हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेपाली साहित्यिमा माफियाकरण

दीर्घराज प्रसाई, (काठमान्डौ)


नेपालमा राजनीतिभित्र पसेका केहि व्यक्तिहरुको कारणले राजनीति त बिगारे–बिगारे तर साहित्य जस्तो गरिमामय विषयलाई पनि माफियाहरुले कब्जामा लिएर मागिखाने भाँडोकोरुपमा परिणत गराउदै छन् । ठूला ठूला भ्रष्ट र तस्करहरुले आयोजना गरेको कथित साहित्यिक कार्यक्रममा ठूलाबडा सबै तँछाड मछाड गरेर भेला हुन्छन् तर साँच्चैका साहित्यिक प्रेमीहरुले आयोजना गरेको कार्यक्रममा मुस्किलले आयोजकहरुका सम्पर्कका व्यक्तिहरु मात्रै टुप्लुक्क पुगिटोपल्छन् भने नेपाली साहित्यको स्तर कहाँ पुगेको होला ? नेपालमा २००७ सालमा प्रजातन्त्रको उदय हुनुभन्दा पहिलादेखि साहित्यको माध्यमबाट नेपाली समाजलाई चेतनशील बनाउनमा ठूलो योगदान भयो । साहित्य भनेको मनको असंतुष्टी र छट्पटिलाई चित्त बुझाउने मात्र माध्यम नभएर राष्ट्र्रलाई नै उचाल्नसक्ने शस्त्र मानिन्छ । वास्तवमा साहित्य एउटा सिर्जना हो । साहित्य र संगीत राष्ट्र्रको सम्पत्ति हो । संगीत विश्वको भाषा हो भने साहित्य सिर्जना हो । यी दुई वर्तमान र भविष्यका ऐना हुन् । संगीतले वर्तमानको प्रतिनिधित्व गर्छ भने साहित्यले वर्तमान र भविष्य दुबैलाई हिडाउँदछ । साहित्यको गहिराई र संगीतको भावमा आफ्नै कौतुहल लुकेको हुन्छ । साहित्य र संगीतले युगको प्रतिनिधत्व गर्ने गर्छ । साहित्य बारेमा कालीदासले भनेका छन्–“कवि करोेती काब्यानि, रस जानन्ति पंडिता” कविले काव्यको रचना गर्दछन्, त्यसको रस विद्धानहरुले लिन्छन् । यो सत्य हो कि साहित्य भनेको मानवलाई असली पे्रममय रसस्वादन गराउने शास्त्रीय बाटो हो । तर हामी साहित्यकारहरुले कस्तो नेपालको परिकल्पना गरेका हुन्छौं यदि त्यो रचनात्मक छ भने त्यही धारको आधारमा नेपाललाई उचाल्न सकिन्छ ।
साहित्य,संगीत,दर्शन र कलाको कुनै सीमा हुँदैन । यसको विधा नै व्यापकता हो । तर पनि नेपाली साहित्यकारहरुले आफ्नो राष्ट्र्रियताको स्थितिलाई पनि महसुस् गर्न सक्नु पर्दछ । ‘घाटी हेरी हाड निल्नु’ भने झैं यस्ता कुरालाई संकृर्ण ठान्नु हुन्न । नेपाली साहित्यका अग्रनी मध्येका लेखनाथ पौडयाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धीचरण श्रेष्ठ, ह्रदयचन्द्र सिंह प्रधान, भवानी भिक्षु, भीमनीधि तिवारी, धरणीधर कोइराला, महानन्द साप्कोटाहरुले कुनै पनि बेला नेपालको राष्ट्र्यि एकता बिथोल्ने प्रकारको साहित्यको सिर्जना गर्ने काम गरेनन् । यथार्थ लेखे । देशको स्वाभिमानप्रति आवद्ध भएरैं उनीहरु विश्व साहित्यसंग दाँजिन पुगे । उनीहरुले देखाएको बाटो नराम्रो थियो भनेर कुनै समालोचकहरुले भन्न सकेका छैनन् । तर आज भोलि त साहित्य भनेको भ्रष्ट, माफिया र तस्कर र ठगहरुको चोरीखाने लिस्नो बन्नपुगेको छ ।
