यो माटाको रक्षा कसले गर्ला?
हरि घिमिरे, (भर्जिनिया)
एउटा सानो नेपाल
दुइ ढुङ्गाका बीचको तरुल होइन
सङ्घर्षले बनेको ढुङ्गा हो
मिठो सपना बुन्दै
सैयौं वर्ष कुदे
प्रतिक्षा गर्दा गर्दै
कैयौ ढुङ्गा बगे
कैयौं ढुङ्गा लडे
कैयौं ढुङ्गा टुटे-फुटे
शालिग्राम कैयौं बने
कहिले कहीं
आसाका झर्ना बग्छन्
वसन्त आउँछ
तावाभरि रोटी पाक्न थाल्छन्
कोदो-फापर-मकै-जुनेलो
फुल्छन्-फल्छन्
फेरि खडेरी पर्छ
लामो कालसम्म..
स्थिरता कहिल्यै आएन
विपन्नताले कहिल्यै छाडेन
सम्पन्नताको वाचा सबैसँग छ
तर विपन्न बनाएर
बाँच्न पल्केकाहरु
बाहिरकालाई माटो चाहिएको छ
भित्रकालाई मुटु चाहिएको छ
खै रक्षा कसले गर्ला र!
पशुपतिदेखि प्रचण्डसम्म
विश्वास कसैमा गर्न सकिएन
सबैलाई आफ्नो स्वार्थ चाहिएको छ।