वसन्त र ऊ
हरि घिमिरे, (भर्जिनिया)
सालका कलिला पात
आँपका मुजुरा
धँगेराका फूलहरु
काभ्राका आँकुरा
भुनभुन गर्ने भुँमरा
उषाकालदेखि चिर-विर,चिर-विर गर्ने
साना-साना सुन्दर चरा
यी सबै देख्ता लाग्छ-
वसन्त फेरि आएछ।
बारीको डीलमा कुर्ले ढुकुर
सिमलको रुखमा कोइलीको पञ्चम स्वर
निगुरो र गिठ्ठा-भ्याकुर
लमतन्न बारीका मकै र गहुँका अङ्कुर
कुलाका डीलमा हरियो दूबो
सीमपानीमा पलाएको जलुकोको गुभो
तारेभीरको जेलिएको दुधिलो बन्सो
पाखाभरि फैलिएको अम्लिसो
बाँसका तामा र कुरिलोको ठोसो
बोटमैं पाकेको केराको कोसो
यी पनि देख्ता लाग्छ-
वसन्त फेरि आएछ
तर वसन्तले-
उसका आङ्गमा कपडा
पलाउन कोसिस किन गरेन?
उसका पेटमा अन्न
फलाउन मद्दत किन गरेन?
खुट्टा पनि त नाङ्गै छन्
जुत्ता टुसाउन मलजल किन गरेन?
वसन्त पनि पक्षपाति हो कि क्या हो
उसको हिजोको शिशिरको पीडा
भुलाउन प्रयास किन गरेन?
एकातिर खडेरी अर्कातिर हराभरा
मान्छे बन्नु अभिशाप हो?
आँसु बोल्छ- कठैबरा!!!