म त नसक्ने भएँ


सन्तोष थपलिया
न्युयोर्क

म त नसक्ने भएँ
सक्दै नसक्ने भएँ
मायाको गरुङ्गो भार
उचालेर थाम्नै नसक्ने भएँ !!

सपनीमा ब्युझ्याएको ब्युझ्याई
विपनीमा सताएको सतायै
लेख्दा नि त्यही गीत
सुन्दा नि त्यही संगीत
कति साह्रो न्यास्रो बनाएको
न म बोल्नै सक्ने भएँ
न म चल्नै सक्ने भएँ
यो मायाको वन्धन
न झेल्न न चुडाउन सक्ने भएँ !!

रोगीको डाक्टर हुनुपर्ने मन
मायाको विरामी भो
कथाको कथाकार नभई
कथा भित्रको एउटा पात्र भो मन
खै,
संसार बोकेर उड्न सक्नु पर्ने
भावनाले उडाउने भो मन
कल्पनाले दौडाउने भो मन
म त नसक्ने भएँ
यो मायाको तरङ्ग वाहेक
बग्नै नसक्ने भएँ
बगी हाले पनि
मायाकै गाउँ वाहेक
अन्त पुग्नै नसक्ने भएँ !!