महिला कविता प्रतियोगिता: एक थालनी, एक उपलव्धि
 


भारती गौतम, बोस्टन

 

"एउटा ठूलो चोट पछि एउटा सच्चा भावको जन्म हुन्छ"

- प्रसिद्द कवयत्रि ईमली डिकेन्सन


त्यसमा थप्न सकिन्छ
"त्यहि भावना वास्तवमा कविता हो।"
 

भर्खरै कनेटिकट्मा "Nepali Women's Global Network" ले आयोजना गरेको प्रथम अधिवेसनको अवसरमा सोहि सस्थाले दिएको समय र स्थानको परिधिमा एउटा अर्को ऐतिहासिक कार्यक्रमको आयोजना गरिएको थियो। नेपाल बाहिर बिशेष गरि अमेरिका भित्र रहेर आफूलाई बिभिन्न पेशामा परिभाषित गर्नु परेका महिलाहरुको पहिलो जमघटको मौकाको छोपि अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले प्रथम महिला कबिता प्रतियोगीताको आयोजना गरेर यसमा आशातित सफलता पाएको छ। कविता लेख्ने भनेर चिनिएका महिला मात्र कवि हैनन् तर सवै जसो महिलामा कवित्व लुकेको हुन्छ भन्ने विश्वास राखि त्यहि कवित्वलाई बाहिर निकाल्ने अभिप्राय यो कार्यक्रमको सवै भन्दा पहिलो भने पनि सवै भन्दा महत्वपूर्ण भने पनि रहेको थियो, र यो तथ्यको साविति संगै कार्यक्रम अघि बढ्यो र सम्पन्न पनि भयो।
 

"प्रतिभा भनेको बिजुली जस्तै हो, हामी यो सवै बुझ्दैनौ तर यसको प्रयोग मात्र गर्छौं" भनेर प्रसिद्द अमेरिकी साहित्यकार माया एन्जेलोले भने जस्तै सवै महिला भित्र रहेको प्रतिभा समाजले सभ्यताको आरम्भ देखि नै अनुभव गरी रहेको छ। व्यक्तिगत जिम्मेदारि निभाएर योग्य छोराछोरीको रचना त महिलाहरुले जातैले गरि आएका छदैछन् तर आई परेका सवै किसिमको चुनौतिको सामना गर्ने महिलाहरुको उदाहरण खोज्न ईतिहास पनि पल्टाउनु  पर्दैन। स्वभावैले संवेदनशील महिलाको रचना जताततै छरिएको छ। उनीहरुका सिर्जना छोरा बनेर, छोरी बनेर, लोग्ने बनेर, भाई बनेर दाजु बनेर समाज र विश्वको फूलवारी भरि फक्रिएका छन् अनि नारी त्यो फूलबारीकी माली सवैमा छाएकी हुन्छे संबेदनशीलताको सिंगो सृष्टि बनेर।
 

सवै क्षेत्रमा भएको महिलाको सहभागितामा रहेको अनिकाल साहित्य क्षेत्रमा नभएको भनेर झुठो दाबी गर्नु भन्दा यस तथ्यलाई स्वीकार गरी यसवारे केहि गवाहि गर्नु उपयुक्त ठानेकी छु ।
 

