आकाश उस्तै नीलो थियो

    

रजनी ढकाल
काठमाण्डौ

 

लगनखेल चोकको दक्षिण पश्‍चिमको सडक पेटीमा उभिनु थियो मलाई । घरबाट समीरसँगै गएको मोटरसाइकलबाट उत्रिएपछि म र आयाम उहाँसग छुट्‌टियौं । समीर आफ्नै कामका लागि अघि बढ्नुभयो । म त्यतै लागें जता मलाई उभिनु भनेर भनिएको थियो । साथमा सानो छोरो आयाम मेरो औंला समातेर टुकुटुकु हिंडिरहेको थियो ।

आकाश छ्याङ्गै उघ्रेको थियो । परपरका पहाडहरूले नीलो रङ ओडेर क्षितिजका रेखाहरू चुमिरहेका थिए । लगनखेल चोकको बीचमा उभिएको हरियो रूख चौतारो बनेर धेरैलाई शीतलता बाँडिरहेको थियो । सडक गाडीहरूको ओहोरो दोहोरोमा व्यस्त थियो । भदौ महिनाको अन्तिमतिरको दिन र एघार बाह्र बजेको समय, घामले आफ्नो चूडान्त रूप देखाइरहेको थियो ।

उज्यालो दिन साँच्चै मीठो लाग्छ मलाई । यसको अर्थ घामको उज्यालो चहकमा नुहाइरहेको दिनले साँच्चै जीवनको उल्लास बोकेको अनुभूति मिल्छ । तर तातो घाममा थाप्लो थापेर उभिने हिम्मत भने हुँदैन । यस मामालामा परिश्रमी किसान र भरियाहरूलाई सलाम गर्न मन लाग्छ मलाई । हो, घाम बेस्सरी चर्किएको थियो । त्यसैले म छिटोछिटो सडक पेटीतिर लागें, जहाँ घरको शीतल छायाले हामीलाई नै कुरिरहेको थियो ।

शहर आफ्नो दैनिकीमा मज्जाले जम्न लागिरहेको थियो । कोही गुडिरहेका थिए, कोही हिंडिरहेका थिए, कोही बेचिरहेका थिए, कोही किनिरहेका थिए । यी क्रियाकलाप हेर्दा लाग्थ्यो, जीवन व्यस्तताको एउटा चक्र हो । जुन घुमिरहन्छ, घुमिरहन्छ ।

नमस्ते मिस परिचित सुन्दर अनुहारले मेरो अगाडि अभिवादनको हात उठाइरहेको थियो । मुस्कानको छहरामा एउटी सुन्दर केटीको कुमारी सौन्दर्य मेरो अघिल्तिर प्रदीप्त थियो ।

ओहो, सुमना तिमी ! कताबाट ?

बाहिर जान लागेको, ममीलाई कुरेको आउँदै आउनुभएन । हेर्नु न फोन पनि लाग्दै लाग्दैन । ढिला भैसक्यो । उनको सुरिलो स्वर मैले पढ्दै गरेको पुस्तकको कुनै पात्रको मीठो संवाद जस्तै थियो ।

हातमा लिइरहेको मोबाइल खल्तीतिर घुसाउँदै बोलिन्, आज सपिङ जाऊ भनेर हिंडेको.... ओहो कत्रो ठूलो भएछ बाबु ! उनले आयामतिर हात बढाइन् । सुरिलो स्वर, सुन्दर अनुहार र चिटिक्को जीउ छ उनको ।

मलाई पहिलेदेखिनै एउटी सुन्दर गुडिया झैं लाग्थिन् सुमना । उनको शिष्‍ट व्यक्तित्वले झन् सुन्दरता भरिएको हुन्थ्यो उनमा । उनको मन पनि नामजस्तै सुन्दर लाग्छ मलाई ।

अनि पढाइ कहाँ पुग्यो नि ?

थर्ड एयरको रिजल्ट कुरेर बसेकी छु ।

अब, कुन विषयमा एम ए गर्ने त ?

हेरौं.....

समय बित्‍न केही बेरै नलाग्ने है । हेर न अस्तिभर्खर पढाएझैं लाग्छ तिमीहरूलाई एघार कक्षामा । तिमीले बि ए पनि पढिसक्यौ । मैले आफ्नो बगिरहेको समयलाई भित्री मनले सम्झिएँ । मन झसङ्ग भयो, कति सजिलै बितिदिन्छन् दिनहरू । तर... खै म समयसँगै हिंड्न सकेको ?

मिस, टाढै हिंड्नुभए जस्तो छ नि?

अँ साथीसँग यसो घुम्न निस्कौं कि भनेर । एकजना बहिनीलाई भेट्न जानुछ । छोराछोरीहरूलाई पनि घुमाउन हुने, त्यसैले..... ऊ मेरा साथीहरू पनि आए ।

आयाम, सुमना र मेरा आँखा त्यतैतिर तेर्सिए, जताबाट मञ्जुल दाइ, सुस्मिता, समिका र मिहार आइरहेका थिए । शहरको भीडभाडबाट एक्कैचोटि फुत्त निस्किएझैं उनीहरू एकैछिनमा हामी नजिक आइपुगेका थिए ।

दिनजस्तै उज्यालो अनुहार थियो मित्र दम्पतीको । साथमा एकएकवटा मायाका चिनो, जीवनका आधार र भविष्यका सपनाहरू पनि डोरिएका थिए, समिका र मिहार ।

नमस्ते दाइ मैले मञ्जुल दाइको अघिल्तिर हात जोडें । उहाँको फिर्ती नमस्कार मलाई सधैं आशीर्वादको पहाडझैं लाग्छ । आज पनि उसैगरी ठडिएको थियो त्यो पहाड । देखें, त्यस पहाडबाट स्नेहको अविरल छहरा मैतिर झरिरहेको थियो ।

को हुन् यी ? मसँगै उभिएकी सुमनालाई देखाएर सोध्नुभयो उहाँले ।

मेरी छोरी !

हैन साँच्चै तिमीहरूको अनुहार पनि मिल्छ।

सुस्मिता मज्जाले हाँसिन् । अनि हामी सबै हाँस्यौं । सुमनाले दुवैलाई नमस्कार गरिन् मैले सही परिचय दिएपछि । नजिकैबाट हिंडेका मान्छेहरूले हामीलाई हेर्दै थिए ।

समिका र मिहारलाई देखेपछि आयाम पनि फुरुङ्ग परिरहेको थियो ।

सुमनासँग बिदा भएर हामी पसलतिर पस्यौं । हैन जानुको छोरालाई के लगिदिने ? मैले सुस्मितालाई सोधें ।

हिंड न यही पसलमा पाइन्छ । हामी नजिकैको कपडा पसलमा छिर्‍यौं ।

दुवैले एकएकवटा उपहार किन्यौं । यस सृष्‍टिको नयाँ मान्छेलाई उपहार किन्नु जति रमाइलो थियो, उसको अनुहार हेर्न हिंड्नु पनि हाम्रालागि उत्तिकै रमाइलो थियो ।

चकलेट पनि किन्ने नि कुकीको लागि समिकाले सही निर्णय निकालिन् । हामी सबै छोराछोरी डोर्‍याउँदै अर्को पसलमा छिर्‍यौं ।

यिनीहरूलाई फ्रुटी पनि किनिदिऊँ, सुस्मिताले थपिन् । मिहार चिच्यायो, अर्को पनि चकलेट किन, सिजुमामुलाई । उसको प्रस्ताव अचम्मको छ । भरे फर्केर घर आइसकेपछि भेट्ने उसकी आण्टीलाई ऊ अहिल्यै सम्झिरहेको छ । तीन वर्षको बच्चो भरेको लागि कति राम्ररी सोचेर जोहो गरिरहेको छ ।

हातमा एकएक पोकाहरू झुण्ड्याएर हामी फेरि सडकमै ओर्लियौं । घामले आफ्नो ताकत झन् बढाइरहेको थियो । सुस्मिता र मैले छाता खोल्यौं । छोराछोरीलाई छाताको छहारीमा राख्यौं ।

ऊ त्यही हो भैंसेपाटी जाने गाडी, सुस्मिताले नीलो गाडीतिर देखाइन् । हामी त्यतै लाग्यौं। गाडी त सजिलै भेटियो तर सिट त के उभिने ठाउँसम्म नभएको । तीन तीन जना केटाकेटीलाई राख्‍न सजिलो थिएन । हामीले त्यो गाडीलाई छोडिदियौं । केही पाइला सार्न नपाउँदै अर्को पनि आयो । उफ् अर्को पनि के कम ! त्यो भन्दा झन् बढी भीड भएको ।

चर्को घाम, सडक, शहर, गाडी, मान्छे र भीड ! मेरो मनमा एउटा चित्रमय अनुभूति कोरियो । अनि शब्द र हरफमा रूपान्तरित हुन् खोज्यो, फेरि त्यत्तिकै बिलायो ।

यो गाडी, उता बस स्टपतिरबाट घुमेर आउँछ । उतै जाऊँ भो, पाइएला कि, यस्तो भीड त कहिल्यै हुन्थेन । जानकार सुस्मिताले उपाय सुझाइन् । सबैजना बाटो काटेर बस बिसौनीतिर लाग्यौं । त्यहाँ रोकिएको गाडी पनि भरिइसकेको थियो । जुन जोगी आए पनि कानै चिरेको ! के गर्ने अब ? केही छैन उपाय, एकछिन पर्खिनै पर्छ ।

भैंसेपाटी जाने मान्छेहरूको भीड उस्तै भैसकेको थियो । तीन चारजना विद्यार्थीहरू हाम्रै नजिक उभिइरहेका थिए । क्याम्पसको ड्रेसमा रहेका एकजना भाइलाई सोध्नुभयो दाइले, भाइ क्याम्पस छुट्टीभएर घर फर्केको होला हैन ?

हो ।

खाना खाएको छैन होला ?

छैन, घर गएर खाने

केही महिलाहरू हातमा गह्रौं झोला लिएर उभिइरहेका थिए । सबैलाई सास्ती थियो, गाडी नपाउनुको । सबैलाई पुग्नुथियो आआफ्नो गन्तब्य । तर गाडी थिएन ।

पेट्रोल छैन, डिजेल छैन अनि गाडी छैन । तर जीवन छ । बाँच्नु छ । पढ्नु छ । व्यवहार चलाउनु छ । किन्नु छ । बेच्नु छ । हिंड्नु छ । मान्छेलाई भेट्नु छ । अहो ! के गरी बाँच्ने हो यो देशका मान्छेहरू ? धेरै छैनको बीचमा एउटा सिङ्गो जीवन छ । त्यो भन्दा पनि सिङ्गा चाहना र सपनाहरू छन् । के यी सबै पूरा हुन नपाइ झर्छन् ? के बाँच्नु भनेको नहुनुसँग सम्झौता गर्नु हो ? या नहुनुलाई हुनुमा बदल्नु हो ? मनभरि प्रश्‍नको चर्को घाम चर्किन्छ । अहिले अलि बादल लागेछ बाहिर, केही शीतल भयो ।

ऊ....ऊ...ऊ... गाडी सुस्मिता एकैचोटि काराउँछिन् । हामीसबै गाडीतिर हान्निन्छौं । बसस्टपमा ओर्लिने यात्रुहरू पनि ओर्लिन पाएका हुन्नन् । चढ्नेहरूको हतार । कोही झ्यालबाट झोलाहरू छिराइहेका छन् । सुस्मिताले पनि आफ्नो ब्याग राखिहालिन् झ्यालबाट । मिहारलाई पनि राख्‍न खोजिन् । तर ऊ डरायो । रोयो । काखमै तानिन् । हामी ढोकाबाट छिर्‍यौं । बल्लबल्ल तीनवटा सिट भेट्टायौं, त्यही पनि तीनतिर ।

आयाम र समिका मेरो अगाडि उभिए । दाजुले अगाडितिरको सानो सिट भेट्नुभएछ । सुस्मिता मिहारलाई लिएर अर्को सिटमा बसिन् । उभिने मान्छेहरूको भीडले हामीले एकअर्कालाई हेर्न नसक्ने भयौं । मसँगै झ्यालपट्‌टिको सिटमा क्याम्पस पढ्ने एकजना भाइ थिए । दुईतीनवटा ब्यागहरू काखमा राखेर बसिरहेका । अनि बाहिरतिर हेरेर टोलाइरहेका थिए । एकमनले उनीसँग बोलूँ झैं पनि लाग्यो । तर अर्को मनले उनको एकग्रता भङ्ग गर्न मन लागेन ।

लगनखेल, कुमारीपाटी, जावलाखेल, भनिमण्डल हुँदै रिङरोड निस्कियो गाडी । त्यसपछि केही अगाडि बढेर देब्रे लाग्यो ।

सधैं सुनेको नाम भैंसेपाटी ! जतिबेला सुन्दा पनि एउटा अनौठो बिम्ब मनमा उत्रिने यो ठाउँ तर पुग्न सकेकी थिइनँ । आज साइत जुरेको छ । प्रसिद्ध फोटो कवि कुमार आलेको घर जाने बहानामा । उनकी पत्‍नी र छोरालाई भेट्ने बहानामा ।

साहित्यकार वा कोही पनि व्यक्तिको विभिन्न मुडका सुन्दर चित्रहरू खिच्न असाध्यै प्रसिद्ध हुनुहुन्छ कुमार आले । जो कोही साहित्यकारका फोटाहरू उहाँसँग हुने गर्छन् । फोटोग्राफीबाटै अनेकौं अनुभूति टिपेर दर्शकलाई देखाउन सकेकाले होला उहाँलाई प्रसिद्ध साहित्यकार र भाषाविद् कमलमणि दीक्षितले फोटोकवि भनेर उपाधि दिनुभएको । साँच्चै कुमार आले भनेपछि फोटोग्राफीको सिद्ध नाम भएको छ आजभोलि । धेरैजसो साहित्यिक पुस्तक र पत्रिकाहरूमा कुमार आलेकै फोटोग्राफी भेटिन्छन् ।

गाडी गुडिरहन्छ । कहिले ओरालो त कहिले उकालो । चक्रपथ बाहिरको बस्ती । शहरी विकासमा मिलेको बस्ती । जताततै बाटाहरू । झण्डै चालीस मिनेट पछि हामी ओरालिन्छौं एउटा चोकमा । गाडीभित्रको भीडको बीचबाट बल्लबल्ल फुत्किन्छौं बाहिर ।

