नीलो बह


दिनेश अधिकारी
काठमाडौं, नेपाल


देश एउटै हो भन्नुहुन्छ
झण्डा एउटै हो भन्नुहुन्छ
कानून एउटै हो भन्नुहुन्छ
सरकार एउटै हो भन्नुहुन्छ
तर हामी
किन आकाश-पाताल जस्तै फरक छौं
तपाईको शरिर हो कि लुगाबाट
यी ! कस्तो मग्मगाउँदो बास्ना आइरहेछ
र तपाईकै भाषामा
मेरो शरिर भने
लुगा सहित
पर---परसम्म डुङ्डुङ्ति गन्हाइरहेछ
म मुगुको बासिन्दा - पूर्ण बहादुर विश्वकर्मा !
तपाई राजधानीमा बस्नेसँग सोधिरहेछु-
हजुर ! हामी बीचको समानता तपाई कहाँ देख्नु हुन्छ ?

तपाई
हवाईजहाज चढेर
रारा हेर्न आउनु भयो
र यसको सुन्दरताको बखान गर्नमा
घण्टौं घण्टा खर्च गर्दै हुनुहुन्छ
म छु-
यहीं जन्मेर मर्ने उमेरको भइसकें
फेरि पनि राराले
मेरो मन भने अझै खिच्न सकेको छैन
कहीं तपाईको पेट सधै भरिएको
र मेरो पेट सधैं भोकाएकोले यस्तो भएको त हैन
होइन भने
तपाईलाई प्यारो लाग्ने
रारा र यो जुनेली रात
मलाई किन आङ्गभरि काँढा उमार्ने भएर रहेको छ
तपाई सरकारको ढुकुटी चलाउनेसँग सोधिरहेछु-
हजुर ! हामी बीचको समानता तपाई केमा नाप्न हुन्छ ?

उसो त तपाई र म
सँगसंगै
केहीबेर एउटै बाटो पनि त हिड्यौं नि
हिँड्दा पनि यो बाटोलाई
तपाईको जुत्ता र मेरो खुट्टाले नापेको छ
धुलो उड्दा त्यसको विझाई
तपाईको चश्मा र मेरो आँखाले भोगेको छ
पानी पर्दा तपाईको छाता भिज्यो
मेरो भने
फेरि घामले नसुकाएसम्म
भएको आङको तातो पनि हराएको छ
संविधानको कुनै धाराले सामानताको घोषणा गर्नु अर्कै कुरा भयो
होइन र त्यो भोग्य पनि हुनु पर्छ भन्ने हो भने
तपाई देश दर्शनमा आउनेसँग सोधिरहेछु-
हजुर ! हामी बीचको समानता तपाई कहाँ भेट्टाउनु हुन्छ ?

देख्नु भयो नि तपाईले
राराको नीलो दह
हो ! हाम्रो बह पनि त्यस्तै नीलो छ
सुख-शान्ति त डाँडापारीकै कुरा भयो
यताका हामी त
सास पनि राम्ररी फेर्न सक्तैनौं
औषधीमूलो केही छैन
र घाँटीकै बीचमा पिलो छ
दस्तुर तिरेर लिनु पर्ने
नागरिकताको प्रमाण पत्र वाहेक
अरु के पाएका छौं हामीले तपाईले सरह
अनुभूतिको तहमा ओर्लेर नढाँटी भन्ने हो भने
कर्णालीतिरका हामी सबैका छातिमा
राजधानीले गाडेको फलामे किलो छ
तपाई देशलाई दिमागले नाप्न बस्नु भएको योजनाकारसँग सोधिरहेछु-
हजुर ! हामी बीचको यो असमानतालाई
तपाई कहिलेसम्म समानता ठानिरहनु हुन्छ ?

नढाँटी भन्नुस त
के तपाईसँग कर्णालीको नक्सा छ ?