संस्मरण

बासु दाइको शुभकामना र चितवनको काव्य यात्रा



गीता त्रिपाठी
बालुवाटार,  काठमाण्डौ


समय बित्नुको नाम न हो, बितिरहेछ- जीवनहरुमा अनुवाद भएर……।

चितवन काव्य महोत्सवपछिको झण्डै सिङ्गो महिना यसैगरी बितिसकेछ । ती दिनहरु लाग्छ मेरालागि लेखनको कृष्णपक्षजस्तै अन्धकारमय हुन पुगे । यतिका दिनपछि म फेरि ती दिनहरुलाई स्मरण गर्न अभ्यस्त भइरहेछु । लाग्दैछ ती सम्झना अविस्मरणीय सम्झना मध्येकै एक रहेछ । जति पूरानो हुँदैगयो त्यस भव्यताको गरिमामय अनुभूतिमा अनौठो ताजापन देख्छु । संभवतः प्रकाश दाइमार्फत हाम्रो भ्रमणको खबर पाउनुभएथ्यो बासुदाइले र त इमेल मार्फत पाएको उहाँको स्नेहपूर्ण शुभकामनालाई मनभरि राखेको थिएँ मैले । यात्राका भव्य ती अनुभूतिलाई शब्दमा अनुवाद गरेर पठाउनु थियो बासु दाइलाई,  धेरै अबेर हुन गयो माफी चाहन्छु ।

सहरको एकाग्र जीवनशैलीमा निरस-निरस भइरहेकै बेला आफ्नो रुचिको विषयका निम्ति नौलो परिवेशमा प्रवेश गर्ने अवसर मिल्यो असोज १२ का दिन ।

कार्यक्रमको दिन आमहड्तालको खबरले ११ कै मध्यान्हपछि हाम्रो चितवन-यात्रा आरम्भ भयो । यस किसिमको साहित्यिक यात्रामा म पहिलोपटक समावेश गर्दै थिएँ आफूलाई । उष्ण मध्यान्हका बीच मनोवेगको रोचक कौतुहलता लिएर म छोरा समीपको साथमा कलङ्की पुगेकी थिएँ । सहकर्मी कुमारी लामा हामीसँगै मिसिएर बग्दै हुनुहुन्थ्यो नागबेली पहाडका अनगिन्ती घुम्तीहरुमा । मधुजी यसपालि हाम्रो यात्राको अन्तरङ्ग मित्र । उहाँसँगको परिचय र सामीप्य पनि अविस्मरणीय नै छ । एकदिन अपरिचित आवाजमा सिटि एफ. एम. कार्यक्रम परिशिष्टका लागि आमन्त्रण गर्नुभएथ्यो उहाँले । त्यसरी भेट भएका सबै सर्जकसँग उहाँको आत्मीय सम्बन्ध हुने गर्छ । साहित्यकारहरु मँजुल, प्रकाश सायमी, जगदीश घिमिरे, कृष्ण धराबासी, सुस्मिता नेपाल, दुर्गा शाह 'बाबा',  रजनी ढकाल लगायत असङ्ख्य नामहरु छन् उहाँसँग । संभवतः एक मेरो नाम त्यसरी नै थपिएको हो भन्ने मलाई लाग्छ । उहाँकै गाडीमा हामी यसपटकको गन्तव्य छोट्याइरहेका थियौँ ।

आयोजक कालिका एफ.एम. को अर्को गाडी हामीसँगै थियो- सहयात्रामा । जसमा श्री ओम श्रेष्ठ 'रोदन', भीष्म उप्रेती, गोवद्र्धन पूजा, कृष्ण प्रसाईं, महेश रेग्मी, तुलसीहरि कोइराला, मणि लोहनी, तृष्णा राज्यलक्ष्मी कुँवर तथा उनकी छोरी अनन्यका साथमा अन्य भावुक मनहरु पनि यात्रारत हुनहुन्थ्यो । दिन ओरालो लागिसकेको थियो । हामी पनि दिनसँगै मलेखुतिर झरिरहेका थियौँ । दुई समानान्तर किनारा झैँ गुडिरहेका गाडीहरु एउटा खाजा पसल बाहिर आएर रोकिए र सँगै मिसियौँ हामी । यस्तो लाग्थ्यो मर्स्यांग्दी र त्रिशूलीको संगम भएको छ र अबको यात्रामा हामी नारायणी भएर बग्ने छौं, एउटै गन्तव्यका पदयात्री झैँ शान्त र स्नीग्ध भएर ।

क्रमशः साँझ गहिरिँदै थियो मनमा कौतुहलता अझैँ बढी गहिरिँदो थियो । लोडसेडिङ्ले झुक्याएको नारायणगढलाई हामी भने स्नेहले अँगालिरहेका थियौँ करिब सात बजेको हाराहारीमा । सडकमा राँको लिएका युवाहरुको एक÷दुई झुण्ड पनि देखियो । व्यस्त चोकमा टाएर बालिएको धूवाँ र गन्ध दुवै थियो । चितवनलाई म भने सधैँ सौराहाको आँखाले हेर्ने गर्थेँ अर्थात् 'मनको सुन्दर सौराहामा क्षति पुग्यो आज' भन्ने गीतका हरफहरु मैले ०६१ सालतिरै कल्पनामा उभ्याएकी थिएँ । तर मैले सोचेभन्दा फराकिलो रहेछ चितवनको सेरोफेरो । भोलिपल्टको कवि-गोष्ठिमा सहभागी भइरहँदा थाहाभयो भूगोल मात्र होइन भावनाको क्षेत्रफल पनि अनुकरणीय नै रहेछ चितवनमा । सायद प्रत्येक व्यक्तिमा कवि वा गजलकारको सग्लो आकार भेटिन्छ कि कुन्नि !

बेलुका होटल राइनोमा बिसायौँ हामीले आफूलाई । प्रमुख अतिथिका रुपमा निम्त्याइनु भएका कवि राजेन्द्र भण्डारीसँगको सौम्य भेटघाट पहिलो उपलब्धि रह्यो त्यस साँझ चितवन प्रवेश गरेपछिको । कवि दिनेश अधिकारी र कवि प्रकाश सायमीको स्नेहपूर्ण उपस्थितिमा राजेन्द्र दाइको भोलिपल्टको जन्मदिनलाई अघिल्लै साँझ स्वागत गर्यौँ हामीले र मीठाइ बाँडेर केहीबेर आत्मीयता साँट्यौं पनि । त्यस छोटो सामीप्यमै पनि राजेन्द्र दाजु पारिवारिक आनन्द लिइरहनुभएको महसुस गर्यौँ हामीले ।

हामी सबै आमन्त्रितका लागि होटलमा चाँजो मिलाएर प्रकाश दाइ छिट्टै आफ्नो निवासतिर लाग्नुभयो । हामीले दिनेश दाइ र राजेन्द्र दाइसँगै खाना खायौँ । अन्य कविहरु घुम्न निस्केको हुनुपर्छ हामीले खाना खाइरहँदा उहाँहरुको उपस्थिति थिएन । केहीसमय गजलकार द्वय राजेन्द्र थापा र धनराज गिरिसँग कुराकानी गरेपछि हामी कोठामा फर्कियौँ । अँ केहीबेर दिनेश दाइसँगै उहाँ बस्नुभएको होटलतर्फ गयौँ- कुमारी, समीप र म । रोयल सेञ्चुरी होटलको शीतल परिवेशमा सानो क्षण बितायौँ । दिनेश दाइलाई शुभरात्रिको शुभकामना बाँड्यौँ र फर्कियौँ आफू बसेको होटलमै ।

१२ असोजको बिहानी सडक सुनसान थियो बन्दको असर राम्रै परेको थियो तर कालिका एफ.एम. को पूर्वनिर्धारित कार्यक्रममा कुनै असर परेको थिएन । बिहानै राजेन्द्र दाजुलाई जन्मदिनको शुभकामना दिइरहँदा प्रकाश दाइले फोन गर्नुभयो र सँगै मिसाउनुभयो जन्मदिनको शुभकामना राजेन्द्र दाजुका लागि । उहाँले हामीलाई क्याम्पा चौरमा हुने रिक्सादौड प्रतियोगिता हेर्न जानका निम्ति तयार रहन भन्नुभयो र केहीबेरमै गाडी लिएर लिन आउनुभयो । नारायणी कलामन्दिरकै बगलमा रहेको क्याम्पा चौरमा असङ्ख्य चालकहरु आ-आफ्ना रिक्सा सहित उपस्थित थिए । हामी पहिलो पटक यस्तो प्रतियोगिता हेरिरहेका थियौँ । त्यहीँ हामीलाई कालिका एफ.एम. का प्रबन्ध निर्देशक विक्रम पाण्डे ज्यूसँग महाप्रबन्धक प्रकाश सायमीले परिचय गाँसिदिनुभयो । निकै लामो त्यस दौडमा अन्ततः उत्साही युवक नयाँ रिक्सा जित्न सफल भए । जितहारको यस खेलमा म भने श्रमप्रति सम्मानको बढ्दो आकर्षणको केन्द्रतिर तानिएकी थिएँ ।

मध्यान्हको संघारले यस यात्राको केन्द्रतिर तान्दै थियो । नारायणी कलामन्दिर परिसरतिर लम्किरहेका हामीले अग्रज स्रष्टा प्रेमविनोद नन्दनको साथ पाएका थियौँ । नन्दन ज्यू कलामन्दिरको स्थापना र विकासको संघर्षका दिनको स्मरण गर्दै हुनुहुन्थ्यो । यस्तैमा हामी प्रवेश गर्यौँ खचाखच भरिएको हलभित्र । निर्धारित समयमै कवि प्रकाश सायमीको सारगर्भित उद्घोषणमा कार्यक्रम सुरु भयो । यस अघि यो बर्ष उहाँको संयोजनमा काठमाडौँमा पनि धेरै अर्थपूर्ण कार्यक्रमहरु भएको म सम्झिरहेछु । सम्झि रहेछु साभार एल्बमको विमोचनको दिनलाई, पुस्तक दिवसलाई, बैशाख १०- शुभारम्भ द म्युजिकल जर्नी र स्व. ईश्वरबल्लभमा समर्पित विशेष कार्यक्रमलाई, नृशंश पर्खालहरुको सार्वजनिकीकरण र बकपत्रको लोकार्पणका समयहरु जहाँ प्रकाश्य उहाँका भावनाहरु सबैकानिम्ति प्रिय उद्घोष बनेका थिए र त्यही क्रमको निरन्तरता यहाँ पनि उसैगरी ज्वलन्त थियो ।

आजको प्रमुख अतिथि हुनुहुन्थ्यो- कवि राजेन्द्र भण्डारी । उहाँको सौम्य उपस्थितिले कार्यक्रमलाई विशेष विशेष बनाइरहेको थियो । चितवन लगायत देशभरिका अग्रज र अनुज पुस्ताका स्रष्टाहरुको वृहत् उपस्थितिमा´ प्रेमविनोद नन्दन ज्यूको कविताले काव्य महोत्सवको दैलो उघार्यो र एक उल्लासपूर्ण मौनताबीच करिब ६० जना कविका कविताहरु अनुगुञ्जित भइरहे झण्डै ४ घण्टाको अनवरत वाचनमा । कविहरु दिनेश अधिकारी, श्रवण मुकारुङ्, मनु मँजिल,  भीष्म उप्रेती, गोवद्र्धन पूजा, कृष्ण प्रसाईं, महेश रेग्मी, रमेश क्षितिज, तुलसीहरि कोइराला, सविता दाहाल, हेमन्त यात्री, एकु घिमिरे लगायत असंख्य हुनुहुन्थ्यो र हरेक कविताहरु समसामयिक विविध अनुभूतिको युग-ऐनाजस्तो प्रतीत हुन्थ्यो । गीतकार राजेन्द्र थापा, राजेन्द्र विमल,मिथिला प्याकुरेल, सामना पहाड आदिका सुन्दर गजल र गजल वाचनले कार्यक्रमलाई साङ्गीतिक बनाइरहेको थियो । निबन्धकार श्रीओम श्रेष्ठ रोदन र कथाकार सुमन सौरभका कविताहरु सायद मैले पहिलोचोटि सुन्ने मौका पाएको थिएँ । कवि सिर्जन अविरलका कविता र उद्घोषणले कार्यक्रमलाई बिट मार्ने तरखर गरिरहेको थियो पछिल्लो समयमा । कविता महोत्सवको यस्तो अपूर्व सफलता कमै आउने अवसरहरु मध्येको हुनजान्छ  । त्यस्तै एउटा कल्पनातीत काव्य गोष्ठि यस वर्ष चितवनमा सम्पन्न भइरहेको थियो- कवि सायमी र उहाँका सहकर्मीहरुको कुशल संयोजन कलामा ।

अपरान्ह ५ बजे भर्खरै सम्पन्न कवि गोष्ठिका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम राखिएको रहेछ कालिका एफ.एम. परिसरमा । त्यहाँ पनि प्रकाश दाइ नै प्रस्तोताका रुपमा कार्यक्रम सम्हालिरहनु भएको थियो । चिया र बिस्कुटको सानो तर न्यानो आतिथ्यमा रमाइरहेका हामीहरु मध्ये पहिलो समीक्षकको रुपमा म अनायासै बोलाइएँ कवि-दीर्घा अगाडि । मँचमा राजेन्द्र त्रयसँगै दिनेश अधिकारी हुनुहुन्थ्यो भने सभापतित्व ग्रहण गर्नुभएको थियो समाजसेवी विक्रम पाण्डे ज्यूले । समग्रमा कवि गोष्ठिपूर्वका कौतुहलता र गोष्ठिका अनुभवहरुलाई सरसर्ती प्रस्तुत गरेर पहिलो वक्ताको जिम्मेवारी पूरा गरेँ मैले । केही कविका कविताको उच्च मूल्याङ्कन भयो पनि । अन्य वक्ताहरुमा उदय अधिकारी, मनु मँजिल, कुमारी लामा आदि हुनुहन्थ्यो र नव समीक्षक कुमारी लामाको समीक्षा शक्तिको सबैतिरबाट प्रशंसा समेत भएको थियो ।

कार्यक्रम साँझ ७ बजे सकियो र कार्यक्रमभरि र सकिए पश्चात् पनि सबै कविहरुको मनमा एउटा अपूर्णता रहिरह्यो- कवि प्रकाश सायमीको कविता सुन्न नपाएको खिन्नता बोकेरै एउटा अविस्मरणीय काव्य गोष्ठि समाप्त भएको थियो ।

भोलिपल्ट अर्थात् १३ असोजको बिहान सौराहा घुम्न जान चाहे पनि त्यो सम्भव भएन । नहुनुमा अर्को महत्वपूर्ण संयोग थियो । आमा समूहको हाजिर जवाफ कार्यक्रमका लागि बहिनी धनले हिजै अनुरोध गर्नुभएको थियो र आज प्रमुख अतिथिमा नियुक्त भइसकेको रहेछु म र सोही कार्यक्रममा भाग लिन मधुजी, कुमारी, समीप र म त्यसतर्फ लाग्यौँ । हातभरि नोटबुक लिएर पढ्नमा अभ्यस्त आमाजातिको त्यो उत्साहले मेरो मनलाई सन्तुष्टिको अविभाज्य रेखामा लगेर गाँसिदियो । जीवनमा पहिलोचोटि प्रमुख अतिथि भएर उज्यालोको त्यस चेतना मूलक कार्यक्रममा म दियो सल्काइरहेको थिएँ । साथ दिइरहनुभएको थियो प्रकाश दाइ र विक्रम पाण्डेज्यूले । हावाको एक झोँक्का बत्ती निभाउने दुस्प्रयासमा जुटेको थिय- प्रकाश दाइ दुवै हातले बत्तीलाई छेकेर उज्यालो जोगाउने प्रयत्नमा हुनुहुन्थ्यो । त्यो क्षण म भने निदा फाजलीको सुन्दर गजलका पंक्तिहरु सम्झि रहेको थिएँ-

जिन चिरागोँको हवाओँका कोई खौफ नहीँ
उन चिरागोँको हवाओँ से बचाया जाय

आजै काठमाडौँ फर्किनु जरुरी थियो । त्यसैले हामी होटलतिर फर्कियौँ । गाडीमा प्रकाश दाइ हामीलाई छोड्न सँगै आउनुभयो । फर्कँदा उहाँले प्रेमविनोदज्यूको घरमा लैजानु भयो । हाम्रो उपस्थितिले पितातुल्य उहाँको अनुहारमा अजस्र खुसीका रेखाहरु उदाएको म सम्झिरहन्छु र सम्झिरहन्छु उहाँको स्नेहवत् आत्मीय उपहार पनि र वर्षौं पहिले गुमाएको पितृ वात्सल्यको एउटा झिल्को सम्झनाले गह  भरिएर आइरहेको पाउँछु ।

मध्यान्हपछि हामी कवि राजेन्द्र भण्डारीको साथमा काठमाडौँ फर्कियौं । यस समारोहका साथीहरु आ-आफ्नै गन्तव्य फर्कने तयारीमा व्यस्त हुनुहुन्थ्यो । आजको ठिक तीन दिनपछि काठमाडौँमा कवि राजेन्द्र भण्डारीको एकल कविता वाचन कार्यक्रम हुँदै थियो । शुभारम्भ द म्युजिकल जर्नीका परिकल्पनाकार दाजु प्रकाश सायमीको अग्रसरतामा शैलेश, प्रवीण, कुमारी र म यसका लागि संघर्षरत थियौँ । एकातिर मनभरि चितवनको अविस्मरणीय सार्थक यात्राको यादगार पलहरु समेटेर हामीले प्रकाश दाइ र अन्य आयोजकहरुसँग विदा लियौँ । अर्कोतिर हतारमै संयोजन गर्नुपरिरहेको ऐतिहासिक एकल कविता वाचन कार्यक्रमको जिम्मेवारी थियो । प्रिय गायक भाइ शैलश एक्लै यो जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्थ्यो काठमाडौँमा । उहाँलाई  सम्झिएर पनि मनको गति मधुजीको गाडीको गतिभन्दा ज्यादा रफ्तारमा थियो सायद ।

                                                                                           ---------