कृष्ण प्रकाश श्रेष्ठको पहिलो न्युयोर्क यात्रा
शशांक लामा
न्युयोर्क
15/08/2009
न्युयोर्कमा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदैछ भन्ने कुरा त थाहा थियो।
तर न्युयोर्केली व्यस्तताले गर्दा भुसुक्कै बिर्सेंछु। अचानक रुसबाट डा. मणिराज
पोखरेलले पठाउनु भएको इमेलले म झल्याँस भएँ। रुसबाट कृष्ण प्रकाश श्रेष्ठ सम्मेलनमा
सहभागी हुन आउने कुराले त औधि खुशी लाग्यो। सम्मेलनको तिथी मिती थाहा पाउन अनलाइन
हेर्दा एक ठाउँमा २५ अगष्ट लेखिएको देखेँ,ढुक्क भएँ। तर त्यही बेलुकी ज्याक्सन
हाइटमा कवि सम्मेलन हुँदैछ, जाने होइन? भनेर प्रकाश तुलाधरले फोन गर्नुभयो। यो कवि
सम्मेलन पनि हेरौँ न त भनेर गएको त मेरी वास्सै! हाम्रा कृष्ण प्रकाश दाई त ड्यासमा
थुप्रै नचिनेका स्रष्टा माझ मन्द मुस्कान छरेर बसिरहनु भएको रहेछ। कार्यक्रम शुरु
भैसकेको थियो। साहित्य प्रेमीहरुले खचाखच भरिएको साँग्रिला-टिबेट किचेनको पछील्लो
सिटको एक कुनामा बसेर कृष्ण दाईलाई नियालेर हेरेँ- २० बर्ष अगाडि रुसमा भेटे जस्तै
शिष्ट,सौम्य र सादा नै पाएँ। केवल केश सेताम्मे भएछ।
कविता वाचन चलिरहेको थियो। इमान्दारिका साथ भन्नु पर्दा मेरो मन कवितामा थिएन।
कार्यक्रम कतिखेर सकेला र उहाँलाई भेटन पाउँला भनेर मन आतुरिएको थियो। कार्यक्रम
समापनको उदघोषण हुनासाथ ड्यासतिर हुत्तिएर गएँ र कृष्ण दाइलाई झ्याप्पै समातेँ।
चिन्नु भयो दाई मलाई भनेर सोध्दा उहाँ एकछिन अकमकिनु भयो र मेरो अनुहारमा गहिरिएर
हेर्दै "शशांकजी हो? तपाईं मेरो अगाडि यसरी नआएको भए मैले तपाईंलाई नचिन्ने रहेछु,
तपाईं त औधि मोटाउनु भएछ" भनेर भन्नु भयो। मेरा पुराना साथीहरु सबै मलाई भेटदा यसै
भन्छन्। शायद म पहिले सिन्का झैँ थिएँ की? डाक्टर(रेडिओलोजिष्ट) राम कुमार
घिमिरेसंग बर्षौँ पछि भेट हुँदा उहाँले "लामाजी, तपाईं त डबल हुनु भएछ समेत भने।
सुन्दा रमाइलो लागेको थियो। कहाँ कृष्ण दाइको चर्चा हुँदाहुँदै म आफ्नै मोटाइबारे
पो कुरा गर्न थालेछु।
अनी कृष्ण दाइले मलाई गम्लङ्ग अंगालो हाल्नु भयो र हामी दुवैजना भावविभोर भयौं।
उहांको छेउमा उभ्भेका एकजना गोरो,अग्लो युवातिर औँल्याउँदै भन्नु भयो: यो मेरो नाती
अनन्त। मैले लख काटिहालेँ,पक्कै पनि श्याम उपाध्यायको छोरा हुनुपर्छ। त्यसपछी कृष्ण
दाइलाई अंगालो हाल्न अर्को एकजना आइपुगे, उहाँहरु दुइजनाको त झन ३० बर्ष पछि भेट
भएको रहेछ। अनी त त्यहाँ साहित्यिक भलाकुसारिको लर्को नै लाग्यो। हामीले सानैदेखी
पढदै आएका कृष्ण प्रकाश दाइलाई आजै पहिला चोटी देख्यौँ भनेर कविद्वय बसन्त र हेमन्त
श्रेष्ठ (दाज्युभाइ) मख्ख थिए। बसन्त श्रेष्ठ कुनै संजिवनी बुटी खान्छन् की के हो?
२५ बर्ष पछि भेटदा पनि धुपीको रुख झै सिधा, हरियो र भरिलो पाएँ। उनको लमक लमक हात्ती
जस्तो लचकदार हिँडाइको एकताका क्षेत्रपाटी एरियामा साथीभाइबिच चर्चा हुन्थ्यो।
स्रष्टाहरुका भिडभाड माझ मैले अचम्भ कुरो देखेँ - कृष्ण दाई खाना खाँदै क्यामरा
अगाडि कवी मणी वाङदेललाई अन्तर्वार्ता दिईरहनू भएको थियो भने केही युवाकविहरु कृष्ण
दाइसंग भलाकुसारी गर्न पालो पर्खिरहेका थिए, हतारिरहेका थिए। कहिल्यै नसुत्ने
न्युयोर्केली जिन्दगी संधै हतारो नै हुन्छ। घडीको सुइले रातको ११ देखाइसकेको थियो।
अनन्त पनि हतारिन्दै थियो, कृष्ण दाई एकछिन, एकछिन भनेर साहित्य अनुरागीहरु माझ
रमाइरहनु भएको थियो। अन्तमा दाइसंग मैले "प्रोश्याइत्ये" नभनेर "दस्बिदानिया" भनेर
बिदा लिएँ।
पचास बर्षभन्दा बढी भयोहोला-अनवरत नेपाली साहित्य साधनामा लागेको कृष्ण प्रकाश दाई,,,,
उहाँका समकालीन, साथीसंगी मित्रहरु:-डाक्टर, इन्जिनियर, वकिल, शिक्षक आदि आफ्ना पेशा
छोडेर ब्यापारी भए, उधमी भए, जनता क्ज्याउने नेता भए, तर कृष्ण दाइले अविचल, अटल र
निर्भिक भएर नेपाली साहित्यको सेवामा जुना निरन्तरता दिनु भएको छ, त्यसको लागि
नेपाली समाजले उहाँलाई जश दिनु पर्छ, प्रशंसा गर्नु पर्दछ र सम्मान गर्नु पर्दछ।
साहित्य जस्तो अकमाउ पेशा अटुट रुपमा अंगाल्ने स्रष्टा कृष्ण प्रकाश श्रेष्ठ भावी
साहित्यिक पिढिको लागि प्रेरणाको श्रोत भैरहनेछ। अन्तमा त्यस सम्मेलनमा बिमोचित "उत्तर
अमेरिकाका नेपाली कवी र कविता" बाट कवी मणि वाङदेलका केही हरफहरु:
"परदेशिएको छोरो एकपटक हेर्ने आशामा
मेरी बुढी आमा चाउरिएको छाला
निधारमा गाँठो पारेर साँझ बिहान
टाढा टाढा गोरेटोमा
मेरो आक्रिति नियाल्छिन् रे
मधुराइसकेको आँखामा
फरियाको सप्कोले पुछ्दै
ज्योति बढाउने कोशीश गर्छिन् रे
विवस र लाचार म यहाँ
मेरो मातृभूमी र आमाको काखविहीन
एक्लो, एक्लो फगत एक्लो छु",,,
lama_sasang@yahoo.com