जिऊँदो देशको जिऊँदो नागरिक

संयुक्त श्रेष्ठ,
बेलायत।


जंगलको आगोमा पनि नसल्कने,
रूखबाट झरेर पनि बीऊ बनी उम्रने
त्यो दृढ संकल्पी बनौँ हामी नेपाली जनता।

सानालाई नकुल्ची ठूलो पाइला चाल्ने,
सबैले उछिने पनि कसैको पछि नपर्ने
त्यो अथक परिश्रमी बनौँ हामी नेपाली जनता।

जिऊँदो देशको पनि जिऊँदो नागरिक बनिरहने,
आफू बाँचुन्जेल आफ्नो देशलाई बचाउने
त्यो वीर साहसी बनौँ हामी नेपाली जनता।

चराले उड्न खोजे झैं आफ्नो संस्कृति अँगाल्ने,
नेपाली हुनुको गर्व र कर्तव्यलाई सम्हाल्ने
त्यो धन्य सन्तान बनौँ हामी नेपाली जनता।