हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यस्तै होस्

रमेश खकुरेल, (काठमान्डौं)

 

तिमी संधै सुखी रहू सधैं सधैं खुसी रहू

हजार वर्षमा अझै हजार नै थपी जिउ

निरोग देह भैरहोस् मुहार हास्य चम्कियोस्

महेशको कृपाकटाक्ष नित्य नित्य वर्षियोस् ।

 

सरस्वती प्रसन्न भै सदा मुखाग्रमा रहून्

अजस्र काव्यसिर्जना नयां नयां कुरा फुरून्

अभावको अभाव होस् प्रभाव भावका जुटून्

कृपा गरेर भक्तमा रमा कराग्रमा बसून् ।

 

तिमी भनेर आउनेहरू सबै प्रसन्न हून्

छ चित्तभित्र कामना भने तुरुन्त पूर्ण हून्

सुकर्ममाथि प्रीति होस् कुकर्मदेखि भीति होस्

सदैव विश्वकै भलो चिताउने सुनीति होस् ।

 

भनाइभित्र जोश होस् विचारभित्र ओज होस्

सहस्ररश्मिको समान दीप्तिपूर्ण तेज होस्

चिताउंदा गरेर छाड्न वाहुमाथि शक्ति होस्

अहं परै रहोस् स्वधर्म ईशमाथि भक्ति होस् ।

Comments

Bibhor

Asadhyai ramro lagyo. Padhera man anandit bhayo.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |