुझ्छे त ? होइन, यो केटी नेपाली नै हो । कता कता लाग्छ यो क्यारेवियन वा ब्राजिलियन पनि हुन सक्छे ! हैन, बंगाली जस्ती पनि छे ! कालीकाली हिस्सी परेकी निक्कै राम्री । व्यर्थै उसका बारेमा म टेन्सन लिइरहेको छु । भारतको पश्चिम बंगालमा नेपाली भाषीको सरसंगतमा रहेका धेरै बंगालीहरु नेपाली बुझ्छन् तर बोल्न सक्दैनन् । यस्तै पनि त हुन सक्छ । आखिर उसले बोल्ने भाषासँग मेरो के सरोकार ? उसको पहिरनसँग मेरो के दरकार ? उसको चालचलन र हाउभाउप्रति मेरो के अधिकार ? हाम्रो बानी यही खराब छ, हामी मान्छे देख्ने वित्तिकै एउट धारणा बनाउँछौ । बुझ्दै नबुझी, राम्रो पक्ष सोच्दै नसोची, हेर्दै नहेरी नराम्रो पक्षको मात्र विश्लेषण गर्छौ र नकारात्क धारणाभित्र बाँधिएर बस्छौं । म पनि त्यही हामी भित्रकै एउटा मान्छे हुँ । हामीकै एउटा अंश हुँ । म आफूलाई सकारात्क र सहज बनाउने प्रयत्न गर्छु ।
मैले केही क्षण अघि अर्कोतिर बटारेको मुन्टो अहिले फेरि उतिर फर्किन थालेको छ । रिसाएका आँखा लालयित हुन थालेका छन् । बारम्बार उसलाई हेरिरकेका छन् ।
“तिमी ह्याण्डसम देखिन्छौ । ओ, माई डियर ह्याण्डसम !” अनि “तर प्रकाश, तिमी सहज अनुभव गरिरहेका छैनौ ।” उसले केहीबेर अघि भनेका शब्द दोहोरिदै, तेहेरिदै मेरा कानमा लगातार ठोक्किदै मनमा गुन्जिन थालेको छन् । उसको स्वरुप आँखाको बाटो भएर मेरो हृदयमा डेरा जमाउन थालिसकेको छ । नजानिदो चालाले मभित्र चाहनाहरु चुलिदैछन् । उत्सुकताहरु लहलह वयल खेल्दैछन् । त्यो केटी मेरो छेउमा आएर बसिदिए हुन्थ्यो, अब मसँग कुरा गरिदिए हुन्थ्यो जस्तो लागेको छ । अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो भन्नु भनेको प्रेमको सांकेतिक प्रस्ताव हो भन्ने सुनेको थिएँ । उमेरमा म, उ भन्दा निक्कै पाको देखिन्छु तर पनि यसले यस्तो कुरा यत्रो मान्छे सामु मलाई नै किन भनि ? प्रश्नहरुको भीडभित्र मेरो मन हराउन थाल्छ । ती धेरै केटाहरु उसैका दौंतरी देखिन्छन् तर पनि यी शब्द उसले मलाइ नै प्रयोग गरी, अखिर किन ?
