नारीको कथाः नारीको व्यथा


श्रृष्टिकर्ता नारीको कथा अनि व्यथाले धार्मिक ग्रन्थ रामायण देखि महाभारतको सीता र द्रौपदिसम्मलाई छुन पुगेको छ । मातृत्व गृहिणीको उच्च दर्जामा समावेश नारीको अस्तित्वलाई किम्बदन्ती बनाई वास्तविक धरातलमा केहि अँश नारीले भोगिरहेको पिडालाई हेर्ने हो भने केहि क्षण नेपाल पुग्नुस् । गृहयुद्धमा फसिरहेको देशमा कतिपय नारीको कथा विदिर्ण छ । आमा, छोरी, दिदि, बहिनी, श्रीमतिको उपमा लिएर विवशपूर्ण विदेशी भूमीमा पुग्नुपर्ने बाध्यतामा कतिपय नारीको हाल बेहाल छ । आफन्तव्दारा बम्बईको गल्लीमा बेचिएकि नारी एड्स रोग कोसेली बोकि माईतिघर 'माईति नेपाल'मा शरण लिन आई पुग्छन् । कतिपय वालिका गरिबीको कारण काम पाउने लोभमा भारतका कोठीमा पुर्याईन्छन् । अनि कोठीभित्र नै उनिहरुको ईहलिला समाप्त हुन्छ ।


मैले भेटिएकी नारी दोहा कतारको विमानस्थलमा अत्याचार र शोषणबाट भागेर पुलिसको शरण पाएर नेपाल जान लागेकि बीस वर्षिया चौधरी थिईन् । बोल्न पनि डराउने, थरथर कामेर बोल्ने ति चौधरीलाई चारजना केटि सहित दिल्ली हुँदै खाडी क्षेत्रमा बेचेर दलालहरु बेपत्ता भएको तिनले बताईन् । दोहा आईन्, अत्याचारीको हातमा परिन्, कुटाई खाईन्, भोकै बसिन्, सहनु सम्म सहनशीला सुशीला भईन र केहि सिप नलागेर सडकमा आई गुहार माग्दै पुलिसको मद्दतले नेपाल जान लागेको ल्पेनमा हामी सँगै नेपाल पुगिन् । एलिभेटर चढ्नपनि डराउने ति नारी काठमाण्डौ एयरपोर्टबाट कता पुग्छिन् उत्सुकताको विषय नै बन्यो मेरो लागी ।

बाँसबारीको केहि क्षेत्रमा धरान दार्जिलिङ्ग ताप्लेजुङ्ग सिक्किम कालिम्पोङ्गबाट थुप्रिएका नेपाली युवतिहरु पैसाको विटो थमाएर दलालकै चक्करमा परि ईजरायल सिङ्गापुरतिर लाग्नेपनि देखियो । प्राःयले बुढाबुढी हेर्ने घरेलु कामदार बनि पाँचशय देखि एक हजार अमेरिकि डलरमा कमारो सरह कामगर्न पर्ने यौन शोषण गरिने कथापनि बताए । राम्रो व्यवहार गर्ने कमै भए ता पनि उनिहरुको अत्याचार सहेर सापटी पैसा तिर्न पर्छ भन्नेपनि पाईयो । विस्तरामा बसेका बुढाबुढीलाई स्याहार्नु पर्दा परिवारका युवकले शोषण गर्ने व्यथापनि बताए ।

दोहा कतारमा नै पाँच जना युवतिहरु मसँगै रेष्टुरेण्टमा खान बसेको बेलामा दक्षिण अफ्रिकामा डान्सबारमा डान्स गर्न खटिएको र चार पाँच महिना उतैको सँसारमा अल्झिने बताए । अँग्रेजी त्यति नआउने फैशनलेमात्र स्मार्ट देखिने ति युवतिको भविष्य के हो थाहा नभए पनि कम्पनीले हामीलाई लगेको भन्न रुचाउनेको गन्तव्य के कस्तो हो उत्सुकताको विषय नै बन्यो ।

खाडी क्षेत्रमा नेपाली महिलालाई लान प्रतिबन्ध लगाए ता पनि दिल्लीको मार्ग हुँदै नेपाली, बङ्गाली, भारतेली, श्रीलङ्केली दलालबाट बेचिएर घरेलु कामदारको रुपमा लाने क्रम जारी रहेको मैले भेटेको चौधरीबाट नै स्पष्ट हुन्छ । महिलालाई नेपाली एजेण्टले दिल्ली पुर्याउने त्यहँबाट कुबेत, साउदी अरब, दुबाई, यमन, जोर्डन, बहराईन, कतार घरेलु कामदारको रुपमा पठाईने गरिन्छ । कुबेतमा पुरुषको भन्दा नेपाली महिलाको सँख्या धेरै छ भन्छन् । नगदे र जिन्सी बाली सरह उनिहरुको मूल्याङ्कन गरि के कस्तो ठाउँमा पुर्याउनु पर्ने हो कुबेती दलाले लेखाजोखा गर्छन् । अशिक्षित गरिब सँसार नदेखेका ति अबोध नारीले दलालको ईशारामा नाच्दै मालिकको ईशारामा शोषणमा नाच्नुपर्ने अवस्था आउँछ । कामको कुनै परिभाषा हुन्न । समयको किटान हुन्न । चौबिसै घण्टा बालबच्चा हेर्नुदेखि खाना पकाउनु लुगा धुनु तेल मालिस गर्नु बारीको हेरचाह गर्नु त्यतिले नपुगेर नाता कुटुम्बको घरमा सफाई गर्नु दैनिक प्रक्रिया बनाईन्छ । समयमा तलब खाना पाईन्न । यौन शोषण साथै कुटपिट गर्नेसम्म पनि छन् । शोषण खप्न नसकेर कतिपय साथी लुकेर बसेका छन् नेपालीहरुको समुदायमा । "मचाहि सडकमा पुगेँ पुलिसको रेखदेखमा भागेर आएँ" चौधरी केटिको कथाले पुष्टि गर्छ । रातारात धनी हुने सपना बोकेका दलालले अमानवीय व्यवहार गरिने नर्कमा आमा चेलीबेटीलाई बेचिरहँदा पनि ति दलालहरु उम्किएकै छन् । कानुनले छुने कहाँ हो र?  कुबेतमा कार्यरत एक नेपालीको अनुरोध के छ भने 'भारतीय नाकामा कडा निगरानी राखीनु पर्छ र त्यसका साथै खाडीमा घरेलु कामदार भिसामा कोहि कहिल्यै नआउनु होला हाम्रा दिदि बहिनी' भनि विनम्र अनुरोध पनि गरेका छन् । 'कम्पनीको भिसामा आउँदा स्वतन्त्र रुपले काम गर्न पाईन्छ ।'  यो सूचना दिएका छन् ति शुभचिन्तकले ।

विदेश जाने नाटकीय वृद्धि देशमा भएको हिँसात्मक व्दन्दका नै प्रमुख कारण छन् । मँसिर महिनामात्र बीसहजार नेपाली मासिक रुपले विदेशीएका छन् । वैदेशिक रोजगारी गलत सहि जे भए ता पनि विवश भई दैनिकि छ शय जति नेपालीहरु विदेसिन्छन् । सरकारको आँकडा अनुसार दोहा कतार रोजगारीको आकर्षक केन्द्र भएको छ । खाडी मुलुकमा रोजगारीमा जान कम खर्च लाग्ने भएकाले ग्रामिण  क्षेत्रबाट अत्यधिक कामदार पुगेका छन् । नारीको शोषण नहोस् भन्नाको खातिर सरकारी निकायले केहि पहल गरि दिएमा अवश्य पनि बरालिएर कोहि महिला पुग्ने थिएनन् कि ?