मञ्जुल दाइको कालो पेन्ट भीडभाडमा मान्छेहरूका जुत्ताले लागेर खैरो भएको थियो ठाउँ ठाउँमा । मलाई कस्तो कस्तो नमीठो लाग्यो । मलाई उहाँजस्तो कोही मान्छेलाई पनि यसरी भीडभाडमा सकस सहेर यात्रा गरेको हेर्न नमिठो लाग्छ । तर के गर्ने आफ्नो देशको स्थिति यस्तै छ । आफू बाँचेको ठाउँ यस्तै छ । जस्तोमा बसिएको छ त्यसरीनै बाँच्नु त पर्छ नै ।

भैंसेपाटीको शहरी विकासको बस्तीमा मिलेका कालोपत्रे सफा सडक हाम्रो अघिल्तिर थियो । शान्त र सुन्दर वातावरण । एकैछिनमा अर्कै ठाउँमा पुगेका थियौं हामी । अघिभर्खरको ठाउँ र अहिलेको ठाउँ कति फरक थियो । जताफर्के पनि उस्तै सडक, हैन कता जाने होला ? म त एकछिन अलमल्लमा परें । आयामले खुला ठाउँ देखेपछि के छोड्थ्यो । ज्यान छोडेर दौडियो । उसको पछिपछि दौडिंदा दौडिंदै फसाद ।

सुस्मिता र मञ्जुल दाइलाई पनि हम्मे पर्न लाग्यो सही बाटो पत्ता लगाउन । हामीले कालो सडकलाई छाडेर एउटा खाली घडेरीको जग्गाबाट गएको गोरेटोमा तेर्सियौं । अग्लो झारले हिंड्न पनि अप्ठ्यारो पार्‍यो । पल्लोपट्‌टिको सडकमा त निस्कियौं । तर घर अझ परपट्‌टिको बाटोमा रहेछ । सुस्मिताले चिनिन्, ऊ त्यही हो कुमारको घर ! तर कहाँबाट जाने ?

सानो दुइतले चिटिक्कको घरको कौसीमा एकजना पुरुष उभिएरहेका थिए । समिकाले चिच्याइन्, कुमार मामा ! कुमार मामा ! तर उनले सुनेन् । धेरै पटक कराएपछि एउटी महिला निस्किइन् । उनले हातले इशारा गरिन्, परबाट घुमेर आउनुस्।

हामी फेरि कालोपत्रे सडकलाई पाइलाले नाप्न थाल्यौं । सडक यति सफा र सुनसान थियो, केटाकेटीहरू रमाएर आफैं आफैं दौडिन थाले । उनीहरू पछिपछि दौडिंदा दौडिंदै हामी घरको गेटैमा पुग्यौं ।  

जानु बहिनीले ढोका खोलिन् । उनको चिल्लो, गोरो अनुहारमा खुशीको घाम लागिरहेको थियो । नमस्ते ! खै त मञ्जुल दाइ ?

पछि आउँदै हुनुहुन्छ । उहाँको बाटोमा भेटिने मान्छे कति कति ! पाइलै पिच्छे चिनेका मान्छे भेट हुन्छन् । सुस्मिताले जानुलाई जानकारी दिइन् ।

ओहो ! नमस्ते, रजनीजी पनि आउनुभएछ ! खुशी लाग्यो । कुमारजीको आश्‍चर्य खुशीको थियो ।

घरबाहिरको कम्पाउण्ड वाल पनि तेलिया चिल्लो इँटाले बनेको त्यसमा पनि पर्खालको बीचमा गाउँले हजूरआमाले कम्मरमा बाँधेको पटुकी झैं बुट्टे इँटले बेरिएको । गेटबाट छिर्‍यौं हामी । अनारको बोटमा करेलाको लहरा लपक्कै बेरिएको र तर्ल्याङ्तुर्लुङ फलिरहेको । हुर्किंदै गरेको चाइनिज दूबो लगाएको सानो चहुर र त्यसमाथि टाँगिएको डोरीमा नानीका लुगाहरू सुकिरहेका ।

अहो ! कति सानो घर ! अनि कति राम्रो घर ! हामी घरलाई देब्रे पारेर अघि बढ्यौं । अनि पश्‍चिमतिरबाट कोठामा छिर्‍यौं । छिर्ने बित्तिकै कोठामा सोफा, कम्प्युटर, पुस्तक र अन्य फाइलहरू जतततै आँखाभरि ठोक्किन आइपुग्न् । तर जताततै चिटिक्क मिलाएर राखिएका । कोठाको भित्तो कतै खाली छैन । ससाना दराजहरू कोठामै मिलेर टाँसिएका छन् । त्यसैमा राखिएका छन् फोटाका फाइलहरू र प्रसिद्ध पुस्तकहरू । कुमारजीको पुस्तक प्रेम देखेर छक्क परें म । प्राविधिक फाँटको मान्छेसँग पनि यतिधेरै यति सुन्दर पुस्तकहरू ! देशी विदेशी सबैखाले पुस्तकहरू । भरखरै प्रकाशित चर्चितदेखि पुराना पुस्तकहरूसम्म । आलेजीको पुस्तकप्रेम लोभलाग्दो थियो ।  

थाहा छ, पहिला त उहाँहरू यत्तिमा बस्नुहुन्थ्यो । यही एउटा कोठामा, बेड पनि यहीं अटेको थियो । सुस्मिताले भनिन् ।

कति महान् छ कुमार भाइको मन ! बुझ्यौ, रिङरोडमा कत्रो घर थियो उहाँको, अहिले यत्रो घरमा पनि कति सन्तोषले बस्नुभएको छ । सुखी हुनलाई त मनले सन्तोष लिन जान्नुपर्छ । उहाँलाई कत्ति दु:ख छैन यहाँ बस्नुपर्दा । मञ्जुल दाइको अनुहारले अझ धेरै बोलेको थियो मुखले भन्दा ।

कुमारजीका पनि जीवनका थुप्रै  उकाली ओरालीहरू रहेछन् भन्ने अड्कल काटें तर सबैकुरा सोधिहाल्न मन लागेन ।

माथिको तला त अस्ति भर्खर थपेको । दुई तीन महिना मात्रै भयो । कुमारको मिहिनेत हो यो सबै । कति काम गर्न सक्नुहुन्छ । दिमाग पनि मान्नै पर्छ । यो सबै डिजायन पनि उहाँकै होला । सुस्मिताले थपिन् । मैले सोफाबाट उठेर एक पाइला तन्काएँ, स्लाइडिङ डोरको पल्लोपट्‌टि सानो किचेन पनि रहेछ ।

कति सुन्दर घर ! साँच्चैको खेलौना जस्तै घर ! म हेर्दा हेर्दै दङ्ग परें । आफ्नो ठूलो भद्दा स्यहार्न नसकेका कोठाहरूलाई सम्झिएँ । मिलाएर राख्‍न सक्यो भने जसरी र जत्रोमा बस्दा पनि त पुग्ने रहेछ !

कुमारकी छोरी कुकीको फूर्ति बेग्लै थियो । सानो पुतलीजस्तो जीउ लिएर फुरफुर गरिरहेकी थिई । एकैचोटि तीन तीन जना साथी पाएकी थिई उसले । साथीहरूलाई लिएर ऊ पनि खेल्न थालिहाली ।

जानुले सानो छोरालाई काखमा लिएर झरिन् । सफा सेतो डम्मरकुमारीको पछ्यौरामा गटुमुटु परेको नयाँ एक महिनाको मान्छेलाई हेर्न उत्सुक थिए केटाकेटीहरू पनि । मैले केही दस्तुर चढाएँ, नयाँ मान्छेलाई मुख हेर्ने हाम्रो समाजको चलनअनुसार अनि उसलाई जानुको हातबाट काखमा लिएँ । उसको कोमल अनुहारमा साना साना तेजिला आँखा चम्किरहेका थिए । ऊ एकोहोरो कतै हेरिरहेकोझैं लाग्थ्यो। कति सुन्दर र रमाइलो हुन्छ बच्चाहरू भएको घर अनि त्यो परिवार । सुस्मिता र दाइले पनि नयाँ मान्छेको सुन्दर अनुहार हेर्नुभयो दस्तुर तिरेर । कुमारले फोटो खिच्नुभयो सम्झनाको लागि ।

जानुले थालमा राखेर मोटा मोटा केरा ल्याइन् । यो हाम्रै बारीमा फलेको, बोटमै पाकेको । कुमारले जानकारी गराउनुभयो ।

ओहो ! कति मोटो केरा एउटै खाँदा अघाइने ! केराको मोटाइ यत्रो थियो कि मुखले एकपटकमा खाम्न गाह्रो परिरहेको थियो मलाई ।

मीठो रहेछ, अर्कोको आधा खान्छु म त, तिमी आधा खाऊ है सुस्मिता दाइले भन्नुभयो, सबै त सक्दिनँ ।

साहित्य, परिवार अनि कामका कुराहरू भए । कुमारले आफ्नो अफिस पनि त्यही घरमै सार्नुभएको रहेछ ।

मेरो त बैठककोठा, खानेकोठा, अफिस, पाहुनाकोठा सबै यही हो ।

तिमीले लियो टाल्सटायको कथा पढेको हौला नि । मान्छेलाई आखिर कति जमिन चाहिन्छ र ? दाइले भन्नुभयो । 

हो त छ पढेकी छु । छ फिट जमिन काफी छ एउटा मान्छेको लागि । मर्दा लैजाने त केही होइन । मैले बोलें ।

घरमा माया गर्ने मान्छे आउँदा मनै रमाउँछ । मैले आफ्नो स्थितिलाई सम्झिंदै कुमारलाई र जानुलाई हेरें । दुवैको अनुहार हेर्नुको थियो । 

बाहिर अर्को पनि व्यक्ति आउनुभयो । समिका, मिहार, कुकी र आयामलाई लिएर हामी माथिल्लो तलामा गयौं । बाहिरको घुमेको भर्‍याङबाट माथिल्लो तलामा पढेपछि थाहा पाएँ, माथि पनि साना साना दुईवटा कोठाहरू रहेछन् । दुवै बेडरूम । नयाँ मान्छेलाई हेर्ने जिम्मा हाम्रो भयो । घर अघिल्तिर थरिथरिका फलफूलका बोटहरू थिए । हामीले खाएको केराको झ्याङ त बेस्सरी झ्याङ्‌गिएको रहेछ ।

मलाई थाहा छ, अरूहरूजस्तो जानलाई हतारिनुहुन्न नि ! हजूरहरू त आएपछि ढुक्कैले आउनुहुन्छ । मलाई यस्तै मनपर्छ । हतारिनेलाई त केही खुवाउन पनि पाइँदैन । म बिस्तारै खाजा बनाउँछु । हजूरहरू यहीं बस्नुस् । जानुको उज्यालो अनुहार झन् खुलिरहेको थियो सानो छोरालाई दूध चुसाउँदै गर्दा ।

कुमारजीले हाम्रोलागि टेलिभिजन खोलिदिनुभयो । सुस्मिता र मैले टेलिभिजनतिर आँखा दौडायौं तर कुरा भने आफ्नै गर्‍यौं । जानुको सानो छोरो मस्त निद्रामा थियो । म ऊ नजिकै बसें । मिहार, समिका कुकी र आयाम रमाउँदै खेलिरहे । उनीहरूको बाललीला हेर्दै मजा लिइरह्यौ हामीले पनि । जीवन बाँच्नुको मजा यो पनि त हो ।

जानुले थालभरि काँक्राका चिराहरू लिएर आइन् । साथमा नून र हरियो खुर्सानी पनि ।

यी लिनुस्, हाम्रो बारीमा फलेको काँक्रो ।

समिका र आयामले काँक्राका चिराहरू लिंदै मुखमा हाले । कुकी र मिहार पनि खान तम्सिए । काँक्रो खानु भन्दा पनि कुमार र जानुको हातले फलाएको फल खानुको मिठास बढी थियो ।

केटाकेटीहरू घरि तल घरि माथि गरिरहेका थिए । कहिले पुतली खेल्थे त कहिले गाडी । छोराहरूको रुचि नै बेग्लै । अनि छोरीको रुचि बेग्लै । कुकीले ममीको सल बोकेर मनिर आई, मलाई यत्को साडी लाइदिनु न !

मैले उसको शरीरमा सेतो सल बेरिदिएँ । सलको छेऊछेऊमा छमछम बज्ने गेडाहरू पनि रहेछन् । ऊ दगुर्दै साथीसँग मिसिई । ऊ दौडिंदा सलमा झुण्डिएका मसिना गेडाहरू छमछम बजिरहेका थिए । ऊ पुतली काखमा लिएर खेलाउन थाली । समिका पनि पुतलीमै भुल्दै थिई । मिहार र आयाम एउटै खेलौनाको लागि झगडा गर्न थाले । सानोमान्छे भने आनन्दले निदाइरहेको थियो ।

केटाकेटीहरू यत्तिकै त हुन्, घरमा पनि यिनीहरूलाई हेर्दै ठिक्क । लेख्‍न पढ्न त कहाँबाट पाउँनु । ठिकै छ, यसैमा सन्तोष गरेकी छु, पछिको लेखनको लागि राम्रो सामग्री होला यो काम पनि ! सुस्मिताको व्यवहारिक गुनासो थियो या जीवनप्रतिको खुशी मैले मनमनै सोचिरहें । तर आज म अनि केटाकेटीहरूसँग बितेको उनको समयले उनले कति सुख दिइरहेको थियो त्यो मैले मात्रै अनुमान लगाउन सक्थें । जीवन भन्नु कर्मको पर्याय मात्रै हो कि फुर्सदिलो समयको आनन्दानुभूति पनि हो ! आज साँच्चै हामी समयलाई त्यसै त्यसै बग्न दिएर आनन्द लिइरहेका थियौं ।

खेलौनाजस्तो देखिने सुन्दर र चिटिक्को घरमा बस्दा मलाई त्यसै त्यसै आनन्द लागिरहेको थियो । किन किन मलाई घरका भित्ता, भुइँ त्यसै त्यसै छुन मन लागिरहेको थियो । सिलिङ्‌तिर आँखा टाँसिरहेकी थिएँ । सुस्मिताले अर्को रहस्य बताइन्, हेर न त्यहाँ माथि पनि कति ठाउँ छ । सबै सामानहरू राख्‍ने स्टोर त्यहीं छ । हेर्दा केही छैन जस्तो लाग्छ । म छक्क पर्दै टोलाइरहें, अनि कहाँबाट जाने त त्यहाँ ?

ऊ त्यहीं निर सानो खोल्ने ठाउँ छ तर देखिंदैन ।

ठाउँको कति राम्रो सदुपयोग गर्न जानेको है !

कुमारले हामीलाई खाजा खान बोलाउनुभयो । हामी तल ओर्लियौं । जानु आफ्नो अतिथि सत्कारमा गज्जबले जुटिन् । दालमोठ, फुरनदाना, तरकारी, दही, काँक्रो, स्प्राइट ।

चिया बनाऊँ ?

चिया त खान परिहाल्यो नि मञ्जुल दाइको आग्रह चियाभन्दा मीठो थियो ।

 समय आफ्नै क्रममा थियो । हामी फर्किने तरखरमा लाग्यौं । बगैंचामा हलुवाबेद र आँप फलिरहेका रहेछन् । एउटा पाकेको हलुवाबेद टिपेर सबैले खायौं । आँप अझै पनि काँचै थिए । चार सय रूपैंयाँमा किनेर ल्याएको बोटमा जम्मा दुईवटा आँप फलेका रहेछन् पहिलो पटक । जानुले भनिन्, हेर्नुस् त दुई दुई सयका आँप !

फलफूल र तरकारी रोप्ने सौख रहेछ दुवैलाई । गमलामा पनि फूलहरू फुलिरहेका थिए । उनीहरू जस्तै सुन्दर घर अनि सुन्दर बगैंचालाई बाइबाई गरेर निस्कियौं हामीहरू ।

उही शहरी विकासमा बसेको बस्तीको कालोपत्रे सडकमा । केटाकेटीहरू फेरि दौडिन थाले । कुकी पनि हामीसँगै आई कुमारको साथ लागेर । भैंसेपाटीको बस स्टपसम्म पुर्‍याउन आए उनीहरू । आफूलाई माया गर्ने दाजुको साथ पाएकाले कुमारको अनुहार उज्यालो भएको थियो । कुमारले आफ्नो बस्तीका राम्रा नराम्रा कुराहरू पनि जानकारी गराउन लाग्नुभयो ।

जतिबेला पनि माइक राखेर भजनकीर्तन गर्ने हुनाले बस्ने मान्छेलाई सास्ती पारेको रहेछ त्यहाँको धार्मिक मण्डलीले । कोही त बसाइँ पनि सरेछन् त्यही कारण ।

कुरा गर्दा गर्दै गाडी आयो । धेरै भीडभाड थियो । हामीले चढ्ने साहस गरेनौं । छोडिदियौं । अर्कोको प्रतीक्षामा रह्यौं । फेरि पनि उस्तै । तेस्रो गाडी केही होलो देखियो । चढ्दा चढ्दै गाडीको सिट त भरिइहाल्यो । तै पनि चढ्यौं । रत्‍नपार्क जाने गाडी रहेछ ।

छोरालाई हात समातेर साइड लाग्दै थिएँ, पछाडिबाट एउटा परिचित अनुहार मुस्कुरायो । मिस यहाँ बस्नुस् । मेरी विद्यार्थी आफ्नो ठाउँ छोडेर उठिहालिन् । पद्मकन्यामा पढ्ने पाण्डे बहिनी स्नातकोत्तर दोस्रो वर्षकी विद्यार्थी हुन् ।

हैन म उभिन्छु, तपाईँले बाबुलाई मात्रै लिइदिनुभए हुन्छ ।

हैन म उभिन्छु, तपाईँ बस्नुस् बाबुलाई लिएर । विद्यार्थीको विनम्रताको अगाडि मेरो केही लागेन । आयामलाई काखमा लिएर बसें ।

मसँगै सिटमा बस्ने अर्को भाइले मिहारलाई काखमा लिइदिनुभयो ।

गाडी फेरि उही बाटो गुड्यो । उकालो ओरालो र घुम्ती ।

एकान्तकुनाको बसस्टपमा ओर्लिने बेलामा मञ्जुल दाइले ती भाइलाई आफ्ना शब्दमा आभारी पोख्‍नुभयो । यात्रामा यस्तो सदासयता देखाउनु महानता हो भन्नुभयो । यो सानो कुरा हो, तर मानवीय व्यवहार यस्तै कुराले महान् बन्छ भन्दै भाइसँग बिदा माग्नुभयो । गाडीबाट तल ओर्लेपछि झ्यालबाट ती भाइले उहाँको नाम सोधे ।

       म मञ्जुल ।

       ए ! ! ! तपाईँको फोन ...... ती भाइको मञ्जुल दाइलाई भेट्ने र कुरा गर्ने औडाहा हेर्नुको थियो ।

       गाडी गुडिसकेको थियो । दाइले मेरी विद्यार्थीतिर देखाउँदै संकेतले भन्नुभयो उनलाई सोध्नू ।

       मान्छेलाई सानो प्रशंसाले पनि कति खुशी दिन्छ । ती भाइको सद्व्यवहारलाई दाइले गरेको प्रशंसाले नै होला उनी त्यसरी उहाँसँग नजिकिन चाहेका । वास्तवमा मान्छेले गरेका यस्तै सानातिना व्यवहारले नै त मान्छेको स्वभावलाई चिनाउँछ । मान्छेले जीवनमा खुशी खोज्न टाढा पनि त जान पर्दैन नि । हो, मान्छेले गरेका यस्तै साना कुरालाई पनि त मूल्य दिनुपर्छ । हामीहरूले कहिलेकाहीं गरेका साना भुललाई भनें कति छिद्नान्वेशी भएर आलोचना गर्छौं । कहिल्यै भुल्दैनौं । मनमा ईख पालेर बसिरहन्छौं । तर मान्छेले गरेका साना र सुन्दर कुराहरूको भने उति मूल्य दिन जान्दैनौं । जीवनमा खुशी खोज्न साना कुराहरूलाई पनि मूल्य दिन जान्नुपर्ने रहेछ । मेरो मनमा जीवनको एउटा सुन्दर पाठ सुटुक्क छापिन पुग्यो ।   

सातदोबाटो जान हामीले अर्को गाडी बदल्यौं । धेरै सिट खाली भएको गाडी थियो । केटाकेटीहरू रमाउँदै सिट रोज्न थाले । प्यासेन्जर नभरिएकाले गाडी रोकिइरह्यो । केहीबेरपछि मात्रै गाडी गुड्यो । आयामले आफूले भनेजस्तो नभएर अनुहार फुलाएर बसिरहेको थियो । उसलाई चढ्दा पनि पहिला हुनुपर्थ्यो, झर्दा पनि पहिला हुनुपर्थ्यो । समिका पहिला चढी भन्ने रिस थियो उसलाई । म उसलाई फकाउन लागें ।

सातदोबाटोको बस बिसौनी आइपुगेको थियो । मैले आयामलाई खुशी पार्न छिटोछिटो उसैलाई पहिला ओरालें । ब्यागबाट पैसा खोज्न क्रममा थाहा पाएँ, मोबाइल बजिरहेको रहेछ । एउटा मिस्डकल पनि आइसकेछ । हेरें नयाँ नम्बर थियो । उठाएँ ।

उताबाट आवाज आयो, हेलो, तपाईँको बुबालाई दिनुस् न फोन ।

यहाँ त मेरो बुबा हुनुहुन्न, कसलाई गर्नुभएको, मैले चिनिनँ नि ।

म अघिभर्खर भैंसेपाटीबाट गाडीमा तपाईँसँगै आएको के, अघि तपाईँसँगै गाडीमा आउने तपाईँको बुबा होइन, उहाँलाई नै खोजेको,

ए ए ए ! मलाई अनौठो लाग्यो, यो पक्कै मञ्जुल दाइको फोन हो, मैले उहाँलाई नै फोन दिएँ । उहाँले कुरा गर्नुभयो । म हाँस्दै सुस्मितातिर गएँ । कुरो सुनाएँ । उनी पनि हाँस्न थालिन् ।

मैले बुबा समान आदर गरेको व्यक्तिलाई अरूले मेरो बुबा भनिदिनु मेरो लागि झन् खुशीको कुरो थियो । मैले मञ्जुल दाइको अनुहारमा हेरेर मुस्कुराएँ ।

फोन राखेपछि उहाँ मज्जाले हाँस्नुभयो र मेरो पिठ्यूँमा धाप मार्नुभयो । समिका, आयाम र मिहार को छिटो भन्ने सुरमा दौडिरहेका थिए ।

आकाश उस्तै नीलो थियो । घामका किरण मधुरो हुन थालेका थिए । मैले पश्‍चिमतिर आँखा उठाएँ, यतिञ्जेल सूर्य चन्द्रागिरि माथिबाट बिदा हुन लागेको थियो । मेरो मनको नीलिमामा कुमार आलेको सानो घर मुस्कुराइरहेको थियो, उनको सानो छोराको सुन्दर अनुहारजस्तै भएर । जानु र कुमारको सुखी संसार कति चिटिक्को ! कति सुखले हाँसेको ।

सानो होस् तर यस्तै खुशी र सुखी होस् सबैको घर परिवार ! मान्छेलाई चाहिने त्योभन्दा ठूलो खुशी के होला र ?