म सोचिरहेको छु, निक्कै बेर भै सक्यो उ मेरा सामु आएकी छैन । कि अब त्यो आउँदिन ? त्यसले पनि मलाई कतै गवाँर र पाखे त सोचिन । निक्कै अघि बोस्टनको एउटा रेष्टुरेन्टमा काम गर्दा एक साना नेपाली भाइबाट गवाँर र पाखेको विशेषणले आभूषित हुनु परेको घटना सम्झिएँ । भरखर अमेरिका आएको मान्छे, एक अमेरिकी ग्राहकले बोलेको कुरा राम्रोसँग नबुझ्दा र फर्काउन नसक्दा उनले मलाई त्यो विशेषताको दोसल्ला ओढाउँदै भनेका थिए “अँग्रेजी नबुझ्ने यस्ता गवाँर–पाखे किन अमेरिका आउनु ?” मैले नसुने जस्तो गरेँ, केही बोलिन । अर्की एक नेपाली चेली थिइन, काठमाण्डुकी नेवारकी छोरी । मलाइ भनेको सुनेर उनले नमीठो अनुहार लाएको देखिरहेको थिएँ, फिसिकक फोस्रो हाँसो हाँसेर पचाएँ । मनमनै भने– “धन्यवाद भाइ । तिमीले मेरो कमजोरीको किलकिले समायौ ।” हो म उनीहरु जस्तो बोल्न र बुझ्न सक्दिनथे । प्रतिवाद गर्नु भन्दा नसुने जस्तो गर्न नै ठीक ठाने । अरु केही नेपालीहरु पनि थिए, सबैले दाइ भनेर सम्मान गर्थे, नजानेको सिकाउथे । दरवारिया खान्दानको हूँ भन्ने ती फुच्चे त्यहाँ काम गर्ने हामी नेपालीमा सबैभन्दा कान्छा र होचा थिए तर अरुलाई होच्याउनेमा सबैभन्दा अग्ला तिनै थिए । सबैले राजाराजा भन्थे, आफूलाई राजै ठान्थे । मनले नभने पनि मूखले बेलाबेलामा म पनि भनिदिन्थे । कानाको देशको आँखा चिम्लनु, लंगडाको देशमा खुट्टो खोच्याउनु भन्ने सम्झेर चुपचाप बस्थे ।
कतै यसले पनि मलाई यस्तै पो सोची कि ? मनको बाघले खान थाल्यो । उ हरेक शब्द अँग्रेजीमा बोलिरहेकी थिइ । म हरेक शब्द नेपालीमा भनिरहेको थिएँ तर उसले जे सोधी त्यसको जवाफ त दिएकै छु नि । हैन, यसले यस्तो सोचिन ! हैन, नसोचेको भए म छिट्टै आइहाले भनेर पल्लो कोठामा गएकी केटी उतै रमाएर किन बसी ? मनमा फेरि तर्क–वितर्कहरुको दोहोरिलत्ता चल्न थाल्यो । म बेलाबेलामा पुलुक्क–पुलुक्क हेर्छु उ उतै रमाइरहेकी छे । मलाइ भने छटपटीले हुट्हुटी पार्न थालिसकेको छ । उ आइन भने के गर्ने ? एक मनले सोचे उतै ठीटाहरुको हुलमा गएर मिसिउँ । अर्को मनले भने मैले यस्तो गर्न मिल्दैन यी सबै मभन्दा निक्कै आलाकाँचा छन्, मलाइ सुहाउँदैन  । अनि त्यो केटी पनि ।
सोचेँ– म पनि मुर्खको भाँडो नै हुँ । उसले मेरो त्यस्तो प्रशंसा गर्दा मैले त्यही अनुरुपको शाब्दिक वा प्रतिकात्म अभिव्यक्ति व्यक्त गर्न सकिन । सायद त्यसैले उ मबाट एकैछिनमा अलग्गिएकी होली ! एक छिनमा नजिक भइ, एकै छिन्मा टाढा । यहीँका अमेरिकनहरु जस्तै ! हुन त मान्छेको मन र शिशा उस्तै हो भन्छन् सानो कुराले टुट्ने । के मैले यसालाई टुटाएँ त ? आखिर मलाई राम्रो नभन भन्ने मान्छे को छ, यो संसारमा ?  मलाई राम्रो भन, तिम्रो मनले खराब ठाने पनि । म मान्छे हुँ भन्ने कुरा मैले किन विर्सेको ? सम्झनु पर्ने बेलामा किन सम्झिन नसकेको ? मैले पनि उसले जस्तै क्षणिक भावुकता मिसिएको भए पनि प्रणय मिश्रित प्रेममय बोली बोलिदिएको भए के विग्रन्थ्यो ? मेरै प्रश्नको ओइरोले म एकछिन पुरिन्छु । उसको कोमल हृदय मेरो कठोर व्यवहार र रुष्ठ अनुहारबाट सायद चुँडियो कि क्या हो ? मलाई फेरि मनको बाघले खेद्न थाल्छ । केही क्षण अघिसम्म आगो भएको मान्छे अहिले म पानी भएको छु । उ मेरो मनको तहमा तैरन थालेकी छे । भित्रभित्रै मभित्र केही हराए जस्तो भइरहेछ । मनले केही खोजे जस्तो गरिहेछ ।
केही बेर फेरि सोचेँ– हैन, अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो कुरा भन्नु सामान्य नै होला । भालुको मन खनिउ माथि जस्तो मात्रै हो मेरो मन । जे होस् उसले मलाई प्रशंसा गरेका कुरा भन्दा पनि यो केटी हो को र हो के ? चासोको विषय त त्यो हो नि । मभित्र खुल्दुलीको खाडल गहिरिदै छ । कसरी पुर्ने त्यो खाडल ? मैले मभित्रको मलाई अर्कोतिर मोडे । अब मैले आफूलाई मात्र एउटा इच्छामा बाँधे, त्यो केटीको बारेमा जान्ने तर कसरी ? उ मेरो छेउ पर्नै छोडी । एक्कैछिनलाई भनेर गएकी अहिलेसम्म आइन । ठिटाहरुकै हुलमा हराएकी छे, रमाएकी छे ।
फेरि सोचेँ अब के गर्ने त ? ल म जानु पर्यो भनेर अली ठूलो स्वार बोले । मुखले बोलेँ मात्र तर मनले हिड्न चाहेको थिइँन । मात्र उसलाई सुनाउन चाहन्थे र उसको प्रतिकृया बुझ्न चाहन्थे । सुन्ने बित्तिकै उ दौडेर आई । मेरो पाखुरा सामाउँदै कुर्सीमा बसाई र भनी– “एकछिन् बस न !” के खोज्जस् काना आँखा, जस्तो भयो मलाई । मन फुरंग, मस्तिष्क हलुंगो भयो ।
“मैले तिमीसँग कुरा गरिसकेकै छैन, कहाँ जान लागेको अहिल्यै ?” उसले सोधी, म मुस्कुक हाँसे मात्र ।
“ए तिम्रो नाउँ के रे ?” उसले फेरि मेरो नाउँ सोधी, मैले बताएँ । उ अहिले पनि अँग्रेजीमै बोलिरहेकी छे । म मेरो मातृभाषा नेपालीमै जवाफ दिइरहेको छु ।
“तिमी के काम गर्छौ ?”
“म सानोतिनो स्टोरमा काम गर्छु ।” मेरो जवाफ सुनेर हात फिजाउँदै घाँटी कक्र्याएर उसले भनि– किन सारा नेपाली स्टोर, ग्यास स्टेशन र ईण्डियन रेष्टुरेन्टमा मात्र काम गर्ने ? उसको बोली र हाउभावमा हेय भावको अमिलो गन्धको हरक मैले पाएँ ।  स्पष्टिकरण दिइन । फेरि पनि भलाद्मी हाँसो मुसुक्क हाँसे ।
उसको अँग्रेजी बोलाईको लवजले लाग्छ यो अमेरिकन होइन । यो यहाँ जन्मेकी पनि होइन । यो यहाँ धेरै सानो उमेरमा आएकी पनि होइन । नेपाली बुझ्ने तर नबोल्ने हो को यो ? मेरो मस्तिकमा यो प्रश्नको लट्टु फनफनी घुमीरहेको छ । उ मेरो एकदमै नजिक बसेकी छे । मान्छेको उपस्थिति पातलिदै छ । मभित्र कताकता असहजताको अनुभूति पनि भइरहेको छ । लोग्ने मान्छेको मन न हो, आगो सामुन्नेको मैन जस्तो ! पग्लिदै छ ।
उ अब अमेरिकाका बारेमा, नेपालीको अवस्थाका बारेमा महाभारत सुनाउन थाली । धेरै कुराहरु बताई अमेरिका बारेमा । मानौ म अमेरिका भरखर आएको छु । मैले केही जाने, बुझे र देखेको छैन । म सर्तकतासाथ मेरो भलाद्मी पनलाई बचाउँदै होमा हो, र ए, ए भन्दै टाउको मात्र हल्लाई रहेको छु । बेलाबेलामा मुसुक्कमुसुक्क हाँस्दै त्यो महाभारत एककोहोरो सुनेको छु । उसले नेपाल र नेपालीका बारेमा धेरै कुरा गरि तर ती धेरैमा धेरै नराम्रा मात्र गरि । यहाँबाट अब म फेरि उल्टो हुन थालेँ । पहिले सुरुमा उसले हात मिलाउँदाको अवस्थामा म विस्तारै फर्किन थाले । नकारात्कबाट सकारात्मक अनि सकारात्मकबाट नकारात्मक तिर फेरि घुम्न थालेँ । हावा हुण्डरी जस्तो कहिले पूर्वबाट बग्न थालेको छु, कहिले पश्चिमाबाट । छिन्छिनमा दिशा परिर्वनतन गर्दै छ मेरो मनले । 
अहिले ती ठिटाहरुको झुण्डलाई उसले त्यसरी नै छोडिदिइ जसरी केहीबेर अघि मलाइ छोडेकी थिई । मन भाँडिने र बाँडिने क्रम जारी छ । फेरि बाँडियो । एक मनले अब यो केटीको फन्दाबाट उम्किनु नै वेश हुन्छ भन्ने ठाने । हैन यसको बारेमा मैले जान्नै पर्छ । सोधेँ– “हामीबीच धेरै कुरा भयो तर मलाई तपाइँको नाउँ थाह भएन ।”
