मान्छे खोजिरहेछ यती

ध्रुवसत्य
काठमाण्डौ


मेरा अनेकौं इच्छाहरु मध्ये
अग्र र उग्र इच्छा- सपनामै मरुँ
हिउँदमा घाम तापेका दिनहरु भन्दा
अरुबढि न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरु
मेरा अनेकौं इच्छाहरु मध्ये
अग्र र उग्र इच्छा- सपनामै मरुँ ।

म सपना ओडेर जागेको बेला
तिमी जीवनदेखि डराएर भागेको बेला
तब ताजूब लाग्छ मलाई
जब हामी एकै ठाउँमा भेटिन्छौं
भूत भविष्य र वर्तमानबाट मेटिन्छौं
तिमी भन्छौ- यती खोज्न जाऔं
सगरमाथा चढौं
म भन्छु- मान्छे खोज्न जाऔं
मान्छेहरु बटुलेर अगाडि बढौं
हामी दुईको विचार मिल्दैन
आखिर हामी दुबै
समाजदेखि विचार नमिलेरै भागेका न हौं
विचारलाई बझाएर बस्नु खुबै
अनि एक्लै यात्रा गर्नु दुबै
आजको समाज र समयका लागि सार्थक होइन ।

हामी यती खोज्दै-खोज्दै
सगरमाथाको शिखरमा पुग्छौं
तिमी भड्कन्छौ- खोई कहाँ छ यती
यतीलाई आफ्नो क्यामरामा कैद गर्न पाए
अहा ! गिनिज बुकमा-
यतीको तस्विर खिच्ने पहिलो व्याक्ति !!
तिमी सगरमाथा चढेकोमा खुशी हुदैनौ ।
झनै यती नभेटेकोमा दुःखी हुन्छौ ॥
यतिकैमा यती आयो
हामी दुबैलाई धाप मार्दै सोध्यो-
तिमीहरुले मान्छेलाई देखेका छौ
म मान्छे भेट्न भौंतारिरहेछु
तर मान्छे भागिरहेछ
के तिमीहरुले देखेका छौ-
मान्छेका सुन्दर आबादहरु

हिउँदमा घाम तापेका दिनहरु भन्दा
अरुबढि न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरु ।