'नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छ' भन्छ जोशी

शैलेन्द्र साकार

 

अमेरिकामा बसेर देश बिर्सेको जोशी

बियरको नशाबाट एक्कासि

यथार्थमा हाम्फाल्छ

बर्बराउँछ-

के मेरो देशको कुरा गरेको ?

मलाई थाहा पनि छैन सम्पूर्ण कुरा

कैयौँ कुरा बिर्सी पनि सकेँ

तर मलाई लाग्छ

त्यो देश संसारको

सबभन्दा ठूलो पागलखाना हो या चिडियाखाना

कि पुरानो सङ्ग्रहालय

त्यहाँ कहीँ कतै केही नमिलेकै -

भन्छ जोशी

कसैलाई दोष दिन सक्तिनँ।

जनता- ती सीधासादा गरिब छन्

नेता- ती धूर्त बेइमान छन् अरू देशका झैँ

व्यवस्था- त्यो पनि चाहेकै पाएका छन्

तर किन केही हुन नसकेको त्यहाँ

तर किन नेपालीले गर्व गरेर

यो देशको नागरिक हुँ भनेर भन्न नसकेको ?

मलाई नेपाल फर्कने कुरा सम्झ्यो कि

नाडी फत्रक्क गलेर आउँछ

नसाहरू थाक्छन्

अपरिचित त्रासले काम्न थाल्छु

मलाई थाहा छैन मलाई किन त्यो हुन्छ -

यही देशमा पनि मैले के पो पाएको छु ?

कुनचाहिँ उपलब्धि हात पारेको छु ?

के कति सम्पत्ति या समृद्धि कमाएको छु ?

तर मलाई देश फर्कन पटक्कै मन छैन

त्यो देश जहाँ जन्मेँ

त्यहाँ कहीँ कतै केही नमिलेकै

जुन दिन त्यो खोजी होला

अङ्कल !

तपाईँ सँगै देश फर्कौला

भन्छ जोशी