कविता
मान्छे निर्दयी पनि रहेछ


बिनोद खड्का
हालः दोहा कतार


जेठको उन्मत्त आकाशलाई सोधेँ
बर्षाको निवस्त्र झरीलाई सोधेँ
हिउँदको त्यो लुरे घामलाई सोधेँ
अनि चैत्रको अन्धो हुरीलाई सोधेँ  ।

जीन्दगी के हो सबैलाई सोधेँ
अन्तमा फेरी आफैलाई सोधेँ
जवाफ के पाए थाहा छ ?
त्यो त केवल अन्धो यात्रा हो ।

सुख र दूखसंग लुकामारी खेल्दै
पीडा र मस्तीसंगै गुटमुटिदै
बाल्यपन यौवन र बुढयौलीमा हराउदै
जीन्दगी आफैमा ढुन्मुनिदै चल्दो रहेछ
चीत्ताको अनन्त यात्रामा
चीरनिन्द्रामा हराउदै
जीन्दगी आफैमा बिलाउँदो रहेछ ।

तर पनि मान्छे
मान्छेलाई नै हाँक्दो रहेछ
तर पनि मान्छे
मान्छेलाई नै थिच्दो रहेछ ।

खुसी बाँड्न सक्ने मान्छे
पीडा पनि बाँड्दो रहेछ
माया र दया बाँड्न सक्ने मान्छे
आतंक र त्रास पनि बाँड्दो रहेछ ।


१५ अक्टोवर २००८