“कसरी थाह हुन्छ त ? तिमीले अहिलेसम्म सोधेका छैनौ ।” उसको बाचाल जवाफले मलाई एकछिन् नाजवाफ बनायो । म फेरि भलाद्मी हाँसो मात्र हाँसे, मुसुक्क ।
उसले आफ्नु नाउँ बताई । उसको नाउँ सुनेर फेरि म एकछिन अल्मलिएँ । यस्को नाउँ हामी नेपाली र अरु भारतीयहरुसँग मिल्ने खालको पनि छैन । म घोसेमुन्टो लाएर एककोहोरिएँ । म निक्कै होसियारी र सतर्कतासाथ उसालाई पढ्ने प्रयत्न अझै गर्दैछु । म फेरि पुरानै कुरामा फर्नक चाहेँ र सोधेँ– “स्यान्ड्रिया, तिम्रो मातृभूमि कुन हो ? अर्थात तिमी कुन देशबाट आएकी ?” मलाइ विश्वास थियो यो केटी अमेरिकामा जन्मेकी चैं हैन ।
अनुहार खुम्च्याउँदै बताइ– “नेपालबाट !” मानौ नेपालमा जन्मनु नै गल्ती भएको हो कि ? यस्तै बुझ्यो मरो मनले ।
मैले आफूलाई आफैभित्र काबुमा राख्दै फेरि सोधेँ– “के काम गर्नुहुन्छ ? आँखी भौं तन्काउँदै अनुहारमा गर्वको अनुभूति झल्काउँदै अलि ठूलो स्वरमा भनि– “अमेरिकनको बच्चा हेर्छु ।” मानौ अमेरिकनको बच्चा अप्सराले मात्र हेर्छन् । अरू नेपालीले हेर्दैनन् ।
“कति भयो आएको ?” “सात वर्ष ?”
विनम्रता साथ फेरि सोधेँ– “अहिले तपाइँ कति वर्षकी हुनु भयो ?” “चौविस ।”
यो सबै उसले अँग्रेजीमै बताइरहेकी छे । मभित्र अब फेरि आवेगको आगो दन्दनी बल्न थालिसेको छ । घृणाको भेल उर्लिन थालिसेको छ । तीन घण्टा अघि उसलाई भेट्दाको पुरानो अवस्थामा म फेरि पूर्णरुपले फर्कीसकेको छु । अब आफूलाई सम्हाल्न आफैलाई अति गाह्रो भइरहेछ । एकछिन फेरि चुपचाप बसेँ, आँखा चिम्लिएँ । भगवान सम्झिएँ ।
“प्रकाश, के भयो ?” आश्चार्यवोधक बोली बोली । “खासै केही हैन ।” मभित्रको असहजतालाई थिच्दै सहज जवाफ दिएँ । म फेरि केहीक्षण आफैभित्र हराएँ । के सोचेको भन्दै मेरो हत्केला तानी उसले । झसङ्ग जस्तो भएँ र फेरि मुसुक्क मुस्कुराउँदै भने केही हैन ।
“मलाई त म्याराथन मन पर्छ । तिमीलाई कुन खेल मन पर्छ ?” एकाएक उसले अनौठो प्रश्न सोधी ।  आकासको कुरा पाताल पुर्याए जस्तो लाग्यो मलाई । उसले किन एकाएक यो कुरा सोधी ? भित्रभित्रै म आफैलाई सोध्न थाले ।
“मेरो प्रश्नको जवाफ किन नदिएको ?” फेरि मलाई घचघच्याई । मैले भने– “बुझिन ? न अर्थ, न आसय केही बुझिन तर म्याराथन मन पर्नुको कारण के हो ? यो कुनै चाखलाग्दो उत्तेजनात्मक किसिमको खेल पनि होइन । आखिर कारण के हो ?” त्यतिबेलासम्म त्यहाँ उ र म मात्र छौ । प्राय सबै आ–आफ्नो गन्तव्यतिर लागिसकेका छन् । पल्लो कोठामा केही मान्छे गफ गरिरहेका छन् आ–आफ्नै धुनमा ।
“म्याराथन धावक भनेका लामा दुरीका धावक हुन् । तिनमा स्टेमिना ज्यादा हुन्छ । लोग्नेमान्छेमा स्टेमिना हुन जरुरी छ । माइ डियर, सेक्स फिलोसफी पढ त्यसबाट थाह हुन्छ । म्याराथनका खेलाडी अलि पाका र छिप्पिएका हुन्छन् । मलाई यस्तै लोग्नेमान्छे मन पर्छ ।” यो सुनेर मैले उसलाई तलदेखि माथिसम्म एक पटक फेरि आरामले हेरेँ र फेरि घोसे मुन्टो लाएँ । म उसलाई पढ्न खोजीरहेको छु तर अब झन् अल्मलिएँ । उ मेरालागि झन क्लिष्ट, झन् गुढ र झन् रहस्य बन्दै गई । एउटा अवोधगम्य महाकाव्य जस्तो । उसँग आँखा जुधाउने प्रयत्न गरेँ, सकिन । मसँग कुरा गर्दा गर्दै उसले निक्कै वाइन पनि पिइसकेकी छे ।
“अनि तपाइँको खास नाउँ के हो ? बताउन मिल्छ ?”