मानिसको जीवनमा कुनै न कुनै गहिरो छाप नपरी असल साहित्यको सिर्जना हुन सक्तैन । लिओ टोल्स्टाय, रविन्द्रनाथ ठाकुर, म्याक्सिम गोर्कीहरु आदि यस्ता स्रष्टाहरु छन् जस्लाई समयले जन्मायो । उनीहरुले सामाजिक ढाचालाई परिवर्तन गरेर देखाई दिए । यो एउटा तपस्या हो अनवरत संघर्ष । अहिलेको अवस्थामा साहित्यको माध्यमबाट जीवनलाई धरापमा पारेर हजारौं बर्षदेखि चलिआएको रुढिग्रस्त समाजलाई परिवर्तन गर्नसक्ने खुबी भएको कराहरुलाई सानो मानिदैन । अहिलेको संसारमा सलमान रुस्ती र ब्ांगलादेशकी तसलीमा नसरीनको विद्रोह र उनीहरुले प्रस्तुत गरेका निवन्धात्मक उपन्यासहरुले मानव समाजभित्रका असामाजिक व्यवहार र पद्धतिहरुलाई उजागार गरेर समान न्यायको आधारमा मानव मात्रले बाँच्न पाउने अवस्थाको चित्रण गर्दै भूँईचालो ल्याउने काम गरेकाछन् । उनीहरुले मुस्लिम् धर्मगन्थहरुमा हजारौं बर्षदेखि जीवनपद्धतिकोरुपमा चलेर आएका विसंगतिहरुलाई ऐना जस्तो छलङ्र्ग देखाएर प्रस्तुत गर्ने जुन सहास गरेकाछन् ।
चिकित्साशास्त्रमा डिग्री हासिल गरेकी एक सशक्त क्रान्तिकारी महिला तसलीमा नसरीनले मानव समाजमा आमूल परिवर्तत चाहेर अनेकौं पुस्तकहरुको माध्यमबाट अनेकौं विचारहरु प्रस्तुत गरेकी हुन् । उनका पुस्तकहरु प्रतिबन्धित छन्, उनलाई बंगलादेशमा वारेन्ट छ । उनी भारतको पश्चिम बंगालको नागरिक भएर बस्न चाहेकी छन् । भारत जस्तो प्रजातान्त्रिक देशले उनको माग पुरा गरिदिनु पर्दछ ।  त्यस्तै सल्मान रुस्तीको ‘सटानिक भर्सेस’् पुस्तकको कारणले उनीहरु हदैसम्म असुरक्षित छन् । यस परिस्थितिमा विश्वका मानव अधिकारवादीहरु कहाँ छन् ? विचार स्वतन्त्रताको पक्षधरहरुको लागि एक्काइसौ शताब्दीको मानव मात्रलाई यस्तो चुनोति ? अहिलेको संसारमा कुनै पनि धर्मको कारणले मानिसहरु बन्धक भएर बाँच्न सक्तैन । यद्यपि मुस्लिम धर्म सबै मुसलमानहरुको लागि प्यारो छ । तर पनि यस भित्रका विसंगतिहरुमा सुधार र परिवर्तन गर्ने कुरामा जसरी नसरीनले बाटो देखाउन प्रयत्न गरेकी छन् त्यसलाई मुसलमान धर्मगुरुहरुले सकारात्मकरुपमा लिनसक्नुपर्ने अवस्था छ । यस्तै प्रकारले नेपाली समाज भित्र ब्याप्त कुरीति र अमानवीय यथार्थतालाई प्रस्तुत गर्नसक्ने साहित्यकार नेपाली समाजले खोजेको छ ।
२०४६को राजनीतिक परिवर्तन पछि राजनीतिक विकृति संघसंगै साहित्यिकक्षेत्र पनि अछुतो हुनसकेन । नेपालमा साहित्यलाई ढाल बनाएर आफ्ना नाममा ठूला ठूला भ्रष्टाचारी, तस्करहरु र ब्यापारीहरुले ठूला ठूला रासीको पुरस्कार गुठी खोल्न पुगे । यसरी नेपाली साहित्यको अस्मितालाई समाप्त पार्न अनेकौं कुचेष्टाहरु अपनाइयो । साहित्य क्षेत्रमा कुनै पनि नाम निशान नभएका ब्यापारी, ठेकेदार र राजश्व ठगी गर्ने ठालू तस्कर र भ्रष्टहरुले कालो धनलाई सेतो धनमा परिणत गराउन साहित्य जस्तो गरिमामय क्षेत्रलाई आफ्नो कब्जामा लिन आफ्नो प्रशन्सा, अर्चना लेख्न लगाउने  त्यस्ता कथीत पुस्तकहरु आफ्नै खर्चले छाप्ने र आफ्नै खर्चमा आफ्नै अभिनन्दन गर्न लगाएर आमन्त्रितहरुलाई मीठो मीठो खान दिएर व्यापक प्रचार गराउने र जस्लाई पुरस्कार दिदा आफूहरु चर्चामा आइन्छ त्यही काम गरेर ठूला ठूला साहित्यकार भनौदाहरु समेतलाई पुरस्कार दिएर नेपालका साहित्यकारहरुको चिरहरण गर्ने काम गर्दैआएका छन् । यसले गर्दा नेपाली साहित्य क्षेत्रनैं अहिले वदनाम हुनपुगेकोछ । यी तस्कर र भ्रष्टहरुले  टि.भी. र पत्रपत्रिकाहरुमा पनि खर्च गरेर राज्यका ठूल्ठूला स्थानहरुमा समेत पकड जमाउन सफल भइसकेकाछन् । नेपालमा साहित्यको यस्तो चीरहरण हुँदा पनि नेपालका समालोचकहरु लुकेर बसेका छन् । हुनसक्छ पुरस्कारको आशामा समालोचकहरु पनि भनसुनमा व्यस्त होलान् ।
