म र मेरो हतियार

कृष्ण प्रसाई
काठमाण्डौ, नेपाल

सृष्टिकर्ताले शुरुवात्बाटै
केही मिल्दो-
केही बिल्कुलै उल्टो बनोटमा-
म नारी
र तिमीलाई पुरुषको प्रमाणपत्र दियो ।
पुरुष हुनको दुर्भाग्य-
पुरुषार्थहरु कतिखेर नुहिन्छन्-
यो मलाई राम्ररी थाहा छ ।
यसर्थ तिमी हुनुका कमजोरीहरु पनि मैले बुझेकी छु ।
अथवा भनौँ यसैको बुझाइमा
म सहस्र खेलहरु पनि खेल्न सक्छु-
जसरी
आदर्श हुनुको बहानामा-
सीता हुनुको नामबाट
म रामायणकी युद्ध पनि भएँ ।
पोथी नाथे भनेर के गर्छौ र
पाञ्चाली हुनुको प्रतिशोधले-
महाभारतकी विजेता पनि बने ।
मेरो इतिहासले त्यही भन्छ-
मेरा स्वार्थका लागि
विषकन्या हुनुको दाँतहरुबाट-
कैयौं बादशाहहरु डसिएका छन् -
थुप्रै जोइटिङ्ग्रेकी स्वास्नी हेलेनहरुबाट-
धेरै कोतहरु पनि रचिएका छन् -
र निर्दोष मान्छेहरु मारिएर
सिंङ्गै राष्ट्रहरु रगतले भिजेका छन् ।
अनर्थ किन सम्झिनु मैले-
क्लियोपेट्राजस्ता पनि मेरा पूर्वजहरु छन् ।
कैकेयी जस्ता पनि मेरा अग्रजहरु छन् ।
अनि मेरा समुदायमा -
स्वर्गबाट बारम्बार
धर्तीको तपस्या बिच्क्याउँदै-
कामोत्सव मनाउन हिँड्ने
कामाग्नि मेनकाहरु पनि छन्-
अथवा आवश्यक ठान्दा
श्रापैसमेत कस्न सक्ने-
तिमीले वाइफाले भन्ने गरेका
सहस्र उर्वसीहरु पनि छन्
यसर्थ म सगर्व भन्न सक्छु-
मेरा हत्केलामा अहिले पनि सिंङ्गै संसार नाच्न सक्छ ।
तिमीले गिल्ला गरेर केही फरक पर्दैन मलाई-
मेरो एउटै ओठको मुस्कान मात्रै-
यथेष्ठ हुन्छ सम्मोहन गर्नमा अहिले पनि
पर्याप्त बन्दछ जादू भर्नमा अहिले पनि-
अन्यथा मान्नुपर्ने केही छैन
तिमी पुरुषभन्दा-
जन्मदै अस्त्रले सुसज्जित भएर
म नारी अन्मनु भनेको-
वरदान हो आविष्कार हो
मेरो आविस्कारले युद्ध जित्न सक्छ-
यस अर्थमा म
संसार जित्ने योद्धा पनि हुँ-
म त फेरि पनि भन्छु-
ढाल म स्वयंमा रहेकाले
तिम्रा सम्पूर्ण क्षेप्यास्त्रहरु ढल्नेछन् मेरो हतियाराका सामु ।
यसैले याद राख !
आफ्ना प्रक्षेपणहरुबाट म धर्ती पनि टुक्र्याउन सक्छु ।
सबै हतियारहरुभन्दा बलियो हतियार चलाएर
संसार जुनसुकै बेला ध्वस्त पार्न सक्छु ।
संसार जुनसुकै बेला नष्ट पार्न सक्छु ।