मेरो स्थिति



(
तारानाथ शर्मा, मिशिगन)

दिसम्बर १५, २००८

चरर चरर गर्दै पीरले चिर्छ छाती

समय सुलुलु गर्दै चिप्लियो यो नजाती

घर र पर गरेरै देहले शक्ति त्याग्छ

नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ।

 

सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै

जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै

अलिकति म केही राष्ट्रको लागि गर्छु

जति पनि म सक्छु ज्ञान बाँडेर मर्छु।

 

मुलुकहरु अरूका उक्लँदै गैरहेका

हिमचुलिमुनि बस्ने छौँ सबै नित्य भोका

अब त समय आयो हामिले उठ्नुपर्छ

दल र कलह छोडी एक भै मिल्नुपर्छ।

 

छल र कपट गर्ने दुष्टले भेद गर्छन्

तँतँ र मम गरेरै फोर्दछन् एकता झन्

पद र धनतिरै जो मस्त छन् चिन्नुपर्छ

अब त सब जनाले जाल यो बुझ्नुपर्छ।