महिलाको सहभागीताको अनिकालको आधारमा त्यस क्षेत्रमा महिलाको निपुणता पनि हुदैन भन्नु उस्तै हैन भनेर नै वास्तवमा यस्तो कार्यक्रमको बारेमा सोच्नु पर्ने हुन्छ। पृथ्वीमा पहिलो पल्ट आउदा उस्तै गरी आएका पुरुष र महिलामा सामाजिक संरचना, सांस्कारिक संकुचितताले बिस्तारै नानी र बाबु बीच आएको बिबिधताको पर्खालले मात्र सिर्जनशिलता लगायत अरु थुप्रै क्षेत्रमा असर पारेको हुन्छ। हाम्रो परिप्रेक्षको त कुरै छाडौं विकसित पंक्तिको टुप्पामा रहने यसै मुलुकमा पनि गुलाबी र निलो रंगले बेग्लिएको भोटो, टोपी र कोक्रो पछि सम्म नै बेग्लिई रहन्छ। वाल वच्चाको लालन पालनका साथै एउटी महिलाको कांध जाती, धर्म, संस्कृति, संस्कार, मर्यादा, अनुशासन आदिको भारीले नुहेको त हुन्छ। समाजले दिएका कोशेलीहरु, न्यायिक ब्यबस्थाले छेकिदिएका पर्खालहरु र परिवारले अपेक्षा गरेका थामिनसक्नुका जिम्मेदारीहरुको पर्खालभित्र रहेरै पनि परापूर्वकाल देखि नै महिलाहरुले साहित्यलाई आफ्नो मनको सवै भन्दा गहिरो भागको व्यथा अभिव्यक्त गर्ने माध्यम बनाएको उदाहरण खोज्न गाह्रो पर्दैन।
 

महिला लेखको ईतिहास केलाउन खोज्दा नेपाल भित्रबाट मात्र हैन नेपाल बाहिर बसेर पनि धेरै अगाडी देखि नै साहित्यमा योगदान पुर्याएको देखिन्छ। यसरी नेपाल भित्रको महिला लेखकको ईतिहासको आरम्भ सन् १८१८ मा ललितत्रिपुरसुन्दरीले महाभारतको शान्ति पर्व अन्तर्गतको "राजधर्म"अनुशासन पर्वलाई संस्कृत भाषावाट नेपालीमा गरिएको मानिएको छ। रण बहादुर शाहकी पांचौ रानी रहेकी ललितत्रिपुरसुन्दरीले उक्त अनुवादको साथ साथै नेपाली र संस्कृत भाषामा कविताहरु पनि लेखेको वताईएको छ। यसरी आज झण्डै दुईसय वर्ष भन्दा अगाडी आरम्भ भएको महिला लेखनको कार्य शायद पुरुष लेखकको हाराहारीमा नहोला तर पनि रोकिएको भने पटक्कै छैन। ललितत्रिपुरसुन्दरी देखि लिएर गत साताको महिला कविता प्रतियोगितामा भाग लिनु भएका धेरै जसो पहिलो पटक लेख्ने कवयत्रीहरुसम्म नेपाली महिला लेखन कार्य निरन्तर छ।
 

नेपाल भित्र का महिला लेखिकाहरु योगमाया, लोकप्रियादेवी, प्रेम राजेश्वरी थापा निकै पहिलेका मध्येका केही मात्र नाम हुन् भने आधुनिक युगमा आएर पारीजात, देवकुमारी थापा र बानिरा गिरि, प्रेमा शाह,  माया ठकुरी,  मंजु काचुली,  गार्गि शर्मा आदि लेखिकाहरुका नाम पनि आधुनिक युगका महिला लेखिकाहरु मध्येका थोरै नाम मात्र हुन्।
 

नेपाल बाहिर बसेर पनि अहिलेको यो बिद्दुत युगमा आएर मात्र हैन तर धेरै पहिले देखि नै महिला साहित्यकारहरुले नेपाली भाषा र साहित्यको सेवा गरि आएका छन्। यस्ता लेखिकाहरु मध्ये सावित्रि सुन्दास, कमला सांकृतायान, गोमा शर्मा, चन्द्रकला नेवार, राधा रसाईली र बसन्ति शर्मा आदि नाम पनि थुप्रै मध्येका थोरै मात्र हुन्।
 

अहिलेको बिद्दुतीय युगमा नेपाल बाहिर, नेपाल भित्र  अर्थात स्वदेश र परदेशका परिभाषाहरु र ति मुलुकहरुलाई पृथक पार्न कोरिएका रेखाहरु नै हराउन लागेको सन्दर्भमा अरु अरु बिभिन्न क्षेत्रमा जस्तै महिला लेखन क्षेत्रमा पनि 'को भित्रको''को बाहिरको' भन्न गाह्रो भएको छ। तर पनि शारिरिक तवरले त्यहि मुलुकमा रहनु र मानसिक तवरले मात्र राष्ट्रमा रहनुलाई मापदन्ड बनाएर हेर्न खोज्दा परदेशिएको नेपाली जमातवाट प्रस्फुटित प्रतिभाको परिभाषा राष्ट्र बाहिरमा पर्न जान्छ। मुलुक छोडेर आउने क्रममा हामी कोहि डाक्टर आयौ, कोही नर्स आयौं, कोहि शिक्षिका आयौं, कोहि लेखिका आयौं, कोहि पत्रकार आयौं, कोहि समाज सेवी आयौं भने कोहि ब्यबसायी आयौं। यस मध्ये धेरैजना आमा आयौं या त आएर आमा भयौं। आफ्नो मुलुक छोडेर आए पछि सोचेको प्रत्याशित र अप्रत्याशित सवै प्रकारको परिस्थितिको सामना गर्नु पर्ने हुन्छ। हुन सक्छ मुलुक छोडे पछि कवि, लेखिका, शिक्षिकाहरु मध्ये कतिपय केवल आमा हुनु परेको होला। कतिपयले त त्यहि सौभाग्यपन नपाई आफ्ना हैन अर्कैका बालबच्चाको आमा हुनु परेको होला, जे जस्तो भए पनि आशातित आशन धेरैले पाएका पनि नहोलान्। कल्पनाको परदेश र यथार्थको परिभाषाको भिन्नताको परिणाम आफूले छोडेर आएको मुलुक र आफूले अपनाएको मुलुको परिवेश जत्तिनै फराकिलो पाउदा लागेका अनुभूतिको निकासको मार्ग शायद साहित्यिक सृष्टिनै हुन आउछ। भावना कुण्ठित हुन गयो भने विस्फोटन हुन्छ, अनि कुण्ठित र विस्फोटक अनुभुतिले सज्जित आमा र पत्नीको आसपास उछिट्टिएका असंतोष र व्यथाका बाछिटाले भेटेको वातावरण कुनै पनि दृष्टिले हेरे पनि स्वस्थकर नहुने तथ्य सवैले जानेकै हो।
 

खुशी आमाले नै परिवार, समाज र संसार वीच खुशी बाँड्न सक्ने भएकोले बिभिन्न पृष्ठभूमिको सेरो फेरो बोकेका तर परिस्थितिवस आफ्नु ईच्छा, अभिलाषा र योग्यता प्रतिकूल भुमिका निभाईरहेका महिला भित्र रहेको कुण्ठा, बेदना, समवेदना, हर्ष, विस्मात सवैलाई साहित्य मार्फत नै भए पनि ब्यक्त गर्ने आंट पलाओस र यसरी व्यक्तिएका भावनाले त्यस्तै परिस्थितिमा रहेका तर ब्यक्त्याउन समर्थ नभएकाहरुलाई पनि घत परोस् र केहि राहत मिलोस् भन्ने अभिप्रायले पनि महिलामात्रको कविता गोष्ठिको आयोजना गर्ने जमर्को गरिएको हो। एउटा नयाँ आयामको वीउ मात्र रोप्ने साहस गरिएको थियो, तर यहि आरम्भले पनि निकै आशा देखाएको छ, बिहानको घाम नै न्यानो, उज्यालो र पारिलो थियो, दिन त त्यो भन्दा नराम्रो हुने संभावना नै छैन। कसले भन्छ हाम्रो मुलुक भित्र अनि हाम्रो मुलुक बाहिर महिला कवि छैनन् भनेर, कवि त सवै महिला भित्र रहेछ। संबेदनशीलताका धनी हामी जातैले र स्वभावैले कवि छौं। यो सत्य चरितार्थ भएको छ भर्खरै जन्मिएका ती कवयत्रीहरुबाट, अनि यसै पनि नेपाली साहित्यमा दिइएका आफ्-आफ्ना महत्वपूर्ण योगदानले नेपाल बाहिरको नेपाली महिला लेखनलाई समृद्द बनाउन अबिरल प्रयासरत स्थापित सवै नेपाली लेखिकाहरुले।