नेपालमा खोलिएका निजी क्षेत्रमा पुरस्कार गुठीहरुमा मदन पुरस्कार गुठी बाहेक अन्य पुरस्कार गुठी खोल्नेहरुको नियत राम्रो भएको भए साहित्य क्षेत्रलाई नछोई कसैले आफ्ना आमा बाबुको स्मृतिमा वा आफ्नो नाममा केही गर्न मन लागेमा त्यस्ता पैसा हुनेहरुले चौतारो, धर्मशाल वा याक्सा बनाएर आफ्नो नाम टाँस्न सक्थे । तर आफू वा आफ्नो बाबु वा आमा वा ठूला नेपालका लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समहरुको जस्ताको नाममा आफ्नो जिविकोपार्जन गर्नमा सक्षम भइसकेकाछन् । राष्ट्र्रको लागि यो सिधै ठगी हो । यस्ता गुठीहरु खोल्न पल्केकाहरुले आफ्नो प्रचार सजिलै पाउनसक्ने भएकाले कालो धनको आडमा दानवीर कहलिएका अनेकौ साहित्यिक पुरस्कार गुठीहरु खोलेर त्यसैको आडमा ठूल्ठूला पद र ठेक्का पडकाएर समाजनै दुषित बनाउने धृष्टता गरेका छन् । त्यसले गर्दा साहित्य क्षेत्रनैं बिकाउ र चाकरीवाजको अखडा हुन पुगेको छ ।
‘स्मशानका सामाग्री, हुँडारहरुले छोडेको शिकार र नरकको पैसा’ स्वाभिमानी साहित्यकार,कवि, कलाकारहरुको प्रसाद हुनसक्तैन भने ‘रछयानका फूलहरुको माला’ कुनै पनि साहित्यकारहरुको इज्जत हुनसक्तैन । तर यस्ता लोभहरुले साँचो साहित्यकारहरुलाई चोख्याउन सकेको छैन । तर हामी सबैले यो ख्याल गर्नु पर्ने हो कि रछयान्मा रहेका किराहरुको स्वतन्त्रतासित मानवीय स्वतन्त्रतालाई दाँज्न हुँदैन । त्यस्ता वदनाम पुरस्कार र सम्मानहरु हामीहरु र संचार क्षेत्रले समेत वहिस्कार गर्न सक्यौ भने त्यत्ति नै त्यस्ता तस्कर र भ्रष्टहरुका पुरस्कार र त्यस्ता तत्वहरु पाखा लाग्दै जानेछन् । वास्तवमा राज्यले अथवा राजकीय प्रज्ञा प्रतिष्ठानले गर्नु पर्ने काम गर्न ब्यापारी, भ्रष्टहरु र ठगहरुलाई किन चासो ? राज्य भित्रका प्रतिभाहरुलाई पु्स्कार बाड्ने हैसियत किन जो कोहीलाई ? यी सबै तथ्यहरुको आधारमा विश्लेषण गर्दा नेपालमा जहाँ जे जति साहित्यको नाममा पुरस्कार गुठी र संस्थाहरु खुलेका छन् ती सबैलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आफ्नो कब्जामा लिई प्रस्तुत गुठीहरुका रकमहरुलाई व्यवस्थित गरेर नेपालको साहित्य क्षेत्रलाई माफिया र भाँडतन्त्रबाट जोगाउन सक्नुपर्ने अवस्थाछ । यदि यसो भएन भने नेपाली साहित्यिक क्षेत्र नैं साहित्यिक ठगहरुबाट उपहास बन्न जानेछ । नेपाली साहित्यलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भन्नु भएको थियो–“जस्ले समाजको हानी गर्दछ, त्यो जहर हो ‘जहर’ असली साहित्य होइन ।”
                    

 

Comments

bhim koirala

prasai sir ko lekh ramro lagyo , sahitya ko nam ma kalo dhan lai sato banaune harule bastabik sahityanuragi lai ojhel pareka chhan 

शेखर ढुंगेल

दीर्घ राज सर धन्यवाद सारपूर्ण लेख को लागि .ठिक भन्नु भयो नेपाल को मौलिक साहित्य र संगित लाइ टाढा पुर्याइदैछ.अहिले प्रचलित मुजुरा र कौवाली प्रवृति को गीत संगित र रस बिहिन साहित्य को बजार चलेको बेलामा सचेत गराउन यो  लेख गतिलो  हतियार बनोस शुभ कामना               

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |