माटोको चित्कार
मीरा प्रसाईं शर्मा, (बेलायत)
रोईरहेको सहिदको आँशुले पोल्नु पोल्यो
लोकतन्त्रका लागि निमोठिएका चित्कारहरुले
मातृ वात्सल्य च्वास्स च्वास्स घोच्यो ।
विश्वाश दुर्घटित भएर
मेरो देशको माटो आँसुमा लपेटिएकोछ ।
शान्तिको सागरमा रगताम्मय सुनामी उर्लिएर
बगाई रहेकोछ मेरो देश् निरन्तर्
म भित्रको मातृत्वको निर्मम हत्या भएको छ ।
स्वतन्त्राको उर्बर भुमीमा फक्रेका
पारिजात चाहनाहरुलाई हत्केला भित्र निमोठिएको छ ।
ज्युँदै सम्वेदना कुहिएर डुंगडुङ्ती गन्हाएको बेला
गल्ली र गल्छेडाहरुमा सहिदको हृदय बन्दकी राखेर
जुडासे हिटलर बाची रहेकोछ यहाँ ।
सर्बाङगै नाङिगीएर धर्ती उत्तानो परेकोछ बीच सडकमा
पासविक बलमा अस्मिता लुटिएर
निर्लज्ज बलात्कार भई रहेछ देशको यहाँ ।
रनभुलको चक्रब्युहमा रुमलि रहेछ समय
मान्छेको मुटु कलेजो लुछि रहेछ मान्छे आफै
देश र जनताको प्रगाढ ईतिहासमा हाँस्दै
तान्डब चलिरहेछ स्वतन्त्र चाहनाको ।
कंशीय मुटु - मेरो कोखको पटक पटक हत्या गरिस
अबोध शिशुको घाटी निमोठि
देबकीहरुको कोख निमिट्यान्न पारिस ।
पागल भएकी छु
म बहुलाएकी छु
राक्षशी कोख सदाको लागि निमोठि दिन्छु
रक्तवृष्टिको समाप्ती गरिदिन्छु म
कंशनासक कृष्णहरु जन्माउन
मेरो कोख अझै बाझो भएको छैन ।
काली र चण्डी पनि हुँ म
बहुरुपी रक्तबिजहरुको रगत सेवन गरि
शान्ति मुहान कन्चन पार्न सक्छु ।
त्यसैले ,
म गर्भधारण गर्न चाहन्छु
आउ दुबै मिली बिज छरौ मातृत्वमा बदल्न
बुद्ध जन्माउन
जनताको अस्तित्व उनकै सिद्दान्तमा
खोज्न सक्ने कुशल योद्धा जन्माउन
हजारौं पटक गर्भ बोक्न चाहन्छु म ।
Comments
pawan
ekdam ramro kabita despremle otprot bhayeko