मोफसलमा



प्रकाश सायमी
काठमाडौं


कारिन्दाको कुर्सिमा छु
गृहस्थीको सपना छाउँछ टेबुल भरि
घरको पलङ्गमा छु
हाकिमको सपनाले तर्साउँछ  रात भरि
यो मुलुकमा म बाहेक अरुको एक्लो छ ?
म सोध्छु- आफैलाई घरिघरि
निरुत्तर उभिन्छु
आफ्नै तस्विर अगाडि
ऐना भएर ।

छियाछिया भएर सजिन्छु
विधवाको सिउँदो भरि
यो मुलुकमा मभन्दा कमजोर को होला र ?
एउटा सिङ्गै गाउँ सुतेको छ मभित्र
र जतै म जान खोज्छु त्यो ब्युँझिन खोज्छ
र जतै म भाग्न खोज्छु त्यो पछ्याइरहन्छ
एउटा अर्को पनि गाउँ छ- मेरो आँखामा
जो भत्किनै लागेको छ
पूर्वमा घाम नफुटदै
यसको मन फाटिसक्छ
आवाजहरुको रङ्गीन जङ्गलमा
खोजिरहन्छ यो आफ्नै आवाज
विज्ञापनको भाषामा
अखबार खोजिरहेछ
आफ्नो आवश्यकता
एउटा अनुहार बोकेर आएको छ- चिठ्ठी
एउटा चिठ्ठी बोकेर आएको छ आमाको अनुहार
धेरै कुरा देखिन्छ- आमाको अनुहारमा…।


पहिरोमा डुब्दै गरेको गाउँ
सपनामा भत्किँदै गरेको गाउँ
एक्लो/दुर्बल/कमजोर
त्यो गाउँमा एउटा पहाड पनि छ
एक्लोपनको पहाड !

म त्यो गाउँमा अब पुग्न सक्दिन
एउटा गाउँ नै बोकेर आएको छ चिठ्ठी
एउटा चिठ्ठी बोकेर आएको छ- गाउँ ।