“मिल्छ, माइ डियर ! तिमीलाई सबै कुरा बताउन मिल्छ । नेपालको मेरो नाउँ शारदादेवी हो तर मलाई यो नाउँ मन पर्दैन । त्यसैले मैले आफूलाई स्यान्ड्रिया बनाएँ ।”
फेरि सोधेँ– “अनि तपाइँले किन अँग्रेजीमात्र बोल्नु भएको ?”
“ओ प्लिज ! मलाई तपाइँ नभन । तिमी भन ।” मेरो हात समाउँदै भनि– “सरी, मैले नेपाली सबै विर्सिएँ !”
यो जवाफ सुनेर म एकाएक छाँगाबाट खसे जस्तो भएँ । मभित्र भुतभुते खनिए जस्तो भयो तर उसको जवाफ सुनेर भित्रभित्रै हाँसेँ पनि। मनको हाँसो सादय मेरो अनुहारमा कताकता पोतियो होला ! उसले अनुमान लाउँदै भनि– “तिमीलाई मेरो कुरा मन पर्यो र त तिम्रो अनुहार हँसिलो भयो ?” म केही बोलिन ।
यसले सात वर्षमा आफ्नो मातृभाषा विर्सिई भने यसले आमाबाबु विर्सिई । दाजुभाइ, दिदीबहिनी, नातागोता, इष्टमित्र, साथीसंगत, गाउँठाउँ सबै विर्सिई ! अर्काको देशमा शरणार्थी जस्तो बसेर आफ्नो मातृभूमिको खिल्ली उडाउने कुरा बाहेक सबै विर्सिई !  महिनौ कोखमा बास दिने र धरतीमा पहिलो पाइला टेक्न साहस दिने ती माता र मातृभूमिलाई सात वर्षमा विर्सनेले मलाई त सात मिनेटमा विर्सन्छे ।
सृष्टि विधाको अनुपम सृजनाको स्वरुप नारी, त्याग र तपस्याकी प्रतिरुप नारी, उत्सर्गको उपमा नारी, प्रेमको आधार र स्रोत नारीको श्रद्धा, सुधा, शक्ति, लज्जा, दया, मायाँ, छाँया, दातृ, भातृ र मातृरुप सम्झेँ ।  त्यही नारीको यो वाचाल रुप ?
म जुरुक्क उठेँ र भने– मिस शारदादेवी उर्फ स्यान्ड्रिया, तिमीले सोचे जस्तो म्याराथन धावक म नहुन सक्छु ..... ! वाक्य पुरा नगर्दै म हिडेँ । उ टुलुटुलु हेरिरहेकी थिई ।

Comments

KISHAN SANGIT

त्यो वाचाल रुप । साँच्चै ममताका खानी मानिएका हाम्रा चेलीहरु वर्तमानमा एकाएक मिस स्यान्ड्रीया जस्तै भएका छन् । अमेरिका किन पुग्नु पर्यो र शिव जी  अस्ति मेरै गाउँमा यस्तै भएछ । अचेल हाम्रा गाउँ-ठाउँ शहरबजार जताततै यस्तै भईरहेको छ । यस्तै प्रवृत्ति बढ्दै गईरहेको छ ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |